site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेतो क्यानभासका रंगीन अमर
Ghorahi CementGhorahi Cement

– अक्षर काका


साहित्य पनि मदिराजस्तै हो— कुनैको महत्ता वर्षैपिच्छे बढ्दै जान्छन्, कुनै जाँड भएर सिद्धिन्छन् । अमर न्यौपाने हरेक दिन, हरेक महिना र हरेक वर्ष बढ्दै जाने त्यस्तै मूल्यवान कृति कोरल्न ओथारो बसेका छन् ।

२०६६ को पद्मश्री र २०६८ को मदन पुरस्कार विजेता अमर अहिले अर्को पुस्तकको भीमकाय तयारीमा छन् । उसै त साहित्यिक गोष्ठी, उत्सव–महोत्सवमा कमै देखिने, त्यसमाथि आफ्नै पुस्तकको पुनर्लेखन । अहिले काठमाडौंको उत्तर–पश्चिमी कुइनेटोमा ‘साधनारत’ छन् उनी ।

Agni Group

“कथै खोज्ने हो भने त आर्यघाटमा जलिरहेका प्रत्येक शवसँग सयौं कथा छन् र दशौं उपन्यास छन्,” भन्छन्, “सबै कहानीहरू कथा बन्ने ल्याकत राख्दैनन् पनि । कथाहरूले चिन्तन र दर्शन बोक्न सक्नुपर्छ ।”

हृदयको गहिराइमा पुग्ने अनुभूति टपक्क टिपेर साहित्यिक रंग दिन सक्ने अमरले हामीसँग जीवनका साहित्यिक आयामहरू खुलेर पस्किए ।

Global Ime bank

० ० ०

कास्की हंशपुरका रैथाने न्यौपाने हुन् उनीहरू तर ०३२ सालतिर तराई (चितवन) झरे ।

उही लेक–बेँसीको उदेकलाग्दो दुःख । पिता एकनाथ न्यौपाने शिक्षक । १० वर्ष पहाडमै पढाएका । स्थायी थिए । उकाली–ओरालीको दुःखले गाँजेपछि थातथलो छाडेर तराई हानिएका रहेछन् ।

अविद्रोही अमर

चकचके, जिज्ञासु, चरम कुतूहलकारी र अक्सर विद्रोही– आम बालकका विशेषता हुन् । अमरचाहिँ विपर्याय थिए यसका ।

बाल्यकालमा हात कसैलाई उठाएनन् । चर्को बोले सासले समेत घोच्छ ठान्थे उनी ।

लामो समय शिक्षण पेशामा सक्रिय रहे, झन्डै १२ वर्ष । कक्षाकोठामा कथाचित् कसैमाथि हात हालिहाले बेलुका त्यही हातले खान दिगमिग लाग्थ्यो । मनमनै किरिया खान्थे– भोलिदेखि झुक्किएर पनि यसो गर्दिनँ ।

रिस, राग, द्वेष, ईर्ष्या जीवनका अवयव हुन्, उनीसँग पनि नहुने कुरा भएन । तर, यसलाई अन्तर्तलमै दबाउन सक्ने ल्याकत थियो उनमा । पिराहा पनि थिएनन् उनी । 

बाबु बरोबर बजार गइरहन्थे । घरायसी सामानका पोकापन्तुरा च्यापेर फर्कन्थे । बाबुलाई उनले ‘यो चाहियो, त्यो चाहियो’ भनेर कहिल्यै दुःख दिएनन् ।

साथीसंगीले नयाँ लुगा लगाएको देख्दा उनको आँत रसाउँथ्यो । मन कल्पनाको नारायणीमा डुबुल्किन्थ्यो र पनि बाबुका अघिल्तिर मुख फोर्न सक्दैनथे ।

बाबुको अलग्गै जीवन–दर्शन थियो । अमरलाई उपदेशले झंकृत तुल्याइदिन्थे, “लुगा फाटे–उध्रिएपछि, खानेकुरा भोक लागेपछि खाने हो !”

चाडबाडमा लुगा किन्ने र भोक लागे पनि नलागे पनि मुखमा गाँस नटुटाउने मान्यतालाई दैलोभित्र ढिम्किनै दिएनन् उनका पिताले ।

“एकपल्ट पर्व आयो, नयाँ लुगा लगाउनुपर्‍यो नि भनेर के भनेको थिएँ, बाबाले जवाफ फर्काइहाल्नुभयो, दशैं आएर लुगा लगाउने होइन, फाटेर लगाउने हो, दोहोर्‍याएर मुख उघार्नै सकिनँ,” मच्चिएरै हाँसे अमर ।

शिक्षक । पढेलेखेको । चिन्तक पनि हुँदा बाबुले फारु र मितव्यीताको आदर्शलाई शिरबाट ओर्लनै दिएनन् । पिताको यही ‘स्कुलिङ’ आजपर्यन्त अविराम पछ्याइरहेका छन् उनले ।

आमाको सिर्जनात्मक आयाम

करुणाकै प्रतिमूर्ति थिइन् आमा । क्षणभरमै रुन सक्ने र रुँदारुँदै फिस्स हाँसिदिन पनि सक्ने । साहित्य–साधनामा लागेको भए अमरलाई उछिन्थिन् होला ।

“उहाँ सिर्जनात्मक क्षेत्रमा हुनुहुन्थ्यो भने क्या साहित्य उम्रन्थ्यो होला,” अमरको मन अहिले पनि कल्पन्छ र भित्रभित्रै आस्वादित हुन्छन् ।

“टाढाबाट हेर्दा घरको थुप्रोजस्तो देखिने हाम्रो घर थियो । घरको एकातिर भान्छा थियो, अर्कोतिर भण्डार थियो । एकातिर राखन–धरान गर्ने ठाउँ थियो, अर्कोतिर दुईवटा खाट थिए, दुई खाटमध्ये एउटा सानो थियो, अर्को ठूलो थियो, सानोमा बाबा सुत्नुहुन्थ्यो, ठूलोमा आमा–दिदी र म सुत्थ्यौँ । बाबा नभएका बेला आमाले ‘गौरी’ खण्डकाव्यका श्लोक सश्वर वाचन गर्नुहुन्थ्यो ।”

– यो अनुच्छेद ‘करोडौँ कस्तूरी’मा समाविष्ट गरेका छन् । र, उनकै बाल्य–संस्मरण हो त्यो ।

गौरी खण्डकाव्यका श्लोक निद्रा आउनुपूर्व सुनाउने मधुश्रवणित लोरी थियो, अमरका लागि ।

लीला माइत भुलेर घरका धन्दा तिमीले गर्‍यौ
आमाको ममता भुलेर कसरी माया मलाई गर्‍यौ !

माधव घिमिरेकृत ‘गौरी’ खण्डकाव्याका यी अंश भाका हालिरहँदा आँसुमिश्रित हुन्थे अमर, नबुझिकनै ।

“बाल्यकाल सम्झँदा यस्तो लाग्छ– साहित्य भन्ने थाहा नपाएरै साहित्यसँग पो प्रेम बसेछ !” उद्वेलित हुन्छन् उनी ।

बाबुको किस्सा पनि उस्तै छ—

बाबु साहित्यानुरागी थिए, लेख्दैनथे तर पढ्न कुनै छुटाउँदैनथे । सिरानीमै हुन्थ्यो, गुरुप्रसाद मैनालीको ‘नासो’ ।

धूपबाट बच्न २ वैशाखदेखि बिहानी–सत्रमा पढाइ हुन्थ्यो । समयअनुकूल हुनासाथ बाबु नीमको रुख फेदमुनि सियाँल ताप्दै कथा सुनाउन थालिहाल्थे–

“चञ्चलाश्री भइकन पनि देवीरमणका सन्तान थिएनन् । सन्तान होस् भन्नका लागि देवीरमणले चौतारो चिने, हरिवंश पुराण लगाए । तैपनि सुभद्राको कोख सफल हुन सकेन... !”

अमर मुग्ध हुँदै सुन्थे । र, सुन्दासुन्दै रुन्थे ।

साहित्यतिर समाहार हुन स्वस्थानी–व्रतकथाले पनि भूमिका खेल्यो ।

शिव–सतीदेवीको जस्तो प्रेमकथा र कल्पनातीत पागलपन रोमियो–जुलियट र लैला–मज्नुका किस्सामा समेत पाउँदैनन् उनी ।

सानामा भगवान् भनेर पढे, पछि मानवीकरण गरेर हेर्ने प्रयत्न गरे, सम्भव भएन । त्यसपछि प्रेमको विम्बको रूपमा बुझ्न थाले ।

महादेवले किन शिरमा चन्द्रमा राखेको ? घाँटीमा किन नागमाला भिरेको ? कम्बरमा बाघ–छाला किन बेरेको ? मनभित्र प्रश्नहरूको भ्रूण विकास हुँदै जाँदा उनले ठम्याए— महादेव त भगवान् होइन, साहित्यको बहुआयामिक विम्ब पो रहेछन् ।

पाँच कक्षामै सङ्ग्रह

पढेका, सुनेका, बोलेका कुरा चराले चारो टिपेझैं टपक्कै टिप्थे अमर । बाल्यकालमै पढेका ‘किसानको रहर’, लेखनाथकृत ‘जय जगदीश्वर, जय अविनासी’, देवकोटाकृत ‘नटिप्नू हेर कोपिला, नचुँड्नू पाप लाग्दछ’, ‘नालापानी’ आदि कविता जिउ मच्चाइमच्याई पढेका । तिनैको अनुशरण गरेर उनले पनि कविता लेखे । कति लेखेको थिएँ भन्ने पनि सम्झना छैन उनलाई, त्यस्तै एउटा कापी भरिएको हुँदो हो । तर, कसैलाई देखाएनन् उनले ।

किन ?

प्रश्न सुन्दा एकछिन उनी हाँसे । केही बेरपछि अडिए र भने, “आफूले लेखेको कुरा देखाउन मर्नुबराबर लाग्थ्यो । ‘पानीको घाम’ लेख्दासम्मै हटेको थिएन त्यो । अहिले पनि यदायदा आङ जिरिंग हुन्छ– कसैले नराम्रो पनि भनिदिने हुन् कि ?”

वाक्य टुंग्याउँदा नटुंग्याउँदै अनुहारमा अतिरिक्त आभा छायो ।

गीति नाटक ‘मालती–मंगले’को पनि ठूलो प्रभाव पर्‍यो उनमा । त्यस्तै ६–७ मा पढ्थे होला । चितवनको नारायणी कलामन्दिरमा चल्ने खबर रेडियोले फलाक्यो । गाउँभरि रेडियो थिएन तर उनका बाबुले तीन महिनाको तलब १५ सय खर्चिएर रेडियो किनेका थिए तिनताका । २०४२ सालमा ।

बाबु गीतिनाटक हेर्न कलामन्दिर जान लागेको सुइँको पाएपछि उनले पनि जान मन गरे । डरले मुन्टो निहुर्‍याउँदै भने, “म पनि जान्छु नि नाटक हेर्न !”

“केटाकेटीले हेर्नु हुँदैन नाटक !” हप्काइ पो भेटे उनले ।

नाटक हेरेरमात्रै बाबुको धीत मरेनछ । किताब नै किनेर ल्याएछन् बाबुले । कक्षाका किताबबाहेक अन्यत्र आँखा डुलाउन दिँदैनथे बाबुले । आफूले पढिसकेपछि दराजभित्र राख्ने र बाहिरबाट ताल्चामार्ने चलन थियो उनको । पढ्दै गर्दा पनि बाहिरफेर जानुपर्‍यो भने सिरानीमुनि थन्क्याउँथे । त्यही अवधिमा हो उनले ‘मालती मंगले’ पढिभ्याएको । त्यसबाहेक अरू दुई–चारवटा पुस्तक पनि बाबुको आँखा छलेर पढे र साहित्यको बाल्यतृष्णा मेटाए उनले ।

शिरको टोपी भुइँमा राखी म गर्छु विन्ती
गाउँले भाइ हो, शरण छोडें एक्ली मालती
घरमा जाने माइत आउने छोरी र बेटी हो
तीज र तिहार त्यही बाटो आउनु मेरीलाई भेटियो

