site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अब सामलीहरू नजन्मिऊन्
Ghorahi CementGhorahi Cement

– प्रभास देवकोटा


म मेरो उमेरका समकालीन महिला हस्ताक्षरहरूलाई खासै धेरै पढ्दिनँ । आक्कल झुक्कल १५–२० वर्षअघि ‘मधुपर्क’ र ‘गरिमा’मा केही महिला नामहरू भने पढेको छु । शायद मेरो अध्ययनको सीमितता हुनुपर्छ । एकपटक कल्पना बान्तवाको आख्यान पढेर उनी र कृतिबारे समालोचना गर्ने ध्येय राखेर फेसबुकमा अनुरोध पठाएँ तर केही उत्तर नआएपछि लेख्ने धृष्टता गरिनँ ।

हिजोका कुरा छाडौं । आजका कुरा गरौं । हाम्रो सामाजिक सन्दर्भको कुरा गरौं । आजभोलिका लेखकहरूमा वर्गीय चेतना छ, साहित्यिक अध्ययनशीलता छ । भाषाको प्रयोगमा सजग र प्रभावशाली छन् । वैश्विक सिंहावलोकन देख्न, भोग्न र सुन्न पाइन्छ । तर, तुलनात्मक रूपमा विश्वका अरू भाषाका साहित्यभन्दा समकालीन नेपाली लेखकहरू धेरै टाढा छन् । आफ्नो लेखनीको चौघेरा नाघेर फराकिलो आलोकमा उक्लिन नसक्नुले नै नेपाली साहित्य धेरै पछाडि छ ।

Agni Group

मैले सरस्वती प्रतीक्षालाई पढेको या सुनेको थिइनँ । यो मेरो दुर्भाग्य हो र मेरो अध्ययनशीलताको लघुतम आकृति । फेसबुकका भित्तामा केही स्थापित महिला हस्ताक्षर शारदा शर्मा, माया ठकुरीहरूले टाँसेको ‘नथिया’लाई मैले पसलमा गएर नत्थी गरें ।

म साहित्य र अनुसन्धानको विद्यार्थी हुँ– शिकारू । ३० वर्षअघि म छुट्टीमा दाङ पर्सेनीबाट स्कुल फर्किने बेला सन्ध्याकालीन बस घोराहीनजिक पक्रैया पुग्थ्यो, केहीबेर त्यो बस्ती घुम्थ्यो र बसपार्क पुग्थ्यो । म झ्यालबाट ‘नथिया’भित्रका सिमली र पानकुमारीहरूलाई चियाएर हेर्थें । मनभरि प्रश्नहरूको गुजुल्टो पारेर म त्यो यात्राभरि तिनै सिमली र पानकुमारीहरूलाई सम्झिन्थें । त्यतिबेला मेरा केही सीमितता थिए । म लेखकीय आँखाबाट तिनका कथा देख्न सक्दिनथें । तर, मनमा ‘पक्रैया’, ‘लम्की’, ‘राजापुर’, ‘गगनगन्ज’, ‘श्रीगाउँ’भित्रका सिमली र पानकुमारीलाई उद्घाटित गर्ने ठूलो अभिलाषा थियो । लग्थ्यो– यी महिलाका नसुनिएका कथालाई म मेरो कथा बनाउँछु र मेरो कथामा यी ठाउँहरू उभिनेछन् जीवन्त भएर । तर, मैले सकिनँ । मेरो चाहना र सपना पूरा गरिदिएकोमा सरस्वती प्रतीक्षालाई साधुवाद ।

Global Ime bank

म पेशाले परामर्शदाता हुँ । गरिबी, अशिक्षा, बेरोजगारी र यिनले नेपाली समाजमा पारेका असरहरूको खोजी, अनुसन्धान, विश्लेषण, आलोचना गर्दै परियोजना हस्तक्षेप गर्दागर्दै मैले जीवनको करिब–करिब दुई दशक बिताएको छु । लैंगिकतामा काम गर्न थालेको र स्वभावैले संवेदनशील भएकोले पनि म सिमली र पानकुमारीहरू बाट धेरै छोइन्छु, मन रसाउँछ । खासै गर्न सक्ने केही होइन तर त्यसलाई मेरो प्रतिवेदनमा खरो र प्रष्ट उतार्न कोसिस गर्छु, जसले गर्दा थुप्रै आईएनजीओका टीओआरहरूमा मेरो चित्त बुझ्दैन । प्रतिवेदन फाइनल गर्दासम्म धेरै पटक परियोजना लागू गर्ने संस्थाको टिमसँग भनसुन हुन्छ । तर, यथार्थ त यथार्थ नै हो । सत्य सत्य नै हो । त्यसैले मजस्तो दुस्साहसीलाई फेरि त्यही संस्थामा काम पाउन गाह्रो हुन्छ ।

यति हुँदाहुँदै पनि सिमली र पानकुमारीहरू मेरो प्रतिवेदनका ‘केस–स्टडिज’ र ‘स्टोरी’ बने तर मुखरित वा प्रसारित हुन पाएनन् । यो मेरो सीमितता थियो ।

र, पनि म आक्कल–झुक्कल लेख्थें । मेरो पालामा त्रिवि नेपाली विभागले भानुभक्तको जयन्ती पारेर कविता प्रतियोगिता आयोजना गरेको थियो । मेरो शीर्षक नै ‘मन्दिर अर्चना र पानकुमारी’ थियो । त्यो बेलाको सर्वोत्कृष्ट कविता थियो त्यो ।

मैले थुप्रै पटक मेरो स्कुले जीवनका डायरीमा सिमली र पानकुमारीलाई उतारेको छु । एकाध पटक मेरी आमाबाट खप्कीसमेत खाएको छु, “तैंले कुनै अरू विषयवस्तु पाइनस् र यसमै लेख्नु पर्‍यो ?” 

एकपटक बाबाले पनि पढ्नुभएछ । उहाँ नेपाली साहित्यको प्राध्यापक हुनुहुन्थ्यो । भित्रभित्रै खुसी हुनुभएछ तर मलाई किनारा लगाइदिनु भयो, “अझै तैले यो विषयवस्तुमा कलम चलाउने समय आएको छैन ।”

म भित्रभित्रै चिमोटिन्थें । मेरा थुप्रै कथा र नायकहरू सिमली, पानकुमारीको भु्रणहत्या भयो । मेरो लेखनी आमाले तरर्र च्यात्दिनुहुन्थ्यो । उहाँ किन त्यसो गर्नुहुन्थ्यो, म महसुस गर्न सक्छु । छोराको नैतिक धरातलमा भोलि कसैले प्रश्न नतेस्र्याओस् भनेर उहाँ चिन्तित हुनुहुन्थ्यो । यसरी मेरा थुप्रै प्रयास निमोठिएका छन् । यो जातविशेषसँग जुटेको अर्थ–राजनीति र सांस्कृतिक कारणले म धेरैपटक अवरूद्ध र अव्यक्त भएको छु ।

एकपटक म फुपूको घरमा गएको थिएँ । फुपाजुले भन्नुभयो, “तिमी त्यो बस्तीमा गएर के गर्छौ ? फोटो खिच्छौ, के–के टिप्छौ रे हो ?”

मैले भुइँमा मुन्टो गाडेर ‘हो’ भन्थें । फुपाजु भन्नुहुन्थ्यो, “तिम्रो काम त राम्रो छ तर यो गर्ने बेला अहिले हैन र अनि तिम्रो पनि हैन ।”

म खुम्चिएँ । यो जातविशेषसँग जोडिएका विभिन्न सामाजिक पक्षहरूका कारण मैले ‘सिमली’ र ‘पानकुमारी’लाई न्याय गर्न सक्दै सकिनँ ।

मेरो हातमा ‘नथिया’ परेपछि मेरो दिमागभरि थुप्रै प्रश्नहरू जन्मिए । के म ढिलो भएँ ? के मैले समयलाई चिनिनँ ? के म लेखक होइन ? के मेरा पाठक छैनन् ? के म दुस्साहसी होइन ? अनि किन गरिनँ त समयमै यसको पटाक्षेप ? आफैंसँग रिस उठ्यो । यस मानेमा लेखिकासँग ईश्र्या पनि भयो । भित्रभित्रै म गदगद भएँ । खुसी भएँ । मेरा आँखा रसाए । मेरी श्रीमतीले देखिन् र भनिन्, “तपाईंको वर्षौंदेखिको विषय उठान भयो । बरू यसमा तपाईंको आफ्नो विचार लेख्नुस् । फेरि अर्को ‘नथिया’ जन्माउनुस् ।”

मेरो यो जातसँगको सहसम्बन्ध सरस्वतीजीभन्दा धेरै प्रगाढ छ । तर, सरस्वतीजी बन्दनीय र सत्य हुनुहुन्छ । ‘नथिया’ त जन्मिहाल्यो । तपाईंलाई मेरो हृदयको अटल गहिराइबाट धन्यवाद ।

पुस्तकको गुणस्तर राम्रो छ । ‘बुकहिल्स’ले थुप्रै र प्रसंसनीय मेहनत गरेको प्रस्टै आभास हुन्छ । आवरणको महिला अनुहार शायद बादी महिलाको होइन कि ? खै कुन्नि किन हो– सुखरित हुन नसकेको आभास भयो । तर, हुन पनि सक्छ । आवरणको कला र रङ संयोजन बेजोड छ तर कहीँकतै त्यो दुःख, आर्तनाद, चीत्कार, लैंगिक विभेद झल्किने केही नपाउँदा अलि खल्लो लाग्यो । तर, समग्रमा यो रूपमा नेपाली आख्यान आउनु हाम्रो लागि ज्यादै खुसीको विषय हो ।

एउटा प्रसंग जोड्न मन लाग्यो । म जुनकुनै पेशागत तालिमहरूमा प्रायः पानकुमारीको नाम लिन्छु, तर म साहित्यको प्राध्यापक होइन । म एक चेलीको माइती भएर ती बस्तीमा टिपोट गर्दै हिँडेको भर्खरै जस्तो लाग्छ, जुन बेला म ग्य्राजुयट पनि थिइनँ ।

बेला–बेला मलाई श्रीमती रञ्जु रिसाएको बेला घुर्की लगाउँदै भन्छिन्, “मन जति पानकुमारीलाई छ ।”

यसर्थमा म खुसी छु, मेरो त्यो सपना कसैले पूरा गरिदियो । पढ्दै गएँ । पढिसकेर मनमा जे आयो, त्यही लेखें । विश्वास छ– सरस्वतीजीले यसलाई सहजरूपमा लिनुहुनेछ । यो समालोचना होइन, सामान्य पाठकीय दृष्टिमात्रै हो । यसमा मैले पछि समालोचना लेख्नेछु ।

शुरुवाती पेज पढ्दा कता–कता भर्जिनिया उल्फको लेखनीले प्रभाव परेको महसुस भयो । हुन त उहाँले ‘पोयटिक रियालिजम’को कुरा आफैंले गर्नुभएको छ । आख्यानकारको लेखनी चोटिलो छ । शुरुबाटै यो अनुभूत गर्न सकिन्छ ।

पक्रैयाको नामाकरणका सम्बन्धमा मेरो पनि अनुभव छ । कान्छा बादी त्यो समुदायका अलि जान्नेबुझ्ने हुनुहुन्थ्यो । त्यो बेलामा नै उहाँ ६० वर्षजतिको हुनुहुन्थ्यो । मैले त्यो बेलाको मेरो डायरी हेरें । त्यहाँ नजिकै थारू बस्ती पनि छ । शारीरिक सम्पर्कका लागि आएका व्यक्तिहरूलाई प्रहरी प्रशासनले बेलाबेलामा पकडेर लैजाने गथ्र्यो । यो क्रम त्यतिबेला चर्को थियो । पक्राउ पर्ने कुरालाई थारुहरूले ‘पकडल’ भन्थे । यही शब्द पछि अपभ्रंश भएर पक्रैया भएको भनाइ कान्छा बादीको थियो । जेहोस्— यो ऐतिहासिक लेखनी पनि होइन, अतः त्यसैले केही फरक पनि पारेन ।

उपन्यासको प्राध्यापक पात्र दिवाकरमा मैले आफैंलाई पाएँ । त्यो पात्र म आफैं हुँ जस्तो लागिरह्यो पठन अवधिभरि । 

अनेक सामाजिक विसंगतिबोधका बीच देशमा सबैखाले चुनाव सम्पन्न भएर केन्द्रीयदेखि स्थानीय सरकारसम्म बनेका छन् । शान्ति–सम्झौताबाट आज यहाँसम्म आइपुग्दा अझै प्रशस्त सवालहरू जहाँको तहीँ र जस्ताको त्यस्तै हाम्रासामु छन् । लैंगिक समानताको दृष्टिकोणबाट महिलाहरूले अझै सम्मानपूर्वक जीवन बाँच्न पाएका छैनन् । शिक्षा, अधिकारजस्ता थुप्रै सवालबाट यस्ता बस्ती अझै कोशौं टाढा छन् । गरिबीको चक्र उसैगरी घुमिरहेको छ, जसरी दशकौंअघि सामलीहरू पिल्सिएका थिए । अझै पनि सामलीहरूलाई सम्बोधन गरिएन भने फेरिफेरि ‘नथिया’ जन्मिरहनेछन् । हामी जहाँको तहीँ रहिरहनेछौं । सामली र पानकुमारीहरू सधैं उस्तै सीमान्तकृत भइरहनेछन् ।

‘नथिया’मा प्रयुक्त स्थानीक संवाद (बादीहरूको आफ्नै उच्चारण)लाई लेखकले धेरै हदसम्म निभाए पनि पूर्णतः न्याय भने गर्न नसकेको अनुभूति हुन्छ । तर, पनि केही समयको (केही दिनको) सान्निध्यतामै भाषामा आएको यो प्रगाढ आत्मिक वेदनालाई भने स्तुत्य नै मान्नुपर्छ ।

पुस्तक पढ्दै गर्दा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पर्‍यो । थुप्रैले योगमायादेखि सामली र पानकुमारीलाई सम्झे । धेरै कार्यक्रमहरू आयोजना भए । कतै पेपर प्रेजेटेसन पनि भयो होला । तर, कटु र कठोर यथार्थ के हो भने जबसम्म गरिबी सम्बोधन हुँदैन, तबसम्म विभिन्न प्रारूपमा योगमाया, सामली र पानकुमारीहरू जन्मी नै रहन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ०८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC