– नरेश फुयाँल
वि.सं. २०७४ साल पनि नेपाली चलचित्रका लागि राम्रो देखिएन । वर्षको शुरुमा केही चलचित्रले राम्रो व्यापार गरे पनि त्यसले निरन्तरता पाउन सकेन । तुलनात्मक रूपमा यो वर्षको शुरुका ६ महिनामा चलचित्रले राम्रो व्यापार गरे । त्यसपछिका महिना सुख्खा रहे । भलै वर्षको अन्तिममा प्रदर्शन भएको ‘शत्रु गते’ले भने राम्रो व्यापार गरिरहेको छ ।
चलचित्र ‘घामपानी’, ‘धनपति’, ‘म यस्तो गीत गाउँछु’, ‘प्रेमगीत–२’, ‘ए मेरो हजुर–२’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा–२’ले राम्रो व्यापार गरे । यी चलचित्रले करोडभन्दा माथि ‘ग्रस कलेक्सन’ गरे । चलचित्र ‘कृ’, ‘कान्छी’ र ‘मंगलम’ले पनि सन्तोषजनक व्यापार गरे ।
पत्रकार दीपेन्द्र लामाले निर्देशन गरेको ‘घामपानी’ले वर्षको शुरुमै सुखद ‘ओपनिङ’ गरेको थियो । यो चलचित्र वैशाख १ गते प्रदर्शन भएको थियो । केकी अधिकारी र दयाहाङ राई अभिनीत ‘घामपानी’ले करोडभन्दा माथि कलेक्सन गरेको निर्माण पक्षको दाबी थियो ।
असार २३ गते प्रदर्शित ‘धनपति’ वर्ष २०७४ मा सबैभन्दा पहिला धेरै व्यापार गर्ने पहिलो चलचित्र बन्यो । ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको ‘धनपति’मा खगेन्द्र लामिछाने र सुरक्षा पन्तको अभिनय छ । तर, यसले ‘पशुपतिप्रसाद’जस्तो प्रशंसा बटुल्न सकेन । समीक्षा पनि अपेक्षित राम्रो पाएन ।
‘म यस्तो गीत गाउँछु’ पनि करोडभन्दा माथि ‘ग्रस कलेक्सन’ गर्ने चलचित्रमा दरियो । पूजा शर्मा र पल शाह स्टारर यो चलचित्र सुदर्शन थापाले निर्देशन गरेका थिए । यसले पनि राम्रो समीक्षा पाउन सकेन । सांगीतिक पक्षमा भने यसले राम्रो प्रतिक्रिया पायो । दर्शक ‘प्रेमगीत–२’ भनेर झुक्किएर हेर्न गएको आरोप ‘प्रेमगीत–२’को निर्माण पक्षले लगायो ।
‘प्रेमगीत–२’ चलचित्र ‘म यस्तो गीत गाउँछु’ लगत्तै प्रदर्शनमा आयो । यसले निकै राम्रो व्यापार गरेको दाबी निर्माण पक्षको थियो । प्रदीप खड्का र एलिसा ठकुरी मुख्य भूमिकामा रहेको यो चलचित्र रामशरण पाठकले निर्देशन गरेका हुन् । म्यानमारका नेपालीभाषी र नेपालीलाई जोड्ने कथा उठाएको दाबी निर्माण पक्षको थियो । तर, यथार्थमा त्यस्तो नरहेको आलोचना सहनुपर्यो । यसले राम्रो समीक्षा बटुल्न सकेन । अघिल्लो सिक्वेलकै ब्याज खाएको निष्कर्ष समीक्षकको थियो । एलिसाको अभिनयलाई लिएर पनि आलोचना भयो । तर, चलचित्रले हलमा भने राम्रो कलेक्सन गर्यो ।
नायिका झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर–२’ पनि यो वर्ष करोड क्लबमा प्रवेश गर्ने अर्को चलचित्र हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ मुख्य भूमिकामा रहेको चलचित्रले औसत समीक्षा बटुल्यो । पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि झरनाले ‘ए मेरो हजुर–३’ निर्माणको घोषणा गरिन् ।
असीम शाहले निर्देशन गरेको ‘२ रुपैयाँ’ पनि यो वर्ष राम्रो व्यापार गर्ने चलचित्रको सूचीमा दरियो । नकारात्मक समीक्षा पाएको यो चलचित्रमा निश्चल बस्नेत र आसिफ शाह मुख्य भूमिकामा थिए । यही चलचित्रको ‘कुटुमा कुटु...’ गीत नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै ‘यूट्युब हिट्स’ पाउने गीत बन्यो ।
शुरुवातमा आक्रामक व्यापार गर्ने चलचित्रमा ‘छक्का पञ्जा–२’ पनि थियो । ‘छक्का पञ्जा’ नेपाली रजतपटमा सर्वाधिक व्यापार गर्ने चलचित्र थियो । त्यसको सिक्वेलले शुरुवाती कलेक्सनका सबै रेकर्ड तोडे पनि पहिलो चलचित्रको रेकर्ड भने उछिन्न सकेन । निर्माण पक्षको दाबीलाई मान्ने हो भने ‘छक्का पञ्जा–२’ले यो वर्ष रिलिज भएका सबै चलचित्रको कलेक्सनलाई उछिनेको छ ।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘कृ’ वर्षकै सर्वाधिक प्रतीक्षित भनिएको थियो । अनमोल केसी स्टारर चलचित्र हेर्न उनका फ्यानले दुई वर्षदेखि कुरेर बसिरहेका थिए । भारतमा मोडलिङ गरिरहेकी अदिती बुढाथोकीसँग स्क्रिन सेयर गरेका अनमोलको यो बहुप्रतीक्षित चलचित्रले राम्रो समीक्षा त पाएन नै, उनकै डाइहार्ड फ्यानसमेत निराश भए । साढे ३ करोड लगानी रहेको ‘कृ’ले ओभरसिज र डिजिटल मार्केटबाट लगानी मुस्किलले उठाएका खबरहरू आए । अनमोलको स्टारडम खस्किएको समाचार फिल्मी न्युज पोर्टलहरूले लेखे ।
यही वर्ष स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठकी श्रीमती श्वेता खड्का पनि आफ्नै निर्माणमा ‘कान्छी’ लिएर पुनः चलचित्र क्षेत्रमा फर्किइन् । ‘कान्छी’लाई श्वेताको फिल्मी करिअरको दोस्रो इनिङ्सका रूपमा हेरियो । आकाश अधिकारीले निर्माण गरेको यो चलचित्रलाई निर्देशकीय पाटोभन्दा श्वेताको पुनरागमनलाई सञ्चारमाध्यमले मसाला बनाए । चलचित्रले औसत समीक्षा पायो । व्यापार पनि राम्रै गर्यो ।
आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनी हल्लीखल्ली गर्दै अर्जुनकुमार ‘फाटेको जुत्ता’ लिएर आए पनि त्यसले दर्शकको मन जित्न सकेन । भलै यो पनि करोड क्लबमा भने प्रवेश गर्यो ।
छविराज ओझाको निर्माण र नवल नेपालको निर्देशनमा तयार चलचित्र ‘मंगलम’ पनि यही वर्ष रिलिज भयो । यो चलचित्र खासै प्रतीक्षित नरहे पनि व्यापार भने सन्तोषजनक नै गर्यो । छवि ओझाका चलचित्रले मल्टिप्लेक्स हल पाउँदैनन् भन्ने मान्यतालाई भने यो चलचित्रले भत्काइदियो । सानो संख्यामा भए पनि ‘मंगलम’ले मल्टिप्लेक्समा स्क्रिन पायो । छवि यसमै दंग परे ।
गत वर्ष ‘जात्रा’बाट चलचित्रका अधिकांश अवार्ड हात पारेका अभिनेता विपीन कार्कीका यो वर्ष दुइटा चलचित्र दर्शकसामु आइपुगे— अमित श्रेष्ठको ‘नाका’ र निगम श्रेष्ठको ‘लालपुर्जा’ । तर यी दुवै चलचित्र हलमा झुल्किएमात्रै व्यापार र समीक्षा दुवै राम्रो भएन । तर, विपीनले भने दुवै चलचित्रबाट कामको प्रशंसा बटुले ।
रमेश उप्रेती पनि लामो समयपछि यही वर्ष नेपाली रजतपटमा झुल्किए— ‘ऐश्वर्य’बाट नायक र निर्माताका रूपमा । दिवाकर भट्टराईले निर्देशन गरेको यो चलचित्रलाई रमेशको दोस्रो इनिङ्सका रूपमा हेरियो । निर्माणका हिसाबले राम्रो भनिएको यो चलचित्रले रमेशलाई भन्दा पनि भिलेन प्रशान्त ताम्राकारलाई ‘हाइप’ दियो । उनलाई नेपाली चलचित्रमा आशाको नजरले हेरियो ।
मिलन चाम्सले निर्देशन गरेको बायोपिक ‘ब्लाइन्ड रक्स’ यही वर्षको उत्तराद्र्धतिर आयो । दृष्टिविहीन युवती सृष्टि केसीको वास्तविक जीवनकथामा आधारित चलचित्रबाट राम्रै अपेक्षा गरिए पनि सफलता हात लाग्न सकेन । निर्माता निकेश लिम्बू रित्तो हात लन्डन फर्किए ।
पछिल्ला केही वर्षयता भारतीय चलचित्र उद्योगमा संघर्ष गरिरहेका खलनायक सुनील थापा ठूलो उत्साह बोकेर ‘शेरबहादुर’ खेल्न नेपाल आए । आर राजवंशीले निर्देशन गरेको चलचित्रले आफूलाई राते काँइलाबाट शेरबहादुर भन्ने परिचय दिन्छ भन्दै सुनील चलचित्रको प्रचारमा निकै हिँडे । तर, चलचित्रलाई हलबाट उत्रिनै हतार भयो । अंग्रेजी चलचित्र ‘डोन्ट ब्रिद’को हुबहु नक्कल भएको आरोपसँगै ‘शेरबहादुर’ले पानी पनि भन्न पाएन ।
वर्षको अन्तिममा आउन लागेको मिलन चाम्सकै अर्को चलचित्र ‘लिलिबिली’ पनि युवा दर्शकको प्रतीक्षामा छ । चल्चीका नायक प्रदीप खड्काले पनि धेरै आशा गरेको चलचित्र हो यो । तर, आशा गरेका चलचित्रबाटै दर्शक तथा समीक्षक निराश भइरहेका बेला यो कस्तो बनेको छ, हेर्न बाँकी छ ।
यो वर्ष प्रदर्शनमा आएर राम्रो व्यापार गरेका कुनै चलचित्रले पनि राम्रो समीक्षा भने बटुल्न सकेनन् । वर्षमा सयभन्दा धेरै चलचित्र प्रदर्शन हुँदै आएको नेपाली रजतपटमा आधा दर्जनले मात्रै राम्रो व्यापार गर्छन् । औसतमा ८—९ वटाले लगानी उठाउँछन् । बाँकी सबै चलचित्र घाटामा जाने गरेको चलचित्र विकास बोर्डको तथ्यांक छ ।
नेपालमा बक्स अफिस लागू नभएको हुँदा चलचित्रले कति कलेक्सन गर्छन्, यकिन तथ्यांक आउँदैन । निर्माता तथा वितरकले दिएको रिपोर्टमा भर पर्नुपर्ने बाध्यता छ । यद्यपि यही वैशाख १ बाट नेपाली चलचित्र उद्योगमा बक्स अफिस लागू हुने चलचित्र विकास बोर्डले जनाएको छ । शुरुमा काठमाडौं उपत्यकामा लागू हुने बक्स अफिस प्रणाली साउनबाट देशभर विस्तार गर्ने तयारी बोर्डको छ ।