त्यसका केही गीति हरफ अझै कण्ठस्थ छन् उनलाई ।

यही शैली अनुशरण गरेर ‘पहिलो भेट’ शीर्षकमा गीति नाटकसमेत लेखेका थिए उनले ।

किशोरवयमा पैताला राखेपछि भने कवि एवम् गीतकार दिनेश अधिकारी आदर्श लाग्न थाले । अधिकारीकृत ‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी, तिमी नै भनेदेऊ ए ! जाने निष्ठुरी !’ पहिलोपटक सुन्दा उनको मुटुको चाल रोकिएलाझैं भयो ।

अहिले पनि भन्छन् उनी, “मनलाइ नै झिकेर गीत लेख्न सक्ने अधिकारीजस्ता गायक विरलै जन्मिएका छन् ।”

“अधिकारीकै सिको गरेर किशोरवयमा केही गीतसमेत लेखेको छु मैले,” फेरि हाँसे उनी ।

प्रवेशिका परीक्षा उत्तीर्णपश्चात् कथा–उपन्यास पढ्न केही खुकुलो भयो तर कुन पैसाले किन्नू ? तर, पनि प्रकाश कोबित, युधिर थापाका केही उपन्यास पढेर घाँटी भिजाए उनले ।

वसन्तीको अनुराग

किशोरवयमै डायमन शमशेरको ‘फ्यान’ भए उनी । ‘वसन्ती’ पढिसक्दा चक्कर लाग्यो उनलाई । जङ्गबहादुर, गगनसिंह र वसन्ती आँखावरिपरि पुतलीझैं नाच्न थाले ।

उपन्यासमा जङ्गबहादुरलाई इजलासमा सोधिन्छ, “जङ्गे तैंले कुमारी केटी पाउँथिस्, किन अर्काकी स्वास्नीलाई लुकाएर राखिस्, प्रेम गरिस् ? कन्या केटी पाइनस् तैंले ?”

प्रत्युत्तरमा जङ्गबहादुर भन्छन्, “सरकार औसर माफ पाऊँ, प्रेमले मलाई आँखाको अन्धो, कानको बहिरो, मुखको लाटो, मगजको बौलाहा तुल्यायो, यदि दोषी छ भने प्रेम दोषी छ, मेरो केही दोष छैन ।”

वसन्तीको ‘ट्विस्ट’, षड्यन्त्र, कुतूहलकारी सङ्घटन र विघटनले पछिसम्मै तानिरह्यो उनलाई ।

डायन शमशेरकृत ‘वसन्ती’ र ‘सेतो बाघ’को शैली नक्कल गरेर उनले दुईवटा उपन्याससमेत लेखे, २०५० सालतिरै ।

बीपीको विम्ब

युवावयमा पाइला राखेपछि साहित्य–क्षुदाले राम्रैसँग दपेट्यो उनलाई । घरमा बीपी कोइरालाकृत ‘तीनघुम्ती’ रहेछ । इन्द्रमायाको चरित्र पढेर जिब्रो काढे उनले । कृतिले खासै छाप छाड्न सकेन । “यस्तो पनि हुन्छ र ?” उनले पचाउनै सकेनन् इन्द्रमायाको चरित्र ।

“त्यस्तो चरित्र त यहाँमात्रै होइन, दुनियाँमै विरलै हुन्छ नि !” उनी अहिले पनि भन्छन् ।

“लेखकले भन्न खोजेको के होला ? कस्तो मनोदशामा हुर्किए होलान् उनी ?” आफैंभित्र अनेक प्रश्न खडा भयो उनको ।

‘सुम्निमा’, ‘मोदिआइन’ ‘जेल जर्नल’सम्म आइपुग्दा मथिङ्गगलमा बीपीको जबर्जस्त विम्ब गाडियो । नेपाली साहित्यको मानक–पुरुष पो लाग्न थाल्यो बीपी ।

बीपीको जादुमयी लेखन शिल्प र बान्कीपूर्ण कथाशैलीलाई पछ्याउन नखोजेका होइनन् तर उमेरले तरुणावस्थातिर पैताला सोझ्याइसकेको थियो ।

तिनताकासम्म उनलाई लाथ्यो– साहित्य समाजको दर्पण हो । तर, बीपी र डायमन शमशेर पढेपछि साहित्यको परम्परावादी धारणालाई जलाञ्जली दिनु उचित लाग्न थाल्यो र अनुभूत भयो, “साहित्य समाजको होइन, हृदयको दर्पण पो रहेछ ।”

समाजको तस्बिर खिच्न त भौतिक दुनियाँले क्यामेरा, भिडियो क्यामेरा, ड्रोनलगायत अत्याधुनिक उपकरणको आविष्कार गरिसकेको छ । क्यामेराका रिल, चिप्स आदिले ग्रहण गर्न नसक्ने हृदयगत अनभूति पो उतार्न सक्नुपर्छ साहित्यले– बलशाली तर्कसमेत छ उनीसँग ।

अमरकृत ‘सेतो धरती’, ‘पानीको घाम’ पनि समाजकै सफेद दर्पण नभनिएको होइन तर दुवै कृतिमा उनले समाजको बाह्य–चित्रण गरेका छैनन् । अन्तस्करणका सुसुप्त संवेग, उद्वेग र आवेगलाई ज्यादातर प्रतिविम्बित गर्ने कोसिस गरेका छन् उनले ।

लेखनीको थालनी

लेखक हुन्छु उनले जीवनमा कहिल्यै सोचनन् । शिक्षकको छोरा हुनुको नाताले चक–डस्टरसँगै खेलेर हुर्किए । लेखक नभएको भए के हुन्थे उनी– उत्तर दिन कन्न र गम्नु पर्दैन– शिक्षककै हुन्थे उनी ।

तर, उनको स्वभाव, आचार–विचारले लेखक बन्न अविश्रान्त हौस्याइरह्यो उनलाई ।

माथि नै भनिसकियो, लेखेका कुरा देखाउन धक मान्छन् । कविता लेखेका त हुन्थे सुनाउनुपर्छ भनेर वाचन–समारोहतिर जाँदै जाँदैनथे ।

०६४ सालको अन्तिमतिर हुनुपर्छ, ‘हुज सिटी इज दिस ?’ जर्मन कविकृत उक्त कविताको कार्यशाला भएको थियो काठमाडौंमा ।

जीटीजेडले आयोजना गरेको कार्यक्रममा उनको नाम पनि कसैले लेखिदिएछ । ७५–७६ सहभागी थिए । पूर्वबाट मनु मञ्जिल, कृष्णभूषण बलजस्ता शक्तिशाली कविसमेत आएका थिए । कविता वाचनको भीडमा उनी पनि थपिए ।

कार्यक्रमको अन्तिममा फोटोकपी पेपर बाँडिएको थियो । त्यसमा मोटा अक्षरले लेखिएको थियो– ‘टाउन राइटर रेजिडेन्स प्रोग्राम’ । जर्मनको नगरपालिकाले लेखकलाई त्यस्तो सुविधा प्रदान गर्दो रहेछ । ‘टाउन राइटर’ भन्नेबित्तिकै जर्मनमा सम्मानभावले हेरिँदो रहेछ । ‘टाउन राइटर’ले नोबल पुरस्कारसमेत जितेका छन् त्यहाँ ।

यहाँ पनि धरान, भक्तपुर, बुटवल, नेपालगन्ज र धनगढीमा बसेर लेख्ने गरी लेखक छान्न खोजिएको रहेछ । उनी पनि छनोटमा परे । शुरूमा उनले धनगढी छान्न खोजेका थिए, प्रकाश आङ्दम्बेको रोजाइमा परेपछि नेपालगन्जमा चित्त बुझाएका हुन् उनले । 

धरानमा कवि सीमा आभास, भक्तपुरमा आख्यानकार कृष्ण धराबासी र बुटवलमा भीष्म उप्रेती छानिएका थिए त्यसबेला ।

धराबासीले ‘टुँडाल’ उपन्यास, आभासले कथा संग्रह, आङ्दम्बेले नाटक र उप्रेतीले कविता लेखेका थिए त्यतिबेला । अमरचाहिँ कथा र उपन्यासको बीचबाट आख्यान जन्माएको भन्न रुचाउँछन् ।

० ० ०

भदौ २३ गते नेपालगन्ज जाँदै थिए उनी । लेखन–यात्रासँगै जहाजको पहिलो उडान थियो उनको । विमानको पहिलो खुड्किलोमा पाइला राख्नेबित्तिकै उनको मस्तिष्कका तन्तु खज्मजिए– नेपालगन्ज होइन, मानौं स्वर्गकै उडान थियो त्यो ।

बुद्ध एअरको जहाज र ढोकामा स्कर्ट लगाएर उभिएकी एअर होस्टेजको सादृश्य विम्ब अझै हट्न मानेका छैनन् उनको मथिङ्गलबाट ।

“घुँडा चिरिएकी स्कर्ट लगाएकी अप्सरा तुल्य युवतीले नमस्कार गरिन् । हत्त न पत्त कलंकीमा बस चढ्न लाग्दै गर्दा ढोकामा धकेल्दै गरेको कन्डक्टर सम्झिएँ । जीवनमा यस्तो आतिथ्यता पाएकै थिइन । न नमस्कार फर्काउन सकें, न अघि बढ्न पो सकें, यन्त्रवत् हेरिपो रहेछु मैले,” सम्झनाको तरेली उधिने उनले ।

“त्यतिबेला यस्तो सोचेँ– काठमाडौं–नेपालगन्जको भाडा छ हजार थियो, दुई हजारचाहिँ नमस्कारकै हुँदो हो,” हाँस्न रत्तिभर छाड्दैनन् उनी ।

संसारको विशिष्ट ऊर्जा हो खुशी । नेपालगन्ज पुग्दा प्रफुल्लित थिए उनी । आनन्दपूर्वक काम गर्दा त्यसले दिने परिणाम पनि सन्तोषजनक हुन्छ । त्यसैको परिणति हो– ‘पानीको घाम’ ।

०६५ भदौ २३ गतदेखि कात्तिक २३ सम्म बसेर सिध्याएका हुन् ‘पानीको घाम’ उनले । महँगो मूल्यको परियोजना थिएन त्यो, खानबस्नका लागि भनेर दैनिक २ हजार छुट्टाएको थियो । त्यसका अतिरिक्त स्थानीय यातायात र काठमाडौं आतेजातेको खर्च परियोजनाले बेहोर्थ्यो ।

“मैले त दैनिक डेढ सयको होटलमा बसेर केही पैसा बचाएँ पनि,” हास्दै सुनाउँछन् उनी ।

० ० ०

नेपालगन्ज सद्भावको सहर । तर, उनी पुग्दा केही खज्मज्जिएको थियो । सशस्त्र द्वन्द्व सेलाए पनि आलै थिए त्यसका बाछिटा । धार्मिक, क्षेत्रीय द्वन्द्वका अवशेष बाँकी नै थिए । एकातिर बागेश्वरी मन्दिर, एकातिर फूलबारी मस्जिद । दुवैतिरबाट एकाबिहानै उच्चारित मन्त्रहरू कानमा प्रतिध्वनित हुन आइपुग्थे । पात्र खोज्दै गल्ली चहार्थे अमर तर कोही मुख खोल्नै नमान्ने ! उनी निराश हुँदैनथे । किनकि उनीहरू बोल्नुमा भन्दा नबोल्नु ठूलो कथा थियो ।

जसजसका घर–द्वारमा पुग्थे । इमान्दारीपूर्वक भन्थे, “म तपाईंहरूको कथा लेख्न आएको ।”

प्रतिउत्तरमा उनीहरू भन्थे, “हाम्रो कुरा तिमीलाई सुनाएर के हुन्छ ? तिमी आफ्नो नाम बनाउँछौ, दाम कमाउँछौ, हाम्रो दुःख जहाँ को तहीँ ।” अवाक् हुन्थे अमर ।

कुराकानी गर्दै उनी पान पसलमा पुगे । एउटा वयोवृद्ध भेटिए । सोधे, “कथा छ तपाईंसँग ।”

“कथा होइन, पानचाहिँ छ, खान्छौ ?” उल्टै सोधे उनले ।

कथा चाहिएको छ, खानू कि नखानू ? दोधारमा पर्दै पान लिएर क्वाप्प मुखमा हाले ।

दाँतले चपाउन भ्याएको थिएन, घाँटी नै बाँध्यो । परपर, रमरम, झमझम कस्तो, कस्तो पो हो स्वाद त्यसको । जिब्रो–कण्ठ सबै चिरिएजस्तो भयो, निल्ने तागत उनीमा रहेन । पिच्च थुके । केही सडकमा धेरै नालीमा पर्‍यो । उछिट्टिएको छिटाले जुत्ताको मुखसमेत भिजाउन भ्यायो ।

कहिल्यै खाएको भए पो चाल पाउनू ! धेरैबेरसम्म तम्तम्याइलो भो मुख ।

अमरले पान फालेको देखेर पसलेले आँखीभौं खुम्च्याउँदै भने, “तिमीले निल्न नसकेर थुकेजस्तै छ मेरो जिन्दगीको कथा, लेख्छौ ?”

बल्ल अमरका चक्षु खुले र नेपालगन्जको फोहोरी गल्ली–गल्छेंडा सबै ‘पानीको घाम’मा प्रतिविम्बित गरे । र, २०६६ सालको पद्मश्री पुरस्कार जित्यो त्यसले ।

देवघाटको श्वेत क्यानभास

लेखनको पूर्वाद्र्धमा उनले धेरैका शैली ‘कपी’ गरे तर ‘पानीको घाम’मा आइपुग्दा उनको शैली निजात्मक भयो । नेपालगन्जले आफ्नै लेखन शिल्प निर्माण गर्न ठूलो गुण लगायो उनलाई ।

‘पानीको घाम’ले नेपालगन्जको गल्लीमात्रै होइन, उनको लेखकीय क्षमतासमेत उजागर गर्‍यो । केहीसमय अघिसम्म रहरमा सीमित लेखन कर्म अब विधा बनाउने निष्कर्षमा पुगेर १२ वर्ष शिक्षणयात्रालाई बिदा दिने निष्कर्षमा पुगे उनी ।

बिदा भएका बेला घर गएका थिए । अचानक देवघाटधाम जाने मनस्थिति बन्यो । देवघाटको कुइनेटो चितवनबाट टाढा होइन । त्यसअघि आक्लझुक्कल आउजाउ भई नै रहन्थ्यो ।

देवघाट जानुपूर्व पनि उनको मथिङ्गलमा तील–जौ पाकेकै थियो, बालबालिकाको भविष्य हुन्छ, किशोर–युवा, प्रौढको वर्तमान हुन्छ । चाउरी परेर आफ्नै हातपाखुरा पराइ भएका वयोवृद्धको के हुन्छ त ? स्वाभाविक रूपमा उनीहरूको अतीत हुन्छ ।

त्यही अतीतलाई जीवन दर्शनको अङ्ग मानेर साहित्य–चेत उजिल्याएका हुन् उनले– ‘सेतो धरती’ मा ।

‘सेतो धरती’ शायदै जन्मिन्थ्यो तर उनी देवघाट गएकै बखत एउटा घटना भयो । कोठमा धुम्धुम्ती बसिरहेकी आमै भक्कानिँदै थिइन् । उनको अकिञ्चन आँसुमा जीवनको कठोर सुस्केरा थियो । त्रिशूलीको स्याँठले उनका शरीरमा काँडा उम्रिएका थिए । नयाँ मानिस देख्नेबित्तिकै उनको बह थामिएन, गह भरिए ।

आमै रोएको थाहा पाएपछि अमरले सोधे, “आमा किन एक्लै बस्नुभएको ?”

आमैले भासिएको स्वरले उत्त    र दिइन्, “भगवान हुनुहुन्छ नि !”

“भगवान हुनुहुन्छ भने किन रूनुभएको त ?”

निःशब्द भइन् आमै ।

दोस्रो विश्वयुद्धमा कोटि मानिस स्वाहा भएपछि नित्सेले घोषणा गरे– ईश्वर मर्‍यो !

भगवान छन् भनेर धरधरी रुने ती आमैको आँसु–दर्शन नित्सेको भन्दा निर्मम लाग्यो । एक किसिमले ईश्वरप्रति कटु–व्यंग्य थियो त्यो । वृद्धाश्रमबासी आमैहरूका जीवनका यस्तै अनेकाअनेक ‘व्यञ्जना’ समेटेर ‘सेतो धरती’ जन्माएका हुन् उनले ।

भन्छन्, “सेतो धरती लेख्न मैले काठपातमात्रै आमाहरूको प्रयोग गरेँ । उहाँहरूको भाव लिएर सुहाउँदो फर्निचर तयार पारेकोँ हुँ ।”

२०६८ को मदन पुरस्कार जितेर मात्रै होइन, सामाजिक कथा–आयामका हिसाबले ‘सेतो धरती’ले अमर न्यौपानलेलाई समकालीन साहित्यकारको अघिल्लो हारमा उभ्याइदियो । र, अमर तुल्याइदियो अमरलाई ।

विणायुक्त कस्तुरी

साहित्य–बजारमा हल्ला छ– अमर न्यौपानले ‘पानीको घाम’मै चुली चुमे । ‘सेतो धरती’मा आइपुग्दा उनको विशिष्ट शैली निर्माण भयो । मानक बने उनी ।

तर, ‘कराडौं कस्तूरी’मा आइपुग्दा भने उनी शिखरमा अडिइरहन सकेनन् । उचाइको विशेषता नै त्यही हो, अडिइरहन मुस्किल हुन्छ ।

‘हास्य–नायक’ हरिवंश आचार्यलाई ‘चिना हराएको मानिस’मै पढिसेका थिए । करोडौँ कस्तुरीमार्फत उनको छाया–कथा आवश्यक नै थिएन भन्नेहरू नभएका पनि होइनन् ।

तर, हरिवंशको आत्मकथा आउनुपूर्व नै विद्यालयमा हरिवंशका कथा पढाउँथे अमर । त्यसबाहेक विश्व धनाड्य बिल गेट्स, विश्व प्रशिद्ध भौतिक शास्त्री अल्बर्ट आइन्स्टाइनका कक्षा छाडेका परिघटना उनको पाठ्यवस्तु हुन्थे ।

‘करोडौं कस्तूरी’को शिर्जना क्षणिक होइन, बरु शैक्षणिक छ । कोरा कल्पना होइन, बाह्र वर्षे शिक्षण जीवनको अनुभवद्वारा उत्पादित सिर्जना हो ।

उनको आशयलाई शब्दमा उतार्नुपर्दा ‘करोडौं कस्तूरी’ विणायुक्त कस्तुरी हो र अलग अलग अनुहार र अलग–अलग औंठाछाप लिएर जन्मिएका प्रत्येक मानिसको क्षमता पनि अलग–अलग हुन्छ । एउटै प्रश्नपत्र र शिक्षण सिकाइ क्रियाकलापले तिनीहरूको भाग्य र भविष्यका फैसला गर्नु हुँदैन । तर, हाम्रो शिक्षा पद्धतिले त्यो दुस्साहस गरिरहेको छ ।

दुनियाँलाई ‘ड्राइभ’ गर्न सक्ने हाम्रा विद्यार्थी अर्कैको ‘पेन ड्राइभ’ बन्न अभिशप्त छन्– दुखेसो छ उनको ।

संघारमा अर्को पुस्तक

नेपाली साहित्यमा तीन विशिष्ट सिर्जना पस्किएका अमर तीन महिनामा अर्को पुस्तक लिएर आउँदैछन् तर विषय गोप्य राखेका छन् उनले ।

किन होला ?

मनमा कुतूहलता उब्जिन नपाउँदै आफैं जवाफ दिन्छन् उनी ।

केही समयअघिदेखि नै बजारमा हल्ला व्याप्त थियो– अमर न्यौपानले उपल्लो मनाङ, हुम्लालगायत केही क्षेत्रमा अद्यावधिक रहेको ‘बहुपति’ प्रथालाई केन्द्रमा राखेर उपन्यास लेख्दैछन् । हल्ला भुसको आगोसरह साहित्यवृत्तमा फैलिएपछि त्यो पाण्डुलिपिमा काम नसक्दै अर्को उपन्यासमा लेख्न विवश भए उनी ।

“सबैलाई सुनाउँदै हिँड्दा हावा फुस्किएको बलझैं हुँदो रहेछ कथा, हावा कम भएको बल गोल पोस्टसम्म नपुग्दै बीचमै दुर्घटनामा पर्न सक्छ नि, त्यसैले नभनेको हुँ,” दृष्टान्त दिँदै कुराकानीको पोयो गाँठो पारे उनले ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC