कैलालीको घोडाघोडी नगरपालिका –१, सुख्खडबजारमा हो मेरो घर । गत २०७४ फागुन २८ गते सोमबार दिनभरको काम सकाएर घरमा बसेको थिएँ । केही कार्यकर्तासँगको भेटघाटपछि आराम गरिरहेको थिएँ । श्रीमती निर्जना चौधरी भान्सा कोठामा थिइन् । साँझको करिब ८ बजेर १० मिनेट गएको थियो । मेरो निजी ड्राइभर केशव हमाल घरभित्र छिरे । ‘कोही मानिसले भेट्न चाहेका छन्’ भनेर खबर ल्याए । ‘हुन्छ भित्र पठाऊ’ भनेर भने । ‘कोही आफन्त वा कार्यकर्ता होलान्’ भन्ने लाग्यो । दिनहुँजसो भेटघाट त भइरहेकै थियो । बडरुमबाट बैठक कोठा (बरन्डा) मा आएँ । त्यहाँ खटिया राखिएको थियो । छ जनाको समूह रहेछ । सबै अपरिचित मानिस थिए । करिब २० वर्षदेखि ३५ वर्ष उमेर समूहका हुँदा हुन् ।
कसैको अनुहार ठम्याउन नसकेपछि ‘के काम थियो होला ?’ भनेर सोधेँ । उता, ड्राइभरलाई धम्क्याइसकेका रहेछन् । उनीसँग रहेको मोबाइलसेट कब्जामा लिएका रहेछन् । भित्र छिरेपछि बरन्डाको बत्तीको स्विच अफ गरे । मलाई शंका लाग्यो । एउटाले सोध्यो, ‘तैँ होस् मेयर ?’ मैले ‘हो’ भने । अर्कोले मुड्की बजारीहाल्यो । ‘ए किन हानेको ?’ के भनेको थिएँ, चारैतिरबाट आक्रमण गरिहाले । पहिले मुड्कीले हाने । पछि दुईजनाले समाते । अरूले खुकुरी निकालेर छप्काउन लागे । कराएँ । हारगुहार गरेँ । श्रीमतीलाई भान्सा कोठामा बाहिरबाट चुकुल लगाइदिएका रहेछन् । उनी भान्साकोठाबाट कराउन थालिन् । मलाई अन्धाधुन्ध हान्न थाले । उनीहरू छजना, म एक्लो थिएँ । सकेसम्म प्रतिकार गरेँ । टाउकोमा खुकुरी बजारे । रक्ताम्य भएँ ।
सकेसम्म टाउको बचाउनतिर ध्यान दिएँ । हातले टाउको बचाउँदा धेरै ठाउँमा खुकुरीले काटियो । शरीर रगतले भिज्यो । हारगुहार माग्दै घरबाहिर निस्कन खोजिरहेँ । मेरो आवाज सुनेपछि छिमेकी आए । छिमेकीलाई देखेपछि आक्रमणकारी डराएजस्तो भए । अन्तिममा जानेबेला कोखामा पेस्तोल तेस्र्याए । प्रतिकार गर्नेक्रममा घरी उफ्रिने घरी बस्ने भइरहेको थियो । कोखामा तेस्र्याएको पेस्तोल चल्दा उफ्रेको बेला परेछ । कम्मरमुनी गोली लाग्यो । त्यसपछि म ढलेँ । खुट्टा टेकिएन । बचाऊ बचाऊ ! मात्र भनिरहेँ । उनीहरू पेस्तोल पड्काएर भागे । धन्न ! गोलीले पेट छेड्न पाएन । कम्मरको तल्लो भागमा गोली अड्केको छ । भगवान दाहिना भए । मेरो भाग्यले बचायो । यी सबै काम पाँचदेखि छ मिनेटको बीचमा भयो ।
छिमेकीले आक्रमणकारीलाई पक्रन खोजेका रहेछन् । बन्दुक देखाउँदै भागे । कसैलाई पक्रन सकिएन । मलाई ढलेको देखेपछि छिमेकीले नजिकको घोडाघोडी अस्पताल पुर्याए । त्यहाँ चिकित्सकले टाउकोमा खुकुरीको घाउमा टाँका र पट्टी लगाइदिए । गोली लागेको घाउ चेक गरे । रगत धेरै बगिसकेको थियो । ‘गम्भीर अवस्था छ’ भन्दै सामान्य उपचारपछि मलाई तुरुन्त कोहलपुरका लागि रिफर गरेछन् । मलाई केही घन्टामा राति नै कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पु¥याएछन् । रातभर त्यहाँ उपचार भएपछि अर्को दिन थप उपचारका लागि काठमाडौं ल्याए । शिक्षण अस्पतालमा उपचारपछि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । शौचालयसम्म आफैँ हिँड्ने भएको छु ।
बोक्सी काण्ड :
अन्तर्राष्ट्रिय महिला दिवसका दिन घोडाघोडी — ५, देवकलिया गाउँकी राधा चौधरीलाई बोक्सीको आरोपमा रामबहादुर चौधरीको नेतृत्वमा स्थानीयले कुटपिट गरेका रहेछन् । त्यो घटनाले ठूलो रूप लियो । त्यो दिन एक जना हाम्रा छिमेकी बितेका थिए । म दिनभर मलामीमा गएकाले त्यो घटनाबारे साँझमात्र थाहा पाएँ । त्यो घटनामा संलग्नलाई पीडितले कारबाहीको माग गरेका रहेछन् । घटनामा संलग्न रामबहादुरसहितलाई सुख्खड प्रहरी कार्यालयमा बोलाए । घटनाबारे मलाई विस्तृतमा थाहा थिएन । त्यसबारे बुझुँला लागेको थियो । राधामाथि गरिएको आक्रमण निन्दनीय थियो । पीडकलाई कारवाही हुनुपर्छ भन्ने मैले पनि सोचेको थिएँ । फागुन २४ गतेको घटना थियो त्यो । दिनभर मलामीमा गएर थाकेको थिएँ ।
अर्कोदिन त्यसबारेमा बुझेर प्रक्रिया अगाडि बढाउनुपर्ला भन्ने लागेको थियो । भोलिपल्ट मेरो नाम जोडेर अनेक प्रचारबाजी भयो । ‘मेयरले घटनाका दोषीलाई छुटाउन पहल गर्यो’ भनेर । ‘प्रहरीले उजुरी लिन मानेन, मेयरकै रोहबरमा पीडकलाई छुटाइयो’ अनेक झुठा समाचार मिडियामा आइरह्यो । मैले केही पहल लिएकै थिएन । पीडकलाई कारवाही हुनुपर्छ भन्ने मैले पनि भनिरहेको थिएँ ।
मिडियामा समाचार आएपछि, ‘एक कान दुईकान मैदान’ भयो । सबैले मलाई दोषी देख्न थाले । सुख्खड प्रहरीको भनाइ राखेर समाचार प्रकाशन, प्रसारण भएको देखेँ । बरु, मैले प्रहरी कार्यालयमा गएर पीडकलाई मिलाउन कुनै काम गरेको थिइन । न मैले कहीँ कागज गरेको थिएँ । न त हस्ताक्षर नै । तर, प्रचार त्यसरी गराइयो । बोक्सी काण्डको घटना गलत थियो ।
गाउँमा गएर अवस्था बुझेको थिएँ । उपचाररत राधा चौधरीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै गएर बुझेको थिएँ । पीडकलाई कारवाही गर्न प्रहरीसँग माग गरेको थिएँ । तर, त्यो घटनाको दोष ममाथि आयो । मलाई बदनाम गराइयो । सायद त्यही घटनालाई बहाना बनाएर ममाथि आक्रमण भएहोला । घटना हुनुअघि कसैसँग मेरो रिसइबी थिएन । कसैले आक्रमण गर्ने धम्की पनि दिएको थिएन । अकस्मात आक्रमण भयो । कल्पनाभन्दा बाहिरको आक्रमण थियो ।
सुरक्षाकर्मीले खेल्यो
सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरे हुन् । घटना २८ गते भयो । ३० गते मेरी श्रीमतीलाई प्रहरी कार्यालयमा बोलाएर किटानी जाहेरी दिन लगाए । घटनामा संलग्नलाई श्रीमतीले चिन्दिनन् । उनले त अनुहार पनि देख्न पाइनन् । आवाजमात्र सुनेकी थिइन् । भान्साकोठामा चुकुल लगाएर आक्रमणकारीले उनलाई बन्द गरिदिएका थिए ।
मैले पनि आक्रमणकारीलाई चिन्दिन । प्रहरी कार्यालयमा श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गराउने काम भयो । प्रहरीले आफ्नो किर्ते किटानी जाहेरी बनायो । १३ जनाको नाममा किटानी जाहेरी गरेको सुनेको छु । श्रीमतीले कसैको नाम लिएकी होइनन् । मैले पनि कसैलाई चिन्दिन भनेको छु । कसरी किटानी जाहेरी प्रहरीले दर्ता गर्यो ? आफ्नो दुस्मनी भएकामाथि प्रहरीले मनोमानी जोहेरी गर्यो ।
उनीहरूलाई पक्राउ गरेर सार्वजनिक मुद्दा लगायो । त्यसले दुस्मनी हाम्रो देखियो । भोलि उनीहरूले हामीलाई दोष देलान् । ‘किटानी जाहेरी दिएर पक्राउ गरायो’ भन्ने आरोप लगाउलान् । हामीले तिनीहरूलाई चिन्दैनौ र ‘पक्राउ गर’ भनेर सुरक्षाकर्मीलाई भनेका पनि छैनौ । यो कुरा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि भनेको छु । सुरक्षाकर्मीले खेल्न खोजिरहेकोजस्तो आभास भएको छ । वास्तविक दोषीलाई खोज्न छाडेर निर्दोषलाई धरपकड गर्नु ठीक होइन । मैले यो कुरा नेताहरूलाई पनि भनेको छु । भोलि फर्केर गएपछि त्यहाँ पनि भनुँला ।
धन्यवाद सहयोगीहरूलाई !
म ४० वर्षको भएँ । विसं २०३५ वैशाख १३ गते जन्मेको हुँ । मेरो घटना भएपछि मलाई यस अवस्थामा उद्धार गर्ने, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछु । सुरक्षा गर्नुहुने परिवारका सदस्य, आफन्त, छिमेकी, सुरक्षाकर्मी सबैप्रति कृतज्ञ छु । सबैभन्दा बढी धन्यवाद त ‘उपरवाला’लाई जसले मलाई पुनर्जीवन दिए । धन्यवाद ! नेपाल सरकार र प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैलाई । धन्यवाद प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीहरू । उद्धार र उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोगी सबैलाई धन्यवाद । मेरो उपचारमा जसरी सहयोग भयो, म सधैँ सरकारप्रति र सहयोगी सबैप्रति ऋणी रहनेछु । प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सहयोगप्रति नतमस्तक छु ।
प्रस्तुति र तस्बिरः लक्की चौधरी