site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादीमा गृहका लागि गनगन
Ghorahi CementGhorahi Cement

एउटै कम्युनिस्ट पार्टी बनाउने वाचा गरेर एउटै घोषणापत्रमा चुनाव लडेका नेकपा (एमाले) र माओवादी केन्द्रले अझै भागबन्डाको राजनीति भने छाडेका छैनन् । नयाँ सरकारमा एमालेले १० र माओवादी केन्द्रले गृह मन्त्रालयसहित ७ वटा मन्त्रालय पाउनेगरी भागबण्डा भएपछि माओवादीभित्र गृह मन्त्रालय लिन तँछाडमछाड भएको समाचार आजको अन्नपूर्ण पोस्टले प्रकाशित गरेको छ ।

माओवादी तर्फबाट सरकारमा जाने वरिष्ठ नेता सबैले गृह मन्त्रालय ताकेर गनगन गर्दै हिडेका छन् । यसरी गनगन गर्ने नेतामा रामबहादुर थापा ‘बादल’, वर्षामान पुन तथा जनार्दन शर्मा देखिएका छन् । रामबहादुर थापा पहिले पनि रक्षा मन्त्री भइसकेको भन्दै उनले गृह मन्त्रालयमा चासो देखाएका छन् । तर, उनलाई उपप्रधानमन्त्री दिए अरू कुनै मन्त्रालय दिँदा पनि चित्त बुझ्ने देखिँदा वर्षामान पुनको गृह मन्त्री हुने सम्भावना बढेको थियो । तर, प्रधानमन्त्री केपी ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच उपप्रधानमन्त्री नराख्ने सहमति भएकाले बादल नै गृह हुने चर्चा पुनः बढेको छ । यसअघि गृह मन्त्री रहिसकेका जनार्दन शर्मा पनि गृह मन्त्रालय आफैँले पाउनुपर्नेमा जोड दिइरहेका छन् । तर, बादललाई गृह मन्त्रालय दिएमा शर्माले बादललाई समर्थन गर्ने संकेत पनि देखिएको पोस्टले लेखेको छ ।

पोस्टमा रामकृष्ण अधिकारी अगाडि लेख्छन् — पुनले आफूले गृह नपाए संघीय संसद्को सभामुखमा उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीलाई दोहोर्याउनुपर्ने लबिङ गर्दैछन् । तर सभामुखमा कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम आउन थालेपछि पुन गृह मन्त्रालय नै लिन जोडबल गरिरहेका छन् ।

Agni Group

 

सुभाष निरौला भ्रष्टाचारी ठहर

Global Ime bank

नेपाल पर्यटन बोर्डको करिब डेढसय करोड रुपैयाँको भ्रष्टाचार काण्डमा तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै सात वर्ष कैद सजाय सुनाएको छ । कैदसहित निरौलाले बिगो स्वरुप रु. ८० लाख ५१ हजार र जरिवाना स्वरुप रु. ५४ लाख ५९ हजार बुझाउनुपर्ने पनि निर्णय भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ जनाविरुद्ध लगाएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ भने २० जनालाई सफाइ दिएको छ । दोषी ठहर भएकामध्ये एक जना तत्कालीन लेखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष जेल सहित ५० लाख २९ हजार बिगो र २४ लाख ३७ हजार रुपैयाँ जरिवाना तिराउने पनि निर्णय भएको छ । त्यस्तै वर्ल्डवाइड एसियन ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक महेन्द्र खनाललाई १ लाख ५४ हजार बिगो तिराउने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरू द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार यो निर्णय गरेको हो ।

सुभाष निरौलाको समाचारलाई नागरिक, कान्तिपुर तथा हिमालय टाइम्सले महत्त्वका साथ प्रकाशित गरेका छन् भने गोरखापत्रले एन्कर बनाएको छ । राजधानीले भने एक कोलमको सानो समाचार बनाएको छ ।

 

लालबाबु राउतलाई दुई तिहाइको समर्थन

प्रदेश नंबर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाई सांसदको समर्थन प्राप्त गरेका छन् । हिजो भएको निर्वाचनमा राउतको पक्षमा ८२ मत खसेको थियो भने विपक्षमा १८ मत परेको थियो ।

यस प्रदेशमा संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीलाई नेपाली कांग्रेसले साथ दिने र माओवादी केन्द्र तथा एमाले विपक्षमा बस्ने तयजस्तै भएको पनि एकाएक निर्णय बदलिएको थियो ।

फोरम संघीय सरकारमा सम्मिलित हुने सम्भावना बढेपछि बुधवारसम्म विपक्षमा बस्ने भनिएका माओवादी र एमालेले बिहीवार राउतको सरकारलाई समर्थनको मत दिएका हुन् । यो समाचारलाई नागरिक तथा हिमालय टाइम्सले मुख्य समाचार बनाएका छन् भने अन्नपूर्ण पोस्टले मध्य भागमा सानो समाचार बनाएको छ । राजधानीले यो समाचारलाई तल्लो भागमा डेढ कोलममा छापेको छ ।

 

विचार र दृष्टिकोण

चिनियाँ सहयोगको विकृति : शुक्रवारको अन्नपूर्ण पोस्टमा पत्रकार तथा विश्लेषक अजयभद्र खनालको लेख प्रकाशित भएको छ । सो लेखमा नेपाली कांग्रेस किन कमजोर भयो भन्ने तर्कसहित अहिले जनताको आशा ओलीमा केन्द्रित भएको प्रसंग उठाइएको छ । लेखमा सबैभन्दा महत्त्वपूर्ण चीनको सहयोग सम्बन्धमा गरिएको विश्लेषण छ । चीनले सहयोग दिँदा देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विकासको मोडल छान्न पनि ऋण लिने देशलाई कुनै बन्देज लगाउँदैन । तर, खनाल भन्छन्, चीनको सहयोगको नराम्रो पाटो भनेको यस्तो ऋण भ्रष्टाचार गर्न र दुरुपयोग गर्न सजिलो हुन्छ । चिनियाँ सहयोगको दूरगामी प्रभावबारे बुझ्न श्रीलंका, कम्बोडिया, सुडान, अंगोला, इथियोपियाजस्ता मुलुकको अध्ययन जरुरी हुन्छ भन्ने खनालको विचार रहेको छ । श्रीलंकामा ३० करोड ४० लाख अमेरिकी डलरमा बनेको मट्टाला एयरपोर्ट सञ्चालन गर्न नसकेपछि चिनियाँ कम्पनीले नै त्यसको संचालन गर्न थालेको र श्रीलंकाले स्वाधीनतामा नै सम्झौता गर्न बाध्य भएको खनालको विचार रहेको छ ।

 

कस्तो होला विपक्षी कांग्रेस : हिमालय टाइम्सका सम्पादक गोविन्द लुइँटेलले विपक्षीको रुपमा नेपाली कांग्रेसको रूप कस्तो होला भन्ने विषयमा समीक्षा गरेका छन् । उनको विचारमा अहिले नेपाली कांग्रेस कुइरोमा हराएको कागझैं भएको छ । स्थानीय तहदेखि केन्द्रसम्मै यसको उपस्थिति कमजोर छ । लुइँटेल लेख्छन् — नेपाली कांग्रेसको भविष्य सुधार गर्न चारवटा पक्षमा विचार गर्नुपर्छ । विपक्षी दलका रुपमा प्रभावकारी भूमिका, संगठनको सुधार, सुनिने र देखिने नेतृत्व तथा नीतिगतरूपमा युवा जमातको आकर्षण ।

 

कांग्रेसमा पुनर्जागरण : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नयाँ पत्रिकामा नेपाली कांग्रेसमा किन पुनर्जागरण अभियान सुरु गर्नुपर्यो भन्ने विषयमा लेखेका छन् । घिमिरेका अनुसार पार्टी सञ्चालन र निर्णयको सन्दर्भमा देखिएको अपारदर्शिता हटाउन, पार्टीलाई कार्यकर्तामुखी बनाउन, जनताप्रति जवाफदेही बनाउन यो अभियान सुरु भएको हो ।

 

वामपन्थी मिलनको ‘मधुचन्द्रिका’ : पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले गोरखापत्रमा दुई कम्युनिस्ट पार्टी मिलेपछि हुने समस्याको समीक्षा गर्दै अहिले वामपन्थी दलका लागि ठूलो अवसर पनि भएको विचार व्यक्त गरेका छन् । तर, झाको विचारमा कम्युनिस्ट दलले उसको सक्षमता र अनिवार्यता पनि प्रमाणित गर्न सक्नुपर्छ ।

 

सम्पादकीय

शुक्रवारको नयाँ पत्रिकाले चिकित्सक तथा बिरामीबीचको सम्बन्धका विषयमा सम्पादकीय लेखेको छ । कुनैबेला बिरामीले डाक्टरलाई भगवानकै रुप मान्ने अवस्था हुने तर कुनै बेला भने बिरामीका आफन्तले डाक्टरलाई हातपात र अस्पताल तोडफोड गर्ने घटना पनि भएको उदाहरण दिँदै नयाँ पत्रिका लेख्छ सर्वसाधारणमा बजारमा उपलब्ध उपचार सेवाका सम्बन्धमा बढ्दो निराशा र आक्रोश रहेको छ भने विश्वसनीयता कम भएको छ । यसका लागि चिकित्सकको सामाजिकीकरण र उपचार पद्धतिमा सरलता तथा सहज पहुँच सम्बन्धमा स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको नयाँ पत्रिकाको ठहर छ ।

 

नागरिक दैनिकले संघीयताको सबैभन्दा ठूलो अवरोध कर्मचारी देखिएको कुरालाई सम्पादकीयको विषय बनाएको छ । मुख्य सचिवले समयसीमा तोकेर कर्मचारीलाई कार्यक्षेत्रमा पठाउन दिएको आदेशले समेत काम गर्न नसकेको उल्लेख गर्दै नागरिक लेख्छ — कर्मचारीतन्त्रका ट्रेड युनियन खारेजीको विकल्प छैन । निजामती कर्मचारीले आफूलाई कुनै कलकारखानामा काम गर्ने मजदुरका रूपमा संघसंगठनको अभ्यास गरिरहनु पर्दैन ।

 

शुत्रवारको हिमालय टाइम्सले वैदेशिक रोजगारीमा ठगीले उन्मुक्ति पाएको विषयमा सम्पादकीय लेख्दै रोजगारमा जान चाहनेहरूले सरकारले तोकेभन्दा कैयौं बढी रकम तिर्ने र तिनीहरू ठगिने काम भइरहेकाले यस्तो आर्थिक गतिविधि सम्पूर्णरूपमा बैंकिङ प्रणालीबाट हुनुपर्नेमा जोड दिएको छ ।

गोरखापत्रले नेपालमा पूर्वाधार विकासका लागि जोड दिनुपर्ने विषयमा सम्पादकीय लेखेको छ भने कान्तिपुरले प्रदूषण नियन्त्रणमा देखिएको उदासीनताका विषयमा । त्यस्तै राजधानीले भ्रष्टाचार नियन्त्रणमा देखिएको चुनौतीका विषयमा सम्पादकीय लेखेको छ भने अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिकको सुविधाको विषयमा लेख्दै सामाजिक सुरक्षा बलियो बनाउन जोड दिएको छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०७४  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC