site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\"छैटौं पार्टीको उत्साह, विदेशमा बस्ने नेपालीको आश\"
Ghorahi CementGhorahi Cement

काठमाडौं । हालै सम्पन्न आम निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने महत्वाकांक्षी लक्ष्य घोषणा गरेको विवेकशील साझा पार्टीलाई पहिलो गाँसमै ढुंगा भनेजस्तो भयो । पार्टी राष्ट्रिय पार्टी त बन्न सकेन नै, प्रदेश सांसदमा पनि उसको उपस्थिति निकै कमजोर छ । समानुपातिक मतबाट प्राप्त जम्मा तीनजना प्रदेश सांसदमा पार्टीले चित्त बुझाउनुपर्यो ।  
संगठन विस्तार नहुँदा नतिजा कमजोर आएको निष्कर्षसहित विवेकशील साझा अहिले संगठन विस्तारमा लागेको छ । पार्टीले संगठन विस्तारका लागि १२ वटा विभागहरु बनाएको छ । त्यस्तै, ६ र ७ प्रदेशमामा संयोजक तोकेको छ । महाधिवेशन गर्नुअघि सातै प्रदेशमा प्रदेश संयोजक तोक्ने पार्टीले जनाएको छ । 

काठमाडौंका धेरै निर्वाचन क्षेत्रमा वडादेखि संगठन बनाउने प्रक्रिया सुरु भइसकेको नेताहरु बताउँछन् ।  अहिले पार्टीसँग केन्द्रीय समितिबाहेक सबै साधारण सदस्यमात्र छन् । 

छैटौं दल हुनुको आशा
पार्टी निर्माण भएको ६ महिनामै चुनावमा भाग लिँदा पनि विवेकशील साझा पार्टीको पक्षमा देशभर २ लाख १२ हजार मतदाताले भोट हाले । विवेकशील साझा पाँचवटा राष्ट्रिय दलपछिको छैटौं पार्टी हो । संगठनबिना नै छैटौं दल बन्न सफल भएपछि पार्टीलाई ऊर्जा थपिएको नेताहरु बताउँछन् । “यसपटकको चुनावमा राष्ट्रिय पार्टी र  अर्को पटक देशको नेतृत्व गर्ने भनेका थियौं । तर, प्राविधिक हिसाबले हामी राष्ट्रिय पार्टी बन्न सकनौं,” पार्टी प्रवक्ता सूर्यराज आचार्य भन्छन्, “समानुपातिकको भोट हेर्न हो भने पाँचवटा राष्ट्रिय पार्टीपछिको हामी छैटौं पार्टी छौं । पूर्वप्रधानमन्त्री र पटक पटक सत्तामा गएको पार्टीभन्दा हामी अगाडि हुनु चानचुने कुरा होइन ।”

Agni Group

विवेकशील नेपाली र साझा पार्टीबीच चुनावको ६ महिनाअघि एकता भएको थियो । विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने योजनामा पनि छ विवेकशील साझा । “नेपालमा वैकल्पिक राजनीतिक शक्तिको सान्दर्भिकता झन् बढेर गएको छ, किनभने पार्टीहरु लोकतान्त्रिक र वाम ध्रुवमा  धुव्रीकृत भएर गएका छन्,” आचार्य थप्छन् ।

विवेकशील साझा पार्टीले अहिलेको सरकारलाई शंकाको नजरले हेरिहेको छ । प्रवक्ता आचार्य भन्छन्, “आशलाग्दा मन्त्रीहरु सरकारमा सहभागी गराइए पनि राज्य सञ्चालनमा धेरै विकृतिी भित्रिसकेका छन् । सरकारलाई चनाखोका साथ हेरिरहेका छौं । अहिलेको सरकारले स्थिरता र समृद्धिको नारा दिए पनि व्यवहार त्यस्तो देखिएको छैन । बल मिच्याइँ प्रवृत्ति सरकारमा देखिएको छ ।”

Global Ime bank

‘विवेकशील साझा अलमलिएको छैन’
चुनावपछि पार्टी निष्कृय भएको भन्दै कतिपयले आलोचना पनि गरेका छन् । सिद्धान्त, विचार र दर्शनबारे विवेकशील साझा अलमलिएको पनि बताइन्छ । तर, प्रवक्ता आचार्य भने विचार, सिद्धान्त र दर्शनमा पार्टी स्पष्ट रहेको दाबी गर्छन् । “हामीले आफ्नो सिद्धान्त जनताको बीचमा सम्प्रेषण गर्न सकेनौं । "यसको कारणमा केन्द्रबाहेक तल्लो तहमा हाम्रो संगठनात्मक सञ्जालको अनुपस्थितिले गर्दा जनताको तहमा सूचना सम्प्रेषण गर्न नसक्नु हो," आचार्य भन्छन् । 

नयाँ शक्तिसँग एकता हुँदैन 
वैकल्पिक शक्तिको रुपमा नेपालमा नयाँ शक्ति र विवेकशील साझा पार्टीले आफ्नो दावी प्रस्तुत गर्दै आएका छन् । यी दुई पार्टीबीच एकता हुँदा राम्रो भन्ने टिप्पणी आएका हुन् तर औपचारिक हिसाबले कुनै वार्ता भने नभएको नेताहरू बताउँछन् । नयाँ शक्ति गत असोज १७ गते एमाले र माओवादी केन्द्रको वाम तालमेलमा जोडिन पुगेको थियो । पछि चुनावमा टिकट वितरणमा कुरा नमिलेपछि नयाँ शक्ति गठबन्धनबाट बाहिरियो र कांग्रेससँग मिलेर चुनाव लड्यो ।

विवकेशील साझा सत्तामुखी नभएको दाबी गर्दै प्रवक्ता आचार्य नयाँ शक्तिसँग एकताको सम्भावना नरहेको बताउँछन् । उनी भन्छन्, “हामी नेपाली राजनीतिको परिदृश्यमा वैकल्पिक शक्तिको ठाउँमा छौं । त्यो ठाउँलाई अझ फराकिलो बनाउने र राष्ट्रलाई सेवा गर्ने हो । हामी कुनै व्यक्ति र समूहको लागि राजनीति गर्न आएका होइनौं । नयाँ शक्तिको घोषित कार्यशैलीप्रति नै हाम्रो विमति छ ।” 

एक लाख साधारण सदस्यपछि महाधिवेशन 
पार्टीले एक लाख साधारण सदस्य पुगेपछि महाधिवेशन गर्ने भएको छ । पार्टीका अहिले ५१ जना केन्द्रीय सदस्य छन् भने प्रस्तावित विधानमा ९९ जनाको केन्द्रीय समिति प्रस्ताव गरिएको छ । 

विदेशमा बस्ने नेपालीको भोटको आशा
विवेकशील साझाले विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउनुपर्ने व्यवस्थाका लागि आवाज उठाउँदै आएको छ । विदेशमा पुराना राजनीतिक दलहरुदेखि वाक्क भएका धेरै मतदाता रहेको पार्टीको बुझाइ छ । पार्टीले विदेशमा बसेरै चुनावमा भोट दिने पैरवी गर्ने प्रवक्ता आचार्य बताउँछन् । “मुलुकको अर्थतन्त्र रेमिट्यान्सले नै चलेको छ । विदेशमा बस्ने नेपालीप्रति हाम्रो सद्भाव र सम्मान छ । राजनीतिमा उहाँहरुको सहभागिता हुनैपर्छ । विदेशमा बसेरै पनि चुनावमा भोट दिन पाउनुपर्छ,” आचार्य भन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC