site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुलाफकलीका ‘सुनील शेट्टी’
Sarbottam CementSarbottam Cement

–अक्षर काका


सौराहा (चितवन) । “बुझ्नुभयो ! म त यहाँको सुनील शेट्टी, सौराहाभरि सबैले मलाई सुनील शेट्टी नै भन्छन् ।”

आवाज रोकिनासाथ उनी बेस्करी हाँसे ।

Prabhu Bank
Agni Group
NIC Asia

सुगठिलो जिउज्यान, पुष्ट हाँसो, घुम्रिएको कपाल । बलिष्ठ हात पाखुरा । यसैकारण समवयीले उनलाई ‘सुनील शेट्टी’ उपमा थमाइदिए, सायद ।

नाम सुनील भएर के गर्नु, शेट्टीका एउटा पनि चलचित्र पनि हेर्न पाएका छैनन् ।  तिनै सुनील शेट्टी अभिनित चलदृष्यका पोष्टर हेर्दै पुलकित हुन्छन्, “हो त  ! सुनील शेट्टीजस्तै पो देखिँदो रहेछु !” 

Global Ime bank

मनमनै हाँस्छन् र फेरि सोच्छन्, “सुनील शेट्टीले त चलचित्रमा न खलनायकलाई तह लगाउँछन्, मैले त यथार्थमै भीमकाय हात्ती तह लगाउँछु । यत्रो अजङ्गको जीव मेरै बलबुतामा चल्छ ।”

सौराहाको हात्तिसारमा भेटिएका यी सुनील शेट्टीको वास्तविक नाम सुनील देवान हो । र, यी पहलवान ४० वर्षीया गुलाफकलीका फीलवान् हुन् ।

“यत्रो अजीवको हात्ती तह लगाउने सुनील शेट्टी हुँदैन त हजुर !” हाँसोले हस्तिशाला छिचोल्यो ।

०  ० ०

रौतहट, कटरिया बजारका रैथाने उनको खास नामचाहिँ मनसुर देवान रहेछ, तर १८ वर्षदेखि सुनीलकै नामले कर्णप्रिय छन् ।

३० वर्षका मनसुर १८ वर्षदेहि हात्ती–सेवामा जुटेका छन् । साँझबिहान उनी गुलाफकलीलाई खुवाउँछन्, दिउँसभरि गुलाफकलीले उसलाई खुवाउँछ  । जिन्दगी मज्जाले चलेको छ भनौँ ।

कसरी हात्तीको सङ्गतमा पुगे त उनी ? 

त्यसका लागि झन्डै २२ वर्षअघि फर्कनुपर्ने हुन्छ । त्यतिबेला मन्सुर जम्मा ७ वर्षको मात्रै थिए, केटाकेटी उमेर । तर, उटुङ्ग्याहा । 

“अरू बालक भन्दा बढी नै बिग्याहा थिएँ,” बाललयमा फर्कन्छन् उनी ।

गाउँमा नामुद माहुते थिए, गफुर । उनी कटरिया बजार हुँदै बिहान बेलुका हात्ती लिएर ओहोरदोहोर गर्थे । कहिले हात्तीमाथि पीपलको स्याउला हुन्थ्यो  । कहिले परालको भारी । कहिले रित्तो हात्तीमाथि गफुर एक्लै बसेका हुन्थे र टुटेफुटेका गीत गुनगुनाउँथे ।

हात्ती ओहोरदोहोर गरेको मज्जाले हेर्थे मन्सुर र मनमनै सोच्थे, “यत्रो हात्तीलाई कसरी लिएर हिँडेको होला ।”

कहिलकाहीँ गाउँमा हात्तीले उपद्रो मच्चाउँथ्यो । मत्ताहात्तीले कुल्चिएर मानिस ठहरै भएको उनले नसुनेका पनि होइनन् । अन्नपातमात्रै होइन, घरगोठ नै उठाइदिएको समाचार बेलाबखत आइरहन्थ्यो ।

तर, गफुर त्यही घरभन्दा ठूलो हात्तीलाई सिम्किनाको भरमा नियन्त्रण लिइरहेका थिए । जहाँ भन्यो त्यहीँ लैजान्थे, अचम्म !

“एकदिन होइन दुई दिन होइन, सधैँ हाम्रो अगाडिबाट हात्ती लिएर हिँडको देखेर मलाई पनि हात्तीमाथि चढेर हिँड्ने रहर भयो,” सुरूआती दिनमा फर्किए उनी ।

रहर पोख्दैमा हात्तीमाथि चढ्न कहाँ पाउनु ? “अहिले सुँडले बेरेर तीन पटक पछार्छ अनि !,” हात्तीमाथि चढ्छु भन्नै हुँदैनथ्यो, अत्याइहाल्थे गफुर । तर पनि निकै कर गरेपछि हात्तीमाथि बस्न पाए उनी ।

“हात्तीमाथि बस्न पाएपछि त संसार जितेझैँ भयो !,” उनको अनुहारमा आभा छायो र पुलकित मुद्रामा सुनाउन तम्सिए उनी ।

हात्ती चढ्ने भनेर दिनहुँ हैरान बनाएपछि मन्सुर अन्ततः गफुरकै चेला भए र घरबाट भागेर हात्तीको सेवामा जुटे ।

१३ वर्षकै उमेरमा होटल पार्कसाइड आएका हुन् उनी, माहुते भएर ।

“यत्रो फुच्चेले पनि हात्ती हिँडाउन सक्छ ?,” सुरूसुरूमा मानिसहरू जिब्रो टोक्थे । तीनका शरीरका रौँ उचालिन्थे । प्रायः विदेशीहरू आइरहन्थे र हाती चढ्न खुब रहर गर्थे । बालक माहुते देखेर आश्चर्यमा पर्थे ती ।

० ० ०

“मानिसभन्दा गुनी जात हो नि हात्ती ! दिएर र खुवाएर मानिस आफ्नो हुँदैन । दियो, खुवायो, माया गर्‍यो भने हात्तीले कहिल्यै विनाश गर्दैन,” उनले हात्तीमाथि नियन्त्रण गर्नुको रहस्य उजागर गरे ।

त्यसो त हात्ती अनुशासनको पनि पर्याय हो, विशाल हात्ती माहुतेले ठोकेका सानो किलामा टाँगिन तयार हुन्छ, सजिलरी ।

तर, माहुते बन्न सजिलो छैन । बिहान उदायचलदेखि साँझ अस्ताचलसम्म हात्तीको सेवामा जुट्नुपर्छ । राती हात्ती नबसुञ्जेल खुवाइरहनुपर्छ । कहिले त बिहानसम्म पनि हात्ती बस्दैन । र, ऊ नबस्दासम्म जागै रहनुपर्छ माहुते ।

“हात्तीको आनीबानीसँग चिनजान गर्नुपर्छ । उसले के खान्छ, कति खान्छ, भोकाएको छ कि, तिर्खाएको छ कि मिहीन ढंगले बुझ्नुपर्छ,” हात्तीसँग हिमचिम बढाउने उपाय सुझाए उनले । 

“हात्तीको माहुते बसको चालकजस्तो भएर हुँदैन, खलासीजस्तो हुनुपर्छ । औधी हेरविचार गर्नुपर्छ,” फेरि हाँसे मन्सुर ।

माहुतेप्रति हात्ती विश्वस्त नहुँदासम्म नियन्त्रण गर्न कठीन हुन्छ रे ! भन्छन्, “माहुते बन्न रहर गरेरमात्रै हुँदैन । अरू जीवजन्तुजस्तो सजिलै नियन्त्रणमा लिन सकिने जात पनि होइन यो । योसँग त रातदिन भिज्नुपर्छ । यसको भाषासँग एकाकार हुनुपर्छ ।”

माहुते बन्ने उत्कट अभिलाषाले होला उनले चाहिँ दश–आठदिनमै हात्तीमाथि आधिपत्य जमाए । र, हात्तीसँगै जिन्दगीलाई डोर्‍याए ।

आफ्नोबाहेक अरू माहुतेलाई देखिसहँदैन हात्ती । झम्टिन्छ, सुँडले बेर्छ र साङ्गलो चुँडालूँलाझैैँ गर्छ ।

“भनेको टेरेन, रिस देखायो भने टाउको, कानमा सिम्किनो लगाएर नियन्त्रणमा लिनुपर्छ,” मन्सुर बताउँछन् ।

० ० ०

सामुन्नेमा उभिएर मन्सुरले गुलाफकलीको दुवै कानको टुप्पो समाते । गुलाफकलीले सुँडलाई नागबेली आकारमा ढाली र पाहुना सजिलैसँग पिठ्युँमा उकाली । पाहुना चढ्नेबित्तिकै उसले सुँडलाई नरसिंह आकारमा बदली र माथि फर्काएर नमस्कार गरी । 

केही बेरपछि गुलाफकलीले अगाडिको खुट्टा थोरै उचाली । त्यहीँ टेकेर ओर्लियो आगन्तुक ।

“खुट्टा चलाएपछि मानिस ओर्लन आँट्यो ठान्छे र खुट्टाको सहायताले झर्न सघाउँछे,” गुलाफकलीले पाहुना ओह्रालेको पनि देखाए मन्सुरले ।

हात्तीको बलशाली अंग सुँड नै हो र त्यसले हातको काम गर्छ । अजङ्गका बोटवृक्षलाईसमेत सुँडले सजिलै उखेल्न सक्छ । गुलाफकलीले पाहुनालाई त्यहीँ सुँडबाट चढाउँछे ।

“माहुते सामुन्नेमा नउभिउञ्जेल यसले चढाउन्न । र हिँड् नभनुञ्जेल खुट्टा अगाडि बढाउन्न,” माहुते–हात्तीको सम्वादसमेत बताए उनले ।

हात्तीलाई बेलाबखत मात चढ्छ । कानभन्दा मुनि आँखाभन्दा माथि गान्निन थालेपछि भने मानिस सतर्क बस्नुपर्छ । डरलाग्दो गरी गानिएर तपतपी पानी चुहिन थालेपछि भने माहुतेहरू त्राहीमाम् हुन्छन् । त्यसलाई मात चुहिएको (स्थानीय भाषामा भट्टि चुहिएको) भनिँदो रहेछ । शरीरमा सन्तुलन बिग्रिएको, गर्मी चढेको, शारीरिक संसर्गको इच्छा भएको बेला त्यसरी गानिन्छ र सतर्क हुन्छन् माहुते । हातीले विनाशलिला मच्चाउने पनि त्यस्तै मात चुहिएको बेलामा हो ।

हात्तीको शारीरिक संसर्गबारे माहुतेलाई पनि थाहा हुँदैन । अन्य पशुकोझैँ ढोईले रतिआवेग देखाउँदिन पनि । मत्तालाई नै थाहा हुन्छ । मत्तासँग संसर्ग भए नभएको पनि विरलै थाहा हुन्छ । बच्चा पैदा हुन २४ महिना लाग्छ । एकपटकमा एउटामात्रै बच्चा जन्माउँछ । र, जन्मिएको बच्चालाई राजमहाराजाको नाम दिइन्छ । 

“त्यसबारे भाले आफैँलाई ज्ञात हुन्छ र निकुञ्जबाट आएका हात्तीसँग संसर्ग भएर बच्चा जन्मन्छ,” सुनाए उनले ।

दिनको २० केजी धान र २ भारी पराल गुलाफकलीको नियमित खान्की हो । त्यसबाहेक हरिया स्याउला, घाँसपात बेलाबखत खुवाइरहनुपर्छ । स्याउलामा पीपलको पात गुलाफकलीको प्रिय खुराक हो ।

० ० ०

“हात्तीले कति कमाउँछ त ?”

प्रश्न सुन्नेबित्तिकै हाँसे मन्सुर । केहीबेर घोरिएर जवाफ फर्काए, “त्यस्तै ९ हजार तलब छ हजुर । यसो टिप्ससिप्स पाएर गुजारा चलेको छ भनौँ ।”

दुईवटी श्रीमती र ६ सन्तान रहेछन् उनका ।

“दोस्रो बिहे किन गर्नुभएको त ?”

धेरैबेर गम्भीर देखिए मन्सुर ।

भन्न थाले, “अरू होइन हजुर दिदीबहिनी नै बिहे गरेँ ।

सुरूमा गरिब परिवारकी जेठी बिहे गरेका थिए मन्सुरले । तर, कान्छी छोरी बिहे गर्नेबेलामा ससुराले दुखेसो गर्न थालेछन्, “तिलक दिन सम्पत्ति छैन ज्वाइँ । के गर्नेहोला ? छोरी बूढी बस्ने भई !”

“कान्छी पनि मै लैजान्छु नि त” भनेर ल्याएछन् उनले ।

“हाम्रोतिर दाइजोमा धेरै सम्पत्ति माग्छन् । ससुराले दिन सक्नुभएन । मन पनि परेको थियो, कान्छी पनि मैले नै ल्याएँ,” मच्चिएर हाँसे उनी ।

० ० ०

गुलाफकलीले पाहुनामात्र बोक्दिन । हात्ती दौड, पानी फ्याँक्ने आदिमा भाग पनि लिन्छे । पानी फाल्नेमा एकपटक द्वितीय भएकी छ । हात्तीको सरदर आयु ७० वर्ष हो, ४० वर्षकी भइसकी गुलाफकली । जवानजसरी दौडन पनि सक्दिन ।

उनले हात्तीको भाषा बनाएका छन् । हात्तीलाई बसाल्नुपर्‍यो भने ‘साम बैठ्’ भन्छन् उनी । ‘पिछु बैठ्’ भन्दा पछाडिबाट मानिस चढाउँछ हात्तीले । ‘मोहिल’ भन्दा उभिन्छ । खानेबेलामा ‘धर् समेट्’ भन्छन् । केही सामग्री समाउनुपर्‍यो भने ‘ले बेटा धर्’ भन्दा रहेछन् ।

“हुन त पोथी हो, तै पनि मायाले केटा नै भन्छु, ऊ पनि खुसी हुन्छे,” ओठमा खँदिलो हाँसो छायो ।

विकास मिश्र हात्ती धनी हुन् । गुलाफकलीबाहेक उनका अरू तीन हात्ती छन् । एउटा हात्तीको मूल्य ५० लाख भारतीय रूपैयाँ पर्छ ।

कुराकानीका क्रममा उनका दुईवटा सानासाना छोरा उनको नजिकै आए ।

“हात्तीकै सङ्गत पाएर होला, यी पनि माहुतै नै पो बन्लान् जस्तो छ त, बाबुको बिँडो समाउनै पर्‍यो नि हैन ?,” कुराकानी बिट मारे उनले ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०७४  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC