Skip Advt.
ad

प्रविधि

इन्टरनेट र मोबाइल डाटाको छलाङ

इन्टरनेट र मोबाइल डाटाको छलाङ

– रेबती अधिकारी


नेपालमा इन्टरनेटको इतिहासले दुई दशक पार गरिसकेको छ । कम्प्युटरमा डायल अफ इन्टरनेट चलाउनुपर्ने बाध्यता लामो समयसम्म रह्यो । १९९० को दशकको मध्यतिर नेपालमा भित्रिएको इन्टरनेट र ई–मेल प्रविधि झन्डै २०१० सम्म कम्युटरमा सीमित थियो । मोबाइल प्रविधिको आगमन भए पनि मोबाइलमा इन्टरनेट चलाउन धेरै वर्ष हामीले प्रतीक्षा गर्नुपरेको यथार्थ छ । नेपाल टेलिकमले सन् २००७ मा जीपीआरएस सेवा सुरु गरेपछि नेपालमा मोबाइल इन्टरनेट सेवा भित्रिएको हो । अहिले आएर थ्रीजी हुँदै सेवा फोरजीसम्म पुगिसकेको छ ।

नेपालको यो दुई दशक लामो इन्टरनेट इतिहासमा इन्टरनेटको विकासले तीव्रता पाएको चाहिँ मोबाइल इन्टरनेटको आगमनपछि हो । सरकारी तथ्यांकअनुसार २०६७ वैशाखमा इन्टरनेट पेनिट्रेसन ४.८५ प्रतिशत थियो, जुन बढेर २०७४ साल मंसिरमा ६३.१७ प्रतिशत पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको यो तथ्यांकमा मोबाइल इन्टरनेटको ठूलो योगदान छ । पहिला ई–मेलमात्रका लागि आवश्यक मानिने यो सेवा अहिले हात–हातमा नभई नहुने आवश्यकता भइसकेको छ ।

बजार प्रतिस्पर्धा, सेवाको सहज उपलब्धता

तीव्र प्रविधि विकास, दूरसञ्चारसँग सम्बन्धित पूर्वाधारहरूमा भएको मूल्यमा गिरावट, स्मार्टफोनको बढ्दो प्रयोग, इन्टरनेट सेवाको मागमा भएको उलेख्य वृद्घि र बजार प्रतिस्पर्धालगायतका कारणले केही वर्षअघिसम्म प्रतिएमबी डाटा खपतमा ६ रुपैयाँ लाग्नेमा अहिले प्रतिएमबी २ पैसासम्ममा झरेको छ । दूरसञ्चार सेवामा निजी मोबाइल सेवाप्रदायक भित्रिएसँगै प्रतिस्पर्धाका कारण सिम पाउनु सहज भयो नै, मोबाइल इन्टरनेटमा पनि निकै सहजता थपियो । टेलिकम कम्पनीहरूले डाटा प्याकमा इन्टरनेट उपलब्ध गराइदिँदा इन्टरनेट शुल्क अझै घटेको तथ्यलाई नकार्न सकिन्न । मोबाइल इन्टरनेटको विकास, यसमा पनि नयाँ प्रविधिहरू भित्रिनु, सहज उपलब्धता र सूचना तथा सञ्चारका लागि बहुआयामिक भएकोले मोबाइल डाटाको खपत पनि व्यापक रूपमा बढ्यो । 

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक एनसेलको प्रमुख कम्पनी आजियाटाले केही समयअगाडि सार्वजनिक गरेको २०१७ को प्रतिवेदनलाई आधार मान्ने हो भने गएको एक वर्षमा मात्र प्रतिग्राहक प्रतिमहिना डाटा खपत ९२ प्रतिशतले बढेको छ । सन् २०१६ मा एनसेलको प्रतिग्राहक प्रतिमहिना डाटा खपत १७७ एमबी थियो र यो २०१७ मा बढेर ३४० एमबी पुगेको छ । त्यसैगरी कम्पनीको कुल डाटा खपत पनि वार्षिक १ करोड २० लाख जीबीबाट वृद्घि भई २ करोड ७७ लाख जीबी पुगेको छ । विभिन्न प्रकारका इन्टरनेट सेवा प्रदान गर्ने सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि डाटाको माग बढिरहेको जनाएको छ ।

मोबाइल डाटाको प्रयोग अब सूचनामा पहुँच राख्न र सञ्चार सेवाको उपयोगका लागिमात्र सीमित छैन । इन्टरनेटले पूर्णरूपमा हाम्रो दैनिकी सञ्चालन गरिरहेको छ । मनोरञ्जनका लागि गेम खेल्न, टिभी हेर्न, गीतसंगीतको आनन्द लिन, आफ्नै हातमा सिनेमा हेर्नेदेखि लिएर कतिपय कार्यालयका कार्यहरू मोबाइल र इन्टरनेटको सहायताले आफू जहाँ भए पनि गर्न सकिने भएको छ भने विभिन्न लाभदायक मोबाइल एपहरूले काम कारबाहीहरुलाई अझ सजिलै गर्न सकिने बनाएको छ । इन्टरनेट हामीले गर्ने धेरै कार्यहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएकाले र एपहरूको बढ्दो प्रयोगले पनि नेपालको डाटा खपत बढिरहेको मान्न सकिन्छ ।

ग्राहकको सम्भवतः हरेक आवश्यकता मोबाइल इन्टरनेटले बिस्तारै पूरा गर्दैछ । दैनिक उपभोग्य सामान किन्नेदेखि लिएर बैंकिङ कारोबार गर्नेसम्म सबै काम मोबाइलबाट नै हुने भएपछि इन्टरनेटको माग, पहुँच र प्रयोगमा वृद्धि हुनु स्वाभाविक मान्न सकिन्छ । हाम्रो दैनिकी विकसित देशहरूको जस्तो धेरै नभए पनि केही हदसम्म डिजिटाइज्ड भइसकेको छ । बिहान उठेर समाचार हेर्ने, अफिस हिँड्दा ट्राफिक चापको अपडेट लिने, खाजा खान रेस्टुराँको खोजी गर्ने र अन्य थुप्रै कामका लागि मोबाइल एप्स बनिसकेका छन् । मात्र आवश्यक छ त इन्टरनेटको । उच्च गतिको मोबाइल सेवा थ्रीजी, फोरजीले त झनै  यी मोबाइल एप्सको प्रयोग सहज भएको छ ।

डाटाको गति र कन्टेन्ट

इन्टरनेटको बढ्दो माग र प्रयोगसँगै खुसीकै कुरा मान्नुपर्छ कि हाम्रो देशको मोबाइल डाटा स्पिड पाकिस्तानपछि दक्षिण एसियाकै दोस्रोमा परेको छ । विश्वको प्रख्यात इन्टरनेट टेस्ट कम्पनी उक्लाका अनुसार नेपालको इन्टरनेट डाउनलोड स्पिड १०.९७ एमबीबीपीएस छ । छिमेकी मुलुक भारतको गति ८.८० एमबीपीएस छ भने पाकिस्तानको डाउनलोड गति १३.०८ एमबीपीएस छ । यसले हामी स्पिडमा खासै पछाडि छैनौं भन्ने देखाएको छ । अन्य देशको तुलनामा इन्टरनेटको सदुपयोग गर्दै विकासमा अगाडि बढ्ने क्रममा हामी कहाँ छौं, त्यो पनि हामीले हेर्नुपर्छ । नेपालमा यसरी स्पिड बढ्नु फोरजी प्रमुख कारण हो । अहिले नेपाल टेलिकमले काठमाडौं उपत्यकालगायत पोखरामा र एनसेलले काठमाडौं उपत्यकालगायत २१ सहरहरूमा यो सेवा विस्तार गरिसकेका छन् । त्यस्तैगरी स्मार्ट टेलिकमले पनि काठमाडौं र पोखरामा फोरजी विस्तार गरेको छ । इन्टरनेट गतिको हिसाबमा हेर्ने हो भने स्मार्टले ७२ एमबीपीएससम्मको गति दिने दाबी गर्दै आएको छ । यता सरकारी नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको फोरजी गति भने अन्तर्राष्ट्रिय मान्यताको गतिभन्दा कम रहँदै आएको छ र यसको कारण फोरजीका लागि चाहिएजति फ्रिक्वेन्सी नभएको यी कम्पनीहरू बताउँछन् । अहिले यी दुई कम्पनीको फोरजी इन्टरनेटको गति ४० एमबीपीएसभन्दा तल छ ।  

गत वर्ष अर्थात् २०१७ को सुरुवातसँगै नेपाली बजारमा फोरजी भित्रिएको थियो । मोबाइल सेवा बजारमा तेस्रो कम्पनी स्मार्ट टेलिकम आइसकेको हुनाले र दुई ठूला कम्पनी एनसेल र नेपाल टेलिकमले अझ सशक्त रूपमा फोरजी बजार विस्तार गर्न बाँकी रहेकाले डाटाको खपत अझ चुलिनेछ । सुलभ र उच्च गतिको इन्टरनेट, सस्तो मूल्यमा स्मार्टफोनको उपलब्धतासँगै ग्राहकले इन्टरनेटमा विविधता पाएकाले इन्टरनेटको प्रयोग बढेको हो । एनसेलको मुख्य लगानीकर्ता मलेसियन आजियाटाले सार्वजनिक गरेको रिपोर्टअनुसार एनसेलका ५२ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । नेपाल टेलिकमको पनि ठूलो संख्यामा जीएसएम र सिडिएमए मोबाइल प्रयोगकर्ता भएकाले उसको पनि स्मार्टफोन प्रयोगकर्ताको आँकडा एनसेलको जस्तै हुने अनुमान गर्न सकिन्छ ।

सुरुवाती दिनहरूमा इन्टरनेट ई–मेलमै सीमित थियो । पछि याहु, हाई फाइभ, फेसबुक र युट्युब हुँदै केही मोबाइल गेमहरूमा अहिले इन्टरनेट कन्टेन्टको आयाम फराकिला भएका छन् । नेपाल टेलिकम र एनसेल दुवैले विभिन्न कम्पनीहरूसँगको सहकार्यमा कन्टेन्टका विकल्पहरू पनि ग्राहकलाई दिएका कारण छन् र यसले पनि डाटाको प्रयोग केही हदसम्म बढाउनुमा भूमिका खेलेको छ । वास्तवमा भन्ने हो भने प्रविधिको प्रयोग गर्दै विकासको फल लिनका लागि जसरी कन्टेन्टको विकास र प्रयोग हुनुपर्ने हो, त्यो भने हुन सकेको छैन । सरकारले इन्टरनेटमा आधारित डिजिटल नेपालको सपना त देखेको छ तर त्यसअनुसार सरकारी पाटोबाट हुनुपर्ने कनेक्टिभिटी र कन्टेन्टका कामहरू भएका छैनन् । निःशुल्क वाईफाई सेवाको सपना बाँडिन्छ तर त्यो सेवाको सदुपयोग केमा र कसरी गर्ने भन्ने स्पष्ट छैन ।

हाम्रो बजार पैसा सचेत अर्थात् ‘मनी कन्सस’ बजार हो । जब पैसा घट्दै जान्छ, उक्त वस्तुको माग बढ्दै जान्छ ।  मोबाइल फोन सस्तो हुँदैनथ्यो त इन्टरनेटको प्रयोग यो गतिमा बढ्दैनथ्यो । नेपालमा मात्र हैन, मोबाइल डाटाको प्रयोग विश्वभरि बढ्दै गइरहेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन (आईटीयू)का अनुुसार पछिल्ला पाँच वर्षमा मोबाइल ब्रोडब्यान्ड प्रयोग २० प्रतिशतले बढेको छ । सस्तो, सहज भएकै कारण फिक्स्ड ब्रोडब्यान्डको तुलनामा मोबाइल ब्रोडब्यान्डको लोकप्रियता विश्वव्यापी रूपमा बढ्दैछ । भारत र अफ्रिकी मुलुकमा गरिएको प्रक्षेपणमा पनि अहिलेको तुलनामा सन् २०२० सम्ममा इन्टरनेट प्रयोगकर्ता ५–६ गुणाले बढ्नेछ र बढेका प्रयोगकर्ताले दुर्गम भेगलाई नै प्रतिनिधित्व गर्नेछन् ।

ग्रामीण र दुर्गममा इन्टरनेट सहजता 

नेपालमा पनि सहरको तुलनामा ग्रामीण र दुर्गममा इन्टरनेट सहज र राम्रो स्पिडको हुन सकेको छैन । अब सेवाको विकास, विस्तार र बजार भनेको नै ग्रामीण र दुर्गममा हुने आँकलन गर्न सकिन्छ । किनकि कम्पनीहरूले बारम्बार आफूहरू अब ग्रामीण बजारमा पनि जाने बताइरहेका छन् भने सरकारी तवरबाट पनि यसका लागि आधारभूत पूर्वाधार निर्माण भइरहेको छ । यसबाहेक सरकारले के कसरी प्रविधि विकासलाई अझ गति दिन सकिन्छ, यसतर्फ ध्यान दिन आवश्यक छ । सदावहार फ्रिक्वेन्सीको मुद्दालाई देश, जनता र सेवा प्रदायकहरूका हितमा हुनेगरी वितरण हुनुपर्छ । बजार आकार ठूला भएका देशहरूको सिकोमा सरकारले फिक्वेन्सी शुल्कमा सेवा प्रदायकलाई धेरै अँठ्याए यसै त विभिन्न शीर्षकअन्तर्गत धेरै राजश्व बुझाइरहेका नेपाली कम्पनीहरूले सेवा शुल्क तल झार्दै क्रयशक्ति कम भएकाहरूलाई सेवा प्रदान गर्लान् भन्नेमा शंका बढ्छ ।

आखिरमा कम्पनीहरू सेवा दिँदै नाफा कमाउने नै हुन् र त्यसैका आधारमा सञ्चालनमा रहन्छन् । सरकारी नीतिहरू अस्पष्ट भए दूरदराज सेवामा विस्तारले गति लिन सक्दैन । अहिले प्रत्येक महिना एक प्रतिशतले बढ्दै गइरहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । एनसेलले फोरजीलाई सहरमा र थ्रीजीलाई गाउँगाउँमा लाने बताएको छ भने नेपाल टेलिकमले देशैभरि फोरजी फैलाउने बताएको छ । स्मार्ट टेलिकमले पनि फोरजी सुरु गरकोले इन्टरनेट पेनिट्रेसन अबको केही वर्षमा उलेख्य रुपमा बढ्ने आशा राख्न सकिन्छ ।

साँचो अर्थमा डिजिटल हुँदै विकासबाट फाइदा लिन इन्टरनेटलाई सहज रूपमा मोबाइल फाइनान्सियल सर्भिसेजसँग जोड्नु आवश्यक भइसकेको छ, जसले गर्दा मोबाइल बाहकले आफ्नो मोबाइलबाटै विभिन्न बैंकिङ कारोबारदेखि अन्य वित्तीय कारोबार गर्न सकोस् । डिजिटल सिग्नेचर वर्षौंदेखि नारामा मात्र रहेको छ, त्यसलाई अनुभव हुनेगरी लागू गर्नुपर्छ । त्यसैगरी सरकारले आफूले जनतालाई प्रदान गर्ने विभिन्न कामकाजहरू अनलाइनबाट नै उपलब्ध हुने वातावरणको सिर्जना गर्न आवश्यक भइसकेको छ । यसले सुशासन र पारदर्शितालाई बढावा दिन्छ । 
 

तपाईंको मत