काठमाडौं । नेपाल तेक्वान्दो संघले मंगलबार राष्ट्रिय भेला आयोजना गरेको छ । नेपाल संघिय ढाचामा गएपछि संघले आफू मातहतका सातै प्रदेशका तेक्वान्दो संघका प्रतिनिधि सहभागी गराई एकदिने राष्ट्रिय भेला आयोजना गरेको हो ।
सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा भएको भेलामा प्रदेश संघको काम, कर्तब्य र भूमिका बारे जानकारी गराइएको थियो । यस्तै भेलामा सातै प्रदेशले आ–आफ्ना भावी कार्यक्रम प्रस्तुत गरेका थिए । भेलामा प्रतिनिधिहरुलाई ओलम्पिक मुभमेन्ट र ओलम्पिक चार्टरका बारेमा पनि जानकारी गराइएको थियो ।
राष्ट्रिय भेलामा तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले सातै प्रदेश संघलाई आबद्धताको प्रमाण पत्र हस्तान्तरण गरेका थिए । भेलाको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।