चितवन । चितवनमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यभन्दा सात प्रतिशत बढी राजस्व असुल भएको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ ।
माघ मसान्तसम्म ९ अर्ब ९० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले १० अर्ब ६४ करोड राजश्व संकलन गरेको हो । यो लक्ष्यभन्दा सात प्रतिशत बढी हो । कार्यालयले अन्तःशुल्कबाट सबैभन्दा बढी ९ अर्ब ५ करोड राजश्व असुल गरेको छ । अन्तःशुल्कतर्फ ८ अर्ब १४ करोड राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो ।
स्वास्थ्य सेवातर्फ सबैभन्दा कम राजस्व संकलन भएको छ । स्वास्थ्य सेवातर्फ ५ करोड ६७ लाख लक्ष्य राखिएकोमा ३ करोड ७७ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको छ । कार्यालयले आयकर, ब्याजकर, मुअकर, शिक्षा सेवामा पनि लक्ष्यअनुसारको राजस्व असुल गरेको छ ।
कार्यालयका प्रमुख कर अधिकृत थानप्रसाद पंगनीले कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भए पनि घरबहाल लगायतका कर संकलनमा भने समस्या भएको बताए ।
उनले थोरै घरबहाल उठाउनेहरु करको दायरामा आए पनि धेरै घरबहाल लिनेहरु अझै पनि करको दायरामा आउन नसकेको बताउँदै सबैलाई करको दायरामा ल्याउन कार्यालयले निरन्तर अनुगमन गरिरहेको बताए ।