site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
टीकापुर घटनामा दिवंगत प्रहरी निरीक्षकका छोराछोरीको प्रधानमन्त्रीलाई खुलापत्र
Sarbottam CementSarbottam Cement

 

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार, मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं  ।

प्रधानमन्त्रीज्यू ! 
सर्वप्रथम अत्यधिक बहुमतले प्रधानमन्त्री हुनुभएकोमा बधाई छ । आज तपाईँ प्रधानमन्त्री भएको करिब एक महिनापछि हामी चार भाइबहिनी तपाईँलाई एउटा घटना स्मरण गराउन चाहन्छौँ । तपाईंले पत्रपत्रिकाबाट पक्कै पनि खबर सुन्नुभएको हुनुपर्छ २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित ५ जना प्रहरी र २ जना सशस्त्र प्रहरीको हत्या भएको थियो । त्यही घटनामा एकजना डेढ वर्षे बालकले समेत ज्यान गुमाउनुपर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रा बाबा प्रहरी निरीक्षक बलराम विष्टको पनि हत्या गरिएको थियो सोही घटनामा । हामीलाई राजनीति र यस्ता अरू कुराबारे केही थाहा थिएन पहिले । अहिले पनि त्यसबारे ज्यादातर चासो राख्दैनौँ । जब कर्तव्यपालनका सिलसिलामा आपराधिक समूहद्वारा प्रहरीको निर्मम हत्या गरियो, हाम्री आमाको सिन्दूर पुछियो र हामीलाई टुहुरा बनाइयो – हामी यति विह्वल भयौँ कि कैयौँ दिनसम्म हामीलाई केही थाहा भएन, के भइरहेको छ । भनौँ न, हामी अँध्यारो सुरुङभित्र पसेझैँ भयौँ । केही पनि देखेनौँ अगाडिको बाटो ।

निकैपछि मात्रै थाहा भयो– हाम्रा बुबालाई आन्दोलनकारीले हत्या गरेका रहेछन्, उहाँका सहकर्मीहरूसँगै । देश र जनताको सुरक्षामा खटिएका प्रहरीलाई जिउँदै जलाइयो भनेर सुनेपछि उत्पन्न मुटुको जलन अहिलेसम्म सेलाएको छैन ।

Global Ime bank

त्यतिबेला सरकार र सबै पक्षबाट धेरै सान्त्वना प्राप्त भयो । हामीलाई टुहुरा बनाउने अपराधीहरूलाई कारवाही हुने र उनीहरू जेल जाने भनिएपछि राहत मिलेको अनुभूत भएको थियो हामीलाई ।

त्यो अपराधमा संलग्नहरूको नामसमेत खुलेपछि र घटनामा संलग्न केही पक्राउ परेपछि हामीमा आशा अङ्कुरण भएकै हो– ढिलोचाँडो न्याय पाउँछौँ । पिताको आत्माले शान्ति पाउने भयो अब ! भन्ने ।

तर, हाम्रो आशा सत्य सावित कहाँ हुन्थ्यो र ! अभियुक्तहरूमध्ये धेरै जना पक्राउ नै परेनन् । त्यसपछि बनेका सबै प्रधानमन्त्रीले उनीहरूलाई कारवाही गरेर न्याय दिलाउने आश्वासन त बाँडे तर अदालतको कठघरामा उभ्याउनुको सट्टा कसैले भारतमा लुकेर बसेका मुख्य अभियुक्तलाई नै सार्वजनिक स्थलमै भेटेर हाम्रो घाउमा नुनचुक दले । 

हामीले समाचारमा सुनेका छौँ – हाम्रा पितालाइ मार्न मुख्य योजना बनाउनेमध्येको प्रमुख मान्छेले तपाईंले जस्तै भोट पाएर चुनाव जितेको छ रे ! 

त्यसरी घरघर भोट माग्न जाँदा पनि पुलिसले किन पक्राउ गरेन ? आज हामी योमात्र हैन धेरै प्रश्न गर्न चाहन्छौँ तपाईँलाई । अनि त्यसरी अभियुक्त मान्छेलाई बचाउन किन खोजिरहनुभएको छ ? उसलाई पनि सरकारको मन्त्री बनाउन खोज्नुभएको हो कि ? अपराधीलाई सांसद, मन्त्री बनाएर कस्तो सुशासनको वकालत गर्दै हुनुहुन्छ तपाईं ?

प्रधानमन्त्रीज्यू ! हामी हाम्रो पिता नभएको परिवारमा कसरी बसेका छौँ, यो तपाईं सोच्न पनि सक्नुहुन्न । तपाईं या अरू कसैले पनि हाम्रा दिवंगत पिता फिर्ता ल्याइदिन त सक्नुहुन्न तर हामीलाई टुहुरो बनाउने ती अपराधीहरूलाई सजाय दिएर हामीलाई न्याय दिन त सक्न सक्नुहुन्छ नि !

हामी पिता गुमाएको पीडा त कसरी भुल्न सक्थ्यौँ र तैपनि ती अपराधीहरूलाई सजाय भयो भने कम्तीमा न्याय मिलेको महसुस त हुने थियो । र, भोलि फेरि हामीजस्तै असहाय बालबालिकालाई कसैले टुहुरा बनाउने धृष्टता त गर्न सक्दैनथ्यो ।

राज्यले हत्या आरोपमा खोजी गरिरहेको मान्छेलाई राजनीतिको आवरणमा कसैले जोगाउन चाहन्छ भने भगवानले उसलाई कहिल्यै माफ गर्नेछैनन् । अझै पनि न्यायको आशा छ । त्यो नरसंहारको एकजना मुख्य अभियुक्त अझै पनि पुर्पक्षका लागि थुनामा छ रे । कुनै पनि बहानामा उसलाई उन्मुक्ति दिनु हामीलाई थप अन्याय गर्नु हो । यसरी पीडितको घाउमा नुनचुक लगाउनुले हामीले राज्यबाट के आशा गर्ने प्रधानमन्त्रीज्यू ?

सम्माननीय प्रधानमन्त्रीज्यू !

हाम्रा निर्दोष बुबाको छातीमा भाला र गोली प्रहार गर्ने, गर्न लगाउनेलाई कारवाही भएन भने पीडित परिवारमाथि घोर अन्याय हुनेछ । हामी न त आरामले सुत्न सक्नेछौँ न त मनमा शान्ति नै हुनेछ । न्याय पाइएन भने शायद टीकापुर घटनाको नियति दोहरिनेछ र हामीजस्तै अरूले पनि टुहुरो हुनु पर्नेछ । 

टीकापुर घटनाका मुख्य योजनाकारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेको व्यक्तिलाई जेलभित्रै शपथ खुवाउने सरकारको आश्वासन र कथित ‘अनशन’ टुटाउन गृहमन्त्रीले जुस पिलाउँदा हामी  विष पिएसरह प्रताडित छौँ । हामी निराशमात्र हैन प्रधानमन्त्रीज्यू लज्जित पनि भएका छौँ । राज्यबाट हामी पीडितभन्दा बढी क्षतिपूर्ति पनि त्यही पीडकले पाएको छ भन्ने पनि सायद यहाँलाई अवगत नै छ होला । सान्त्वना, संरक्षण, राज्यको स्नेह पनि पीडकले पीडितभन्दा बढी पाएको छ । 

यही थिति बसाल्ने हो र यसैका लागि तपाईँको आफ्नो पनि आजन्म संघर्ष थियो भने हामी असहायको भन्नु केही छैन । अहिले पीडकका गोहीका आँसु र उसको राजनीतिको पाखण्डले तपाईं गल्नुहुन्छ भने तपाईँको अभिभावकत्वमा रहेका जनताले के अनभूति गर्ने ? अपराधीहरूका हातबाट हाम्रा बुबा गुमाएको लामो समय भइसक्दा पनि चौबिसै घन्टा आँसुु बगाइरहेका छौँ, हामीले के आशा गर्ने ? हाम्रो आँसुको पनि मूल्य छ र निष्ठा नैतिकताको पनि स्थान हुन्छ भने तुरुन्तै टीकापुर घटनाको योजना बुन्ने र हाम्रा पिताको विभत्स हत्या गर्नेलाई आजन्म कारावासको सजाय होस् । 

प्रधानमन्त्रीज्यू, यो पत्र तपाईंसम्म त पुग्छ पुग्दैन । हामी राजनीति र समाचार जान्नेबुझ्ने उमेरअवस्थाका पनि छैनौ । यी शब्दहरू हाम्रा आँसु र आशा दुवै हुन् । जुन दिन हामी न्याय पाएको अनुभूति गर्नेछौँ सम्माननीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञता व्यक्त गर्न यसरी नै धन्यवाद पत्र लेख्नेछौँ । 

स्वर्गीय पिताको स्मृतिमा न्यायको आशामा रहेका छोरीहरू शान्ति विष्ट (१४ वर्ष) , जयन्ती विष्ट (२१ वर्ष) र वसन्ती विष्ट (२३ वर्ष) तथा छोरा गोविन्द विष्ट (१७)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC