site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नभई नहुने ऋषि
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनासम्बन्धी रिपोर्टिङका क्रममा पत्रकार ऋषि धमलाले विदेशी च्यानललाई हिन्दी भाषामा सूचना दिएपछि सामाजिक सञ्जाल खुब तात्यो । यसै पनि उनको आलोचना गर्न आइतबार पर्खिनु पर्दैन । त्यो दिन पनि आइतबार थिएन । सामाजिक सञ्जालमा उनलाई मज्जैले उडाइयो । 

हामी भने उनै ऋषिसँग अन्तर्वार्ता लिने तयारी गर्दै थियौं ।

Prabhu Bank
Agni Group
NIC Asia

ऋषि धमला पत्रकारमात्रै होइनन्, पत्रकारका पनि पत्रकार हुन् । सूचनाको हकसम्बन्धी कानुनले पनि केही गर्न नसके मान्छेहरू ऋषि धमलालाई सम्झिन्छन् ।

“माया बैगुनी नभई नहुनी, यी ऋषि धमला पनि यस्तै हुन्,” रिपोर्टस क्लबको वार्षिकोत्सवको अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही वर्षअघि ठ्याक्कै यही वाक्य बोकेका थिए । ऋषिलाई बुझ्न प्रचण्डका यही वाक्यमात्रै सम्झिए पुग्छ ।

Global Ime bank

ऋषि सबैभन्दा बढी खटिने पत्रकारमात्रै होइनन् सबैभन्दा बढी आलोचित र ‘जोक’का पात्र पनि हुन् । उनलाई लिएर सामाजिक सञ्जालमात्रै होइन, चियागफमा पनि मान्छेहरू बारम्बार यस्ता प्रश्न गरिरहन्छन्— 

– एसएलसी पनि पास नभएको यी ऋषि धमला कसरी पत्रकार बने ?
– धमलाले कार्यक्रम चलाउँदा आफूमात्रै बोल्छन्, नेताहरूलाई बोल्नै दिँदैन, किन ? 
– किन जे पायो त्यही प्रश्न गर्छन् धमला ? किन क्यामेराको अघिल्तिरमात्रै देखिन्छन् यी मान्छे ? 
– धमलाले अंग्रेजीमा पनि आर्टीकल लेख्छन्, कसरी ? 

यी प्रश्नलाई एकछिन कुनातिर फ्याँक्ने हो भने अर्कोथरी प्रश्न पनि सुनिन्छ, “तपाईं पत्रकार हो भने ऋषि धमलालाई चिन्नुहुन्छ ?”

उनलाई चिन्ने पत्रकारले त सिधै कुम जोडेको फोटोसम्म देखाइभ्याउँछन् । व्यक्तिगत रूपमा नचिन्ने तर पत्रकारिता गर्नेहरूले भने रिपोर्टस क्लबमा देखेको भरमा साइनो गाँस्छन् । 

तर, कोही यस्ता पनि छन्— जसले ऋषि धमलाको नाम पनि सुन्न चाहन्नन् ।

त्यसैले आम चासोका प्रश्नलाई हामीले ऋषिलाई तेस्र्यायौं । उनले पनि हाम्रा चासोलाई प्रष्ट पार्ने प्रयास गरे ।

० ० ०

ऋषि बिहान ५ देखि राति ११ बजेसम्म रेडियो, अनलाइन, टेलिभिजन र रिपोर्टस क्लबमै व्यस्त हुन्छन् । कतिसम्म भने आफ्नो विवाहको दिनमा समेत उनले बिहान रेडियो कार्यक्रम चलाएका थिए ।

काठमाडौं र मुलुकबाहिर हुँदा पनि उनले रेडियोमा फोनमार्फत् बहस चलाउँछन् । उनले लिएका÷दिएका अन्तर्वार्ता र प्रश्नोत्तरले उनको व्यक्तित्व झल्काउँछन् । उनको पहिचानै यही हो ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई सोधेको प्रश्न होस् या ज्योति मगरलाई, ऋचा शर्मालाई होस् या रेखा थापालाई— सर्वत्र ऋषिको आलोचना गरियो । भन्नेहरू भन्छन्— ऋषि कहिल्यै आलोचना सुन्दैनन्, गर्छन् मात्रै ।

तर, उनलाई आलोचनाको ‘बाल’ लाग्दैन । 

हामीले प्रश्नको शुरुवातै यूएस बंगला दुर्घटनाको रिपोर्टिङबाट गर्‍यौं, “टेलिभिजन प्रस्तोताले अंग्रेजीमा प्रश्न गरिरहेका थिए तर तपाईं हिन्दीमा जवाफ दिइरहनुभएको थियो, किन ?”

हाम्रो प्रश्नलाई ठाडै अस्वीकार गर्दै ऋषिले भने, “गलत !”

त्यसपछि उनले चलनचल्तीको ‘जेस्चर’मा दाहिने हातको चोरऔंला उठाउँदै भने, “जसरी मलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ बनाएर उडाउने काम भयो, पहिला सबैले बुझ्नुपर्छ— मैले बंगलादेशको च्यानललाई होइन, भारतीय दूरदर्शनलाई गराएको जानकारी थियो त्यो । जुन च्यानलले स्पष्ट रूपमा हिन्दी भाषामा प्रसारण गर्छ । मलाई उसले पहिले नै जुन भाषामा सजिलो हुन्छ, त्यही भाषा प्रयोग गर्न भनेको थियो । जुन भाषा सजिलो छ र जुन भाषा धेरै जनताले बुझ्छन्, म त्यही भाषामा बोल्छु । भारतमा १ अर्बभन्दा धेरै नागरिकले हिन्दी भाषा बुझ्छन्, त्यही भएर मैले हिन्दीमा बोलेको हुँ ।”

ऋषि त्यतिमा मात्रै रोकिएनन्, उल्टै हामीसँग प्रश्न गर्न थाले, “के जापानी प्रधानमन्त्रीले अंग्रेजी बोल्न नजानेर जापानी भाषा बोलेका हुन् ? होइन । चिनियाँ सञ्चारमाध्यममा मैले त्यही विषय बोल्नुपरेको भए म हिन्दीमा बोल्ने थिइनँ । मलाई चिनियाँ भाषा पनि आउँदैनथ्यो । त्यसैले म त्यसबेला अंग्रेजीमा बोल्थें ।”

ऋषि आत्मविश्वासका पर्याय हुन् । प्रतिकार गर्ने बलियो क्षमता भएका व्यक्ति हुन् उनी । न उनलाई कसैको डर छ, न कसैको धक । आफूलाई मनमा लागेको जुनसुकै ठाउँ र समयमा सोधिहाल्ने बानी छ उनको ।

“कुन भाषा कहाँ बोल्नुपर्छ भन्ने मलाई राम्रोसँग थाहा छ । ऋषि धमला नेपालमा सबैभन्दा धेरै सुनिने र हेरिने पत्रकार हो । मैले लिएका अन्तर्वार्ता यूट्युबमा २० लाखभन्दा धेरै पटक हेरिएका छन् । आम पत्रकारका अन्तर्वार्ता यति धेरै हेरिएका छन् ?” उनी चुनौती दिँदै भन्छन्, “सर्भे गरे हुन्छ, नेपालमा सबैभन्दा धेरै रेडियोमा सुनिने र टेलिभिजनमा हेरिने पत्रकार को हो भनेर ।”

शैक्षिक योग्यतालाई लिएर पनि ऋषिमाथि प्रश्न उठाउने धेरै छन् । त्यस्ता आलोचकहरूलाई पनि उनको जवाफ छ ।

हामीले सोध्यौं, “तपाईंको शैक्षिक योग्यताको बारेमा धेरै प्रश्न उठ्ने गरेका छन्, यस्तो वास्तविकता के हो ? तपाईंको पढाइ कति हो ?”

उनले पनि सीधा जवाफ दिए, “जनप्रभात माध्यामिक विद्यालय कालिमाटीबाट वि.सं. ०४८ मा एसएलसी दिएको हुँ । पिपुल्स कलेजबाट आईए पास गरेको हुँ ।”

तर, पनि उनले आफ्नो जीवनमा चाहिने योग्यता आफूसँग भएको बताउँछन्, “मार्कसिट र सर्टिफिकेट देखाउँदै हिँड्ने कुरा होइन । मैले पढेको पिपुल्स कलेज साक्षी छ, गएर खोजे हुन्छ, मेरो योग्यता त्यहाँ फेला पर्छ । क्याम्पसको एकाइमा बसेर मैले त्यहाँ काम गरेको छु,” उनी भन्छन्, “पत्रकारितामा काम गरेर क्षमता देखाउने हो, जुन मैले गरिरहेको छु । पत्रकारिताका लागि मलाई चाहिने जति योग्यता मसँग छ । सबैभन्दा ठूलो कुरा ममा सरस्वतीको बास छ ।”

आफूलाई आलोचना गर्नेलाई उनले सधैंजसो गिरिजाप्रसाद कोइरालाको उक्ति सुनाउँछन् । कुनैबेला गिरिजाले उनलाई भनेका थिए रे, “ऋषि, तिम्रो विरोध हुन्छ, नारा लाग्छ, तिमीविरुद्ध सडकमा पुत्ला पनि जल्न सक्छ । कालो झन्डा पनि देखिन सक्छ । तर त्यसलाई तिमीले कमजोरीको रूपमा नलिनू, त्यसले झन् तिमीलाई बलियो बनाउँदै लैजानेछ ।”

गिरिजाको त्यही ‘उपदेश’ले आफू अहिलेको स्थानमा भएको ऋषि सगौरव सुनाउँछन् । भन्छन्, “कि राम्रो काम गर्नेको आलोचना हुन्छ कि नराम्रो काम गर्नेको । मैले राम्रो काम गरेकाले पनि धेरै आलोचना हुने गरेको हो ।”

त्यसपछि उनले हामीलाई प्रश्न तेस्र्याए, “कसको आलोचना हुँदैन ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिन पिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कसको हुँदैन ? नेपालमा शीर्ष नेताहरू कसको आलोचना भएन ? केपी शर्मा ओलीको आलोचना भएन ? तर, आलोचनाले मान्छेलाई झन् बलियो बनाउँछ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै आलोचना हो । त्यसलाई स्वीकार्न मलाई कुनै आपत्ति छैन ।”

सानादेखि ठूला पार्टीसम्म, वामदेखि कांग्रेसीसम्म उनको उत्तिकै राम्रो सम्बन्ध छ । यो सम्बन्धलाई ऋषिले दुरुपयोग गर्‍यो भन्ने पनि छन् नि ! यसलाई उनी भने ठाडै अस्वीकार गर्छन् ।

“गिरिजाबाबुदेखि अहिले ओलीसँग मेरो उत्तिकै राम्रो सम्बन्ध छ । मैले चाहेको भए धेरै गर्न सक्थें,” उनी भन्छन्, “आज मसँग तपाईंहरूजस्तो साथीभाइ र इष्टमित्रबाहेक केही छैन । मैले मेरा लागि पत्रकारिता गर्ने होइन, जनताका लागि गर्ने हो, गरिरहेको छु । मैले अनावश्यक फाइदा लिएको भए यतिका वर्षसम्म कसरी टिक्न सक्थें ?”

उनी बीपीलाई स्मरण गर्छन्, “बीपीले भन्नुहुन्थ्यो– असल कामले मान्छे असल हुन्छ । त्यसैले सधैं असल काम गर्नू । म त्यही गरिरहेको छु ।”

नेपाली पत्रकारितामा निकै व्यस्त पत्रकार हुन् ऋषि । बिहीबार बिहान ३ घण्टा पर्खाएपछि ‘बाह्रखरी’कै कार्यालयमा ११ बजे आइपुग्दा उनी प्रचण्डको अन्तर्वार्ता लिएर आउँदै गरेको सुनाउँदै थिए । भन्दै थिए, “एक घण्टा लामो अन्तर्वार्तामा फोन रिसिभ गर्न सकिनँ । एक घण्टामा ६२ कल आएछन् । यसपटक प्रचण्डले धेरै नयाँ कुरा गरेका छन्, तपाईंहरूले पनि ‘धमलाको हमला’ हेर्न नभुल्नुहोला है ।”

० ० ०

वि.सं. ०४४ सालको एकदिन उनी स्कुलबाट घर फर्किंदै थिए । उनलाई देखेर सबैले भने, “दुर्गे आयो...दुर्गे आयो ।”

उनले सोधे, “कसलाई दुर्गे भनेको ?”

जवाफमा उनीहरूले भने, “तेरो ठूलो बुवाको नाम दुर्गाप्रसाद धमला हो । तेरो पनि नाम दुर्गाप्रसाद हो, त्यसैले तँलाई दुर्गे भनेको ।”

आफ्नो ठूलो बुबालाई ‘दुर्गे’ भनेको उनलाई सह्य भएन ।

उनलाई जिस्क्याउनेले लगातार भनिरहेका थिए, “तेरा ठूला बाउले गाउँलेलाई शोषण गरिरहेका छन् । गाउँलेले मन पराउँदैनन् । त्यही भएर उनलाई दुर्गे भनेको ।”

३० वर्षदेखि ऋषिका ठूला बुवा गाउँ पञ्चायतका प्रधानपञ्च थिए । उनले घरमा गएर ठूलो बुवालाई भने, “तपाईंले त गाउँलेलाई शोषण गर्नुभएको र’छ नि ! तपाईंलाई ‘दुर्गे’ भन्दा र’छन् । मलाई पनि जिस्काएर बाटोमा हिँड्न नहुने भयो ।”

ठूलो बुवाको जवाफ थियो, “मेरो नाम दुर्गाप्रसाद हो, भन्छन् त ! भन्न दे ।”

ऋषिले भने, “त्यसो भए तपाईंसँग मेरो असहमति छ ।”

घरमा झगडा भयो । उनलाई घरमा बस्न मन लागेन । बुवाको कोठामा पसेर कन्तुर खोले । ५ सय सय रुपैयाँ रहेछ । २ सय रुपैयाँ निकाले । घरबाट उनी ज्यामरुङबेसी आए । गाडी चल्दैनथ्यो । हिँडेरै धादिङबेसी आए । त्यहाँबाट पनि पैदलै मलेखु आए । पूर्वबाट काठमाडौंका लागि आएको गाडी चढे । त्यसपछि भागेर काठमाडौं आइपुगे । कालधारा ठकुरी बाबु साहेबकोमा पुगे । त्यहाँ धमलाहरू नै थिए । त्यहीँ बस्न थाले उनी ।

ऋषिलाई पढ्नुपर्छ भन्ने चेत भने थियो । संस्कृत पाठशालामा कक्षा ६ मा भर्ना भए । दुई महिनापछि बुवा उनलाई खोज्दै कालधारा आइपुगे । उनलाई लिएर घर फर्किए । ब्रिटिस आर्मीबाट रिटायर्ड बुबालाई नाइँ भन्न सक्ने हिम्मत ऋषिमा थिएन । पछि लागेर धादिङ पुगे ।

धादिङ गएर कक्षा ७ मा नाम लेखाए । पास भए । ८ कक्षा पढ्न नजिकै स्कुल थिएन । कि धादिङबेसी आउनुपथ्र्यो कि काठमाडौं । अब काठमाडौं आउनुको विकल्प थिएन । आए काठमाडौं । भर्ना भए जनप्रभावत माविमा ।

पञ्चायती व्यवस्था थियो । दलहरू सडकमा थिए । राजाले त्यसलाई सक्दो दबाइरहेका थिए ।

८ कक्षामा पढ्दा एकदिन ऋषि स्कुल गइरहेका थिए । नाताले भिनाजु पर्ने तर देखभेटसमेत नभएका जीवेन्द्र सिम्खडासँग भेट भयो । सिम्खडाले कुराकानीका क्रममा भने, “ऋषि अब पत्रकारिता गर्नुपर्ने भयो । मिसन पत्रकारिता गर्नुप¥यो । नेपाललाई प्रजातन्त्र चाहिएको छ । तपाईंले पनि सहयोग गर्नुपर्‍यो हामीलाई ।”

ऋषिले नाइँ भन्न सकेनन् । ‘समालोचना’ दैनिक शुरु भयो । ऋषिले त्यहीँबाट पत्रकारिताको यात्रा थाले ।

गणेशमान सिंहको घरमा ०४६ माघ ५, ६ र ७ गते भएको जनआन्दोलनको तयारी बैठकको रिपोर्टिङ गरेर पत्रकारिता शुरु गरे ऋषिले । उमेर १४ वर्षको थियो ।

पत्रिका प्रकाशित हुन्थ्यो तर बेच्न कसैले मान्दैनथे । पञ्चायत फाल्नुपर्छ भन्ने पत्रिकाको उद्देश्य थियो । बिहान स्कुल जाने ऋषि दिउँसो रिपोर्टिङ गर्थे । पत्रिका बेच्न अरुले नमानेपछि बजारमा पत्रिका पनि आफैं पुर्‍याउँथे ।

“पत्रिका पसलमा लिएर गयो, आन्दोलनकारीको पत्रिका भनेर कसैले पनि लिन मान्दैनथे । म आफै पत्रिका बोकेर राष्ट्रिय सभागृहनजिक पुगेको थिएँ । प्रहरीले यो पत्रिका किन बोकिस् भन्दै समाएर महेन्द्र पुलिस क्लब लगेर थुन्यो,” ऋषि सम्झिन्छन्, “सात दिन पुगेको दिन बगमतीका तत्कालीन अञ्चलाधीश विष्णुप्रताप शाह महेन्द्र पुलिस क्लब पुगे । ‘पत्रिका बोक्ने काम अब नगर्नू, आन्दोलनकारी भन्ने थाहा हुँदैन’ भन्दै नाताले मावली पर्ने शाहले छोड्दिन भने । म जेलबाट छुटें, जनआन्दोलन पनि सफल भयो । तर, ‘समालोचना’ दैनिक आर्थिक रूपमा सफल भएन । एक वर्षमै बन्द भयो ।”

त्यसपछि ऋषिले किशोर कुमारको ‘परिवेश’ दैनिक, शम्भु श्रेष्ठको ‘दृष्टि’मा काम गरे । 

उनले सीपी मैनालीको प्रोफाइल लेखे, ‘गम्भीर उपन्यासको दुर्दान्त नायक’ शीर्षकमा । तर ‘दृष्टि’ले छाप्न मानेन । ऋषिले शरच्चन्द्र वस्ती सम्पादक रहेको ‘पूर्णधारा’ मासिकमा छापे । ‘काम गर्ने यता, स्टोरी छाप्ने उता ?’ भन्दै उनको टिप्पणी भयो । ऋषिले ‘दृष्टि’ छाडे ।

अरुको पत्रिकामा किन काम गर्ने ? आफैं निकाले ‘नयाँ पुस्ता’ नामक म्यागेजिन । मासिक हुँदै पाक्षिक भयो । १२ अंक निकालेपछि बन्द आर्थिक अभावले बन्द भयो । 

गिरिजाप्रसाद कोइराला र ऋषि

०५० सालतिर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । ऋषिको आफ्नै पत्रिका थियो, ‘नयाँ पुस्ता’ । उनलाई प्रधानमन्त्रीकी छोरी सुजाताको अन्तर्वार्ता लिने जङ चल्यो ।

उनी सुजाताकहाँ पुगे । उनी एक्लै बसिरहेकी थिइन् । ऋषिले भने, “मलाई तपाईंको अन्तर्वार्ता चाहियो ।”

सुजाताले भनिन्, “मैले आजसम्म अन्तर्वार्ता दिएकै छैन ।”

ऋषिले अड्डी छाड्दै छाडेनन् ।

सुजाताले फेरि भनिन्, “मैले तपाईंलाई चिनेकै छैन ।”

“म ऋषि धमला । अहिले ‘नयाँ पुस्ता’मा छु । पहिला ‘दृष्टि’मा काम गर्थें,” ऋषिले आफ्नो परिचय दिए ।

लामो कुराकानीपछि सुजाता अन्तर्वार्ता दिन त तयार भइन् तर ‘आज होइन, भोलि’ भनिन् ।

भोलिपल्ट बिहान ११ बजे उनी फेरि सुजाताकहाँ पुगे । अन्तर्वार्तामा उनले सोधे, “पम्फादेवी (तत्कालीन रानी ऐश्वर्यलाई गाली गर्ने छद्मभेषी नाम) लाई चिन्नुहुन्छ ?”

सुजाताले जवाफ दिइन्, “किन नचिन्नु ? उनलाई देश निकाला गर्नुपर्छ ।”

बेलुका कोइराला परिवारमा दिनभर भए–गरेका कामको रिपोर्टिङ हुन्थ्यो । साँझ गिरिजाबाबुले सोध्दा उनले भनिछन्, “ऋषि धमला भन्ने पत्रकारलाई अन्तर्वार्ता दिएँ ।”

“के–के भनिस्,” गिरिजाले सुजातालाई सोधे ।

उनले पनि सहजै जवाफ दिइन्, “पम्फादेवीलाई देश निकाला गर्नुपर्छ भनें ।”

“लौ मलाई डुबाइस् । छिटो ऋषिलाई खोजेर ल्याउनू,” गिरिजाले निर्देशन दिए । 

भोलिपल्ट बिहानै साढे ५ बजे ऋषिको कोठा ढकढक ग¥यो । ढोका खोल्दा अर्जुननरसिंह केसी पो थिए ।

उनले भने, “तपाईंलाई गिरिजाबाबुले छिटो बालुवाटार लिएर आउन भन्नुभएको छ । चाँडो हिड्नुस् ।”

बालुवाटार पुग्दा गिरिजा चुरोट पिएर बसिरहेका थिए । गिरिजाले भने, “सुजाताको अन्तर्वार्ता लिनुभएको छ ?”

ऋषिले भने, “लिएको छु, सम्माननीय प्रधानमन्त्रीज्यू ।”

गिरिजाले भने, “मलाई दिनुस् त्यो अन्तर्वार्ता, म सम्पादन गर्छु ।”

ऋषिले कुराको चाल पाइहाले । तर, मानेनन्, “हुँदैन, म दिनै सक्दिनँ ।”

गिरिजाले पनि आफ्नो अडान कायमै राखे, “दिनैपर्छ जसरी पनि, मैले सम्पादन गरेर दिउँला ।”

अर्जुननरसिंह पनि सँगै थिए । उनले भने, “अन्तर्वार्ता दिने कुरा भएन, सँगै बसेर सम्पादन गरौं ।”

ऋषिले अन्तर्वार्ता उतारिसकेका थिए । गिरिजाले टेप पनि मागे तर उनले दिन मानेनन् ।

ऋषिले भने, “सुजाता कोइरालाले राखेका धारणा के राख्ने, के नराख्ने भन्नेमा म तयार छु तर म अन्तर्वार्ता दिन तयार छैन ।”

अर्जुननरसिंह, सुजातासहित बसेर अन्तर्वार्ता सम्पादन भयो । गिरिजालाई पढेर सुनाए । अर्जुननरसिंह र ऋषि भएर अन्तर्वार्ताको भूमिका तयार पारे । ‘सुजाता कोइराला राजनीतिमा आउने’ शीर्षकमा अन्तर्वार्ता छापियो ।

कान्तिपुरले उक्त अन्तर्वार्ता साभार गरेर समाचार बनायो । “कान्तिपुरले सुजातासँगै गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको मैले ‘नयाँ पुस्ता’मा लिएको अन्तर्वार्ता क्यारी गरेको छ,” उनी भन्छन्, “अहिले पनि कान्तिपुर पल्टाएर हेरे हुन्छ ।”

त्यसको एक वर्षपछि ०५१ सालमा ऋषिले केही समय रेडियो नेपालको ‘घटना र विचार’मा काम गरे । ०५२ मा ‘देशान्तर’, ‘घटना र विचार’, ‘विमर्श’, ‘प्रजातन्त्र’, ‘हिन्दू’ र ‘दिव्य दर्शन’ मा काम गरे । त्यसपछि उनले रिपोेटर्स क्लब स्थापना गरे । रेडियो नेपालको ‘घटना र विचार’, ‘परिवेश’, ‘लौ आयो चुनाव’ कार्यक्रम चलाए ।

० ० ०

नेपाली कांग्रेस फुटको संघारमा थियो । नेता, राजनीतिक दल तथा जनता कृष्णप्रसाद भट्टराई (किसुनजी)को धारणा के छ भनी बुझ्न चाहन्थे । तर, उनले कसैलाई पनि अन्तर्वार्ता दिइरहेका थिएनन् ।

ऋषि साँझ साढे ७ बजे खुमलटारस्थित किसुनजीको निवासमा पुगे । किसुनजी गीता पाठ गरेर बसिरहेका थिए ।

“किन यति राति आएको ?” किशुनजीले सोधे ।

“अन्तर्वार्ता लिन आ’को,” ऋषिले भने । 

किसुनजीले भने, “दिन्नँ । किन दिने अन्तर्वार्ता ? यहाँबाट जानुस्, म गीता पढिरहेको छु । बाहिर बस्नुस् ।”

८ बजे किशुनजी गीता पढिसकेर बाहिर निस्किए । बिहीबारको दिन थियो । ‘विमर्श’ शुक्रबार निस्किन्थ्यो । 

“तपाईं गीता पढ्नुहुन्छ । तपाईं धार्मिक मान्छे । एउटा केटो राति आएर अन्तर्वार्ता दिन आग्रह गर्दा नदिँदा तपाईंलाई पाप लाग्छ कि लाग्दैन किशुनजी ?” ऋषिले ब्याल्कमेल गरे ।

किसुनजी टसको मस भएनन् । उल्टै भने, “म पनि पत्रकार हो बाबु ख्याल राख ! मैले पनि रसियन कम्युनिस्ट पार्टीका तत्कालीन महासचिवको अन्तर्वार्ता लिएको छु ।”

ऋषिले पनि जवाफ फर्काए, “थाहा छ किसुनजी । तर, मलाई तपाईंको अन्वर्तार्ता चाहिएको छ ।”

बल्ल किसुनजी अन्तर्वार्ता दिन राजी भए । भोलिपल्ट किसुनजीसँग कुराकानी गरेर लेखेको समाचार प्रथम पृष्ठमा छापियो, “म पार्टी फुट्न दिन्नँ ।”

“त्यसपछि कांग्रेसले बल्ल लामो सास फे¥यो । किसुनजीले पार्टी फुटाउँदैछ भन्ने समाचार आइरहेका बेला मेरो त्यो न्युजपछि कांग्रेस ढुक्क भयो,” ऋषि सम्झिन्छन् ।

० ० ०

०६२/६३ को आन्दोलनपछि गिरिजा प्रधानमन्त्री भएका थिए । ऋषि ‘नेपाल वन’ टेलिभिजनमा काम गर्थे । दिल्लीबाट ‘नेपाल वान’की मालिक नलिनी सिंहको फोन आयो, “बेटा, गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता जसरी पनि लेऊ । त्यसबापत तिम्लाई के चाहिन्छ ?”

ऋषिलाई ‘नेपाल वन’ टेलिभिजनमा गिरिजाले नै लगेका थिए । 

प्रसंग यस्तो छ—

०६२/६३ को आन्दोलनपछि प्रधानमन्त्री भएका गिरिजा भारत भ्रमणमा गएका थिए । समकक्षी मनमोहन सिंहले ‘राजनेता’ भनेर स्वागत गरे । ऋषि पनि सँगै थिए ।

होटल ताजमा बसेको थियो नेपाली टोली । त्यहाँ आएकी नलिनी सिंहले भनिन्, “गिरिजाबाबु, तपाईंले मलाई सबैथोक दिनुभएको छ । नेपालबाटै टेलिभिजन सञ्चालन गर्न दिनुभएको छ । अब मलाई एकजना मान्छे दिनुपर्‍यो ।”

“को ?” गिरिजाप्रसाद कोइरालाले सोधे ।

नलिनीले भनिन्, “ऋषि धमला । ६ महिनाका लागि मेरो टेलिभिजनलाई ऋषि धमलालाई दिनुपर्‍यो ।”

गिरिजाले ऋषिलाई भने, “तिमी ६ महिना नलिनीसँग काम गर ।”

त्यसपछि ऋषिले ‘नेपाल वन’मा काम गर्न थाले । 

समाचार बुलेटिनमा ‘समाचारभित्रको समाचार’मा १० मिनेट ‘ऋषि धमलाको अन्तर्वार्ता’ आउँथ्यो । ‘खास खबर’ पनि चलाउँथे, जुन ऋषिकै शब्दमा ‘पपुलर’ कार्यक्रम थियो । 

उनी बठ्याइँ गर्दै यसलाई गिरिजामार्फत पुष्टि गर्न खोज्छन्, “एकदिन अन्तर्वार्तामै गिरिजाबाबुले मलाई भन्नुभयो— तिमी त अब मलाई के वास्ता गर्छौ र ! प्रत्येक दिन टेलिभिजन हेर्छु, ‘खास खबर’ चलाउँछौं । म हेर्छु तिम्रो कार्यक्रम ।”

गिरिजा विराटनगर पुगेका थिए । नलिनीले गिरिजाको अन्तर्वार्ता लिन भनेकी थिइन् । ऋषि विराटनगर पुगे ।

तर, गिरिजाले भने, “म बोल्दिनँ, तिमीलाई अन्तर्वार्ता दिन्नँ ।”

ऋषिले अनुनयविनय गरे तर गिरिजा गलेनन् । ऋषिले एउटा अस्त्र फ्याँके, “दिनहुन्न ?”

“दिन्नँ ।”

“ठीक छ त्यसो भए । मलाई नलिनीले पठाएर आएको हुँ । तपाईंले भनेर मैले उहाँको टेलिभिजनमा काम गरेको हुँ । आजैबाट छोड्दिन्छु ।”

सँगै रहेकी नोना कोइरालाले भनिन्, “उहाँ त्यति धेरै पैसा खर्च गरेर प्लेनमा आउनुभएको छ । दिनुस न त एउटा अन्तर्वाता ।”

नोनाले त्यति भनेपछि गिरिजा बोल्न तयार भए । ऋषि अन्तर्वार्ता लिएर फर्किए ।

० ० ०

०६३ असार २ गते प्रचण्ड सार्वजनिक हुँदै थिए । दिल्लीबाट नलिनीले ऋषिलाई फोन गरिन्, “जसरी पनि प्रचण्डको अन्तर्वार्ता लेऊ । तिमीलाई के चाहिन्छ, कति रुपैयाँ चाहिन्छ, म दिन्छु ।”

दिनभर बालुवाटारमा बैठक थियो । पत्रकार बाहिरै बसे । राति साढे ९ बजे पत्रकार सम्मेलन हुने भएपछि पत्रकार बल्ल भित्र पस्न पाए । ऋषिले वर्षमान पुनलाई भटेर प्रचण्डसँग अन्तर्वार्ताका लागि समय मिलाइदिन आग्रह गरे । 

वर्षमानले भने, “प्रचण्ड कमरेडको अन्तर्वार्ताका लागि म यसै भन्न सक्दिनँ ऋषिजी, निकै गाह्रो छ ।”

वर्षमानले ‘तैपनि म कोसिस गर्छु, मलाई फोन गर्नू’ भनेर मोबाइल नम्बर दिए । ऋषिले १० बजे राति फोन गरे । वर्षमानले ‘मिल्दैन’ भने । साढे १० बजे फोन गरे, ‘मिल्दैन’ भने । ११ बजे गरे ‘सम्भव छैन’ भने । १२ बजे फोन गरे ‘समय मिल्दैन’ भने । साढे १२ बजे ऋषिले फोन गरेपछि फोन होल्डमै राखेर वर्षमानले प्रचण्डलाई भने, “ऋषिले फोन गरेको छ, अन्तर्वार्ताका लागि के गर्ने ?” 

प्रचण्डले भने, “साढे १ बजे बोलाइदिनू ।”

क्यामेराम्यान लिएर सञ्चयकोष बिल्डिङछेउको होटलमा दुई तलामाथि पुगे ऋषि— साढे १ बजे राति । पौने २ बजे प्रचण्ड नुहाएर खरानी रंगको कोट—पाइन्टमा ठाँटिएर अन्तर्वार्ता दिन आए ।

अन्तर्वार्ता शुरु गर्नुअघि प्रचण्डले भने, “तपाईंको नाम मैले धेरै सुनेको रेडियोमा । हामी जनविद्रोहमा हुँदा तपाईं रेडियोबाट हामीलाई खुब कटाक्ष गर्नुहुन्थ्यो । त्यसैले ऋषि धमलालाई अन्तर्वार्ता दिनै भनेर २ बजे राति तयार भएको ।”

उनले एक घण्टा लामो अन्तर्वार्ता लिएर नलिनी सिंहलाई फोन गरे । उनले ५० हजार रुपैयाँ पुरस्कार दिइन् । तीन दिनसम्म ‘नेपाल वान’ले विशेष अन्तर्वार्ता भनेर दोहोर्‍याउँदै बजायो । 

० ० ०

०५४ सालमा लोकेन्द्रबहादुर चन्दको सरकार ढाल्न सूर्यबहादुर थापा तयार थिए । कांग्रेसका शेरबहादुर देउवाको समीकरण बन्दै थियो । वामदेव गौतम उपप्रधान र गृहमन्त्री थिए । राति साढे ११ बजे माधव नेपालको घरमा बैठक थियो । भदौको महिना थियो । झमझम झरी परिरहेको थियो । रुखमा ओत लागे पनि उनी निथ्रुक्क भिजिसकेका थिए । साढे १ बजे बैठक सकियो । देवप्रकाश त्रिपाठीले ‘घटना र विचार’का लागि जसरी पनि रिपोर्टिङ गर्नुपर्छ भनेका थिए । 

समाचारको शीर्षक उनले पहिले नै तयार पारिसकेका थिए ‘यसरी ढालिँदैछ लोकेन्द्रबहादुर चन्दलाई’ । 

लोकेन्द्रबहादुर चन्द निस्किए, ऋषिले कुरा गरे । वामदेव निस्किए, ऋषिले कुरा गरे । माधवकुमार नेपालले बाहिर हेर्दा ऋषि धमलालाई देखे । उनले ऋषिलाई कोठामा बोलाए । भिजेको शरीर पुछ्न तौलिया दिए । चिया बनाएर खुवाएए । अनि उनले अन्तर्वार्ता दिए । ऋषिले त्यो अन्तर्वार्ता भोलिपल्टै छापे । बल्खुमा त्यही दिन पत्रकार सम्मेलन थियो एमालेको । वामदेव गौतम पनि आए पत्रकार सम्मेलनमा । 
पत्रकारले ‘हिजोको बैठकमा के भयो ?’ भनेर सोधे ।

वामदेवले ऋषितर्फ देखाएर भने, “ऋषि धमलालाई सोध्नू ।”

अहिलेको पत्रकारिता

पत्रकारितामा करिब तीन दशक बिताएपछि ऋषि अहिलेका ऋषि धमला भएका हुन् । उनलाई जे–जसरी आलोचना गरिए पनि नेपाली पत्रकारितामा उनीबिनाको इतिहास अपूरो हुन्छ । गाउँमा रिपोर्टिङ गर्न जाने नवपत्रकारलाई ‘ऋषि धमला चिन्छौ ?’ भन्ने प्रश्न अहिले पनि गरिन्छ ।

लामो अनुभवले खारिएका ऋषि अहिलेको पत्रकारितालाई यसरी मूल्यांकन गर्छन्, “समय बलवान् छ । समयसँगै सबै परिवर्तन हुँदै जान्छ । अहिलेका पत्रकार प्रविधिमा पोख्त छन् तर अल्छी भएका छन् । पहिलेका पत्रकार कडा मेहनत गर्थे तर अहिलेका पत्रकारलाई सूचना विभागको पे्रेस पास पाए पुग्छ । त्यही प्रेस पाएपछि उसलाई पत्रकार भएँ भन्ने लाग्छ । पत्रकार एक विषयमा मात्रै जानकार भएर पुग्दैन । सबै विषयमा रिपोर्टिङ र बहस गर्न तयार भएर आउनुपर्छ । अनि मात्रै त्यो पत्रकार सफल पत्रकार हुन्छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  ०७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC