काठमाडौं । दोस्रो संस्करणको युनिभर्सिटी क्रिकेट कपअन्तर्गत मंगलबार भएको खेलमा जित हात पार्दै टियु ए सेमिफाइनलमा प्रवेश गरेको छ । इशान पाण्डेको उत्कृष्ट शतकीय प्रदर्शन सँगै टियु ए ले क्यारेवियन कलेज अफ म्यानेजमेन्टलाई १३६ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा टियु ए को जितका लागि इशान पाण्डे नायक बने । टस जितेर पहिले ब्याटिङ गरेको टियु ए ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०७ रनको विशाल योगफल तय गरेको थियो । टियु ए का लागि ओपनिङमा आएका इशान पाण्डेले अविजित १२६ रन बनाए । उनले मात्र ७० बलको सामाना गर्दै १६ चौका र ५ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, टियु ए का लागि कप्तान पृथु बास्कोटाले ३२, र सुवास खकुरेलले २४ रन बनाए भने सोनु तामाङले १२ रनको योगदान दिए ।
जारी प्रतियोगितामा यो सबै भन्दा उच्च स्कोर पनि हो । २०८ रनको उच्च स्कोर पछ्याउदै ब्याटिङ गरेको क्यारेवियन कलेज अफ म्यानेजमेन्टले १९.३ ओभरमा सबै विकेट गुमाउदै ७१ रन मात्रै बनाउन सक्यो ।
क्यारेवियन कलेजका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । क्यारेवियन कलेजका लागि सञ्जिव अधिकारीले १६ रन बनाएका थिए । टियु ए का लागि कप्तान पृथु बास्कोटा, सागर ढकाल र विक्रम शोवले समान ३–३ विकेट लिए ।
मंगलबार नै भएको अर्को क्वाटरफाइनलमा न्यु समिट कलेजलाई ४७ रनले पराजित गर्दै कसमोस कलेज पनि सेमिफाइनलमा प्रवेश गरेको छ । १५० रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको न्यु समिटले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १०२ रन मात्रै बनाएपछि कसमोस कलेज सेमिफाइनलमा पुगेको हो ।
न्यु समिटका लागि करण शाहले ३१ र शरद खड्काले २५ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कसमोस कलेजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउर १४९ रन बनाएको थियो । कसमोसका लागि कमलसिंह ऐरीले ५५ रन बनाएका थिए ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता चैत्र ३ गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफि हात पार्नेछ । त्यस्तै, उपविजेताले १ लाख नगदसहित ट्रफि पाउने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद, बेष्ट बलर, ब्याट्सम्यान नगद १० हजार प्राप्त गर्ने छन् ।