काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताएका छन् । उनन्तीसऔँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटी मण्डपमा उद्घाटन गर्दै उनले भने, “समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन् ।”
प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,”भने ।
नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उनले काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताए ।
प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रहसमेत गरे ।
उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उनले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पारे ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “भाषण होइन, काम गरेर देखाउनेछौँ ।” रासस