site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
\'फन्टुस चलचित्र चलिरहेका छन्\'
Sarbottam CementSarbottam Cement

राजकुमार राई वि.सं. २०५७ सालमा संगम चलचित्र निर्माण गर्दै चलचित्र उद्योगमा भित्रिएका हुन् । त्रिवेणी, पापी मान्छे र यसको सिक्वेल, प्रोडुसर, वान वे उनको निर्माणमा बनेका चलचित्र हुन् । अरुको ब्यानरमासमेत गरेर उनले ३२ वटा चलचित्र निर्माण गरिसकेका छन् । चलचित्र विकास बोर्डका अध्यक्षसमेत भैसकेका उनले आफ्नो कार्यकालमा नेपाली चलचित्र उद्योगमा बक्स अफिस लागुगर्ने प्रक्रिया सुरु गरेका थिए । आफूले सुरु गरेको काम अहिले अन्तिम चरणमा आइपुगेको राई बताउँछन् । बक्स अफिस लागु हुँदैमा नेपाली चलचित्र उद्योगमा कायापलट नहुने तर कलेक्सन पारदर्शी हुने भएकाले यसले अहिले चलचित्र निर्माण गरिरहेका र आउन चाहने नयाँ निर्मातालाई पनि सहज हुने उनी बताउँछन् । अहिले बौद्धिकभन्दा पनि सस्तो मनोरञ्जनात्मक चलचित्र चलिरहेको बताउने राईसँग गरिएको कुराकानीः
० ० ०
चलचित्र विकास बोर्डको पूर्व अध्यक्ष हुनुहुन्छ, आउँदो साउनबाट बक्सअफिस लागु गर्ने भनिएको छ, लागु होला ?
९० प्रतिशत काम म अध्यक्ष हुँदै सकिएको थियो । त्यसलाई जडान गर्ने काममात्रै बाँकी थियो । केही दिन अगाडि भएको एक औपचारिक समारोहमा मेरो नाम लिइएन । तर बच्चा जन्मिएपछि मात्रै बढ्ने हो । बक्स अफिस लागु हुन्छ । विज्ञानले दिएको यो एउटा नियम नै हो । समाज रुपान्तरण हुँदै जान्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ । नेपाली सिनेमा क्षेत्र पनि हिजोभन्दा आज धेरै परिर्वतन भएको छ । यसलाई थप परिमार्जित गर्दै जाने पक्ष बक्स अफिस पनि हो । यसलाई स्वीकार्नै पर्छ । 

यस अगाडि पनि लागुहुन्छ भनेर भनिए पनि लागु भएको थिएन, यो पटक लागु हुन्छ भन्ने के आधार छन् ?
म बोर्डमा हुँदा जुन समिति मैले गठन गरेको थिएँ, त्यही समिति नै अहिले छ । त्यो समितिमा पहिलाकै संयोजक नरेन्द्र महर्जन त्यहीँ हुनुहुन्छ । निर्माता संघ र चलचित्र संघ दुवै सकारात्मक भएकाले पनि यो लागु हुन्छ । यसका साथै अहिले विकास बोर्डको अध्यक्ष निकिता पौडेल पनि सकारात्मक भएकाले अब बक्स अफिस लागु हुन्छ । 

साउनबाटै लागु हुन्छ भनिएको छ, यही मितिमै लागु हुन्छ ?
सबै काम सकिएकाले चाहेको खण्डमा लागु हुन्छ । यसका केही प्रक्रियाहरु छन्, त्यो पक्ष पूरा भयो भने लागु हुन्छ । संविधान जारी भए पनि कानुन नबन्दा कतिपय काम हुन सकेको छैन, त्यस्तै यसमा पनि लागु भयो भनेर मात्रै पनि हुँदैन । इच्छा शक्ति भएको खण्डमा पूर्णरुपमा कार्यान्वयनमा पनि ल्याउन सकिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र संघले यसअगाडि विरोध गरेको जगजाहेर छ, यो पटक उसले सहमति जनाए पनि कार्यान्वयनको तहमा जाँदा उसले सहयोग गर्ला ?
शंका गर्नुपर्ने ठाउँ म देख्दिन । चलचित्र संघको अध्यक्ष प्रदीप उदयले यसलाई राम्रोसँग बुझ्नु भएको छ । विज्ञानले चलचित्र क्षेत्रको उत्थानका लागि दिएको यो प्रविधिबाट पछि हट्न कोही सक्छ जस्तो लाग्दैन । टेलिभिजन पनि एनालगबाट डिजिटलमा गैसकेको अवस्थामा अब चलचित्रमा आएको यो प्रविधिलाई पनि नजरअन्दाज गर्न कसैले सक्छ भन्नेमा म शंका गर्दिन । विज्ञानले दिएको यो प्रविधिलाई अब पनि हामीले उपयोग गरेनौं भने नेपाली चलचित्र निकै पछि पर्नेछ । यस्तो दुस्साहस कसैले पनि गर्छ भन्ने मलाई लाग्दैन । 

८० प्रतिशत निर्माता दोहोरिँदैनन्, यसको कारण वितरक तथा हलहरु पारदर्शी नहुनु मुख्य कारण ठानिएको थियो । बक्स अफिस आएपछि यो अवस्थामा कमी आउँछ ?
९९ प्रतिशत कमी आउँछ । बक्स अफिस लागु हुँदैमा चलचित्रको व्यापार राम्रो हुन्छ भन्ने होइन । ग्रस कलेक्सनको पारदर्शी रिपोर्ट आउने हो । सरकारलाई ठूलो मात्रामा कर पनि जान्छ । 

Global Ime bank

भनेपछि अब हलहरुले शो नै गायव गरिदिन्छन् भन्ने निर्माताहरुको गुनासो अन्त्य हुने भयो ?
नराम्रोबीच पनि राम्रो हुन्छ । सबै हलहरुले शो गायब गर्दैनन् । तर केही यस्ता हलहरु पनि छन् जुन तपाइँले भनेको कुरा सत्य हो । तर सबै हलहरु त्यस्ता छैनन् । यो कुरा जनरलाइज हुँदा राम्रा हलहरुलाई असर गरिरहेको छ । परिवर्तित परिवेशअनुसार आफू पनि अपडेट हुनुपर्छ । चलचित्रबारे केही नबुझेको व्यक्तिले सिनेमा बनाएर हुँदैन । कुनै पनि क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिला त्यो क्षेत्र र परिवेशबारे बुझ्नुपर्छ । 

बक्सअफिस लागु भए पनि त्यो रिपोर्ट वितरक र निर्माताले मात्रै हेर्न पाउने भनिएको छ, यसले यो क्षेत्रमा लगानी गर्न चाहने व्यक्ति त यसबाट अनविज्ञ नै हुने भयो नि !
पहिलो फेजमा मात्रै यसो गर्ने भनिएको हो । तर, अहिले पनि सञ्चारमाध्यमलाई त बक्स अफिस रिपोर्ट उपलब्ध गराउने कुनै न कुनै सिष्टम राखिन्छ । सञ्चारमाध्यममा आउनेवित्तिकै कुन चलचित्रको विजनेश कति भन्ने सर्वत्र हुन्छ । मिडियालाई पन्छाएर त केही पनि हुनै सक्तैन, चलचित्र क्षेत्रले यो कल्पना पनि गर्न सक्तैन । 

तपाईं अध्यक्ष हुँदा बक्स अफिस लागु गर्छु भन्न छाड्नु पनि भएन र दु्रत गतिमा काम पनि गर्नु भएन भन्ने सञ्चार मन्त्रालयकै अधिकारीले आरोप लगाए नि ! 
सरकारी काम गर्न कति लामो प्रोसेस र झमेला छ भन्ने कुराको मभन्दा उहाँहरु नै बढी भुक्तभोगी हुनुहुन्छ । प्रक्रियाअनुसार गएन भने सुरु गरिसकेको काम पनि रद्द गर्नुपर्ने हुन्छ । जिल्ला विकास, दूरसञ्चारकै इन्जिनियर अनिवार्य चाहिने व्यवस्था छ । उनीहरुबाट रिपोर्ट लिन मात्रै मलाई ६ महिना लाग्यो । 

निर्माताहरु एकातिर छन्, हलवालाहरु अर्कातिर छन् । उनीहरुलाई मनाउन पनि त्यति सजिलो थिएन । लागु गर्नु मात्रै पनि ठूलो कुरा होइन, लागुभएपछि त्यसले निरन्तरता पाउनु ठूलो कुरा हो । मैले सबै पक्षलाई मिलाएका कारण त आजको अवस्था आएको हो । पैसाले मात्रै हुँदैन, प्रक्रिया र पूर्वाधार कुरा मुख्य कुरा हो । सरोकारवाला पक्ष के भन्छ त्यसले मुख्य भूमिका खेल्छ । 

अझै पनि काठमाडौं उपत्यकासहित बाहिरका धेरै हलहरु डिजिटलाइजेशन भैसकेका छैनन्, यस्तो अवस्थामा उनीहरु बक्सअफिस भित्र कसरी समेटिन सक्छन् ?
पहिला इन्टरनेटको पहुँचमा सबै हल आउनुपर्छ । यसका लागि राज्यले पनि केही भूमिका खेल्नुपर्छ । ग्रामीण भेगमा रहेका हलहरुमा यो समस्या अहिले यथावत् छ । त्यसैले सुरुमा काठमाडौं उपत्यका, त्यसपछि सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा लागु गर्ने भनिएको हो । 

तपाईं फेरि चलचित्र निर्माणमा फर्किनु भएको छ । अधिकांश चलचित्र घाटामा गैरहेका छन्, चलचित्रले किन उत्साहजनक कलेक्सन गर्न सक्तैनन् ?
पहिलो कुरा सिनेमा राम्रो बन्नुपर्छ । अर्को कुरा बजार पनि हेर्नुपर्छ । बजारलाई हेर्ने भने अहिले ‘फन्टुस’ सिनेमामात्रै चलिरहेका छन् । बौद्धिक सिनेमा चलेका छैनन्, राष्ट्रियता बोकेका सिनेमा चलेका छैनन् । तर हिजोको भन्दा आज राम्रो सिनेमा बनिरहेका छन् । राम्रा सिनेमाले आफ्नो बजार आफैं खोजिरहेका पनि छन् । राज्यले पनि केही गर्न सकिरहेको छैन, निर्माता आफैंले पनि केही गर्न सकिरहेका छैनन् । 

वोर्डमा बसेर काम गरिसक्नु भएको छ, राज्यले किन मौलिक तथा राष्ट्रियता बोकेका सिनेमालाई सहयोग गर्दैन ?
राज्यमा इच्छाशक्ति भयो भने अवश्य पनि गर्न सक्छ । मैले त्यसको सुरुआत गरिसकेको छु । बक्स अफिस लागु हुनेवित्तिकै विकास बोर्डमा स्वतः केही प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छु । त्यसैले अब वार्षिकरुपमा मौलिक चलचित्रमा ६–७ करोड रुपैयाँ लागु गर्न सकिन्छ । त्यसैले मैले सुरुदेखि नै म बक्स अफिस लागु पर्छ भनेर आवाज उठाउँदै आएको छु । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०७४  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC