एक्काइसौं शताब्दीमा पनि नेपालमा बोक्सीको बात लगाएर यातना दिने गरिन्छ भन्ने समाचार जति आश्चर्य र खेदको विषय हो यातना दिने अपराधीलाई जनप्रतिनिधि र प्रहरीेसमेत उम्काउने प्रयत्न गर्नु त्यसभन्दा पनि बढी आपत्तिजनक हो । प्रदेश नम्बर सातमा पर्ने कैलाली जिल्लाको घोडाघोडी नगरपालिका – ५ मा बोक्सीको बात लगाएर २० वर्षीया युवतीलाई यातना दिने कथित बाबालाई स्थानीय गाउँलेहरूले सहयोग गरेको र जनप्रतिनिधिले कारबाही हुन नदिएर उम्काएको घटना नेपाली समाजको मानसिकता र शासनको सामन्ती प्रवृत्तिको यसको पछिल्लो उदाहरण भएको छ । बोक्सीको बात लगाएर युवतीलाई कुटपिट गर्दा स्थानीयले तमासा हेरेर बस्नुले पनि नेपाली समाजमा विद्यमान अन्धविश्वासको पोल खोलेको छ । विडम्बना, त्यो दर्दनाक र लाजमर्दो घटना अन्तर्राष्ट्रिय नारी दिवसका दिन भएको हो ।
नेपाली समाजमा मात्र हैन आधुनिक भनिएकै कतिपय समाजमा बोक्सी, भूतप्रेतजस्ता भ्रम अझै बाँकी नै छन् । अभौतिक शक्तिको अस्तित्वका बारेमा विवाद हुनसक्ला तर त्यस्तो शक्ति भए नै पनि त्यसले कसैलाई हानि गर्न सक्तैन भन्नेमा पक्कै विवाद हुँदैन । त्यसमाथि कसैलाई बोक्सीको बात लगाएर यातना दिनु त झन् दण्डनीय अपराध नै हो । तर, नेपालमा भने अझै पनि अन्धविश्वासी जनता र तिनलाई ठग्न सिपालु ढोंगीहरूले बोक्सीको बात लगाएर महिलाविरुद्ध हिंसा गर्न छाडेका छैनन् । बर्सेनि यस्ता थुप्रै घटना सार्वजनिक हुनेगरेका छन् । तर, त्यस्ता घटनाका दोषीलाई अनेकौं तिगडम गरेर उम्काउने प्रयास गरिएको देखिन्छ । दुर्भाग्य, ढोंगीहरूलाई सजायबाट उम्काउन प्रायः पीडितका परिवारमाथि दबाब दिनेमा स्थानीय जनप्रतिनिधि र प्रहरी नै हुनेगरेका छन् । कैलालीको घोडाघोडी – ५ मा पनि प्रहरी र जनप्रतिनिधकै मिलेमतोमा दोषीलाई उम्काउने प्रयत्न भएको रहेछ ।
यातनाका कारण मरणासन्न अवस्थामा पुगेकी पीडित युवतीको उपचार भइरहेको छ । उनलाई सांघातिक कुटपिट गर्ने अपराधीहरूलाई भने नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलगायतले प्रहरी हिरासतबाट उम्काएर लगेका छन् । ज्यान मार्ने प्रयासमा संलग्न कथित बाबालाई मात्र हैन त्यसका सहयोगी र ज्यान मार्ने प्रयासको तमासा हेरेर बस्ने गाउँलेहरूलाई समेत कर्तव्य ज्यानको मुद्दा लगाउनुपर्नेमा प्रहरीले भने सार्वजनिक अपराधको मुद्दा दायर गरेको छ । पीडक ढोंगीलाई प्रहरी हिरासतबाट उम्काउन स्थानीय नगरपालिकाका प्रमुखसमेत लागेको घटना स्थिति कति भयावह छ भन्ने उदाहरण हो । यस घटनाले बोक्सी र यातनाजस्ता विषयमा स्थानीय जनतामा चेतना जगाउन विशेष प्रयास गर्नुपर्ने त देखिन्छ नै कानुनको पालना गराउन कडाइ गर्नुपर्ने पनि देखिन्छ । विशेषगरी जनप्रतिनिधि र प्रहरी नै यस्तो जघन्य अपराध सामसुम पार्न लाग्ने हो भने समाज कहिल्यै अन्धविश्वास मुक्त हुनेछैन । ज्यानै जानसक्ने गरी कुटपिट गर्ने यस घटनामा पीडकलाई ज्यान मार्ने उद्योगमै मुद्दा चलाउनुपर्छ । प्रहरीले पीडितको शरीरको घाउ जाँच त पक्कै गराएकै होला ।
युवतीलाई बोक्सीको बात लगाएको र कुटपिट समेत गरेको अभियोगमा पक्राउ परेको अभियुक्तलाई उन्मुक्ति दिन खोज्ने घोडाघोडी नगरपालिकाका प्रमुख र सम्बन्धित प्रहरी कार्यालयका प्रमुखलाई पनि कानुनअनुसार कारबाही हुनुपर्छ । सरकारवादी हुने यस्तो अपराधका घटनामा मिलापत्र गर्ने वा गराउने अधिकार कुनै कानुनले पनि प्रहरी वा अरू कसैलाई दिएको हुँदैन । यस्ता अपराध दोहोरिन नदिने हो भने प्रहरी प्रधान कार्यालय र घोडाघोडी नगरपालिका दुवैले यस घटनाका दोषीलाई सजाय दिन हिचहिचाउनु हुँदैन । नगरपालिका प्रमुखलाई उनको पार्टीले पनि कारबाही गर्नुपर्छ । नत्र, प्रहरी प्रधान कार्यालय र नगरपालिका प्रमुखको पार्टी पनि ती युवतीविरुद्ध भएको हिंसाका मतियार ठहरिनेछन् । यस्ता घटनालाई बेवास्ता गर्नु अर्की महिलाविरुद्ध हिंसालाई निम्ता दिनु हो । दोषीहरूलाई कानुनबमोजिम सजाय दिलाउन राष्ट्रिय मानव अधिकार आयोगलगायत नागरिक अधिकारकर्मी पनि अग्रसर हुनुपर्छ ।