अमेरिकाबाट प्रधानमन्त्री ओलीलाई पत्र

सर्वप्रथम कम्युनिस्ट गठबन्धन जोडेर प्रधानमन्त्री हुनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकाको पश्चिमी किनाराबाट हार्दिक बधाई ! जहाँ रहे पनि नेपालका प्रधानमन्त्री सबै नेपालीका अभिभावक नै हुन् । प्रत्येक नेपालीले मेरो देश यस्तो बनोस् भन्ने चाहना राखेका हुन्छन् र त्यो चाहना परिपूर्ति गर्ने व्यक्तिका रूपमा प्रधानमन्त्रीकै अनुहार सम्झन्छन् । त्यसैले हामी त्यस्तो प्रधानमन्त्री चाहन्छौं जस्ले नेपाली चाहना बुझेको होस्, र नेपाली भावनाको इज्जत गर्न सकोस् । प्रधानमन्त्री ओलीलाई अमेरिकाको एक सहरमा बसेर नेपाली हुनुको स्वाभिमान र हीनताबोध दुवै सँगै बोक्दै आएको एकजना नेपालीको यो आह्वान हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका आउँछन् । सबै भारतीयको सान बढाएर जान्छन् । कुनै पनि भारतीयमाथि सांघातिक हमला हुन्छ वा कुनै भारतीयले कतै पनि दुःख पायो भने आफ्नो देशले सहयोग गर्छ भनेर ढुक्क हुन्छ । यस्तो मामलामा अमेरिका वा युरोपेली मुलुकको कुरै गर्नु परेन । तर, नेपाली हुनुको पीडा भने समस्या परेको नेपालीले बढी महसुस गर्छ । कुनैपनि देशमा जाँदा नेपालको पासपोर्टलाई शंका र हेलाँ दृष्टिले हेरिँदा नेपालीपनलाई कसरी संसारभर इज्जतका दृष्टिले हेर्न सकिने बनाउन सकिन्छ भनेर मनमा आउँछ, अनि आउँछ प्रधानमन्त्रीको अनुहार । अनि लाग्छ अहिले गएर प्रधानमन्त्रीलाई यसरी काम गर्नपर्यो भनेर सल्लाह दिन पाइयोस्, अनि त्यो सल्लाह लागु होस्, अनि नेपालीहरू सर्वत्र इज्जत र सम्मानका साथ ओहोर दोहोर गर्न पाइयोस् ।

यो पत्र पढ्दा अमेरिकामा बस्ने नेपालीले के दुःख पाएको होला र ? भन्ने पनि लाग्नसक्छ । हो, अमेरिकामा बस्ने नेपालीको पीडा जति धेरै भए पनि खाडी मुलुक र मलेसियामा काम गर्ने हाम्रा नेपाली भाइबहिनी जत्ति पक्कै पनि छैन । त्यसैले यो पत्रबाट अमेरिकामा बस्ने नेपालीको लागि नेपालले यस्तो सहयोग गर्नुपर्छ भन्ने आग्रह गर्न खोजेको पनि होइन । 

नेपालीको इज्जत बढाउनु छ भने कतार, दुबई, मलेसियामा बस्ने नेपालीले स्वाभिमानका साथ बाँच्न र काम गर्न पाउनु प¥यो । खाडी मुलुकबाहेक पनि कतिपय एसियाली र युरोपेली मुलुकमा नेपालीहरू लुकेर गएर आफ्नो भविष्यका लागि र आफ्नो परिवारका लागि संघर्ष गरिरहेका छन् । कतिपय गैरकानुनीरूपमा श्रम गरिरहेका पनि होलान् । तर, कानुनी रुपमा होस् वा गैरकानुनी तिनीहरू अपराध कर्ममा लागेका छैनन् र नेपालको विकट पाखा र उजाड तराईमा दुःखजिलो गरिरहेका आफ्ना परिवारको पेट भर्न श्रम गरिरहेका छन् भने तिनलाई समस्या पर्दा नेपालले हेर्नैपर्छ । तिनले बहाएको पसिनाको कारणले मात्रै न हो नेपालले आफूलाई अहिले अतिकम विकसित राष्ट्रको अवस्थाबाट विकासशील राष्ट्रको रूपमा उभ्याउने चेष्टा गर्न सकेको । तर, के नेपालले यसको लागि धेरै पैसा र स्रोत खर्च गर्नु पर्ला र ? पर्दैन । 

नेपालको मुख्यमुख्य श्रम गन्तव्य मुलुक सबैमा नेपाली राजदूतावास छँदैछ । त्यस्ता दूतावासमा जाने नेपाली त्यस्तो व्यक्ति होस् जसलाई नेपालीको पीडाले छोओस्, नेपालको बदनाम नहोस् भन्ने भावनाले प्रेरित होस् । कम्युनिस्ट गठबन्धनको सरकार छँदा पैसा बुझाउने र ठूलो म्यानपावर चलाउने संस्थाको प्रतिनिधिमात्र यस्तो राष्ट्रको राजदूत नहोस् । नेपालको राजदूत हुने व्यक्तिको नाम लिँदा पनि सबैमा एक सम्मानको भाव जागोस् । नेपालीको रगत चुसेर पैसा कमाउने नियत भएका व्यक्तिलाई कमसेकम अबको सरकारले राजदूत नबनाओस् ।

अर्को सहज उपाय भनेको संसारका कुनै पनि गन्तव्यमा रहेका व्यक्तिले सिधै काठमाडौंमा आफ्नो पीडा सुनाउन पाउने एउटा फोन नंबर र वेब साइट राखियोस् । त्यस्तो फोन जहाँसुकैबाट गर्दा पनि गर्नेलाई पैसा नलागोस् । जहाँजुकै काम गरेको भए पनि र जस्तोसुकै श्रम गरेको भए पनि सबै नेपालीले एउटा फोन राख्न पाउनुपर्नेमा सरकारले विशेष ध्यान देओस् । कतिपय घरेलु काममा बसेका नेपाली महिलालाई फोनसमेत राख्न बन्देज लगाइन्छ र तिनमाथि हिंसा गरिन्छ । कतिपय विकट मरूभूमिमा काम गर्ने नेपाली पुरुषलाई पनि यस्तो समस्याले सताएको धेरै समाचार सुन्न र पढ्न पाइएको छ । त्यसैले फोनको उपलब्धता सुनिश्चित गर्ने र फोन गरेमा पैसा नलाग्ने नंबर बनाउने काममा यहाँको ध्यान पुगोस् । त्यस्तो फोन उठाउने र सम्बद्ध निकायलाई तरुन्तै कारवाहीका लागि झकझकाउन सक्ने एउटा प्रभावकारी टोली काठमाडौंमा राखियोस् । यस्तो टिमले राजदूतावासलाई पनि समयमै सूचना दिएर सहयोग गर्न सकोस् । 

अघिल्लोपल्ट तपाईँ प्रधानमन्त्री बन्नुहुँदा देशभरका तुइन हटाउने वाचा गर्नु भएको थियो । भनिंदै छ धेरै तुइन हटिसकेका छन् र अब थोरैमात्र हट्न बाँकी छन् । अमेरिकामा बस्ने धेरै नेपालीले बुलेट ट्रेनको कुरा गर्ने बेलामा तुइनको के कुरा गरेको होला भनेर हाँसोमा उँडाएका थिए । तर, विकट गाउँमा बस्नेलाई एउटा झोलुङे पुल नै बुलेट ट्रेन बराबर हुन्छ भन्ने धेरैलाई थाहा भए पनि बिर्सन खोज्छन् ।

तपाईंले तुइन सम्झनुले नेपालीको पीडा सम्झेको अर्थमा बुझेको हुनाले यो पत्र लेख्न बसेको हुँ । अन्यथा नेपाल प्रहरीले घुस खाएको लाइभ दृश्य नेपालको राष्ट्रिय टेलिभिजनमा देखाइँदा पनि चुप लागेर बस्ने प्रधानमन्त्री पनि देखेकै हो । निजामती कर्मचारीले घुस लिएको दृश्य त झन् कैयौं पटक देखाइयो, प्रहरीले नागरिकको अपहरण गरेर पैसा असुल गरेको पनि देखियो । तर, प्रधानमन्त्री चुपचाप बसे । न त कारवाही गरे न नैतिक जिम्मेवारीनै वहन गरे । तपाईँं पनि त्यस्तै प्रधानमन्त्री हुने हो भने त यति लेख्नु पनि समय फाल्नु बराबरै हो । तर, तपाईंप्रति आशा र भरोसा भएकोले जाँगर निकालेको हुँ । 
अमेरिकामा बस्ने नेपालीले पनि दुःखजिलो गरेकै छन् । तर, अहिल्यै नेपालले यहाँका नागरिकलाई केही गरिहाल्नुपर्ने हतार भने छैन । हामी आफँै मिलेर अनेकौंँ काम गरिहेका छौँ । यहाँको कार्यकालमा हुने उपलब्धिलाई सबै नेपालीले संसारभरबाट  हेरिरहेका छन् । ।

तपाईको दोस्रो कार्यकाल नेपालकै इतिहासको सफल र उच्चतम विकास भएको कार्यकालका रूपमा इतिहासमा दर्ता होस् । शुभकामना !  

(क्यालिफोर्निया, अमेरिका)  

प्रतिकृया दिनुहोस