काठमाडौं । नेपाल औषधी लिमिटेडले सिटामोल उत्पादन सुरु गरेको छ । कम्पनीले बुधबारदेखि सिटामोलको परीक्षण उत्पादन सुरु गरेको हो । लिमिटेडका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले जिएमपी मापदण्ड अनुसार नै सिटामोलको परीक्षण उत्पादन सुरु गरेको बताए । “औषधी उत्पादन गर्ने मेसिन नयाँ भएकाले सिटामोल चक्की बन्न ४ देखि ६ दिन लाग्छ ।
परीक्षणका रुपमा उत्पादन सुरु गरी फागुनभित्रै सिटामोललाई बजारमा लैजाने तयारी भएको छ,” उनले भने । लिमिटेडले परीक्षण उत्पादनमा करिब ८० हजार सिटामोल चक्की उत्पादन गर्ने प्रशासन महाशाखा प्रमुख ज्ञानु रायामाझीले बताए । उनले भने, “परीक्षणको लागि उत्पादन गरिएको औषधिको परीक्षण सफल भएपछि मात्रै सिटामोल बजारमा पठाउँछौं ।” लिमिटेडले सिटामोलको परीक्षण उत्पादन सफल भएपछि हरेक दिन ३ लाख २० हजार उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ । लिमिटेडले १५ लाख औषधि तयार भएपछि मात्र बजारमा पठाउनेछ ।
सिटामोलको खुद्रा मूल्य प्रति ट्याब्लेट १ रुपैयाँ तोकिएको छ । कम्पनीले आइरन चक्की, जुकाको औषधीलागायत २० प्रकारका चक्की औषधी उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीले जिएमपी मापदण्डअनुसार नै गत वैशाख २४ गतेदेखि जीवनजल उत्पादन गरिरहेको छ । कम्पनीले ग्लिसरिन तथा डिस्टिल्ड वाटरको पनि उत्पादन एक वर्षमा १ सय ५५ प्रतिशतसम्म वृद्धि भएकोे जनाएको छ ।
२०२९ सालमा सरकारी स्वामित्वमा सञ्चालनमा आएको कम्पनी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसक्दा २०६६ सालदेखि उद्योगले सिटामोल लगायतको सम्पूर्ण औषधी उत्पादन गर्न बन्द गरेको थियो ।