चितवन । चितवनमा मिटर व्याजको धन्दा मौलाएको छ । मिटर व्याजमार्फत् लिएको ऋणका कारण चितवनको राप्ती नगरपालिका वडा नं १ लोथरकी अञ्जु उप्रेतीको कंगालजस्तै बन्न पुगेकी छन् ।
लोथरबजारमा फलफूल व्यापार गर्दै आएकी उनले स्थानीय केशकुमारी डल्लाकोटी (शोभा)सँग पटकपटक गरी १६ लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । जसमा एक लाखको प्रति महिनामा व्याज स्वरुप २० हजार रुपैयाँ तिर्ने सहमति गरेकी थिइन् । अहिले उनी मिटर व्याजमा लिएको पैसाको व्याज तिर्दा तिर्दै टाट पल्टिएकी छन् ।
अञ्जुले लिएको ऋणको व्याजदर प्रतिशतमा हिसाब गर्दा सयकडा २४० प्रतिशत हुन आउँछ । उनीहरुबीच दुई वर्षदेखि मिटर व्याजमा आर्थिक कारोवार हुँदै आएको थियो । पीडित उप्रेतीले डल्लाकोटीलाई २५ महिनाको व्याजमात्रै ४० लाख ४९ हजार रुपैयाँ बुझाएको बताएकी छन् ।
साँवा रकम तिर्न नसकेर उप्रेतीले तीन कट्ठा जग्गासमेत डल्लाकोटीलाई बिक्री गरेकी छन् । प्रतिकठ्ठा सात लाख ५० हजारको दरमा उप्रेतीले डल्लाकोटीलाई जग्गा बिक्री गरेकी हुन् । साँवा रकम १६ लाख ५० हजार कटाएर शोभाले अञ्जुलाई ६ लाख रुपैयाँ दिएर ३ कट्ठा जग्गा आफ्नो नाममा नामसारी गरेकी थिइन् ।
उप्रेती र डल्लाकोटी दुवैजना लोथरबजारमा फलफूल व्यवसाय गर्छन् । उप्रेती कमजोर आर्थिक अवस्थाकी हुन् भने डल्लाकोटी आर्थिक रुपमा सम्पन्न परिवारकी हुन् । मिटर व्याजमा लिएको रकमको व्याज तिर्दा उप्रेतीको सबै जायजेथा सकिएको छ ।
उप्रेतीले डल्लाकोटीलाई ऋणको व्याज तिर्न स्थानीय २२ जनाबाट तीन रुपैयाँ व्याजमा रकम लिएकी छन् । उप्रेतीले गरेको कारोबारका कारण घरबारविहीन हुने अवस्था आएपछि उनका छोरा र छोरीले राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा न्यायको लागि निवेदन दिएका छन् ।
डल्लाकोटीलाई आफ्नी आमाले बिक्री गरेको जग्गा फिर्ता हुनुपर्ने र आमाले डल्लाकोटीसँग दिएको १६ लाख ५० हजार रुपैयाँको तीन रुपैयाँका दरले व्याज रकम कट्टा गरी बाँकी रकम पाउनुपर्ने माग छोराछोरीले गरेका छन् ।
उप्रेतीका छोरा रोशन उप्रेती र छोरी रेजिना उप्रेती नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा न्याय खोज्दै धाइरहेका छन् ।
मुलुकी ऐनको लेनदेनसम्बन्धी महलमा मिटर व्याजमा पैसा लगाउनेलाई कारबाही हुने व्यवस्था छ । सोही महललाई आधार बनाएर उप्रेतीका छोरा र छोरीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । कानुनअनुसार मिटर व्याजमा पैसा लगाउने डल्लाकोटीलाई कारबाही हुने व्यवस्था रहे पनि यस विषयमा राप्ती नगरपालिकाको न्यायिक समितिले बेवास्ता गरेको पीडित उप्रेतीले बताइन् ।
अञ्जुले भनिन्, “मलाई नगरपालिकाबाट न्याय हुने छाँटकाँट नदेखेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छु ।”
डल्लाकोटीबाट आफूले लिएको १६ लाख ५० हजार रुपैयाँ र त्यसको सय कडा तीन रुपैयाँ व्याजका दरले पैसा कटाएर बाँकी रहेको पैसा र तीन कठ्ठा जग्गा फिर्ता गर्नुपर्ने पीडितको माग छ ।