काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्थाहरुलाई धितोपत्र बोर्डमा दर्ता नगरी सार्वजनिक सेयर निष्काशन नगर्न निर्देशन दिएको छ । बोर्डले कतिपय जलविद्युत कम्पनीले धितोपत्र सम्बन्धी ऐन, २०६३ को व्यवस्थाअनुसार सेयर निष्कासन नगराएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
बोर्डले धितोपत्र सम्वन्धी प्रचलित कानुन बमोजिमको प्रक्रिया पुरा नगरी सर्वसाधारण समक्ष धितोपत्र बिक्री गर्ने कार्य गैरकानुनी भएकोले वोर्डमा दर्ता गरी विवरणपत्र प्रकाशन गरेर मात्र धितोपत्रको सार्वजनिक निष्काशन सुचना जारी गरेको हो । बोर्डले दर्ता नभएका कुनै पनि कम्पनीमा शेयर लगानी नगर्न तथा नगराउन अनुरोध पनि गरेको छ ।
बोर्डले विगतमा पनि गैरकानुनी ढंगबाट सार्वजनिक रुपमा निष्काशन गर्न लागेका संगठित संस्थालाई रोक लगाएको थियो ।