‘मह सञ्चार’को ब्यानरमा निर्माण भएको चलचित्र ‘शत्रु गते’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, पल शाह, आँचल शर्मालगायतका कलाकारले अभिनय गरेको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । डेब्यू निर्देशन ‘जात्रा’ बाट तारिफ बटुलेका भट्टराईले ‘शत्रु गते’ मार्फत दुई परिवारबीच विवाह बन्धबनबाट जोडिन लागेको सम्बन्धमा केकस्ता उतारचढाव आउन सक्छन् भनेर दोखाउन खोजेका छन् । निर्देशक भट्टराईसँग ‘शत्रु गते’ को सेरोफेरोमा रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०
चलचित्र रिलिजपूर्व निर्माण युनिट मोफसलका मुख्य सहर पुग्यो, किन ?
चलचित्र प्रदर्शन भनेको चलचित्र निर्माण युनिटका लागि शुभकार्य हो । पछिल्लो समय टेक्नोलोजीको विकाससँगै नयाँ तरिकाले जानकारी दिने तथा बोलाउने चलन छ । तर, हाम्रो परम्पराअनुसार घरमै पुगेर सुपारी दिने चलन छ । हामी सबै दर्शकको घरमा त पुग्न सक्तैनौं तर पनि मुख्य सहरमा पुगेर चलचित्र प्रदर्शन हुन लागेको जानकारी भने दिने प्रयास गर्यौं । दर्शकलाई हाम्रो चलचित्रप्रति अपनत्व फिल होस् भनेर पनि यसो गरेका हौं ।
भनेपछि चलचित्रको प्रचार शैली फेरियो भन्न मिल्छ ?
हो, विस्तारै अब चलचित्र निर्माणको प्रचार शैली फेरिँदैछ । पोष्टरमात्रै टाँसेर र टेलिभिजनबाट प्रोमो बजाएर मात्रै हुँदैन भनेर पनि हो । हामी मुख्य सहरमा मात्रै गएको भन्दै कति दर्शकहरुले हाम्रो सहरमा चाँहि किन आउनु भएन भनेर गुनासो पनि गरिरहनु भएको छ ।
चलचित्र ‘शत्रु गते’ कस्तो खालको चलचित्र हो ?
पूर्ण मनोरञ्जनात्मक पारिवारिक चलचित्र हो । दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेज हो भन्न रुचाउँछु म । दर्शकलाई खुसी र दुःखी दुवै बनाउँछ चलचित्रले । दर्शकले यो चलचित्र हेर्दा मेरो घरमा पनि यस्तो भएको भए के हुन्थ्यो हेला भनेर टाउकोमा हात राख्नुहुनेछ ।
मह जोडी जोडिएको चलचित्रमा मनोरञ्जनमात्रै भएर पुग्छ ? सामाजिक सन्देशको पनि अपेक्षा गर्नुहुन्छ नि दर्शकले ?
मह जोडीसँग मैले १४ वर्षदेखि काम गरिरहेको छु । चलचित्र भनेको एउटा मालाजस्तो हुनुपर्छ । जहाँ सयपत्री, मखमली सबै फूल हालेर राम्रो माला बनाउनुपर्छ भनेर मैले सिकेको छु । चलचित्रको मुटु त कथा नै हो, त्यसलाई मनोरञ्जनात्मक तरिकाले भन्नुपर्छ । कथाको यात्रा रमाइलो हुनुपर्छ । यही कुरा ‘शत्रु गते’मा छ ।
वान लाइन स्टोरी ?
दुई घरबीच बन्न लागेको सम्बन्धमा केकस्ता उतारचढावहरु आउँछन्, त्यो नै चलचित्रको कुख्य कथा हो । भित्री रुपमा मधेस र पहाडको कथा पनि देख्न सकिन्छ ।
तपाईंसँग ‘छक्का पञ्जा’ को टिम पनि छ । ‘छक्का पञ्जा’ लाई गहन विषयलाई सस्ता रुपमा प्रस्तुत गरेको आरोप लाग्यो । त्यही आरोप तपाईंलाई पनि लाग्ने हो कि ?
‘छक्का पञ्जा’ जस्तै हुने भन्ने त हुँदैन । प्रत्येक चलचित्र फरक फरक हुन्छन् । ‘छक्का पञ्जा’ लाई उहाँहरु फुल कमेडी जानरा भन्नुहुन्छ । हाम्रो चलचित्र सोसल ड्रामा हो । यसलाई हामीले बेसचाहिँ ह्युमर दिएका छौं । ‘जात्रा’ डार्क कमेडी थियो । ‘शत्रु गते’ पनि सिचुएशनल ह्युमर हो ।
‘शत्रु गते’ मा स्टारडमको जुलुस नै छ । स्टारडम बेच्न खोज्नु भएको हो ?
मुख्य कुरा त कथा नै हो । स्टारडमले चलचित्र इनिसियल गए पनि अन्ततः कथा नै बिक्ने हो । मलाई टाउको भन्दा पनि त्यसको जरा नै बलियो हुनुपर्छ भन्ने लाग्छ । मेरो चलचित्र पहिलो तीन दिनभन्दा तीन दिनपछि चलोस् भन्ने चाहन्छु । त्यसैले यसमा मैले कथा बेच्न खोजेको छु ।
कथा बेच्न खोज्नु भएको भए यति धेरै स्टारडम किन चाहियो ?
कथाभित्र राम्रो मान्छे अटाउनुभयो भने त के नराम्रो भयो र ? उहाँहरुलाई हेरेर जबरजस्ती कथा लेखिएको भए फरक कुरा हो । तर कथामा जनताले मन पराएका मान्छेहरु अटाउनुभयो भने त्यो त झनै राम्रो भयो नि । स्टारलाई जबरजस्ती राख्न खोजिएको भए त अझै धेरै बाँकी नै हुनुहुन्छ नि । उहाँहरुलाई पनि अटाइन्थ्यो होला नि । कथामा फिट हुने व्यक्ति राखिएको छ । व्यक्तिलाई हेरेर कथा बनाइएको छैन ।
अघिल्लो चलचित्र ‘जात्रा’ मा तीन जना मुख्य चलचित्रबाटै कथा भन्न सक्ने निर्देशकलाई यो पटक यति धेरै चरित्र किन चाहियो भन्ने प्रश्न त जन्मियो नि !
कथा लेख्दा कोको कलाकार हुन्छ र कसलाई खेलाउने भन्ने सीमामा हामी बसेनौं । कथा सकिएपछि कोको होला भन्ने सोच्यौं । एउटा भएन भने अर्को र त्यो पनि भएन भने तेस्रो चौथौलाई सोच्यौं । मुख्य त कथा नै हो ।
चरित्र सुहाउँदो कथा र कथा सुहाउँदो चरित्र छान्न नसक्नु नै नेपाली निर्देशक तथा निर्माताको कमजोरी हो भनिन्छ नि ?
पहिला चरित्रहरुको जमघट गर्ने हो कथामा । त्यसपछि पहिलो कुरा त अभिनय नै हेर्ने हो । पहिलो विकल्प को छ खोज्ने हो । जस्तै जात्रामा ‘फणिन्द्र’ का लागि विपिनलाई मैले देखें । अहिले सबैको नजरमा विपिन हुनुभएको छ । विपिनले नखेलाएर अर्को व्यक्तिलाई खेलाएको भए अहिले विपिनको ठाउँमा दर्शकले अर्को व्यक्तिलाई चिन्थे ।
विपिनले जस्तै ‘फणिन्द्र’ को क्यारेक्टरलाई अरुले न्याय नगरेर चलचित्र नै फ्लप हुने सम्भावना पनि उत्तिकै हुन्थ्यो भन्ने कुरालाई नजरअन्दाज गर्न सकिन्छ ?
त्यस्तो हुँदैन । कथा र अभिनय बलियो भयो भने व्यक्ति को भन्नेले फरक पार्दैन । बलिउड हलिउडमा पनि एउटाले छोडेर अर्कोले गरेर पनि हिट भएका धेरै उदाहरण छन् नि ।
त्यही बलिउड र हलिउड हो जहाँ अभिनेता र अभिनेत्रीलाई हेरेर कथा लेख्न सुरु गरिन्छ, त्यही भएर निर्देशकलाई चरित्र स्थापित गर्न र कथा भन्न कष्ट बेहोर्नु पर्दैन नि !
एकथरी निर्देशक त्यस्ता पनि छन् । कथा भन्ने कि मनोरञ्जन दिने भन्ने मुख्य कुरा हो । कथा भन्दै हुनुहुन्छ भने कथाले भनेको कुरा सतप्रतिशत आउँछ भन्ने छैन । सम्झौता गर्नैपर्छ । कथा, बजेट, पात्र, समयलगायतका धेरै पक्षमा नेपालमा सम्झौता गर्नुपर्ने अवस्था छ ।
लिजेन्ड चरित्र धेरै हुँदा निर्देशकमाथि कलाकार हाबी हुने सम्भावना उच्च रहन्छ ? कतै तपाईंको चलचित्र यसको मारमा त परेको छैन ?
बिल्कुल छैन । यति ठूलो कलाकारलाई यति सानो रोल कसरी सम्भव भयो होला भन्ने सरप्राइज चलचित्र घरमा पुगेपछि खुल्छ । कथा र निर्देशनमाथि कलाकार हाबी भएका छैनन् ।
‘शत्रु गते’ लाई अपेक्षित चलचित्रको रुपमा हेरिएको छ । तर पछिल्लो समय अपेक्षा गरिएका चलचित्र नै चलिरहेका छैनन् । कतै यो चलचित्रले पनि दर्शकलाई निराश पार्ने त हैन ?
अपेक्षा गर्नु र चलचित्र चल्नु फरक कुरा हो । निर्देशक तथा कलाकारको विगतको कामले गर्दा दर्शकले अपेक्षा राख्नुहुन्छ, त्यो राम्रो कुरा हो । कहिलेकाहिँ अपेक्षा गरिएको कुरा पूरा हुँदैन । यसमा मेकरको कमजोरीले पनि हुनसक्छ । हलिउडमा पनि नम्बर वान भनिएका निर्देशकले बनाएका चलचित्र सधैँ ब्लकबस्टर हुँदैनन् ।
कास्टिङ क्रु, बजेट र प्रविधि प्रशस्त प्रयोग गरिएका चलचित्र सबै चल्छन् भन्ने छैन । त्ये देखिएकाले कसैले पनि मेरो चलचित्र चल्छ भनेर अभिमान पालेर बस्नु हुँदैन । काम इमान्दारिताका साथ गर्ने हो । दर्शकले अपेक्षा राख्नु स्वाभाविक कुरा हो ।
‘शत्रु गते’ को डिजिटल राइट्स अहिलेसम्कै महँगो मूल्यमा विक्री गर्नु भएको छ । विदेशी बजारमा चलचित्र जाने सम्भावना कत्तिको छ ?
दर्शकमात्रै होइन, दर्शकसम्म चलचित्र पुर्याउने व्यक्ति तथा संस्थाहरुमा पनि यो चलचित्रप्रति धेरै अपेक्षा छ । बाहिरका धेरै शो विक्री भैसकेको छ भन्ने खबर आएको छ । नेपालमा चलेकै ९ गते नै अन्य तीन चारवटा देशमा पनि प्रदर्शन हुँदैछ ।
विदेशमा नेपाली चलचित्र शो किनेर देखाइन्छ, अनि त्यसैलाई नेपाली चलचित्रको ओभरसिज मार्केट भनेर भन्ने गरिएको छ । यसैलाई नेपाली चलचित्र विश्वबजारका गयो भनेर भन्न मिल्छ ?
पहिला होटल तथा कार्यक्रम हलहरुमा प्रोजेक्टरमा नेपाली चलचित्र देखाइन्थ्यो तर अहिले थिएटरमा नै देखाउन थालिएको छ । यद्यपि यसैलाई नेपाली चलचित्र विश्व बजारमा गयो भनेर भन्न मिल्दैन ।
मह जोडीले लामो समयपछि कथानक चलचित्रमा अभिनय गरेको छ । कत्तिको गाह्रो भयो ?
कथानक चलचित्र र टेलीसिरियल फरक फरक कुरा हुन् । पक्कै पनि मदन दाइ र हरि दाइ अभिनय गर्दा केही लम्ब्याउन खोजे जस्तो लाग्थ्यो तर संकेत गर्नेबित्तिकै बुझिहाल्नुहुन्थ्यो । १४ वर्षदेखि सँगै काम गरेकाले पनि होला सजिलो भयो काम गर्न ।
नाच्न जान्दिन भन्ने हरिवंश आचार्यलाई कसरी नचाउनु भयो ?
उहाँले सुरुमै भन्नुभएको थियो कोरियोग्राफरलाई, म नाच्न जान्दिन, मलाई अफ्ठ्यारो स्टेपहरु नदिनू । उहाँले फेसियल एक्सप्रेसले नै नाच्नुभयो । शरीरभन्दा पनि उहाँको अनुहार नाच्थ्यो । त्यही नै राम्रो देखिन्थ्यो ।
तस्बिर : सरिता खड्का