site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
नेपालमा आठौं विदेशी जहाज दुर्घटना
Sarbottam CementSarbottam Cement

नेपालको उड्डयन इतिहासमा आन्तरिक उडानमा धेरै दुर्घटना हुने गरे पनि अन्तर्राष्ट्रिय एयरलाइन्सको दुर्घटनाको सन्दर्भमा धेरै नराम्रा घटना भएका छैनन् । हिजो फागुन २८ गते बङ्लादेशको राजधानी ढाकाबाट आएको उक्त देशको निजी हवाई कम्पनी युएस–बाङ्ला एयरको जहाज त्रिभुवन विमानस्थलको धावन मार्गमा भएको पहिलो ठूलो दुर्घटनामा गनिएको छ । अहिलेसम्म नेपालमा विदेशी एयरलाइन्सको आठ जहाज दुर्घटनामा परेका छन् । हिजो दुर्घटनाग्रस्त भएको जहाजमा रहेका ६७ यात्रु र चालक दलका चार सदस्यमध्ये चालक दलका सबै सदस्य सहित ४९ जना यात्रुको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । आज प्रकाशित दैनिक पत्रिकाले यो घटनालाई ब्यानर समाचार बनाएका छन् ।

अन्नपूर्ण पोस्टले दिएको समाचारका अनुसार नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय जहाज दुर्घटना सन् १९५५ मा सिमरामा भएको थियो । कलिंगा एयरको सो जहाज दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् १९५६ र सन् १९५८ मा इन्डियन एयरलाइन्सका दुई जहाज दुर्घटनामा परेका थिए । तिनमा ३४ जनाको ज्यान गएको थियो । त्यसपछि नेपालमा भएको अन्तर्राष्ट्रिय एयरलाइन्सको ठूलो दुर्घटनामा थाई एयरवेजको सन् १९९२ जुलाईमा भएको दुर्घटना थियो । सो दुर्घटनामा जहाजमा रहेका सबै ११३ जनाको ज्यान गएको थियो । सो दुर्घटनाको दुई महिना नबित्दै सेप्टेम्बर महिनामा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटनाग्रस्त भएको थियो । त्यो पाकिस्तानी विमान दुर्घटना मृत्यु हुनेको संख्याको आधारमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । त्यसबेला विमानका सबै १५७ यात्रुको ज्यान गएको थियो । सन् १९९० मा लुफ्थान्साको कार्गो विमान दुर्घटना हुँदा चालक दलका पाँचै जनाको ज्यान गएको थियो । हिजोको घटनाभन्दा अघि सन् २०१४ मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बेलामा टर्किस एयरको जहाज पनि दुर्घटनाग्रस्त भएको थियो तर सो दुर्घटनामा मानवीय क्षति भएको थिएन ।

 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधान न्यायाधीश पराजुली नैतिक संकटमा

डा. गोविन्द केसी तथा कान्तिपुर दैनिकविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दामा सात जना न्यायाधीशको बृहत् पूर्ण इजलास एक दिन बसेर हिजो पुनः बस्नुपर्नेमा सो इजलासका सबैभन्दा वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधान न्यायाधीश गोपाल पराजुली उमेर हदका कारण पदमा बसिरहनु नहुने भन्दै उनको इजलासमा बस्नु नैतिक नदेखिने जानकारी प्रेस विज्ञप्तिमार्फत् दिएर बाहिरिएका थिए । राणा बाहिरिएपछि प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली नैतिक संकटमा परेका छन् । कान्तिपुरले दिएको समाचारअनुसार उनलाई सर्वोच्च अदालतका अन्य न्यायाधीशले पनि अब नैतिकरूपमा पदमा बस्नु नहुने सल्लाह दिएका छन् । कान्तिपुरका अनुसार सर्वोच्च अदालतमा अब नेतृत्व परिवर्तनको संकेत पनि देखिएको छ ।

Global Ime bank

 

नागरिक दैनिकले पनि ‘प्रधान न्यायाधीशविरुद्ध न्यायाधीश’ शीर्षकमा यो समाचार प्रकाशित गरेको छ । भाषा शर्माले लेखेको समाचारअनुसार नेपालको न्यायिक इतिहासमा प्रधान न्यायाधीशविरुद्ध न्यायाधीश उत्रिएको सम्भवतः यो पहिलो घटना हो । अदालतको अवहेलना मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेर जबराले समयावधि सकिएका प्रधान न्यायाधीश पराजुलीले तोकेको इजलासमा नबस्ने घोषणा गरेर हिंडेपछि न्यायपालिकाका प्रमुख एक्लिएका छन् ।

विचार र दृष्टिकोण

बोक्सी प्रथाबारे प्रश्नैप्रश्न : पूर्व माओवादी नेतृ हिसिला यमीले नयाँ पत्रिकामा बोक्सी प्रथाबारेमा लेख लेखेकी छिन् । उनको विचारमा समाजभित्रका समस्या समाधानमा राज्यसत्ता, राजनीतिक पार्टी र नागरिक समाजले पहल नगर्दासम्म धर्मका नाममा पश्चगामी व्यक्ति र शक्तिले आमजनता र समुदायको अदृश्य शक्तिका नाममा आफूमा दैवी शक्ति भएको भान दिएर समुदायलाई उज्यालो होइन, अँध्यारोतिर डोयाउन खोज्छन् । यमी लेख्छिन् — देशभित्र बढ्दै गएको बलात्कार र बोक्सी आरोपका घटनालाई हामीले समग्रतामा बुझ्न जरुरी छ । अहिले विश्वमै विचारको संकट, आर्थिक असन्तुलन र आप्रवासले ल्याएको सामाजिक विखण्डनको सिकार प्रत्येक देशभित्रका महिला, अझ त्यसभित्रका गरिब, उत्पीडित समुदायका महिला हिंसाका सिकार भइरहेका छन् ।

 

नयाँ डम्फु : २१औं शताब्दीको समाजवाद : कान्तिपुरमा अच्युत वाग्ले लेख्छन् — वर्तमान प्रधानमन्त्री केपी ओली तथा उनका वाक्पटु केही समर्थकहरू अब ‘एक्काइसौं शताब्दीको समाजवादको अवधारणाबाट अगाडि बढ्नुपर्छ,’ भनेर भन्दैछन् । वाग्ले भन्छन् प्रचण्डपथ, जबज, एक्काइसौं शताब्दीको जनवाद जस्ता हौवा पिटाउने नेताहरूनै यस्को वास्तविक खाका के हुन् भनेर प्रस्टाउने हैसियत राख्दैनन् ।

वाग्ले लेख्छन्, ‘नेपालका राजनीतिक नेताहरूले बारम्बार अलापिरहेको समाजवाद सनातन परिभाषाको, उत्पादन–वितरण–उपभोगको सिङ्गो चक्र र तिनका साधनमाथि राज्यको स्वामित्व र नियन्त्रण नै हो र अहिले बनाइएको ‘एक्काइसौं शताब्दीको समाजवाद वा साम्यवाद नाम डम्फुको अभीष्ट पनि त्यही हो भने प्रस्टै छ, वामपन्थी सरकारको नेतृत्वमा मुलुक अन्धकार उन्मुख छ ।

स्वतन्त्र न्यायपालिकाको साख : नागरिक दैनिकमा डा. शङ्करकुमार श्रेष्ठ लेख्छन् — पदावधि बढाउने धृष्टताले गोपाल पराजुलीले प्रधानन्यायाधीश पदकै गरिमा गिराएका छन् । पदावधि बढाएर पदको गरिमा बढ्ने भए ओमभक्त श्रेष्ठलाई पदावधि घटाउन निवेदन दिन बाध्य पार्ने व्यक्तिले भित्तामा टाँगिने पूर्वप्रधान न्यायाधीशको तस्बिर थप्ने काममात्र गरेका छन् ।

‘न्यायपालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएमा सन्तोषको सास फेर्ने कुनै स्थान छैन । फोहोरको मुहानबाट शुद्ध पानीको अपेक्षा गएिकै अवस्था अहिले न्यायपालिकामा देखिन्छ । जताबाट हेर्दा पनि भ्वाङ् परेको देखिनु दुःखद परिणिति हो । यसले गर्दा सक्षम न्यायाधीश निराश छन् भने अक्षम न्यायाधीश जागिरमा नियुक्त हुन पाउँदा दङ्ग छन् ।

सम्पादकीय

राजधानी दैनिकले सर्वोच्चका प्रधान न्यायाधीश गोपाल पराजुलीमाथि पदमा बढी बसेको आरोप लगाउँदै अर्का न्यायाधीश चोलेन्द्र शमशेरले लगाएको आरोपमा सम्पादकीय लेखेको छ । राजधानी लेख्छ, यतिबेला न्यायिक अनुशासन, अदालतको आस्था र न्यायाधीशको नैतिकतामा ठूलो प्रश्न उठेको छ । अब प्रधान न्यायाधीश पराजुली र न्यायाधीश जबरामध्ये को सही भन्ने प्रश्न उठेको छ । प्रधान न्यााधीशको उमेर र शैक्षिक प्रमाणपत्रको विवाद यही बिन्दुमा पुगेर समाधान हुनुपर्नेछ ।

कान्तिपुरले सरकारसँग रहेको दुई तिहाइ बहुमतको विषयमा सम्पादकीय लेख्दै भनेको छ — यतिबेला केन्द्र सरकार तथा ६ वटा प्रदेश सरकारलाई दुई तिहाइ बहुमत र अधिकांश स्थानीय सरकारमा पकड रहेको अद्वितीय अवसर कम्युनिस्ट पार्टीलाई प्राप्त भएको छ । यो भनेको विगतमा नागरिकमाझ देखाइएका सपनालाई यथार्थमा बदल्ने उपयुक्त समय हो । कान्तिपुरको सम्पादकीय भन्छ — यो सरकारसँग जटिल राजनीतिक मुद्दा वा अन्य कुनै कारण देखाएर बहानाबाजी गर्ने ठाउँसमेत छैन । त्यसैले सरकारसँग निहित दुई तिहाइ बहुमतको शक्ति दुरुपयोग नहोस् भन्नका लागि प्रधानमन्त्री ओली विशेष सतर्क रहनुपर्छ ।

नागरिक तथा अन्नपूर्ण पोस्टले युएस–बाङ्ला एयरलाइन्सको दुर्घटनाका सन्दर्भमा सम्पादकीय लेख्दै यसको छानबिन सही ढंगले होस् र सधैँ अन्य दुर्घटनामा जस्तै पाइलटको मानवीय त्रुटि देखाएर फाइल बन्द नहोस् भनेका छन् । गोरखापत्रले कैलालीको घटनामा दोषीलाई कारवाही होस् भनेर सम्पादकीय लेखेको छ भने नयाँ पत्रिकाले सोही घटनामा आरोपीलाई छुटाएको दोष लागेका मेयरमाथि भएको आक्रमणको विषयमा सम्पादकीय लेखेको छ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमवार उनकै निवासमा गोली र खुकुरी प्रहार भएको छ । यस विषयमा नयाँ पत्रिका लेख्छ — ‘समाजले आफ्ना जनप्रतिनिधिमाथि प्रश्न गर्न सक्छन्, तर प्रश्नको समानान्तर गोली, बारुद र खुकुरी चल्न सक्दैन । बोलीको विकल्प गोली होइन, त्यो अपेक्षित र स्वीकार्य छैन ।’

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०७४  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC