एजेन्सी । फ्रेन्च लिग फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले स्ट्रासबर्गलाई ५ – २ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन एडिन्सन काभानीले दुई गोल गरे । यस्तै जुलियन ड्राक्सलर, नेयमार र एन्जल डी मारियाले समान एक एक गोल गरे । स्ट्रासबर्गका जीन अहोलू र स्टेफेन बहोकनले एक एक गोल फर्काए ।
पार्क डी प्रिन्स स्टेडियममा सुरुवाती गोलको अग्रता उल्ट्याएर पिएसजीले जित निकालेको हो । खेलको छैटौं मिनेटमा जीनले गोल गर्दै स्ट्रासबर्गलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ११ औं मिनेटमा जुलियनले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए । खेलको २१ औं मिनेटमा नेयमारले गोल गरेपछि पिएसजीले २ – १ को अग्रता बनायो । यस्तै खेलको २२ औं मिनेटमा डी मारियाले एक गोल गर्दा पिएसजीले पहिलो हाफमा ३ – १ को अग्रता बनायो ।
दोस्रो हाफको ६७ औं मिनेटमा स्ट्रासबर्गका स्टेफेनले गोल गर्दै खेल ३ – २ मा ल्याए । तर, खेलको ७३ औं मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई ४ – २ को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले ५ – २ को फराकिलो जित निकाल्यो ।
यो जितपछि पिएसजीले २६ खेलबाट ६८ अंक जोडेको छ । पिएसजी दोस्रो स्थानको मोनाको भन्दा १२ अंकले अघि छ । शनिबार राति नै डिजोनलाई ४ – ० ले हराएको मोनाकोको ५६ अंक छ । ३० अंक जोडेको स्ट्रासबर्ग लिगको १४ औं स्थानमा छ ।