– दृश्य
जब एक्कासि बिहानै मेरा आँखा खुले–– हो त्यही बेला थियो–– जब मलाई अचानक बोध भयो कि म सारा चिजको केन्द्र रहेछु । म स्वयं भगवान रहेछु । म पो रहेछु सबथोक । यस्तो लाग्यो– मानौं मैले महानिर्वाण प्राप्त गरेको छु ।
जीवनमा पहिलोपटक भगवान् भएको– के गरूँ, कसो गरूँ भयो । म भगवान् रहेछु भनेर थाहा त भयो तर चलनचल्तीका कुन भगवान भनेर पत्तो पाउन सकिनँ । शिव, कृष्ण, विष्णु, जिजस, अल्लाह, बुद्धमध्ये एक हुँ जस्तो लाग्यो तर को भनेर ठम्याउनै गाह्रो भयो । बाघको छाला छ कि भनेर यसो तल हेरेको– हिजो साँझ लगाएको कट्टु रहेछ । माथि त्यही सेती अमुलको गन्जी । घाँटीमा सर्प दौडिएको हो कि भनेर ऐना हेरेको- जनै अल्झेको रहेछ । महादेव हुँ कि भन्ने आशा छिनभरमै तुहियो । मैले सबै भगवान सर्सती चेक गरें ।
महादेव- हैन रहेछु !
जिजस- हैन रहेछु !
अल्लाह- हैन रहेछु !
कृष्ण- हैन रहेछु !
कामदेव- हैन रहेछु !
सबै छुटपुटका भगवान- हैन रहेछु !
मान्छे मात्र पनि हैन रहेछु !
हत्तेरी !
प्रमाण केही थिएन । प्रमाण केही नभेटिएपछि भगवान हैन कि क्या हो भनेर सोचेको, भित्रैदेखि आवाज आयो । सारा संसार धपक्क बल्यो । मलाई एक्कासि आत्मज्ञान भयो कि म साँच्चिकै भगवान् हुँ । त्यो अनुभव शतप्रतिशत सही थियो । म भगवान् त हुँ तर कुन प्रजातिको ? यही प्रश्नले दिमाग हल्लायो । भगवान् हुन पनि तनाव रहेछ । फ्रस्टेटेड भएँ, डिप्रेस्ड भएँ ।
फिल्ममा देखाइने 'शक्ति'झैँ केही प्रयोग गर्नुपऱ्यो भनेर सोचें । झ्यालबाहिर हेरें । चन्द्रमा अझै रहेछ । त्यसको दाग हटाइदिनु पऱ्यो भनेर इरेजर लगाएजस्तो गरें । दाग हटेन । पहिलो गाँसमै ढुङ्गा । कोठामा भएका सामान यताउति पार्ने प्रयास गरें । अहँ ! केही पनि टेस-मटेस भएनन् । तौल धान्न गाह्रो भयो कि भनेर कम तौलका सामान हल्लाउने प्रयास गरें । अहँ ठाउँबाट एक सुता पनि यताउता सरेनन् । गर्दागर्दा कपास पनि हल्लाउन नसकेपछि भगवान् हुनुको लज्जाबोध भयो । भगवान हुनुका प्रमाण एकपछि अर्को फेल हुँदै थिए । म कतै भगवानबाट फेरि मानिस बन्ने त होइन भन्ने डरले घर हाल्यो ।
तुरुन्त गुगल गरें।
- भगवान हुनासाथ गर्नु पर्ने कामहरु
- अपनाउनु पर्ने सावधानीहरु
- भगवान् भएको/नभएको कसरी पुष्टि गर्ने ?
- आत्मबोधको कति समयपछि टाउकोमा श्रीपेचजस्तो आउँछ ?
'नो रिजल्ट्स फाउन्ड' भन्यो ।
केही उपाय नलागेपछि श्रीमतीको सहारा लिने सोचें । गएर सबै कुरा भनें ।
श्रीमतीले एकै सासमा मेरा कुरा हावामा उडाइदिई र भनी, "ह्या !! मान्छेलाई यहाँ कत्रो तनाव छ । काम भ्याइनभ्याइ छ । सारा चिज लथालिङ्ग छ । कसैलाई भने बिहान बिहानै भग्वान् हुन पऱ्या छ । हिजो साँझ अल्लि धेरै पिउनुभाथ्यो, त्यसकै ह्याङओभर होला । जुन पायो त्यही नपिउनू भनेर जति भने पनि लाग्ने हैन । के मान्छे होला !"
श्रीमतीले पत्याइन । जसले मलाई संसारमा सबैभन्दा धेरै बुझ्छ, उसैले नपत्याउँदा मन दुख्यो । कमसे कम उसले त पत्याउनु पर्ने । ऊ आफैं पनि भगवानकी श्रीमती हुन पाउथी । पार्वतीझैँ भगवानको दाहिने हुँदा सोसाइटीमा कत्रो इज्जत हुन्थ्यो । उसले यत्रो ठूलो अवसर गुमाई । आफू भगवान् भएको आफ्नै श्रीमतीले नपत्याउँदा कतै एकान्तमा गएर रोऊँ जस्तो भयो । तर, झ्याट्ट सम्झिएँ छोरोलाई । ब्याचलर सक्नै लागेको २४ वर्षे केटो आफ्नो उमेरभन्दा बढी परिपक्व थियो । ऊसँग तार्किक बहस गर्नुपऱ्यो भनेर ऊकहाँ गएँ ।
मेरो कुरा सुनेर ऊ छक्क पऱ्यो । आमाभन्दा जोडले पड्कियो, "हरे बुवा ! आजभोलि तपाईं जे पनि बोल्न थाल्नुभएको छ । कैले के बोल्नुहुन्छ, कैले के । तपैंका कुराहरुमा लजिक कम, फ्यान्टेसी बढी हुन्छन् । पिउन कम गर्नुस् । कलेजो खराब भइसकेको कुरा अस्ति सुधांशु केसी अंकलले पनि भनिसक्नुभयो ।"
म गम्भीर भएँ । शुधांशु भाइले कलेजो परीक्षण गरेर ठूलै तनाव तेर्स्याइदिएका थिए । खानेमात्रै होइन, सुँघ्न पनि बन्देज लगाइसकेका थिए । अरे ! भगवानको कलेजो पनि बिग्रिन्छ ? ह्वाट अ ननसेन्स ।
भनें, "हेर् केटा । यसपालि म सिरियस छु । म साँच्चिकै भगवान रहेछु के ! बिहान उठ्दा मलाई आत्मबोध भयो । तैंले पत्याउनुपर्छ । जजमेन्टल नभएर एकपटक सोच् त ।"
मेरा कुरा मुखबाट निस्किएपछि भुइँमा नखस्दै उसले च्याप्प समात्यो र हावामै उडाइदियो । भन्यो, "तपैंले भनेको कुराको कुनै वैज्ञानिक आधार छैन । 'भगवान्' स्वयं छन् कि नाइ भनेर विज्ञानले भन्न सकेको छैन । तपैं आफैं साइन्स पढ्या मान्छे । एउटा रिटायर्ड ५५ वर्षको मानिस एकदिन अचानक उठेर कसरी 'भगवान्' हुन सक्छ ? म मान्दिनँ । भगवानको हठ छोड्नुस, मान्छे बन्नुस् ।"
म पनि उसकै सिद्धान्तमा अडिएर झर्किएँ, "विज्ञानले मान्न नसकेको कुरा सबै गलत हुन्छन् ? नट एभ्रिथिङ द्याट क्यान नट बी प्रुभ्ड इज अ लाई सन् । के थाहा- इभोलुसनककै निरन्तरता पो हो कि यो सब ? एककोषीय जीवबाट मान्छेसम्म बन्न सकियो भने मान्छेबाट भगवान् बन्न किन नसक्नु ? म मान्छु- प्रकृया लामो होला । विज्ञानले एकैदिनमा नमान्ला तर संसारमा कुनै पनि कुरालाई सीधै नकार्न सकिन्न । सत्य र असत्यबीच एउटै अक्षर त फरक छ ।"
छोरो ङिच्च हाँस्यो । मलाई उडाउनु पर्दा बज्याले सधैं भएभरका दाँत देखाएर ५ सेकेन्डसम्म ङिच्च गरिरहन्छ । त्यसपछि ओठ र दाँतलाई पूर्ववत् स्थानमा राख्दै उसले भन्यो, "फिल्मका डायलग जीवनमा काम आँउदैनन् बुवा । हिजोको ह्याङओभर उत्रिनुभन्दा पहिले यो 'भगवान'को ह्याङओभर उत्रिनेछ । म लागें कलेजतिर ।"
म भन्दै थिएँ, "फिल्मका डायलग पनि वास्तविक जीवनबाटै आउने हुन्, बुझिस् ?"
ऊ सुन्दै नसुनी छिनमै अलप भयो । आफ्नै वीर्यबाट हाम्फालेर संसारमा उत्रिएको आफ्नै प्राइभेट छोरोले बाल हान्यो । मान्छेबाट भगवान् हुन गाह्रो रहेछ । दिमागमा पो केही असन्तुलन भयो कि भनेर सोचें । पागलपन अवश्य नहोला ।
त्यो आत्मबोध ! त्यो प्रकाश ! आहा !! त्यो कसरी गलत होला र ? अहँ ! दिमाग एकदम ठीक ठाउँमा थियो ।
अनि त्यसपछि पत्याउनै नसकिने घटना भयो । भन्न पनि लज्जाबोध भइरहेको छ ।
बूढीले भनी, "जानुस् बरु बजारबाट तरकारी किनेर ल्याउनुस् ।"
स्वयं भगवानलाई तरकारी किन्न पठाइएको यो इतिहासको पहिलो कालो घटना हुनुपर्छ । योभन्दा घोर अपमान ३३ काेटी देउता कसैले भोगेका छैनन् आजसम्म । अनि त्यही बेला ठ्याक्कै दिमागमा एउटा कुराले बज्र हान्यो ।
ह्वाट इफ म नयाँ र लेटेस्ट भगवान हुँ ? नयाँ ब्रिडको । पुराना भगवानहरुबाट आजित भएर नयाँ भगवान् उत्पादन भएको पनि त हुन सक्छ । पुराना भगवानहरु यसै पनि गोज्याङ्ग्रे छन् । सृष्टि ब्रह्माजीले बनाइदिएपछि पुराना भगवानहरुले के नै गरे र ? खाली गाँजा तान्ने, अप्सराहरुबीच सुखसयलको जिन्दगी बाँच्ने, एक-आपसको कुरा काट्ने, भक्तहरुमा टकराव ल्याउन धर्म बनाउने, दानवहरुसँग भित्री चलखेल गर्ने । सृष्टिप्रति कसैलाई चासै छैन । एउटा पृथ्वीबाहेक अन्त कतै जीवन फैलाउन पनि सकेनन् । त्यही पृथ्वीको हालत पनि यस्तो छ । ग्लोबल वार्मिङले सक्न लागिसक्यो । भगवानहरुको अत्यन्त खराब प्रदर्शनपछि नयाँ भगवानको खाँचो देखिएकोले यसो गरेको हो कि प्रकृतिले ?
यो सब सोचिरहँदा भित्रबाट 'हो हो, सही भनिस्' भन्ने आवाज आइरह्यो । भनेपछि म नयाँ ब्रिडको भगवान् रहेछु । त्यो कुरा पक्काजस्तै भयो ।
तर, दुनियाँलाई विश्वास दिलाउने कसरी ? आफ्नै परिवारले नपत्याएपछि अरुलाई बुझाउन सजिलो छैन ।
"दुई किलो आलु, एक किलो प्याज, एक पाउ टमाटार र एक मुठा धनियाँ ।"
लौन ! कसरी यस्तो वाक्य निस्कियो मुखबाट ? कस्तो लाचार भगवान् भएँ म ? मभन्दा अघिका कुनै पनि भगवानले यस्तो अवस्था भोग्नु परेन होला ।
दिक्क मानेर पशुपति गएँ । आर्यघाट पल्लतिर सिँढीमा बसेर मन्दिरतिर हेर्दै मनमनै भनें, "के छ दोस्त ? अब त एउटै लेभलमा आइयो क्यार ।"
महादेवले बोलेजस्तो लाग्यो, 'ओ प्लिज, भगवान् हुनका लागि मानिसले पुज्नुपर्छ डियर । एकैदिनमा भगवान् हुन सजिलो छैन । हामीलाई पनि यो सफलता हासिल गर्न करोडौँ वर्ष लाग्यो ।"
म कड्किएँ, "भगवान हुँ भन्दैमा धेरै ठूला कुरा नगर शिव । मानिसले तिमीलाई पुज्छन् भनेर तिमीमा भ्रम छ । उनीहरु त आफ्नो स्वार्थका लागि आएका हुन तिमीकहाँ ।"
महादेवले शान्त भएर भने, "घिसिपिटी फिल्मी कुरा भयो यो त । नयाँ डायलग केही छैन ? यो त एक्स्ट्रिमिस्ट, नास्तिकहरुले सधैं भन्ने कुरो भो ।"
मलाई जङ चल्यो । भएभरको रिस पोखें, "साँच्ची, तिमीहरु भगवानलाई कसैले पनि पुज्दैनन् । मानिस, पशु, सजीव, निर्जीव कसैले पनि । त्यो त ढुङ्गालाई पो पुजेका । ढुङ्गाको आडमा आफूलाई महान् नठान । सोच्छु- पृथ्वीमा ढुङ्गा नभइदिएको भए केको आडमा आफ्नो दम्भ देखाउँथ्यौ होला ? यी बाँदर, परेवा, मृग सबै आहाराका लागि यता डुल्छन् । मानिस भीख माग्न, पाप चोख्याउन, माफी माग्न आउँछन् । तिमी सबैको स्वार्थपूर्तिको केन्द्रबिन्दु हौ । अब म आएको छु । सबै कुरा बद्लिनेछन् । अराजकता हट्नेछ । सन्तुलन छाउनेछ ।"
महादेव सधैंझैँ निदाएछन् । केही उत्तर दिएनन् त्यसपछि ।
ढोकानेरै कृष्ण भेटिए । भने, "ओहो नयाँ भगवान जी ।"
"आहा !! सुन्दा पनि कति आनन्द आउने ! के छ कृष्णजी ?"
"ठिकै भनम् । अलि डिप्रेस्ड छु आजभोलि । त्यसैले महादेवकहाँ 'जी' लिन आएको ।"
"म भगवान भएको कसैले पत्याउलान् जस्तो लागेन दोस्त । राय-सल्लाह दिनुपऱ्यो," दाहिने हातमा भएको तरकारी देब्रे हातमा सार्दै मैले भनें ।
"नो कमेन्ट्स !"
"त्यसो नभन दोस्त । अर्जुनलाई त्यत्रो सहयोग गऱ्यौ । मलाई पनि गर ।"
"त्यो कुरा नसम्झाऊ यार । म पछुतोमा जल्दैछु । मेरो कुरा अर्जुनपछि कसैले बुझ्न सकेनन् । किताब बनाएर प्रकाशकहरुमात्र मोटाए । गलत तरिकाले आफ्नो प्रयोगमा ल्याए । आई एम डिप्रेस्ड । म तिमीलाई केही सहयोग गर्न सक्दिनँ ।"
"कर्म गर, फलको चिन्ता किन गर्छौ ? हुन पनि तिमीबाट मैले के आशा राख्नू । आफ्नै स्विटहार्टलाई त्यसरी धोका दिने मान्छे । जाऊ मुरली बजाएर बस ।"
"*क यु ।"
म झनक्क भएर निस्किएँ त्यहाँबाट । यी कथित भगवानहरुबाट के आश गर्नु छ र ! आफ्नो सबैभन्दा मिल्ने साथीकहाँ गएँ ।
"लोल लोल । सही हो । तँ फेरि जागिस् दोस्त । एकपटक ३५/३६ वर्ष हुँदा यस्तै केही भन्दै हिँड्या थिस् । म प्रधानमन्त्री हुँ भन्या थिस् । हामीलाई आत्तिने बनाथिस् लगभग दुई महिनासम्म । तेरो परिवारले औषधिपानी गरेपछि अलि ठेगानमा आइस् । तँ पहिलेदेखि नै साइको होस् के । लोल ।"
"हैन यार, यस्पालि म एकदम सिरियस छु ।"
"प्रधानमन्त्रीसम्म त ठिकै थियो । यो भगवानचाहिँ अल्लि कम्प्लिकेटेड कुरा भो यार ।"
"हैन यार, यसपालि म एकदम सिरियस छु । तैले पत्याइदिए मात्र पनि पुग्थ्यो । एकजना तँमात्र भक्त भए पनि मलाई केही गुनासो हुने थिएन ।"
"नकरा मु*"
बूढी, छोरो, प्रतिस्पर्धाका केही थान भगवान्, आफ्नो सबैभन्दा असल मित्र आदिले नबुझिदिएपछि मैले योजना बदलें । व्यक्तिगत दायराबाट बाहिर निस्केर सार्वजनिक आम व्यक्तिसँग भन्नु पऱ्यो ।
र, उभिएँ रत्नपार्कमा । त्यहाँभन्दा आम मानिस अरु कहाँ भेट्टिएलान् र !
भीडलाई धेरैबेर हेरिसकेपछि एकजना मानिस छानें, "एकछिन एउटा एकदम गम्भीर कुरा गर्नु थियो हजुरसँग ।"
"भन्नुस् न । मसँग प्रशस्त समय छ ।"
मलाई धक लागिरहेको थियो भन्न । कसरी भनूँ ? के भनूँ ? मजाक उडायो भने ? सबैलाई जम्मा गरेर बेइज्जत गऱ्यो भने ?
"कुरा के हो भने म भगवान हुँ ... यो कुरा..."
मैले पूरा बोल्न नपाउँदै ऊ बोल्यो, "लौ हो र ? म पनि त भगवान् हुँ ।"
खुसीको सीमा रहेन । कस्तो संयोग ! लाइफ इज ब्युटिफुल !
"भगवानप्रसाद अधिकारी, घर प्युठान ।"
शिट् !
त्यहाँबाट कुलेलम ठोकें । जिन्दगीको सबैभन्दा डिप्रेसिङ दिन थियो आज । भगवान् भएर शुरु भएको दिन अहिले भयंकर दुस्वप्नजस्तो अवस्थाबाट गुज्रिँदै थिएँ ।
आज म झ्याप हुन्छु । अरु नशामा उत्रिन झ्याप हुन्छन्, म नशाबाट उत्रिन झ्याप हुन्छु । यदि यो सब नशा नै रहेछ भने ह्याङओभरबाट मुक्त हुन्छु ।
अनि लागें भट्टी खोज्दै । चावहिल मित्रपार्क पछाडिको गल्ली पुगेछु । त्यहाँ ठिङ्ग अगाडि उभियो 'करुणा खाजा घर' ।
अल्लि हाइ लेभलको नयाँ भट्टी हुनुपर्छ, पूरा प्याक थियो । धूवैधूवाँ । भिजिबिलिटी जिरो ।
"भाइ एक फुल खुकुरी रम । एक प्लेट सुकुटी । २ वटा चुरोट ।"
बसें अनि पिउन थालें । भित्रबाट कलेजो आजित भएर बोलेजस्तो लाग्यो, "पहिलो जुनीमा केही पाप गरेको हुनुपर्छ, जो यो सजाय भोग्दैछु ।"
एक चौथाइजति रम सकेपछि चुरोट सल्काएँ । भित्रबाट फोक्सो बोल्यो, "काठमाडौँको हावा त छँदैछ, त्यहीमाथि यो सब । पहिलो जुनीमा केही पाप गरेको हुनुपर्छ, जो यो सजाय भोग्दैछु ।"
एकछिनपछि पिसाबले पेल्यो । भित्रबाट मृगौला बोल्यो, "त्यो आइफोन एक्स आ'को बेला अर्को शरीरमा जान पाइन्छ भनेर कत्रो आश पलाको थ्यो, सब बेकार भयो । अब आइफोन एक्स-एक्स कहिले आउने हो ! पहिलो जुनीमा केही पाप गरेको हुनुपर्छ, जो यो सजाय भोग्दैछु ।"
अनि सबैले एकैचोटि बोले, "यस्ता पनि भगवान् रे !"
मेरो पारो यसरी तात्यो कि सीमा रहेन । गर्दागर्दा आफ्नै शरीरले समेत पत्याएन । अनि गएर बाँकी रम घ्याम्पो हानें- घट घट घट घट घट घट ! म पूरै बेहोसझैं भएँ । के सनक चढ्यो कुन्नि- चिच्याएर कराउँदै टेबलमाथि चढेँ ।
'हे सम्पूर्ण हुतिहारा मानव जातिहरु । नयाँ युग आएको छ । पुरानो युगले अलबिदा भनिसक्यो । यो सृष्टि, यो जगतमा नयाँ उत्तरआधुनिक भगवानको जन्म भएको छ । ब्रह्माण्डको पुछारमा रहेको यो नीलो डल्लो पृथ्वीमा आज तिमीहरुले देख्नेछौ एउटा नयाँ भगवान् । तिमीहरुको रक्षक, तिमीहरुको उद्धारकर्ता, जसले हटाउनेछ पृथ्वीबाट अन्धकार । तिमीहरुका पुराना भगवानहरुको डेट एक्सपायर भइसक्यो । र, उनीहरुको स्थान लिन कोही अरु नै आइसकेको छ । त्यो मान्छे हुँ म । म आज बिहान भगवान भएँ । म मान्छे रहिनँ । म हुँ भगवान् । मैले डोऱ्याउनेछु अब सम्पूर्ण ब्रह्माण्डलाई नयाँ दिशातर्फ । आओ सम्पूर्ण मानिसहरु मेरो चरणमा र मलाई आफ्नो भगवान् स्वीकार गर । म आज यो विशिष्ट टेबलबाट सम्पूर्ण संसारलाई घोषणा गर्छु कि मै हुँ भगवान् । नयाँ भगवान् ।"
त्यसपछि भट्टीका लगभग सबै जँड्याहाहरु एकैपटक उठे । वातावरणमा सन्नाटा छायो । भिजिबिलिटी लगभग जिरो थियो ।
र, एकै स्वरमा लर्बराउँदै जोड-जोडले भने, 'हो हो हो । तपैं नै हो भगवान् । हामी सबै हजुरलाई भगवान स्वीकार गर्छौ । हजुरलाई कोटिकोटि नमस्कार !"
मलाई लाग्यो- यो संसारमा भट्टीजत्तिको पवित्र मन्दिर र त्यो मन्दिरमा आउने भक्तालुजत्तिको समझदार र विशिष्ट अनुयायी कोही छैन ।