Skip Advt.

विचार

लोकतन्त्रको (पुनः) जन्म कसरी ?

रिकार्डो हाउसम्यान

लोकतन्त्रको (पुनः) जन्म कसरी ?

वास्तविकता थाहा भएपछि जीवनमा धेरै विषय स्पष्ट हुनपुग्छन् । घटना र प्रवृत्तिहरूका बारेमा पहिले नै जान्नु भने चुनौतीपूर्ण हुन्छ । त्यसमाथि लोकतन्त्रकै अवसानको सबाल त झन् विशेष महत्त्वपूर्ण विषय बन्छ । 

हार्वर्डका प्राध्यापक द्वय स्टेवन लेविटस्की र डेनियल जिब्लाटले आफ्नो उत्कृष्ठ नयाँ पुस्तक ‘हाउ डेमोक्रेसी डाइ’ (लोकतन्त्र कसरी मर्छ)ले अन्तर्राष्ट्रिय अनुभवका आधारमा यस प्रश्नको विवेचना गरेका छन् । हालै हंगेरी, पोल्यान्ड, टर्की र भेवेजुयला वा केही पहिलेका इटाली, जर्मनी, अर्जेन्टिना वा पेरुमा निर्वाचित सरकार अपदस्थ गरेर हैन निर्वाचित नेताहरूकै हातबाट लोकतन्त्रको हत्या गरिएको थियो ।

यी सबैको काम गराइ अचम्म लाग्नेगरी मिल्दोजुल्दो थियो । निर्वाचित अधिनायकले सबैभन्दा पहिले अदालतलगायत राज्यका अंगहरूको स्वतन्त्रता घटाउने वा सिध्याउने, प्रेसको स्वतन्त्रतामा प्रतिबन्ध लगाउने, चुनाव जित्न सजिलो हुनेगरी निर्वाचनका नियमहरू परिवर्तन गर्ने र विरोधलाई अवैध बनाउँदै राजनीतिक विरोधीहरूलाई कैद गर्नेजस्ता काम गर्छ ।

लेविटस्की र जिब्लाटले उद्धृत गरेका धेरै दृष्टान्त भेनेजुएलाबाट लिइएका छन्  जहाँ लोकतन्त्र मृत्यु शैयामा छ । लोकतन्त्रको पुनरुत्थान गर्ने चुनौती पनि मुलुकको उच्च मन्दी र मानवीय संकटका कारण थप जटिल बनेको छ । भेनेजुयलाले लोकतन्त्र पुनस्थापना गर्ने प्रयत्न थाती राखेर र राष्ट्रपति निकोलास मदुरोलाई हटाउने तथा अर्थतन्त्रको पुनरुत्थानमा ध्यान केन्द्रित गर्नुपर्ला कि आर्थिक समस्याको समाधानलाई अहिले छाडेर लोकतन्त्रको पुनःस्थापना पहिले गर्नुपर्ला ?

यस प्रश्नले डानी रोड्रिकले हालै चर्चा गरेको उदार लोकतन्त्रमा निहित आधारभूत अन्तर्द्वन्द्वलाई उजागर गरेको छ । यथार्थमा शास्त्रीय उदारवाद जीवन, स्वतन्त्रता र सम्पत्तिको अधिकारजस्ता अविभाज्य अधिकारहरूको समान संरक्षणमा आधारित छ भने लोकतन्त्रले बहुमतको शासन सुनिश्चित गर्छ । बहुमतको शासनमा भने पुँजीपति, उद्योगी र दक्ष जनशक्तिलगायत अल्पसंख्यकको अधिकारमा थिचोमिचो पनि हुनसक्छ । राष्ट्रपति मदुरोले उनका पूर्ववर्ति ह्युगो चावेजले जसरी नै त्यही अर्थात् बहुमतको शासनका नाममा अल्पमतको अधिकार थिचोमिचो गरेका छन् ।  

युरोपको इतिहासमा लोकतन्त्रभन्दा उदारवाद पहिले आएको हो । प्रिन्सटन विश्वविद्यालयका जँ वेर्नर म्युलरले आफ्नो पुस्तक ‘कन्टेस्टिङ डेमोक्रेसी’मा उल्लेख गरेजस्तै यी दुई सिद्धान्त (उदारवाद र लोकतन्त्र) मिलाएर उन्नाइसौं शताब्दीको अन्त्यतिर मताधिकारको विस्तार गरिएपछि एउटा अस्थिर वस्तुको निर्माण भयो । एकातिर फरिद जकारियाले भनेजस्तै निर्वाचित सरकारले नागरिक अधिकारहरूको सम्मान नगर्ने ‘अनुदार लोकतन्त्र’को जोखिम छ । अर्कातिर, हार्वर्डका यास्चा मोनुकले उनको हालै प्रकाशित नयाँ पुस्तकमा भनेजस्तै शासनहरूले व्यक्तिका अधिकार र कानुनी समानताको संरक्षण गर्ने तर सार्वजनिक क्षेत्रको नीति निर्माणको जिम्मा भने केन्द्रीय बैंक वा युरोपेली कमिसनजस्ता अनिर्वाचित प्राविधिक निकायहरूलाई जिम्मा दिनेजस्तो  ‘अलोकतान्त्रिक उदारवाद‘को खतरा छ । 

अधिकांश मुलुकमा बहुसंख्यक जनताको हित पुँजीपति, उद्यमी, व्यवस्थापक र पेसाकर्मीको उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने इच्छामा निर्भर हुन्छ । तर, तिनको सम्पत्ति र नागरिक अधिकारको रक्षा नहुने हो भने यी सम्भ्रान्तहरूले त्यसो गर्ने सम्भावना बिरलै हुन्छ । कम्युनिज्मलाई राज्यबाटै उत्पादनको व्यवस्थापन गरेर पुँजीपति, उद्यमी, पेसाकर्मीहरूमाथिको निर्भरता अन्त्य गर्ने प्रयासमा रूपमा बुझ्न सकिन्छ । तर, यी ठूलाठालुलाई निषेध गर्दा वित्तीय  पुँजी र जानकारीको अभाव हुन्छ । त्यसैले व्यापक जनहितका लागि उदार लोकतन्त्रको एउटा मूल सर्त नै अपसंख्यकका प्रमुख मूल्यहरूको संरक्षणलगायतका आधारभूत अधिकारहरूको मान्यता हो ।

भेनेजुयलामा भएको घटनाक्रम दुईवटा चरणको प्रक्रिया हेरेर बुझ्न सकिन्छ । पहिलो, चरणमा उत्पादक सम्भ्रान्तहरूलाई शक्तिहीन बनाउन उदारवादलाई सिध्याइयो । यसलाई समपत्तिको अधिकारको लगभग उन्मूलन गरेर यो प्रक्रिया अगाडि बढाइयो । फलस्वरूप उत्पादन वृद्धि व्यवस्थापन गर्न सक्षम ठूलो समूह पलायन भयो । यस प्रक्रियासँगै तेलको उत्पादनमा अत्यधिक वृद्धि र बाह्य ऋण लिने काम तीव्र पारियो । यो संयोगमात्रै थिएन ।

पर्याप्त डलर हातमा भएपछि शासक वर्गले उत्पादक सम्भ्रान्तहरूको अभावको पूर्ति राष्ट्रियकरण तथा सम्पत्तिको सामूहिकीकरणबाट गर्न खोज्यो । त्यसो हुन त सकेन तर सस्तो वस्तुको आयात गरेर सरकारी उद्योगहरूको अनुत्पादक अवस्थालाई ढाकछोप गरियो । यो भ्रम रहुन्जेल प्रतिस्र्धात्मक निर्वाचन प्रणाली थेग्न त सक्यो तर लोकतन्त्र अनुदार हुनपुग्यो । 

परन्तु, सन् २०१४ मा तेलको मूल्य घटेपछि मुकुन्डो खुस्क्यो र अर्थतन्त्र ढल्यो । सन् २०१५ को डिसेम्बरमा मतदाताहरूले विपक्षको दुईतिहाइ बहुमत भएको राष्ट्रिय सभा चुने । त्यसले मदुरो र उनका भारदारहरूलाई जति नै अनुदार भए पनि लोकतन्त्र भए उनीहरू सत्तामा रहिरहन सक्नेछैनन् भन्ने संकेत दियो । यही विन्दुमा भेनेजुएला तुरुन्तै पूर्ण अधिनायकवादी बाटामा फक्र्यो ।

अब, लोकतन्त्रको पुनरुत्थान कसरी हुनसक्छ ? मानवीय संकट हेर्दा भेनेजुयलामा तत्काल आर्थिक उत्थान आवश्यक देखिन्छ । तर, सम्पत्तिको अधिकारलाई विश्वसनीयरूपमा स्थापना नहुँदासम्म आर्थिक उत्थान सम्भव देखिँदैन । तर, बहुमतको शासनको सन्दर्भमा यो कसरी सम्भव होला ? एकपटक आर्थिक पुनरुत्थान भएपछि सन् २००८ – २०१३ र त्यसपछिको सहमतिको सरकारले जिम्बाबेमा खोसे जसरी नै निर्वाचित बहुमतको सरकारलाई जनताको सम्पत्ति फेरि खोस्नबाट कसरी रोक्न सकिएला ? शासन प्रणालीभित्र चावेज र मदुरोको शासनकालमा लागुपदार्थ व्यापारीले थुपारेको अवैध सम्पत्तिलाई संरक्षण नगरीकनै सम्पत्तिको अधिकारलाई अपेक्षित स्थिर हुने व्यवस्था कसरी गर्न सकिन्छ ? 

लेविटस्की र जिब्लाटले लोकतन्त्रमा शासकलाई एकलकाटे हुन नदिन राजनीतिक प्रतिस्पर्धाको आवश्यकताप्रति सजग गराएका छन् । पारस्परिक स्वीकृति र मान्यतामा आधारित यस्तो व्यवस्था भेनेजुएलामा सन् १९५८ मा भित्र्याइएको थियो । चाबेजले बदनाम गरेर ध्वस्त नपारुन्जेल ४० वर्षसम्म ‘पुन्तो फिजो प्याक्ट‘ नामले चिनिने यस पद्धतिले त्यहाँ ४० वर्षसम्म लोकतन्त्र स्थिर पनि रहेको थियो । यस्ता सम्झौताले लोकतन्त्रलाई अस्वीकार गर्ने संघसंस्थालाई मान्यता दिन सक्तैनन् ।
सन् १९३० को दशकमा स्पेनको लोकतन्त्र समाप्त भयो । किनभने फासिस्ट, परम्परावादी, उदारवादी र कम्युनिस्टहरूबीच पारस्परिक मान्यतामा आधाररित व्यवस्था असम्भव थियो । दोस्रो विश्वयुद्धपछिको जर्मनीमा लोकतन्त्रका लागि नाजीवाद निवारण प्रक्रिया चलाउनु आवश्यक भयो र यसले विध्वंश निम्त्याउने दृष्टिकोण समाप्त हुनपुग्यो । फ्रेडेरिक टेलरले उनको ‘एक्सोरसाइजिङ हिटलर’ शीर्षकको पुस्तकमा चर्चा गरेजस्तै समाजमा नाजीवाद निषेधको मान्यता रातारात स्थापित भएको थिएन । यसका लागि सामूहिक राजनीतिक क्रियाकलापको आवश्यकता परेको थियो । सन् १९५२ मा २५ प्रतिशत पश्चिम जर्मनहरूमा हिटलरप्रति सकारात्मक भाव थियो र ३७ प्रतिशतले उनीहरूको मुलुक यहुदीहरूबिना बढी सम्पन्न हुन्थ्यो भन्ने ठान्थे । 

यसैगरी, आजको भेनेजुयलामा पनि वर्तमान शासकहरूलाई फर्कन र सत्ता हत्याउन दिने हो भने उदार लोकतन्त्र पुनःस्थापना गर्न असम्भव हुनेछ । यस्तै, भेनेजुएलाको पुनरुत्थान सामाजिक मापदण्डहरूको विकास गरेर ‘अब कहिल्यै त्यस्तो नहुने ...‘सुनिश्चित गर्नेगरी हालको संकटलाई पार लगाउने क्षमतामा निर्भर हुनेछ ।  
ल्याटिन अमेरिकामा आर्थिक बर्बादीबाट नयाँ प्रकारका निषेधहरू सुरु हुने यो पहिलो घटना हुनेछैन । पेरुमा एलेन गार्सियाको पहिले राष्ट्रपति कालमा उच्च मुद्रास्फीतिलाई पार्टी संरचना कमजोरै भए पनि २५ वर्षको समष्टि आर्थिक स्थिरतामा परिणत गरेको उदाहरण छ । 

भेनेजुएलामा जर्मनीमा भन्दा यस्ता सामाजिक पाठहरू सिक्न कठिन हुनेछ । हिटलरजस्तो असफल भइसकेपछि नभएर चावेजको मृत्यु आर्थिक विफलता उदांगो हुनुभन्दा पहिले नै भएकाले अहिलेको विपत्तिका लागि सोझै नाम नलिईकन चावेजका नीतिलाई दोष दिन मदुरोलाई सजिलो भएको छ ।

अन्त्यमा, भ्रष्टाचारी र कालो धनबाट सम्पत्ति कमाएका भुइँफुट्टाहरूको आर्थिक सहयोगमा निर्भर भीमकाय सर्वसत्तावादी पार्टी पनि सँगै रहिरहने हो भने भेनेजुयलामा लोकतन्त्र टिक्न सक्तैन । यस्तो अवस्थामा लोकतन्त्र टिक्यो भने पनि दीर्घकालीन आर्थिक उत्थान हुनसक्तैन । किनभने त्यसबाट व्यक्तिका मौलिक अधिकारहरू सीमित हुनेछन् । उदार लोकतन्त्रको सुनिश्चितताका लागि भेनेजुएलाले अहिलेको शासनमात्र हैन यसका अनुयायीहरू र तिन सत्तामा पुर्याउने विश्वदृष्टिकोणलाई समेत समाप्त गर्नुपर्छ ।  

भेनेजुयलाका पूर्व मन्त्री तथा अमेरिकास्थित हार्वर्ड केनेडी स्कुलमा अर्थशास्त्रका प्राध्यापक     

Copyright: Project Syndicate, 2018.

तपाईंको मत