site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
क्रान्तिकारी नेता, निर्भीक पत्रकार
Ghorahi CementGhorahi Cement

– नरेश फुयाँल


राजनीतिमा रहँदा पत्रकारिता नगरेका र पत्रकार भएपछि राजनीति नगरेका व्यक्ति हुन् हरिहर विरही । तर, यसलाई कति उनकै साथीसंज्ञीले छुट्टयाउन सकेनन् या चाहेनन् । पत्रकारले राजनीतिज्ञ भनिदिने र राजनीतिज्ञले पत्रकार भन्ने गरेको उनको गुनासो छ । पत्रकार भनेकोमा त उनको भन्नु केही छैन तर स्वच्छ पत्रकारिता गर्दासमेत कांग्रेसको पत्रकार भनेर आरोप लगाउनेहरूसँग भने उनको मौन गुनासो छ । चर्को कांग्रेस कार्यकर्ता हुँदै पत्रकारितामा आइपुगेका हरिहरले थुप्रै उकाली ओराली र भन्ज्याङ चौतारीको यात्रा गरे । वक्ररेखाको यात्रा उनले जति राजनीतिमा रहँदा तय गरे, त्यति नै पत्रकारितामा पनि गरे । कहिले पञ्चायतको खप्की त कहिले आलोचना सहन नसक्ने शासकहरूको दप्की— उतारचढाव नै उनको जिन्दगीका सहयात्री हुन् । करिब ४० वर्षअघि सिन्धुली कांग्रेस जिल्ला कार्य समितिका सचिव रहेका हरिहर पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यसमेत थिए । तर, समयचक्रको रेखामा अहिले उनी पत्रकारमात्रै हुन् ।

क्रान्तकारी नेता र जेल

Agni Group

कांग्रेस नेता सरोज कोइराला छिमेकी थिए, बोधप्रसाद उपाध्याय मावली हजुरबुवा । उनीहरू पञ्चायतविरोधी राजनीतिमा लागेको देखेर हरिहर पनि त्यसतर्फ खिचिए । जनकपुरमा माध्यमिक तहमा पढ्दापढ्दै हरिहर राजनीतिमा लहसिए । राजनीतिमा लाग्नुमात्रै थिएन त्यो बेला उनलाई, अरुभन्दा चर्को क्रान्तिकारी बन्नु थियो । त्यही लालसाले उनलाई राजनीतिक कार्यकर्ता त बनायो नै, पटक–पटक जेलको कष्टप्रद यात्रा पनि गरायो ।

०२४ सालमा प्रवेशिका परीक्षा दिनेबित्तिकै हरिहर पक्राउ परे । ०२६ फागुन ६ गते उनले जनकपुरमा जानकी मन्दिर अवस्थित राजा महेन्द्रको शालिकमा कालोमोसो दले । उनको टोलीमा महन्थ ठाकुर र केशव कोइराला पनि सहभागी थिए । कालोमोसो दले पनि कसले दल्यो, राज्यले पत्तो पाएन । प्रहरी हिरासतको यात्रा एकपटकलाई गर्नु परेन ।

Global Ime bank

यात्रा भर्खर शुरु भएको थियो । अल्पविराम लाग्ने कुरै भएन । ०२७ सालमा राज महेन्द्रको जन्मोत्सव भइरहेको ठाउँमा उनले मूर्दावादको नारा लगाए । लाठीचार्ज भयो । जानकी मन्दिर परिसरबाटै पक्राउ परे । हरिहरसँगै आनन्द ढुङ्गाना, महन्थ ठाकुर, केशव कोइराला, महेन्द्र मिश्रलगायतलाई प्रहरीले समात्यो । पञ्चायतले राजकाज मुद्दा लगाएर थुनामा राख्यो । पहिलो गिरफ्तारीमा उनी ११ महिना जेल बसे । १२ महिना जेल बस्नुपर्ने अञ्चलाधीशको आदेश भए पनि सर्वोच्च अदालतले ११ महिना बसेपछि मुद्दा जिताएर रिहाइ गराइदियो ।

त्यसपछि ?

०२८ पुस १ गते हरिहर सिन्धुलीको कमला माध्यमिक विद्यालय पुगे । गोप्य रूपमा सभा गरे र राजा महेन्द्रको पुत्ला जलाए ।

राज्य संयन्त्रले थाहा पायो । पञ्चायतले छाडेन । राजकाज मुद्दा लगाएर फेरि उनलाई डेढ वर्ष थुन्यो । ०२६ देखि ०६३ सम्म जेल जाने क्रम रोकिएन । ०२६ देखि ०६३ सम्म पटक–पटक गरी उनी ७ वर्ष जेल बसे ।

नेपाली कांग्रेस सशस्त्र आन्दोलनमा थियो । विमान अपहरणसम्म गर्न थालिसकेको थियो । हरिहरलाई पनि ती कार्यले लोभ्यायो ।

लाग्थ्यो— ओहो ! त्यस्तै काममा संलग्न हुन पाए !

यही लोभले उनी ०३० मा बनारस पुगे ।  

पत्रकारिता यात्रा र जेल

क्रान्तिमा संलग्न हुने उनको चाह थियो । विडम्बना ! बीपीले हरिहरलाई पार्टीको प्रचार विभागमा राखिदिए ।

कांग्रेसको मुखपत्र थियो ‘तरुण’ । सम्पादक थिइन् शैलजा आचार्य । त्यसको सम्पादक मण्डलमा बसेर काम गर्न थाले हरिहर ।

‘तरुण’मा विचार लेख्थे उनी । त्यसबाहेक उनी भारतीय पत्रिकाहरू– ‘प्रतिपक्ष’, ‘वार्ता’, ‘हिमाल एसिया टाइम्स’ लगायतका पत्रिकामा लेख लेख्थे ।

राजनीतिमा लाग्छु भनेर बनारस पुगेका थिए हरिहर । भेटघाट र छलफलबाट शायद बीपीले थाहा पाए— उनी राजनीतिभन्दा पनि लेखनमा बढी सुहाउँछन् । त्यसैले बीपीले उनलाई पत्रिकातर्फ डेर्‍याए ।

“बीपीको प्रेरणाले नै म पत्रकारितामा आएँ,” उनी भन्छन्, “म नेपालमा हुँदा पनि लेख लेखिरहने भएकाले होला वा बनारस निर्वासनमा रहेकामध्ये पढेलेखेका व्यक्ति कम भएकाले होला— उहाँले मलाई पत्रकारितातर्फ प्रेरित गर्नुभयो । शायद यसले लेख्न कत्तिको सक्दो रहेछ भनेर उहाँले मेरो परीक्षा लिनुभएको जस्तो पनि लाग्छ ।”

‘तरुण’ ले निरन्तरता पाउन सकेन । ‘तरुण’ बन्द भएपछि हरिहरले त्यहाँ बसिरहनुको औचित्य देखेनन् र मुजफ्फरपुर र दरबङ्गामा बसेर ‘विमोचन’ निकाले ।

त्यही पत्रिकाको मोहले नेपालमा पनि उनले यो पत्रिका निकाले । भलै भारतमा रहँदा त्यसले राजनीतिलाई प्राथमिकतामा राखे पनि नेपालमा भने साहित्य र मनोरञ्जनमा यो केन्द्रित हुन पुग्यो ।

०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किए । सँगै हरिहर पनि आए ।

पछि बीपी जेलबाट छुटे । उनले त्यो बेला पत्रिका सञ्चालन गर्न खोजे । पत्रिका दर्ता र प्रकाशनको जिम्मेवारी बीपीले हरिहरलाई नै दिएका थिए ।

तर, पञ्चायतले कहिले नाम जुधेको त कहिले कागजपत्र नपुगेको बहाना देखाएर पत्रिका दर्ता गर्न दिएन ।

“बीपीले पत्रकारितालाई ठूलो महत्व दिनुहुन्थ्यो । पार्टीहरूले जति काम गर्छन्, त्योभन्दा बढी भूमिका जनता जागृत गराउन सञ्चारमाध्यमको हुन्छ भन्नुहुन्थ्यो,” बीपीलाई सम्झँदै हरिहर नोस्टाल्जिक हुन्छन्, “उहाँको यस्तो भनाइकै कारण मैले पूर्णकालीन रूपमा पत्रकारिता क्षेत्रमा लाग्ने मानसिकता बनाएँ ।”

०३७ सालदेखि ‘साप्ताहिक मञ्च’बाट हरिहर औपचारिक रूपमा पत्रकारितामा प्रवेश गरे । जनताको आवाज सामान्यतः अरुले भन्दा बढी मुखरित गर्ने र पञ्चायतको नीतिविरुद्ध एडिटोरियल पोलिसी बनाएर उक्त पत्रिका प्रकाशन आरम्भ भएको थियो । सम्पादक पदम ठकुराठी थिए । पञ्चायतको आँखाको तारो बनेको यो पत्रिकाका सम्पादक पदमलाई गोली प्रहार भयो । पञ्चायतले यो पत्रिकालाई प्रतिबन्ध लगायो । प्रकाशक बैकुण्ठ प्रधानलाई दबाब दिएर सरकारले प्रकाशन गर्न दिएन ।

‘साप्ताहिक मञ्च’ बन्द भयो । तर, पञ्चायत यथावत् थियो । पञ्चायतको विरोध गर्नु नै थियो । पत्रकारितामार्फत शासकहरूलाई सचेत गराउनु नै थियो ।

‘साप्ताहिक मञ्च’कै आकार/प्रकारमा पहिलादेखि नै प्रकाशन हुँदै आएको ‘विमर्श’लाई सञ्चालन गरे । यसको सम्पादक केशवराज पिँडाली थिए । रूपचन्द्रको कविता छापिएको बहानामा सम्पादकलाई पक्राउ गरियो । पत्रिका बन्द भयो ।

पञ्चायतले निरन्तर खेदिरह्यो तर हरिहर गलेनन् । उनले ‘जनज्योति’ नामक पत्रिका प्रकाशन आरम्भ गरे । सम्पादक उनी आफैं भए ।

यसमा उनले दरबारपरस्थ योगी नरहरिनाथको अन्तर्वार्ता छापे । अन्तर्वार्तामा उनले दरबारको शक्ति राजाबाहेक राजपरिवारका अन्य सदस्यमा समेत बाँडिएको र त्यो नै गलत भएको विचार राखे । उनको भनाइको आशय थियो, “राजा अझै निरङ्कुश हुनुपर्छ । राजाले सबै शक्ति आफैं लिएर निरंकुश हुनुपर्छ तर त्यसका लागि राजाले अपनाइरहेको कार्यशैली ठीक छैन ।”

नरहरिनाथले पञ्चायत र दरबारभित्रका विकृति र विसंगति मुखरित गरेका थिए ।

सरकारले अन्तर्वार्ता छापिएका सबै पत्रिका बजारबाट जफत गर्‍यो । सम्पादक हरिहरलाई पक्राउ गर्‍यो । राजकाज मुद्दा लगायो । ८ महिना थुन्यो । उनीसँगै प्रकाशक र कम्पोजिटरलाई समेत ७ दिन थुन्यो ।

हरिहरलाई पक्राउ गरेकै भोलिपल्ट योगी नरहरि नाथले पत्रकार सम्मेलन गरेर पत्रिकामा आफूले भनेकै कुरा छापिएको तर केही आफूले भनेका कुरा नछापिएको भन्दै हरिहर दोषी नभएको स्पष्ट पारे ।

आलोचना पटक्कै नसहने तत्कालीन दरबार र सरकारले  उनका कुरा पनि सहन सकेन । अन्ततः उनलाई गाडीमा हालेर भैरहवा लगेर छाडिदियो । केही समय काठमाडौं नफर्कन निर्देशनसमेत दियो ।

‘जनज्योति’लाई पनि राज्यले प्रतिबन्ध लगाायो । यसपछि उनीहरूले ‘नेपाली आवाज’ निकाले । ‘नेपाली आवाज’ प्रकाशन शुरु हुँदा उनी जेलमै थिए । बलदेव थापा सम्पादक थिए । यही बेला अदालतले ‘विमर्श’को प्रतिबन्ध फुकुवा गर्‍यो । त्यससँगै ‘विमर्श’ प्रकाशन पुनः शुरु भयो । ८ महिनापछि रिहा भएका हरिहर ‘विमर्श’मै पुगे ।

०४६ को आन्दोलन शुरु भयो । ‘विमर्श’ले जनआन्दोलनको महायज्ञमा चरु थप्ने काम गर्‍यो । यो समय हरिहर सम्पादक भइसकेका थिए ।

नेता पत्रकार

अहिलेको पत्रकार महासंघ शुरुमा पत्रकार संघ थियो । पत्रकारहरूको आवाज उठाउने भनिए पनि त्यो कट्टर पञ्चको कब्जामा थियो । दरबार र पञ्चायतको गुणगान गाउनेहरूको बोलावाला थियो । संघको नेतृत्वमा राजाको जयजयकार गर्न होडबाजी चल्थ्यो ।

हरिहरलगायतका केही पत्रकार यसको विरुद्धमा थिए । ०४३ सालमा मणिराज उपाध्यायको नेतृत्वमा छुट्टै संघ गठन भयो । पत्रकार संघ नामकै दुइटा संस्था खडा भए । पञ्चायतको विरोध गर्ने भएकाले उपाध्यायनेतृत्वको संघले वैधानिकता भने पाएको थिएन । त्यसमा हरिहर सदस्य थिए ।

उपाध्यायपछि गोविन्द वियोगी सभापति भए । त्यसमा पनि सदस्य रहेका हरिहर होमनाथ दाहाल सभापति रहेको संघमा सल्लाहकार भए ।

०५२ वैशाखमा भएको १७ औं महाधिवेशनले हरिहरलाई सभापतिमा चयन गर्‍यो । ०५३ असार ११ गते हरिहर सभापति भएकै बेला नेपाल पत्रकार संघ महासंघमा रुपान्तरण भयो ।

हरिहर प्रखर पत्रकार थिए । पत्रकारको हकहितका लागि आवाज उठाउँथे । पत्रकारिता व्यावसायिक र मर्यादित हुनुपर्छ भन्ने ‘इथिक्स’ थियो । उनको यही विचार, पत्रकारिताप्रतिको लगन र समर्पणले उनलाई प्रेस काउन्सिलमा पनि पुर्‍यायो ।

०४७ सालमा पहिलोपटक काउन्सिलको सदस्य भएका हरिहर सल्लाहकार हुँदै अध्यक्षसम्म भए । चार वर्षे अध्यक्षको कार्यकालमा उनले ६ प्रधानमन्त्री र ७ सञ्चारमन्त्री झेले । राजनीतिक अस्थिरताको चरम रूप भए पनि प्रेस काउन्सिलको विधानमै स्पष्ट उल्लेख भएका कारण सरकारले त्यति धेरै हस्तक्षेप भने गर्दैनथ्यो ।

यद्यपि त्यो समयका केही तीता अनुभव पनि हरिहरको दिमागमा ताजै छन् । सञ्चारमाध्यममा विदेशी लगानी गर्न दिनु हुँदैन भन्ने हरिहरले गरेको निर्णयप्रपति तत्कालीन सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले असन्तुष्टि जनाएका थिए । तर, पनि असहज स्थिति भने सिर्जना गरेनन् ।

गोप्य स्थान र आलोचना

०४७ सालको संविधान बनिरहेको थियो । त्यसलाई अन्तिम रूप दिँदा धेरै कुरा पहिले नै बाहिर आउने र त्यसको पक्ष–विपक्षमा आउने मतले संविधान सुधार सुझाव आयोगलाई काममा बाधा उत्पन्न हुने भन्दै आयोग अध्यक्ष विश्वनाथ उपाध्यायले संविधानलाई अन्तिम रूप दिन गोप्य ठाउँ रोजे ।

कहाँ होला ?

हरिहरले खोजे । पत्ता लगाए ।

उनीहरू कुलेखानीस्थित विद्युुत् प्राधिकरणको गेस्ट हाउसमा जाने तयारी गरिरहेका छन् । त्यसका लागि उक्त गेस्ट हाउस सफा गरेर कार्पेटिङदेखि सोफासम्म मिलाउने काम भइसकेको भन्दै समाचार प्रकाशन गरे ।

‘विमर्श’को पहिलो पृष्ठमा दुई कोेलमको समाचार छापिएपछि विश्वनाथले त्यहाँ जाने कार्यक्रम रद्द गरे । ‘गोरखापत्र’मा उनले ‘विमर्श’ले छापेको समाचार कपोकल्पित र भ्रामक भएको भनेर खण्डन छापे । रेडियो नेपालले समेत त्यसलाई समाचार बनाएर प्रसारण गर्‍यो ।

हरिहरले अर्को अंकमा प्राधिकरण भवनमा भएको सम्पूर्ण भौतिक तयारीबारे विस्तृतमा समाचार छापे ।

“शुरुमा आयोगलाई विवादमा पार्न खोज्यो भनेर मेरो आलोचना गर्नेहरूले नै पछि मैले विस्तृतमा अर्कोे अंकमा समाचार छापेपछि सरकारी अधिकारीहरूले पनि जानीजानी गलत सूचना प्रवाह गर्दा रहेछन् भन्ने प्रतिक्रिया दिए,” हरिहर सम्झन्छन् ।

कांग्रेस निर्णय उल्ट्याइदिने समाचार

‘विमर्श’ले हरिहरलाई पहिचान दिलायो । त्यसमा लेखिएका केही समाचारले नेताको पसिना काढ्यो । जनपक्षीय समाचारले पार्टी कार्यालय र उनीहरूका निर्णयलाई हल्लायो । कति उल्ट्याउन बाध्य पार्‍यो । नेपाली कांग्रेसको राजनीतिबाट पत्रकारितामा छिरे पनि हरिहरले स्वतन्त्र भएर कलम चलाउने प्रयास गरे । कांग्रेसकै आलोचनामा समाचार प्रकाशन गरे । लामा–लामा लेख लेखेर सच्चिन आग्रह गर्दै प्रजातात्रिक चरित्र देखाउन भने ।

नेपाली कांग्रेस नेपालको पुरानो प्रजातान्त्रिक दल थियो । त्यो बेलासम्म कांग्रेस प्रजातन्त्रको प्रतीकका रूपमा चिनिन्थ्यो । तर, पनि कांग्रेसले आफ्नो महाधिवेशन गर्न सकेको थिएन । यद्यपि प्रतिबन्धित अवस्थामै मालेले भने आफ्नो महाधिवेशन गरिरहेको थियो ।

कांग्रेस महाधिवेशन ०१७ सालपछि रोकिएको थियो । दलीय प्रतिबन्ध फुकुवा भएपछि ०४८ सालमा बल्ल हुने भयो । कृष्णप्रसाद भट्टराई (किसुनजी) कार्यवाहक सभापति थिए । झापाको कलबलगुढीमा महाधिवेशन हुने भयो । किसुनजी सभापति हुने निश्चित थियो । अहिलेको कांग्रेसमा जस्तो त्योबेला चर्को गुटबन्दी थिएन । उनले इच्छाएको अवस्थामा उनलाई रोक्न कसैले आँट गर्दैनथ्यो । गरे पनि उनलाई टक्कर दिएर सभापतिमा निर्वाचित हुने ल्याकत अरुले राख्दैनथे । 

महाधिवेशनभन्दा दुई हप्ताअघि बसेको कांग्रेस केन्द्रीय समितिले सभापतिका लागि किसुनजीले मात्रै दरखास्त हाल्न पाउने निर्णय गर्‍यो । अरु उठ्नै नपाउने निर्णय गरियो । कांग्रेस केन्द्रीय समितिका सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन्थे । अरु प्रतिनिधि छनोट हुनुभन्दा पहिला नै सभापतिका लागि उमेदवारी दर्ता गर्ने मिति समाप्त भइसक्ने निर्वाचन कार्यतालिका कांग्रेसले बनायो ।

आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने कांग्रेसको यस्तो अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति देखेपछि हरिहरले माघ १७ गते समाचार लेखे, ‘सत्तारुढ पार्टीको तानाशाही फैसला’ शीर्षकमा । हरिहर कांग्रेसको समर्थक हुँदाहुँदै पनि उनले यो समाचार लेखेपछि अगाडि चुप रहेका नेताहरू पार्टीको उक्त निर्णयविरुद्ध बोल्न थाले । सुशील कोइरालाले तीव्र विरोध गरे । उनीसँगै अन्य नेता तथा कार्यकर्ताले पनि मुख खोले ।

“किसुनजीले त्यो समाचार गिरिजाप्रसाद र सुशील कोइरालाले लेखाउन लगाएको ठान्नुभयो तर यथार्थमा गिरिजा र सुशीलजस्ता नेता केन्द्रीय समितिमा हुँदाहुँदै पनि कांग्रेसले यस्तो तानाशाही निर्णय गराएको भन्दै उनीहरूको पनि आलोचना गरेर मैले त्यो समाचार लेखेको थिएँ,” झन्डै तीन दशकपहिले लेखेको समाचारबारे हरिहर स्पष्ट पार्छन् ।

अन्ततः कांग्रेसले उक्त निर्णय सच्यायो । तर, किसुनजीविरुद्ध कसैले पनि सभापतिमा उमेदवारी दिएन । उनी निर्विरोध निर्वाचित भए ।

निर्भीक निर्णय

०६२/६३ को जनआन्दोलनमा भएको दमनको छानबिन गर्न गठित रायमाझी आयोगमा हरिहर सदस्य भए । आयोगले प्रतिवेदन त बुझायो तर त्यसमा केही सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखे । हरिहरलाई पनि राजनीतिक तहबाट दबाब आयो । तर, त्यसलाई उनले सुनेनन् । ‘हातखुट्टा बाँधिदैन’ भन्ने कबोल गरेपछि आयोगको सदस्य भएको स्मरण गराउँदै उनी झुकेनन् । हरिहर भन्छन्, “म त्यो बेला थोरैमात्रै विचलित भएको भए मलाई जनताले कालोमोसो दल्ने थिए ।”

प्रलोभनमा फसेको र दबाबमा परेको भए हरिहरले बनाएको अग्रज पत्रकारको छवि र उनीप्रतिको आस्था पनि समाप्त भएर जाने थियो ।

उनलाई केही लाभ–पदका अफर पनि आए । तर, विभिन्न पक्षसँग आफ्नो उचो इमान गुमाएर सम्झौता गर्नुपर्ने पदमा उनी पुग्न रुचाएनन् । कांग्रेसका प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारका लागि आग्रह गरिएको थियो । तर, उनले त्यहाँ पनि चासो देखाएनन् ।

संविधानसभाका दुइटै निर्वाचनमा उनको नाम समानुपातिकतर्फ राखिएको थियो । तर, संविधानसभामा पुर्‍याइएन । पछिल्लोपटक पनि उनको नाम समानुपातिकतर्फ राख्न लाग्दा उनैले आग्रह गरे, “संसदमा नपुग्ने गरी राखिने नामका लागि म इच्छुक छैन ।”

त्यसो त उनलाई पार्टीले टिकट नै दिन्छु, प्रत्यत्क्ष राजनीतिमा आउनुस् पनि भनेको थियो । तर, जनताको काम नगर्ने वर्तमान दाउपेचपूर्ण राजनीतिमा आएर नागरिकलाई झुटा आश्वासनमात्रै बाँड्ने राजनीतिमा आउन उनलाई मन लागेन । उनले शुरुमै हात उठाए ।

कार्टुन बनाउँदा जेल

०४६ मा प्रजातन्त्र पुनर्बहाली भयो । स्वतन्त्र वातावरणको अपेक्षा गर्दै बग्रेल्ती सञ्चारमाध्यम खडा हुन थाले । तर, ०४९ मा कार्टुन छापेबापत नै हरिहर फेरि जेल जानु पर्‍यो ।

कांग्रेस सरकारले गरेको महाकाली सन्धिविरुद्ध अदातलमा मुद्दा पर्‍यो । देश दुई धारमा विभाजित भयो । आन्दोलन, तोडफोड र हड्ताल भयो । मुद्दाको फैसला सुन्न अदालतमा नागरिकको भीड लाग्थ्यो । बहस सकियो तर अदालतले फैसला सुनाएन । फैसला सुनाउने न्यायाधीश कहिले भतिजाको जनैसुपारीमा जानु पर्‍यो भनेर आउँदैनथे भने कहिले ज्वरो आयो भने अनुपस्थित हुन्थे । नागरिक भने सधैं सर्वोच्चमा पुग्थे । कांग्रेस ‘हामी जित्छौं’ भनेर दाबी गरिरहेको थियो । एमाले ‘फैसला हाम्रो पक्षमा आउँछ’ भन्ने अपेक्षामा थियो ।

सर्वोच्चको त्यो अवस्था देखेर जनतामा शंका पैदा भएको थियो— कतै न्यायाधीश नै राजनीतिक चंगुलमा त फसेनन् ? हैन भने बहस सकिएपछि पनि किन फैसला सुनाइएन ?

हरिहरलाई कार्टुन फुर्‍यो । उनले कार्टुनिस्ट खोकना (मोहनश्याम महर्जन)लाई ‘थिम’ दिए । काटुर्न तयार भयो ।

कार्टुन छापियो । त्यसको बीचमा नरिवलको रुख थियो । त्यो रुखमा बाँदर नरिवल समातेर बसेको हुन्छ । एकातिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला छन् भने अर्कोतर्फ मनमोहन अधिकारी, सहाना प्रधान र मदन भण्डारी । दुबैतर्फका नेताहरू ‘यता खसाल, यता खसाल’ भनेर कपडा थापिरहेका छन् । नरिवलमा टनकपुर मुद्दा लेखिएको छ ।

\"\"शुक्रबार पत्रिका निस्कियो । विश्वनाथ उपाध्याय प्रधानन्यायाधीश थिए । कार्टुनमा प्रकाशित बाँदरको अनुहार उनीसँग अलिअलि मिल्थ्यो ।

त्यही दिन मुद्दा पर्‍यो । त्यही दिन पेशी तोकियो र त्यही दिन आदेश भयो— २४ घण्टाभित्र सम्पादक बयानका लागि हाजिर हुनू ।

हरिहरका पक्षबाट अनुपराज शर्मा, राधेश्याम अधिकारी र कृष्णप्रसाद पन्तले बहस गरे । सरकारका पक्षबाट शम्भु थापा, सतिशकृष्ण खरेल र लभ मैनालीले बहस गरे ।

मोहनप्रसाद शर्मा र रुदबहादुर सिंहको इजलासमा मुद्दा थियो । ०४९ कात्तिक २१ गते उनीहरूले फैसला सुनाए— हरिहरलाई ७ दिन कैद र ५ सय रुपैयाँ जरिवाना ।

अर्को अंकमा माफी मागेर पत्रिका अदालतमा पेश गरे मुद्दा नलाग्ने पनि फैसलामा उल्लेख थियो । तर, हरिहरले ‘जनताको अभिरुचि व्यक्त गरेको मात्रै हुँ, गल्ती गरेको छैन’ भने र माफी माग्नुभन्दा सजाय भुक्तान गर्नु नै उपयुक्त ठाने । उनी ७ दिन भद्रगोल जेलमा बसे ।

यसबारे गत वर्ष प्रकाशित हरिहरको आत्मकथात्मक कृति ‘आगो निभेको छैन’मा धेरै कुरा समावेश छन् । अहिले उनी अर्को पुस्तक लेखनमा सक्रिय छन् । 

पत्रकारिताप्रति सधैं निष्ठावान हरिहरले आफैं पत्रिका चलाउन नसकेपछि यसको विकल्प खोजे । जनकपुरे साथीसँग मिलेर रोडाढुङ्गा उद्योग खोले  । कुखुरा पालन गरे । ऋण लिएर प्रेस सञ्चालन गरे तर कुनै पनि व्यापारी र नेतासँग सहयोग मागेर स्वतन्त्रता, स्वाभिमान र इमान बेचेनन् । जागिरे नियुक्तिप्रपति आशक्ति देखाएनन् । इमान डगाएनन् ।

अहिलेको पत्रकारिता

हरिहरको पालामा व्यावसायिक पत्रकारिता विकास भएको थिएन । मिसन पत्रकारिता थियो । देशलाई पञ्चहरूको चङ्गुलबाट मुक्त गरेर खुला वातावरणमा हिँडाउनु थियो । त्यसका लागि हरिहरको कलम सधैं चलिरह्यो । चाहे नेताहरूका चर्को आलोचना खेप्नु परोस्, चाहे जेलको चिसो छिँडीको बास नै किन नहोस्— उनको कलम कहिल्यै मधुरो भएन, विचार भुत्तिएन र स्वाभिमान नुघेन ।

अहिलेको समय पत्रकारिताका लागि उर्वर हो । पत्रकारिता भरपर्दो जागिर भएको छ । तर, हरिहरलाई यसले तानेन । ठेकेदारले लगानी गरेका सञ्चारमाध्यममा बसेर स्वतन्त्र ढङ्गले काम गर्न सकिन्छ भन्ने उनलाई लागेन । अहिलेका चलेका ब्रोडसिटले उनलाई आग्रह गरे पनि स्वतन्त्र समाचार कक्षको सम्भावना देखेनन् र त्यस्तो अवस्थामा उनले भुत्तो कलम चलाउन चाहेनन् । व्यापारीले सञ्चारगृह चलाउने र पत्रकारले जागिर खाने अवस्था सिर्जना भएको भन्दै हरिहर भन्छन्, “प्रविधि र उत्साहजनक दक्ष जनशक्ति हुँदाहुँदै पनि खोजपूर्ण समाचारहरू आउँदैनन् । यसका पछाडि पक्कै पनि केही न केही कारण हुनुपर्छ ।”

साधन–स्रोत, प्रभाव र पहुँच तथा जनशक्ति उच्च भए पनि तुलनात्मक रूपमा उत्साहप्रद प्रतिफल दिन नसकेको बताउने हरिहर व्यावसायिकभन्दा पनि पत्रकारिता व्यापारीकरण भएकोमा खेद प्रकट गर्छन् । पत्रकारले दिनुपर्ने सूचना लुकाएको उनी प्रष्ट देख्छन् पनि ।

अझै पनि पेशागत सुरक्षाको अभाव रहेको भन्दै उनी सञ्चालकहरूको स्वार्थसँग जोडिएको समाचार पो लेखिने हो कि भन्ने त्रास पत्रकारमा रहेको बताउँछन् । “भारतलगायतका देशमा प्रकाशकसँग मतभेद भएर सम्पादकले राजीनामा दिएका उदाहरण धेरै छन्,” उनी भन्छन्, “तर नेपालमा भने अपवादबाहेक यस्ता घटना मैले सुनेको छैन । सम्झौतावादी प्रवृत्ति छ । सञ्चारमाध्यम आत्मनिर्भर नभएका कारण विभिन्न दृश्य तथा अदृश्य शक्तिसँग सम्झौता गरिरहेका छन् ।” 

हरिहरका नजरमा केही सीमित सञ्चारमाध्यमबाहेक अधिकांशमा विज्ञापन हेर्दा उनीहरू आत्मनिर्भर छन् भन्ने देखिँदैन । “यसले उनीहरूको आर्थिक स्रोत के हो भनेर सोच्न बाध्य बनाउँछ,” उनी थप्छन्, “सञ्चारमाध्यमलाई कसरी आत्मनिर्भर गराउने भन्नेतर्फ राज्य गम्भीर हुनुपर्छ । अन्यथा आफू बाँच्नका लागि सञ्चारमाध्यम विभिन्न सम्झौता गर्छन् र त्यसले समाज र राष्ट्रलाई नकारात्मक असर पनि पुर्‍याउन सक्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २४, २०७४  ०७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC