काठमाडौं । त्रिभुवन आर्मी क्लबले क्विक्स बास्केटबल लिगमा अपराजित यात्रा जारी राखेको छ । सोमबार भएको खेलमा जेभियर्स इन्टरनेसनल कलेजलाई पराजित गर्दै आर्मीले लिगमा अपराजित यात्रा कायम राखेको हो ।
जेभियर्सको घरेलु कोर्टमा भएको खेलमा आर्मीले घरेलु टोलीलाई ९३ – ७३ अंकले हराएको हो । आर्मीको जितमा सदिश प्रधानले २६ स्कोर गरे । जितसँगै आर्मीले ११ खेलबाट ३३ अंक जोडेको छ । लिगमा अपराजित रहने आर्मी एक्लो टोली हो । लिगमा जेभियर्सको यो दशौं हार हो । जेभियर्सले १२ खेलबाट ६ अंक जोडेको छ ।
होम एण्ड अवे लिगको आधारमा जारी प्रतियोगिता अन्तर्गत नै सोमबार भएको खेलमा किर्तिपुर बास्केटबल क्लबले जित निकालेको छ । किर्तिपुरले विशाल मिलन केन्द्रलाई ६० – ५१ अंकले पराजित गरेको हो ।
किर्तिपुरको जितमा अविशेक सिंहले ११ अंक जोडे । जितसँगै किर्तिपुरले १० खेलबाट १५ अंक जोडेको छ । पराजित विशाल मिलन केन्द्रले ११ खेलबाट २४ अंक जोडेको छ ।
प्ले फर डीप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) को आयोजनामा जारी लिगको बिजेताले २ लाख प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक स्कोरकर्ता, डिफेन्स, इमर्जीङ प्लेयर र प्रशिक्षकले स्पोर्ट्स क्लोथिङ कम्पनीबाट १० हजार बराबरको गिफ्ट प्राप्त गर्ने छन् ।