site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यातनाले जन्माएको कथाकार
Ghorahi CementGhorahi Cement

– अक्षर काका


“अक्सर आमा भन्नुहुन्थ्यो– तँलाई हाँस्न आउँदैन र तेरो अनुहारमा हाँसो सुहाउँदैन पनि !” क्यामेराको लेन्स सोझ्याउँदा माया ठकुरीको अनुहारबाट आभा अस्तायो ।

“मैले जीवनभर कृत्रिम हाँसोमात्रै हाँसेँ !” एकाएक कण्ठ अवरुद्ध भयो । हठात् नाकको डाँडीबाट चस्मा उठाइन् । र, आँखाका चेपबाट बगेका आँसु बूढी र चोरी औँलाको सहायताले पन्छाइन् ।

Agni Group

आफ्नो अतीतले होइन, आमा देवी ठकुरीको सम्झनाले चिमोट्यो उनलाई । गलाको आवाज ओठमा बिलायो । केवल बर्बराउन सकिन्, “मुमा हजुर जिउँदो हुनुहुन्थ्यो भने हजुरले भनेजस्तो लुगा लगाउन पाउनुहुन्थ्यो । भनेकै जस्तो खान पनि पाउनु हुँदो हो हगि ?”

मूल फुटेपछि औँलाले आँसुको बहाव के रोक्थ्यो ? गाला छिचोलेर भुइँतिर झरिरह्यो आँसुको भल ।

Global Ime bank

प्रत्येक दिन आमाको तस्बिर हेर्दै ब्युँझिन्छिन् माया । उठ्नासाथ विनयशील मुद्रामा दण्डवत् गर्छिन् । मनका गह्रा रसाएर तप्पतप्प आँसु चुहिन्छ । आमा साथ हुँदा भीमकाय दुःख थियो । सुख हुँदा साथमा आमा छैनन् । खुसी र आमाबीच यो कस्तो लुकामारी, दुश्मनी !

“मुमा एउटा विशाल पर्वत हुनुहुन्थ्यो । अनेक झरी, हुरी सहेर पनि स्वाभिमानपूर्वक शिर ठाडो पारिरहनुहुन्थ्यो,” आमाप्रति कृतज्ञ देखिइन् उनी । रुकुमकी समुन्द्र मल्ल ठकुरीकी नातिनी हुन् माया । राणा खलककी छोरी । लाग्छ– यस्तो सम्भ्रान्त परिवारकी छोरीले कष्ट किन झेल्नुपर्‍यो होला ? 

तर, उनको जीवनको इतिवृत्तान्त उधिन्दा लाग्छ– उनी आँसुको फड्के तरेर खुसीको किनारमा उभिएकी छन् ।

कथा जिन्दगी–जिन्दगी कथा

९ वर्षकै उमेरमा उनकी आमालाई विवाह गरेर दिइएको थियो, भारतको सिलोङमा । राणा–ठकुरी खानदानमा विवाह चल्ने । राणाको मझेरीमा बिहे गरेर पठाउन पाए जीवनमा दुःख ढिम्किन पनि पाउँदैनथ्यो, यही मनोगत इच्छाले बालखैमा आमालाई भारतको सुदूर राज्य पुर्‍याइयो ।

तर, आमालाई विवाह अफाप सिद्ध भयो । बाबुले दोस्रो बिहे गरेर उनीहरूलाई दुःखको कुम्भिपाकमा धकेलिदिए । तीन सन्तानमध्ये जेठी माया, व्यथा बेहोर्न पनि अब्बल नै बनिन् । पाल्पा अर्घेलीका हुन् बाबु, गोपालजंग राणा । तर, राणा खानदानले भारतीय सेनामा जागिर खाँदैनथे, इज्जतको सवाल थियो शायद । त्यसैले उनका पिता गम्भीरसिंह ठकुरीको नामबाट भारतीय सेनामा प्रवेश गरेका थिए ।  हजुरबुबाचाहिँ घनप्रतापजंग राणा हुन् ।

माया जन्मिएको समय यकिन छैन । आमा भन्थिन्, “तँ जन्मिँदा फलाना ठाउँमा यस्तो थियो । यस्तो घटना घटेको थियो । तँ यति भइस् होला ।” यस्तै ठाउँको घटना–परिघटना मिलाएर जोडजाड पार्दा अहिले उनी सत्तरीमा हिँडिरहेकी छन् ।

“के थाहा, यो असी बढेर नब्बे पनि त हुन सक्छ नि ?” बुढ्यौली कायामा हाँसोका बाछिटा देखा पर्छन् ।

“रोगले शरीर थिल्थिलो बनाएका बेला सोच्छु– मेरो उमेर असी नै हो कि क्या हो ? स्फूर्त भएका बेला पुनः हौसिन्छु– कहाँ सत्तरी हुनु, साठीमै दौडिरहेकी छु,” अनुहारमा पुनः हाँसोको खेस्रा तयार हुन्छ उनको ।

विवाह भएर सिलोङ पुगेकी उनकी आमा कहिल्यै रुकुमकोट फर्किइनन् । माइतै नगई उनको चोला उठ्यो शायद । बरु हजुरआमा छोरीका घर गइरहन्थिन्, बरोबर । तिनै हजुरआमाले सुनाएका दन्त्यकथा, लोककथा सुनेर कथा–चेता विजारोपण भयो उनमा ।

“सानामा हजुरआमा भूतका कथा सुनाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– ‘एकादेशमा एउटा खोला थियो । एउटा बटुवा खोला तर्दै थियो । अचानक उसका आँखा एउटा रोइरहेको बालकमा ठोक्किए । उसले दयापूर्वक त्यो बालक उठायो र माथि उकालोको मुखमा पु¥याएर चौतारामा छाडिदिन्छु ठानेर अँगालामा बे¥यो । र, उकालो चढ्यो । तर, बटुवा जति उकालो चढ्छ त्यति बच्चा गह्रुँगो हुँदै गयो, बोझिलो बन्दै गयो । उकालो मुखमा पुगेर हेर्दा त बच्चाको खुट्टा खोलामा पो छ, बच्चा भीमकाय पहाडजत्रो !’ सुन्दानसुन्दै म भयले कुँजिइसकेकी हुन्थेँ । कथा सुनाउँदासुनाउँदै हजुरआमा नै भूतका रूपमा खडा हुने हो कि भन्ने डरले डल्लो पर्थें,” सम्झिँदा अहिले पनि कहालिन्छिन् उनी । मनमा भयको आँधी चल्छ । क्या थियो हजुरआमाको स्टोरी न्यारेट गर्ने तरिका । त्यसको सिको आमाले पनि गरिन् । छोराछोरी निदाएनन् भने लोरीको सट्टा कथा सुनाउँथिन् आमा ।

हजुरआमाका कथाका पात्र प्रायः ‘सानीभेरीका भूत’ हुन्थे । त्यसका अतिरिक्त दयालु मानिस, गरिबीले ठुँगे पनि इमान्दारीकै पदमार्गीहरू हुन्थे ।

एउटा गरिब बास बस्न आएको, उसले रोटी खान मन गरेको, गरिब घरधनीले रोटी पकाएर दिएको, भोलिपल्ट हिँड्ने बेलामा बटुवाले सुनको टुक्रा छाडेर हिँडेको, बेलुका आफैंले खान दिएको रोटी सुनमा बदलिएको लघुआख्यान सुन्दासुन्दै मायामा कथाका अनेकन भ्रूणहरूको बीजारोपण भयो ।

मानिसहरूले सपना पनि गच्छेअनुसारको देख्छ । स्तर र कल्पना समवयी हुन्छन् । गरिबहरूको सपना रोटी–मकानभन्दा पर्तिरको, उपल्लतहको हुँदैन भन्ने लौकिक दृष्टान्त पनि हो । र, दुःखी गरिबलाई दया गरे फल पाइन्छ भन्ने सामाजिक विश्वासको विम्ब त्यस्ता कथामा प्रशस्त भेटिन्छन् । यस्तै लौकिक मिथहरूले कथा कोर्न घच्घच्याएको हो मायालाई ।

हजुरआमाको जैविक गुण उनमा पनि सर्‍यो । अहिलेको प्रसिद्धि, कथाकारको विशेषणको जग त्यही हो ।

“हजुआमाआमाले सुनाएका कथा पुस्तान्तरण हुँदै आउँदा घटना, पात्र, परिवेश ठाउँ, समयअनुसार परिवर्तित हुँदै आउँदा रहेछन्, मेरा कथामा हजुरआमाकै कथाका जीवाणु भेटिन्छन्,” लख काट्छिन् उनी ।

आमाले विवाह गरेर डाँडा होइन, देश छिचोलिन् । पृथक परिवेशमा बाँच्न पुगिन् । भाषा अंग्रेजी थियो । रोमन लिपिमा लेखिन्थ्यो । फरक संस्कृतिसँग साक्षात्कार भयो । तर, पनि उनी कथामा रुकुमकोटको सानीभेरी, आलागाउँभन्दा टाढा जान सकिनन् । आफूले देखेभोगेकै परिवेश जीवनसादृश्य भइरह्यो ।

तीज आउनै हुँदैनथ्यो घरमा, विरह–धून बन्थ्यो । गीत गाउने अरू कोही होइन, आमा, हजुरआमा नै थिए । उनीहरूका लय, भाकामा अहिलेका जस्ता उत्ताउलोपना कत्ति पनि मिसिएको हुँदैनथ्यो । बरु चुल्हा–चौका, आँगन–मझेरीका दुःख रोदन, घरमाइतीको बेदना सन्निहित हुन्थ्यो । गीत गाउँदा गाउँदै आमा–हजुरआमा आँसुमिश्रित हुन्थे ।

“गीतसंगीतले लोककथाहरू, सङ्घर्ष, जनजीवन, इतिहास र भूगोलसमेत खर्लप्प बोक्नुपर्दोरहेछ,” पछि बोध भयो उनलाई ।

‘आँगनीका डिल बसी काली कौवा का...का..’, ‘जान्नँ घर, नलाऊ कर, त्यहीँ छ नदी बगाइदेऊ सलल...’ आमा–हजुरआमाले गाउने यस्ता तीजे–गीतमा जीवनका अतिशय पीडा मुखर हुन्थे । तिनताका गीत–सिर्जनाहरूमा जनसङ्घर्ष, जिजीविषा, जिगीषाका र यायावरीका अनेकानेक भावहरू मिसिएका हुन्थे । त्यो गुण उनमा पनि स¥यो । माया रेडियो नेपालले वर्गीकरण गरेको ‘क’ श्रेणीकी लोकगायिकासमेत हुन् ।

‘बिग्रेकी केटी’

उनको बाल्यकाल अतिशय दुःखमा बित्यो । पाइलैपिच्छे आँसुका खोल्सा तरिन् । अमानुषिक यातना उनी हिँडेको बाटो थियो । समाजको छिःछिः दूरदूर, दुत्कार र अनेक बुहार्तनसँग बामे सर्दादेखि नै परिचय पाएकी मायाले शैशवास्थामा सुखको अनुभूति नै गर्न पाइनन् । पढ्ने उमेरमा अर्काको घरमा बाधा बस्न बाध्य थिइन् । अरूका भाँडा माझ्दा, लुगा धुँदा उनलाई समाजले पहि¥याइदिएको ‘ताज’ थियो– ‘बिग्रेकी केटी !’

बाबुले नहेरेका, पितृछहारी नपाएकी बालिका बिग्रेका हुन्छन् भन्ने मनोरोग व्याप्त थियो । र, त्यसैको निर्मम चपेटामा परिन् माया । अतिशय हेलाहाँसो बेहोरिन् । हण्डर–ठक्करसँग मात्रै चिनापर्ची भयो ।

समाजका उपल्ला तहको जुठोपुरो खाएर हुर्किएकी मायाले त्यो उमेरमा पढ्न पाउनु दिवास्वप्न थियो । बुताभन्दा धेरै परको कुरा ।

घरमाथि भुवनसिंह राईले निर्माण गरेको गोर्खा हाइस्कुल थियो । आमा बेतको डालीमा तिनै स्कुले केटाकेटीका लागि खाजा बेच्न जान्थिन् । त्यसबाट कमाएको सुका–मोहोरले गृहस्थी नचलेपछि बालकैमा बँधुवा मजदुर बन्न अभिशप्त भएकी हुन् माया ।

गरिबले खियाए पनि आमाको स्वाभिमान सिलोङका पहाडभन्दा अग्लो थियो । परित्यक्त किन नहोऊन्, इज्जतको जतन उस्तै थियो । बिहानीको आभा बिर्साउने सिन्दूर हालेर हल्लिने फड्के तरेर गोर्खा स्कुलको उकालो चढ्थिन् र माथि पुगेर रूखको छहारीमा ओत लाग्थिन् । मानिसहरूको अनन्य श्रद्धाभक्ति थियो । सुशील स्वभावका कारण सिङ्गै सिलोङ नतमस्तक थियो उनीप्रति ।

“त्यस्तो अभावका झिनाझप्टीबीच पनि आमाले कसरी गरिमा कायम राख्न सक्नुभयो होला,” उनी अहिले पनि जिब्रो टोक्छिन् ।

समाजले जति दुत्कार्दै गयो, उनी त्यति असामाजिक बन्दै गइन् । स्वभावमा उपद्रोपन मिसियो । महाजनहरू लुगा धुन पठाउँथे । उनी सक्ने धुन्थिन्, धुन नसकेका लुगा नदीमा बगाएर आउँथिन् । धोएर सुकाएका ठाउँमा लुगा नदेखेपछि लुगाधनी सोध्थे, “खै सिरकका खोलहरू, कहाँ फालिस् ?”

“मैले देखिनँ, थाहा छैन !” उनको जवाफ यस्तै तिच्छर हुन्थ्यो । समाजले जे सिकायो त्यस्तै स्वाभावमा पारङ्गत हुन्छ मान्छे । माया, ममता, शिक्षा–दीक्षासँग परिचय नपाएपछि आनीबानी उद्दण्ड, जण्ड हुनु स्वाभाविकै भइगयो ।

आमाको बनिबुतोले चुल्हो कहिल्यै तातेन । पेटभरि खान रहरै भयो उनलाई । खोले, फाँडो, सिस्नो, गिट्ठा भ्याकुर र रूखोपीठोले मात्रै पेट नभरिएपछि उनी छिमेकीकहाँ पस्थिन् र भात–ढिँडो चोरेर खान्थिन् ।

घरनजिकै महिला–पुरुष समूहमा मिसिएर तास खेल्थे । श्रीमान् काममा हिँडेपछि तिनका स्त्रीहरूको चर्या सुरू हुन्थ्यो– तास खेल्ने । उनीहरूका अँगेनामा भात भर्सिइरहेको हुन्थ्यो । कहिले त आँतै रसाउने गरी माछा–मासुका परिकारसमेत पाकेका हुन्थे । चोर्न पल्किइन् उनी ।

जब ती महिला–पुरुष तासको ध्याउन्नमा लाग्थे, उनी बटुको बोकेर जस्केला, झ्यालबाट छिरिहाल्थिन् । भित्र पसेर माथिमाथिको भात–तरकारी झिकेर ल्याउँथिन् । आस्वादित हुँदै खान्थिन् । झन्डै एक हप्तासम्म त्यसो गरिन् उनले । एकदिन कचौरामा भात बोकेर झ्याल चढ्नै लागेकी थिइन्, करेसा, जुठेल्नामासम्म मानिस ! सात्तोपुत्लो उड्यो । हातगोडा होइन, मुटु नै अचाल भयो । पसिनापच्छे भइन् उनी । यसैको करामत हो भनेर छेका मारेका रहेछन्, पक्रिइहालिन् ।

समातेर आँगनमा ल्याए । अनुहार सुन्निने गरी कुटे । कतिले जगल्ट्याए, धेरैले भाटा वर्षाए । कपालका जरा चुँडिने गरी कुटाइ खाँदासम्म पनि उनले हातले समातेको कचौरा छाडिनन् ।

“भोक लागेको छ, बरु मार तर कचौरा दिन्नँ,” भोकभन्दा ठूलो भय कहिल्यै भएन उनलाई ।

समाजको दपेट्याइँ बेहोरेकाले होला उनी बडो दुमुर्खा थिइन् । धारेहात लगाएर लय मिलाइमिलाइ सराप्थिन्, “तँलाई हरियो बाँसमाथि राखेर चोयाले टनटनी कसेर छिट्टै चिहान पुर्‍याउन पाइयोस् !”

यस्तो गाली सुनेर मानिस जिब्रो काढ्थे । औँलाले दुवै कान टाल्थे । ‘यो मूर्खसँग सकिँदैन’ भन्दै बाटो लाग्थे कति !

“पेटभरि खान पाएको भए अर्कोको कुटाइ किन खानुपथ्र्यो होला ?” अहिले सम्झँदा पनि उनको छातीमा भुङ्ग्रो खडा हुन्छ । आँसुले निभाउँछिन् मनको राप ।

आँसुको पोखरीलाई चपरीले छोपेर खडा गरेकी हुन् उनले यो बाटो । कति कुरा छन्, ती उनले बताउन सक्दिनन् । भन्दाभन्दै आँखाका छेउकुना रसाउँछ । विदीर्ण हुन्छ मन । र त, उनलाई कतिपयका आत्मकथन झूठको पुलिन्दा लाग्छ । धेरैजसो भन्छन्– मैले आत्मकथामा सत्य कुरा लेखेको छु । तर, उनी पत्याउने आधार देख्दिनन् ।

“कतिपय ठाउँमा हामीले जानेर, नजानेर अपराध, कुकर्म, फट्याइँ, बलबिच्याइँ गरेका हुन्छौँ । त्यसलाई हामी छोप्न चाहन्छौँ,” आफ्नो तर्कमा उभिन्छिन् माया,
“जिन्दगीले मलाई ढाँट्न, झूठो बोल्न, फट्याइँ गर्न, चोर्न सिकायो, के–के सिकायो बाबु !” जिन्दगीलाई फर्केर हेर्दा अतिशय पश्चातापबोध हुन्छ उनलाई ।

बाल्यावस्थाको एउटा कालखण्डपछि उनी नाच्न थालिन् । तिनताक विवाह, व्रतवन्धादि कार्यमा नाचगान, रामरमिता हुन्थ्यो । नाच्न पुगिहाल्थिन् उनी । “सोखले होइन, नाचेबापत कोही मनकारी भेटिए पैसा पनि पाउँथँे,” नृत्यतिर लहसिनुको तात्पर्य पनि उधिनिन् उनले ।

गीत गाउन, नाच्न, कथा लेख्न कसैले सिकाएको होइन उनलाई । जे सिकायो, जिन्दगीले सिकायो । र त, जिन्दगीभन्दा ठूलो विश्वविद्यालय र सिकाइको स्रोत दुनियाँमा दोस्रो छैन भन्छिन् उनी ।

तिनताकाको एउटा किस्सा छ–

समाजमा सबै दुत्कार्नेमात्रै थिएनन् । कोही मनकारी पनि थिए, जसले उनलाई चलचित्र घर लैजान्थे, फिल्म हेराउँथे । हलमा धनी, गरिब बस्ने छुट्टाछुट्टै कक्ष (लबी) थियो । उनी धनी बस्ने ठाउँमै सिट रोज्थिन् र बस्थिन् । धनी बस्ने ठाउँमा पानी, पान, खाजासमेत आउँथ्यो ।

एकपटक पान आयो । मुखमा हालिन् उनले । चपाउनेबित्तिकै मुख रसाइहाल्यो, नथुकी सुखै पाइनन् । बाल्कोनीमा बसेकी रहिछन् तल थुक्नेबित्तिकै हलको बत्ती बल्यो, बन्द भयो चलचित्र । कोकोहोलो मच्चियो– भीआईपी कक्षमा कसले थुक्यो ? को छ यहाँ यस्तो बदमास ?

बालकोनीबाट तलपट्टि धनीहरू बस्ने अर्को लबी रहेछ, त्यहाँ बसेकी धनाड्य महिलाको साडीमा परेको थियो थुकको छिटा ।

“यस्ती बिग्रेकी केटी, मूर्ख बालकलाई हलमा ल्याउने ?” मायालाई चलचित्र घरमा लैजाने महिलाले पो गाली खाइन् । उनले हर्जानासमेत तिर्नुपर्‍यो रे !

“यस्तो उटुङ्ग्याहा, बिग्याहा पो थिएँ त बाबु !” उनको अनुहारका रुन्चे हाँसो छायो ।

पढ्दै नपढी प्रवेशिका

प्रवेशिका परीक्षाअघि कहिल्यै विद्यालय नटेकेकी विद्यार्थी हुन्, माया ठकुरी । त्यतिबेला उनी सतिशकुमारको घरमा भाँडा माझ्थिन् । सतिशकी श्रीमतीले खुब काममा लगाउँथिन् । सतिशकुमार अध्यापन गर्थे । तिनैले दुई महिनाजति पढाएर उनलाई प्रवेशिका परीक्षा दिन तयार पारेका हुन् ।

त्यसअघि उनले घरमा स्वअध्ययन गरेकी भए पनि प्रवेशिका परीक्षा नै दिनेबारे कहिल्यै सोचेकी थिइनन् । तर, सतिशले ‘यहाँ रोल नम्बर लेख्नू । प्रश्न पढेर उत्तर दिनू’ भनेर कापीमा आैँला डोर्‍याएर सिकाएका थिए उनलाई ।

परीक्षाको पहिलो दिन उनले कापीको एकातर्फमात्रै उत्तर लेखिछन् । बीचमा खाली पन्ना रह्यो । उत्तर दिँदादिँदै अरूका उत्तरपुस्तिकामा आँखा पुग्छन् त उनको उत्तरको रोलक्रम मिलेकै छैन । अधैर्य हुँदै उनले उत्तरक्रम बिगारेरै पाना भरिन् । अंग्रेजीमा ‘यस प्रश्नको उत्तर अर्को पानामा छ’ भनिर लेखिन् ।
बाहिर निस्किएपछि सतिशले सोधे, “कस्तो भयो परीक्षा ? कसरी लेख्यौ ?”

उत्तरक्रम नमिलेको बताउँदा हात पुर्पुरोमा बजारे सतिशले ।

“म पास हुन्न कि क्या हो सर ?” आत्तिइन् उनी । तर, सतिशले भने, “नआत्तिनू, यत्तिले नै फेल त होइँदैन । तर, भोलिदेखि त्यसो नगर्नू !” 

रिजल्ट आयो । सुरूमा साथीले खबर ल्याए– तिम्रो त नम्बर भेटिएन । फेल भइछ्यौ ।

तर, उनी निराश भइनन् । सोचिन्– पढेर परीक्षा दिएको भए पो पास हुनू । फेल हुने उनीमात्रै थिइनन् । नियमित विद्यालय धाउने पनि पास हुनेको सूचीमा अटाएका थिएनन् ।

केहीबेरमै अर्को साथीले उनलाई सुनाए– पास भएछौ तिमी । मायाभन्दा बढी ती सतिश खुसी देखिए ।

सबै विषयमा प्राप्ताङ्क (३२) मात्रै पाएकी थिइन् तर पहिलो दिनको विषयमा भने ३४ पाएकी थिइन् ।

प्रवेशिक्षा परीक्षा दिन हलभित्र बस्दा पनि उनका कटू अनुभव छन् । जाँच दिँदै गर्दा पछाडि बसेका केटीहरूले उनको पिठ्युँमा कागज टाँसेर उपहास गर्थे रे ! पास भएपछि कतिपयले चरित्रमै औँला उठाए, “राम्री थिई, परीक्षा लिनेलाई मोहित पारी होला ! किन पास नहुनू त ?” कर्दले चिरेसरह भयो उनको मुटु !

एडुकेसन र अंग्रेजीमा दुई वर्षे प्रि–युनिभर्सिटी उत्तीर्ण गरिन् । त्यसपछि कानुनमा भर्ना भइन् । दिल साहनी र उनले सँगै कानुन पढे, केही समय ।

“कानुन पढेर सबैलाई ठीक पार्छु भन्ने थियो, त्यही भएर त्यता लागेँ,” हाँसिन् उनी । कानुन पढ्दापढ्दै शास्त्रीय संगीत उत्तीर्ण भइन् । केही समय अल इन्डिया रेडियो र नेपाल आएर रेडियो नेपालको यात्रा तय गरिन् ।

कथायात्रा

कथा र उनको जीवनमा बडो तादाम्यता छ । उनको कथाका कतिपय पात्र उनी आफैं हुन् । उनकी आमा हुन् । र, हजुरआमा पनि ।

तर, उनका कथा चिहानमा कुटिए, लुछिए । कति खोलाखोल्सीमा आँसु बनेर बगे । कतिपय जुठा भाँडासँग मस्काइए । पोल्टाका कथाहरू मझेरीमा झरे । आँगनभरि पोखिए । सँगाल्न, पर्गेल्न पाइनन् ।

दुःखलाई गहिरो गरी अनुभूत गरेकी मायाको कल्पनाशीलता बेजोड थियो । पीरमर्कासँगको दोस्तीले होला– दुःखसँग भिज्न सिकिन् । आँसुलाई औँला चोपेर जिन्दगी लेख्न सिकिन् उनले ।

बाटामा अरूले लेखिसकेर फालेका कापी, जहाँ उनले कखरा होइन, जीवनको उज्यालो खोजिन् । रहरका अक्षर उतारिन् । फोहोरको थुप्रोमा मिल्काइएका पत्रपत्रिकाका टुक्रा, जसले उनलाई अक्षर चिनाए । शिक्षासँग साक्षात्कार गराए ।

दुःखको विश्वविद्यालयमा जीवन पढेकाले होला– उनले समाजलाई छिट्टै बुझिन्, कथाको आयामसँग एकाकार भइन् । त्यसका अतिरिक्त घरमा दुर्गासप्तशती, महाभारत, कृष्णचत्रिका पुस्तहरू थिए, तिनले पनि अँध्यारोबाट उज्यालोतिर डो¥याए ।

‘बौलाही’ शीर्षकको कविता छापेर साहित्य जगतको फराकिलो आँगनमा पदार्पण गरेकी हुन् मायालेः

बौलाही, बौलाही भन्छौ दुनियाँ, बौलाही त्यो किन भई
बौलाही यदि त्यो साँच्चै थिई त तिरस्कार किन सही ?

यस्तै भावको कविता कोरेकी थिइन् उनले । तर, समाजका बुज्रुकहरूले अट्टहास पो गर्न थाले, “के लेख्थी यस्ती बिग्रेकी केटीले ! सारी होला कसको !”

सुरूमा उनले ‘पागल’ शीर्षकको कथा लेखेकी थिइन्, हिन्दीमा । आफ्ना सिर्जनाले कतै ठाउँ नपाएपछि हिन्दीमा कथा लेखेर फड्को मार्ने निधो गरेकी थिइन् । त्यसैले हिन्दी पत्रिका ‘आशा’मा उनले कथा लेखेर पठाइन् । तिनताक ‘इस्मत चुक्ताही’ नामकी भारतीय लेखिकाको कथा आउँथ्यो । खुब पढ्थिन् उनी । ‘धर्म युग’ भन्ने पत्रिका पनि छापिन्थ्यो, धनीमानीले पढ्थे त्योचाहिँ । उनका आँखा त्यहाँ पनि पुग्थे ।

‘आशा’ पत्रिकामा उनले आफ्नो ठेगाना लेखेर कथा पठाएकी थिइन् । त्यही ठेगानामा जवाफ आयो । उनले सोचिन्, “प्रकाशन गृहले कस्तो राम्रो कथा लेख्यौ भनेर तारिफ गरेको होला !”

पत्र खोलेर हेर्दा त लेखिएको थियो, “तिम्रो कथा हामीले पढ्यौँ, राम्रो छ । तिमीले राम्रो लेख्न सक्छौ । तर, आफ्नै मातृभाषामा कथा लेख्ने गर । निरन्तरता दियौ भने राम्रो कथाकार बन्छौ !”

उनले त्यसलाई हौसला, प्रेरणाका रूपमा लिइन् । र, धेरैलाई देखाइन् ।

“कथा नछापेर फर्काएको थाहा छैन, हेर देखाउँदै हिँडेको ?” खिस्याए कतिपयले । जेहोस्, उनले कथा कोर्न थालिन् । त्यही ‘पागल’ कथालाई ‘बौलाही’ कवितामा ढालेर पत्रिकमा छपाएर सिर्जना–यात्रा तय गरेकी हुन् उनले ।

आजसम्म उनका नजुरेको जोडी (कथा संग्रह, २०३०), गमलाको फूल (कथा संग्रह, २०३३), साँघु तरेपछि (कथा संग्रह, २०३९), चौतारो साक्षी छ (कथा संग्रह, २०४८), माया ठकुरीका कथाहरू (२०४८), प्रियंवदा (कथा संग्रह, २०६९), आमा जानुहोस् (कथासंग्रह, २०६४) प्रकाशित छन् । उनका कथामा कल्पना कम र यथार्थ बढी अन्तर्घुलित छन् । र, आफैंले भोग्दै आएको जीवन नै साहित्य–सिर्जना बन्यो उनको ।

कथास्रोता

उनका कथाको पहिलो स्रोता श्रीमान् हुन् । सँगै खाइखेली हुर्किएका दामोदर शर्मा अन्नतः उनको सहयात्री नै बने । तिनै श्रीमान् आजपर्यन्त उनका पथप्रदर्शक हुन् । विद्युत् प्राधिकरणको इन्जिनियरिङ फाँटमा काम गरेका शर्माको पुख्र्यौली थातथलो कास्की, रूपाकोट हो ।

छोरीले पनि अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनी पनि रुचिपूर्वक कथा सुन्छिन् र आमालाई बाटो देखाउँछिन् ।

कथा लेखेर बाबुछोरीलाई सुनायो, आङ तन्काउँदै उठ्ने । चित्त नबुझेको भाव पस्कने । सुरूसुरूमा ‘दुश्मन’सरह नै बने बाबुछोरी । उनीहरूलाई चित्त बुझाउन कथा मस्काउँदै जाँदा पारङ्गत बनिन् माया । र, त्यो क्रममा अहिलेसम्म पूर्णविराम लागेको छैन ।

“आफूले तीन–चार दिन लगाएर कथा लेख्यो, उनीहरू नाक खुम्च्याउँथे । कहिले त तिमी बाबुछोरीले कतिवटा कथा लेखेका छौ भन्दै हप्काएँ पनि,” हाँस्दै बिट मारिन् उनले । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०७४  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC