site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

प्रतिनिधि सभाको चुनाव सकिएको करिब अढाइ महिनापछि जनादेश प्राप्त दलले सरकार बनाउने अवसर पाएको छ । प्रतिनिधि सभामा सुविधाजनक बहुमत भएको कम्युनिस्ट गठबन्धनका तर्फबाट नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । मूलतः नेपालको संविधान, २०७२ मा रहेको महिला प्रतिनिधित्व सुनिश्चित् गर्ने प्रावधानका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको हो । सायद, अर्को निर्वाचनपछि यति लामो समय लाग्नेछैन । यसैगरी, संघीयता कार्यान्वयनका क्रममा प्रदेश स्तरमा पनि विधायिका र कार्यपालिका गठन गर्नुपर्ने भएकाले केही समय अलमल भएको हुनुपर्छ । जेहोस्, अन्ततः जनादेशअनुसार सरकार निर्माणको अवसर जुटेको छ नवनियुक्त प्रधानमन्त्री ओलीलाई पनि देशलाई संक्रमणकालीन विकृतिबाट मुक्त गरेर अगाडि बढाउने अवसर प्राप्त भएको छ । संयोग, संविधान निर्माणपछि पहिलो प्रधानमन्त्री भएका ओली नै संविधानअनुसार संघीयताको कार्यान्वयनपछि पनि पहिलो प्रधानमन्त्री हुनपुगेका छन् ।

नयाँ सरकार गठनसँगै देशमा करिब दुई दशक लामो संक्रमणको पनि आधिकारिकरूपमा अन्त्य भएको छ । यद्यपि, संक्रमणकालीन न्याय सम्पादन भने बाँकी नै छ । सशस्त्र द्वन्द्वको एउटा पक्ष माओवादीको प्रमुख घटक पनि सरकारमा सामेल हुने निश्चित छ । प्राविधिक वा अन्य कुनै कारणले बाधा नभए छिटै नै एमाले र माओवादी केन्द्र मिलेर एउटै कम्युनिस्ट पार्टी पनि बन्नेछ । अर्थात्, प्रधानमन्त्री ओलीले संयुक्त सरकारको अप्ठेरो पनि सामना गर्नुपर्ने छैन । संसद्मा विपक्ष पनि अपेक्षाकृत कमजोर भएको छ । समाजमा स्थिरता र विकासको अपेक्षा प्रबल छ । प्रदेश र स्थानीय तहमा पनि कम्युनिस्ट गठबन्धनकै वर्चस्व छ । यसैले सरकारका कार्यक्रम लागु गर्न खासै कठिनाइ हुने कारण देखिँदैन । चीनसँग निकट मानिने ओलीलाई रिझाउने प्रयास भारतले पनि सुरु गरिसकेको छ । अतः इमानदारीसाथ देश र जनताका हितमा काम गर्न चाहने हो भने प्रधानमन्त्री ओलीका लागि सबै अवसरका ढोका खुलेका छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ सरकारले विकासलाई प्राथमिकता त दिनुपर्छ नै तर पहिले देशमामा व्याप्त विकृति उन्मूलन र नियन्त्रणमा बढी ध्यान केन्द्रित गर्नु जरुरी देखिन्छ । देश अहिले लामो संक्रमणले फैलाएको विकृतिबाट ग्रस्त छ । समाजमा एक प्रकारको निराशा र अराजकता छ । प्रशासन संयन्त्रमा जताततै भ्रष्टाचार र अनुशासनहीनता छ । राजनीतिमा नैतिकताको खडेरी नै परेको छ भने सहिष्णुताको पनि अभाव छ । आर्थिक अनियमितता सबैतिर व्याप्त छ । यस्तो अवसरमा नयाँ प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठनदेखि नै नयाँ सन्देश दिनसक्नुपर्छ । मन्त्रिपरिषद्मा सामेल हुने अनुहारबाट नै आउने दिनमा सरकार कसरी सञ्चालन हुन्छ भन्ने अनुमान जनताले लगाउनेछन् । माओवादी विद्रोहकालका ज्यादतीहरूमा न्याय दिन नसकेकोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार समुदायले आलोचना गरिरहेको छ । मन्त्रिपरिषद्मा मानवअधिकार हननका विषयमा विवादमा परेका व्यक्तिहरू सामेल गरिए भने त्यसको सकारात्मक सन्देश जानेछैन । यसैगरी, आर्थिक विवादमा परेका व्यक्तिलाई पनि समाजले सहजरूपमा लिनसक्तैन ।

नेपालका राजनीतिक नेताहरूमा विगतमा सत्ता उन्माद र असहिष्णुता प्रकट हुनेगरेको छ । कम्युनिस्ट नेता पनि यसको अपवाद देखिएका छैनन् । अर्कातिर, यसपटक जनताले सुविधाजनक बहुमत दिएका छन् । यही उन्मादमा लोकतान्त्रिक मर्यादा मिच्ने काम भयो भने समाज सशंकित हुनेछ । देशबाट अराजकता, अनुशासनहीनता, अनियमितता र दण्डहीनता अन्त्य गरेर लोकतान्त्रिक जीवन पद्धति र विधिको शासन कायम गर्ने अवसर प्रधानमन्त्री ओलीको सरकारले पाएको छ । सहिष्णु, स्वतन्त्र, अनुशासित तथा भ्रष्टाचार मुक्त समाज निर्माण गर्नसकेमात्र समृद्धिको सपना पनि पूरा हुनसक्छ । यसैले प्रधानमन्त्री ओलीसमक्ष अहिले अवसरै अवसर छ । चुनौती त राज्य सञ्चालन गर्दा सधैँ नै रहिरहन्छ । प्रधानमन्त्री ओली नेतृत्वको कम्युनिस्ट सरकार देशमा नयाँ लोकतान्त्रिक संस्कृति निर्माण गर्न सफल होस् । शुभकामना !

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०७४  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC