site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
टपरीमा जीवन खुट्दै
Sarbottam CementSarbottam Cement

अक्षर काका


अगाडि मिष्ठान्न भण्डार, केही युवाहरू तात्तातो जेरी जिप्ट्याउँदैछन् । तिनको मुख होइन, अनुहारमा गुलियो आभा छाएको छ । अलिक पर्तिर चार–पाँच जना भरिया आपसमा कानेखुसी गर्दै अट्टहास छाडिरहेका छन् । अगलबगलका नाम्लाहरू भारीको प्रतीक्षामा आँखा ओछ्याइरहेका छन्।

धादिङकी विन्दा विसुंखे पुलुक्क तिनको अनुहारमा आँखा पुर्‍याउँछिन् र पूर्ववत् मुद्रामा सालको पाततिरै आँखा तन्काउँछिन् । हात यन्त्रवत् चलिरहेकै छन् । क्षणभरमै उनको शिल्प सालका पातमा खुटिन्छ र टपरीको लपेस तयार हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दू र कतिपय बौद्ध परम्परामा दुना–टपरी नभए कार्य नै चल्दैन । र त, सहरको बिहे–व्रतबन्ध पितृ र देवकार्यमा दुना–ठपरी, ठड्यौरो जुटाइदिने उनै बनेकी छन् भनौँ ।

“आज पनि पात किन्ने धेरै आउलान् जस्तो छैन, चाडबाडको बेला भए पो दुईचार मुठा पात बिक्नु !” रातो वर्णकी उनी झनै निशामिश्रित हुन्छिन् र ०७२ को भूकम्पले खण्डहर तुल्याएको काष्ठमण्डपलाई पुलुक्क हेर्छिन् । उनी आड लागेको महादेवको मन्दिरको हालत पनि उस्तै छ, टेको लगाएर जेनतेन अड्याइएको छ, आदिम सम्पदा ।

Global Ime bank

मन्दिरछेउबाट मानिस ओहोरदोहोर गरिरहन्छन् । भीडका आँखा उनीमाथि खासै पर्दैन । तर उनका आँखा हमेसा भीडतिरै दौडिइरन्छ र पात किन्न गाहकी आए कि भनेर एक–एक अनुहार छामिरहन्छ ।

यसरी महादेवको मन्दिरमा पातको मुठा र टपरीको खात किन्ने मानिस पर्खिएर बसेको १४ वर्ष भयो तर मिठाइ पसल अगाडि बसेर के गर्नु ! सपनाको सुस्वादु जिलेवी चाख्न कहिल्यै पाइनन् उनले । बरु मन अमिलिइरह्यो ।

बिहीबार, सूर्यको तिलस्मी आभा ओझेल परिसकेको थियो । दरबारको आँगनमा चारो टिपिरहेका मलेवाहरू गुँडतिर पखेँटा सोझ्याउँदै थिए । रुग्ण वसन्तपुर दरबार क्षेत्रलाई यायावरीको गन्तव्य बनाएकाहरू पनि मुकाम फर्कने तयारीमा थिए । तर, विसुंखेका आँखा उच्चाटिलो बन्दै थिए ।

बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म टपरी खुटेको थकान भन्दा पात ओइलाएको पीडा छचल्किन्थ्यो उनको अनुहारमा ।

नखुटिएको जीवन
पातसँगको साइनो आजको होइन उनको । सालका पातैले हातमुख जोडिदिए उनका । दश वर्षको हुँदा मानसिक सन्तुलन बिग्रियो । विक्षिप्त श्रीमती स्याहार्नुभन्दा बाटो लाग्नु बेस ठानेर बाबुले श्रीमतीलाई त्यागिदिए र अलपत्र पारिदिएछन् उनलाई ।

बालखैमा परित्यक्त बन्न विवश उनलाई बाबुआमाको अनुहार सम्झनासम्म छैन । दुःखले छाती चिरिएका बेला सम्झन खोज्छिन् आमाको अनुहार । मानसपटलमा धूमिल चित्रमात्रै खडा हुन्छ । अहँ... ठम्याउन सक्दिनन् उनी । बरु गुच्चाझैँ गुड्दै खसेका आँसुका थोपाले तप्प पात भिजाउँछ र निख्खर हरियो तुल्याइदिन्छ ।

कहिलेकाहीँ त्यही बाटो भएर दिमाग खज्मजिएका महिलाहरू हिँड्छन्, पोका–पन्तुरा च्यापेर । के–के भन्दै बर्बराउँछन् तिनीहरू । कहिलेकाहीँ ‘बिन्दा...!’ भनेझैँ लाग्छ । उनका आँखा हतारिँदै त्यहाँ पुग्छन्, आमा होकि भनेर तिनको अनुहार खोस्रिइरहन्छन् । कहाँ हुन्थ्यो ! सजल हुँदै पाततिरै फर्कन्छन् ।

“अचेल त सम्झिनैसम्म छाडिसके, सधैँ आफूलाई दुःखी बनाउनु पनि  त भएन,” अनुहारमा निरस भाव उदाउँछ उनको । आँखा सम्वेदना शून्य बनिदिन्छन् ।

मकवानपुर पालुङ हो उनको माइती । “तर माइती छन् भन्दिनँ म, को छन् र साइनो लगाउन त्यहाँ ?” अनुहारमा अतिरिक्त सन्नाटा छाउँछ । सालको पात आफ्नै लयमा दोबार्छिन् र क्षणभरमै दुनामा बदल्छिन् ।

बाबुआमाले छाडेपछि उनी सानीआमाको काखमा पुगिन् । दुःख पनि साथै लागेर गएकाले होला, सुखको घाम कहिल्यै उदाएन, पीडाको बादलले छोपिरह्यो ।

मेलापात र अर्काको गोठालो बस्दा पनि एकपेट खान पनि रहरै भएपछि सालको पातको सङ्गतमा आइपुगेकी रहिछन् उनी । “जंगलमा गएर दिनभरि पात टिप्ने र दुई–तीनदिन लगाएर पात बेच्न आउँथ्यौँ,” बाल्यकालतिर फर्किन्छिन् उनी । 

पातको मुठा बेच्न थालेपछि भने जीवनमा केही बदलाव आयो । भरपेट खान र एक झुम्रो लगाउनसम्म सक्ने भइन् तर सजिलो कहाँ थियो र ?

भीर–पहरा चहार, भीमकाय रूख चढ । बिच्छीको पर्वाह नगरी पात टिप । तपतपी पसिना चुहाउँदै सहर ल्याउ । तर भनेजति पैसा नपाइने । बिचौलियाको बिगबिगी उस्तै, तिनैले तोक्थे पातको मूल्य पनि । 

“भन्नेलाई जंगलबाट सित्तैमा पात ल्याएजस्तो, तर हाम्रो दुःख कसले देखिदिने ?,” प्रश्न गर्छिन् उनी ।

जीवनको दोस्रो इनिङ
पात टिपेरै बित्यो बालापन । यौवनवयमा जीवन उकालो चढ्न थालेपछि सानीआमालाई चिन्ता पर्न थाल्यो– विन्दाको बिहे कोसँग गरिदिने ?

बाबुआमाले छाडेकी, घरकालाई वास्ता हुने कुरै भएन । बालखमा न ओत दिएकी थिइन्, सधैँ छहारी दिन त उनले पनि कसरी सक्थिन् ! फेरि भनेजत्ति दाइजो दिन सामर्थ्य पनि उनीसँग थिएन । चारचौरास मानिस लगाइन् र फेला पारिन्, धादिङ वैरेनीका गोपाल विसुंखे ।

गोपाल विन्दाभन्दा २० वर्ष जेठा थिए । सुरूमा त सानीआमाले मानेकी थिइनन् । तर, हजुरआमा साइनो पर्नेले पैसा लिएर उनैलाई सुम्पने निर्णय गरिसकेकी रहिछन् । सानीआमाको केही सीप चलेन । प्रारब्धले थमाएको दुःखले स्तब्धमात्रै तुल्याइरह्यो उनलाई ।

“हिजैको भागभोग नानी, जाऊ यहीसँग,” सानीआमाले यसो भनेपछि उनले नकार्न सकिनन् र तीनै गोपालसँग पछि लागेर काठमाडौँ आइन् उनी । 

तथापि हजुरआमासँग आजपर्यन्त रिस मरेको छैन उनको । “बिहे गरिदिएकी होइन, बेचिदिएकी हुन् मलाई, पैसा खाएर,” यसै भन्छिन् उनी ।
 

० ० ०

सानामा भोजभतेर गइरहन्थिन् उनी । सालका पातका चुहिने टपरीमा दालभात एकै ठाउँमा राखेर दिइन्थ्यो । भात पर्खंदा दाल चुहिसकेको हुन्थ्यो । दाल पर्खंदा घामले भात चामल तुल्याइसकेको हुन्थ्यो । तथापि स्वाद मानीमानी खान्थिन् । अहिले त्यही सालका हरिया, पहेँला रङले जीवनको क्यानभासमा जिन्दगीको अमूर्त चित्र कोरिरहेकी छन्, वसन्तपुर दरबार अघिल्तिर बसेर ।

कुराकानीकै क्रममा ग्राहक आइपुगिन् । पातका मुठा ओल्टाइपल्टाइ पारिन् । “कस्तो पहेँला पात, उहिल्यै टिपेर ल्याएजस्तो, फेरि किराले खाएको उस्तै छ,” लिन आनाकानी गरिन् उनले ।

“नवलपरासीबाट ल्याएको हजुर, यहाँ आइपुग्दा झन्डै सात दिन लाग्छ, पहेँलो किन नहोस्,” निरीह देखिइन् विन्दा । 

धेरै गलफतीपछि ती महिला पातका मुठा किन्न राजी भइन् । “टपरी लैजाने भए पनि राम्रो छ है ?” खातका खात टपरी राखेको ट्रेतिर हातले इशारा गर्दैथिइन्, बाटो लागिहालिन् ग्राहक ।

ती महिला गएपछि विन्दाले थपिन्, “देखिहाल्नुभो, एकमुठा पात बेच्न पनि कति गाह्रो छ ।”

पहिलेपहिले पहाडतिरबाट आउँथे सालका पात । अहिले आउन छाडे । गाउँघर रित्तो बन्न थालेपछि सालकटुसका पात टपरी होइन, झरेर माटो बन्न थालेको छ । 
“मानिसहरू गाउँमा बस्ने भए पो पात टिप्ने मानिस पाइनु,” यसो भन्छिन् उनी ।

“तराईका पात मसिना हुन्छन् । किराले खाएका छिद्र उस्तै, मानिसहरू लानै मान्दैनन्,” पात बेच्दाको दुःख आफ्नै छ ।

पात बेचेकै भरमा ५ जनाको परिवार जसोतसो धानेकी छन् उनले । ३ जना बालबच्चालाई चाहिँ एउटा संस्थाले हेरिदिएको रहेछ । “स्कुलको फी र किताबकापीमा पैसा खर्च गर्नुपरेको छैन, त्यही संस्थाले तिरिदिन्छ,” सुनाइन् उनले ।

“अहिलेचाहिँ कति कमाउनुहुन्छ ?”

प्रश्न सुन्नेबित्तिकै थोरै हडबडाइन् उनी । अनुहारका ढल्कँदो साँझको प्रतिविम्ब थियो । वरिपरिका पातका मुठठा टिपेर धोक्रामा राखिन् र भनिन्, “त्यस्तै दश–बाह्र हजार, चाडबाडका बेलामा बीस हजारसम्म पुगेको छ ।”

पातदेखि टपरीसम्म थोकमा बेच्न ल्याउने छन् तर नाफा त्यति बस्दैन । टपरीमा पाँच रुपैयाँ र दुनामा रुपैयाँ प्रतिगोटा फाइदा हुन्छ तर पात ओइलाएर टपरी सुकेर जान्छ नाफा क्षय गरिदिन्छ । “आफैँले टपरी खुट्ने हो भने नाफा राम्रै बस्छ । रातदिन सिन्का खेलाउँदा–खेलाउँदा हात चाल्नोझैँ प्वाल परिसक्यो,” हातका औँलैपिच्छे सिन्काका चोट देखाउँदै कुराकानी बिट मारिन् र दुना टपरी राखेको प्लास्टिकको ट्रे बोकेर डेरातर्फ लागिन् ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १८, २०७४  १०:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC