नेपालका दुईवटा ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच ’एकीकरणका प्रारम्भिक आधारहरु’ तय गरी सात बुँदे सहमति सार्वजनिक गरिएको छ । प्रारम्भिक आधार भनिएको एकीकरणको खाकाअनुसार दुवै पार्टी एक हुँदा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ । दुवै पार्टीले आआफ्ना सिद्धान्तलाई थाती राखेर अहिले ‘पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद’ रहने घोषणा गरेका छन् । ’शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफनो श्रेष्ठता स्थापित गर्ने’ अभ्यासलाई एमाले र माओवादी केन्द्रले अवलम्बन गरिसकेको पनि सहमतिमा उल्लेख गरिएको छ । महाधिवेशनको मिति उल्लेख नभए पनि पार्टीको नेतृत्व भने महाधिवेशन नहुँदासम्म दुवै पार्टीका अध्यक्षले आलोपालो गर्ने छन् । सरकारको नेतृत्व पनि आलोपालो गर्ने भद्र सहमति भएको प्रचार गरिए पनि लिखित सहमतिमा उल्लेख भएको छैन । एउटै कम्युनिस्ट पार्टी बनाउने गरी भएको संसद्को पहिलो र तेस्रो पार्टीबीचको एकीकरणको प्रभाव नेपालको राजनीतिमा लामो समयसम्म रहने देखिन्छ ।
एमाले र माओवादी केन्द्रबीच एकता हुनेबित्तिकै नेपालमा एउटैमात्र कम्युनिस्ट पार्टी भइहाल्ने त हैन तर अरू दलहरू निकै साना र प्रभावका दृष्टिले पनि कमजोर छन् । यसैले नेपाली समाजमा कम्युनिस्ट पार्टी भन्नेबित्तिकै यही एकीकृत दलको स्मरण हुनेछ । यद्यपि, अभैm पनि चुनावपछि पार्टी एकताको निम्ति देखिएको हिचकिचाहट र पदलोलुपता तथा अविश्वास हेर्दा भने सजिलै एकता भइहाल्ला भन्न सकिँदैन । त्यतिमात्र हैन, पार्टी एकताका लागि भएका भनिएका बैठकहरू जसरी विवादास्पद व्यवसायीहरूका घरमा गरिए त्यसले पनि एमाले र माओवादी केन्द्रको एकताको उद्देश्यप्रति सन्देह उत्पन्न भएको छ । एमाले अध्यक्ष केपी ओलीको मन्त्रिपरिषद् गठन भएकै दिन माओवादी केन्द्रबाट मन्त्री समावेश हुने अपेक्षा गरिएको थियो । अब एकताका प्रारम्भिक आधार तय भएपछि मन्त्रिपरिषद्को विस्तार पनि छिटै हुने अनुमान गर्न कठिन हुँदैन तर, त्यसमा पनि दलकै भागबन्डा कायमै रह्यो भने त्यसले नेपाली कांग्रेसमै जस्तो भागबन्डाको अस्वस्थ चलन चल्नेछ ।
एमाले र माओवादी एकतापछि संसद्, प्रदेश र स्थानीय निकायमा समेत एउटै कम्युनिस्ट पार्टीको वर्चस्व रहनेछ । दुवै पार्टीले पाएका जनताको मतका तुलनामा शासकीय शक्ति निकै बढी हुने देखिन्छ । यस शक्तिले नेता र कार्यकर्तामा अहंकार र भ्रष्टाचार बढाउन पनि सक्छ भने जनअपेक्षाअनुसार काम गर्ने सहज अवसर पनि जुटाउँछ । यस्तै, पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन र नेताहरूको विलासी जीवनशैलीको बोझ धान्न सार्वजनिक स्रोतसाधनको दुरुपयोग हुने जोखिम पनि यो एकताले बढाएको छ । बलियो विपक्षको अभावमा सत्ताधारीहरू प्रायः भ्रष्ट हुनेगरेका छन् । शक्ति जति केन्द्रित हुन्छ भ्रष्टाचारको जोखिम पनि उति नै बढ्छ । कम्युनिस्ट गठबन्धनको निर्माणमा चीनको संलग्नता रहेको प्रचारवाजी भारतीय सञ्चार माध्यममा हुँदैआएको छ । भारतीय सञ्चार माध्यमले विदेश मामिलामा प्रायः भारत सरकारको आधिकारिक धारणाकै प्रतिनिधित्व गर्छन् । एकताका महत्त्वपूर्ण चरणमा चिनियाँ प्रतिनिधिको उपस्थितिले नेपालमा चिनियाँ प्रभाव बढेको प्रचारवाजीकै पुष्टि हुन्छ । नेपालले भारतीय प्रभाव कम गर्न हरसम्भव प्रयत्न त गर्नुपर्छ तर त्यही निहुँमा चिनियाँ प्रभाव बढ्न दिनु भने प्रत्युत्पादक हुन्छ । भारतीय विदेशमन्त्रीको जस्तै अहिलेको चिनियाँ टोलीको भ्रमण पनि कुबेलामा भएको छ । यी दुवै भ्रमणबाट नेपालको विदेश नीति थप चुनौतीपूर्ण हुने जोखिम बढेको छ । अर्थात्, कम्युनिस्ट एकताले देशमा अवसर र चुनौती दुवै बढाएको छ । तैपनि, अहिलेको सहमति दिगो होस् र एउटै पार्टी बन्ने सफलता प्राप्त हाेस् भन्ने शुभकामना !