साहित्य र कला

कोरसका ती दिन, नायकका यी दिन

कोरसका ती दिन, नायकका यी दिन

होचो नभए पनि जिउ अग्लो थिएन । कुरुप नभए पनि ज्यान आहा ! भन्ने थिएन । हिरो भन्नेबित्तिकै सर्लक्क परेको अग्लो कद हुनैपर्ने, बलिष्ठ र आकर्षक हुनैपर्ने मान्यता थियो । त्यसैले रहर भए पनि दीलिपले कहिल्यै सपना देखेनन् हिरोको । रहर गर्नु र सपना देख्नु सायद फरक कुरा हुन् । सपना देख्नेहरु त्यसलाई भेट्न मेहनत गर्छन्, रहर अक्सर समयसँगै छोडिँदै जान्छन् । 

पृष्ठभूमिमा नाच्दानाच्दै दीलिपको दुई वर्ष बितिसकेको थियो । राजेश हमाल, धिरेन शाक्य, सरोज खनाल अगाडि नाच्थे । दीलिप पछाडिबाट राजेश, धिरेन र सरोजकै नक्कल गर्थे । हलमा जाँदा आक्कलझुक्कल अनुहार देखिन पनि सक्थ्यो, कति चलचित्रमा त देखिँदैन पनि थियो । डिभिडिमा ‘पज’ गरेर हेर्नुपथ्र्यो आफूलाई धित मरुञ्जेल हेर्न । 

दीलिप २०५० को दशकको पहिलो र दोस्रो वर्षतिर फर्किन्छन्– थोरै चलचित्र बन्थे । कोरसमै डान्स गर्न पाउनु पनि भाग्य ! त्यसमा पनि अघिल्लो ‘रो’ मा नाच्न पाउनु त सौभाग्य ! त्यसमै चित्त बुझाइरहेका थिए ।  

२०५२ सालको एनटिभी नाइटमा दीलिपले ‘सगुन’ चलचित्रको गीत ‘आगोे लाग्यो दिलैमा दमकल बोलाइदेऊ...’ मा नाच्ने अवसर पाए । उनले त्यो गीतको डान्समा आगै बाले । सबैले तारिफ गरे । कार्यक्रममा नेपाली चलचित्रका अधिकांश अग्रज हस्तिहरु थिए । 

केही दिनपछि कमल राईले दीलिपलाई भने, “कस्तो मान्छे हँ तिमी, कहाँ हराएको ? दुनियाँले खोजिरहेको छ, तिमी भने गायब ।”

मोबाइल थिएन । सञ्चार सम्पर्कका लागि टेलिफोनमै सम्पर्क गर्नुपर्ने । कोरसमा नाच्ने ‘केटा’ को नम्बर कसलाई पो याद हुन्छ ! 

कमलले दीलिपलाई भने, “तिम्रो डान्स हेरेर निर्देशकहरु तिमीलाई भेट्न खोजिरहेका छन् । चाँडो भेट ।”

‘आगोे लाग्यो दिलैमा दमकल बोलाइदेउ...’ गीतमा दीलिपले गरेको डान्सले निर्देशकहरुको दिलमा आगो लगाइदिएको रहेछ । 

निर्देशक तुलसी घिमिरे, नारायण पुरी, शिव रेग्मीले दीलिपलाई आफ्नो चलचित्रमा हिरो बनाउन भेट्न खोजेका रहेछन् । 

“तुलसी घिमिरे सरले त मलाई हेरेर चलचित्रको स्क्रिप्ट नै लेख्न सुरु गरिसक्नु भएको रहेछ,” दीलिप नोस्टाल्जिक भए । 

कुन ?

‘दर्पण छायाँ’ 

त्यही चलचित्र पछि नेपाली चलचित्र उद्योगमा कसैले पनि बिर्सिनै नसक्ने चलचित्र बन्यो ।

सधैं समय एकै हुँदैन । हरेक बिहानी फरक दिनको सुरुआत हो । २०५२ को एनटिभी नाइट दीलिपका लागि भाग्य लिएर आयो । 
एनटिभी नाइटको त्यो साँझ दीलिपका लागि जिन्दगीको टर्निङ प्वाइन्ट भयो ।

कोरसमा नृत्य गर्दाका ती दिन दीलिपले कहिल्यै पनि नबिर्सिने दिन हुन् । राति अबेरसम्म सुटिङ चल्थ्यो । टेक, रिटेक गर्दागर्दै अध्याँरो छिप्पिसक्थ्यो । सुटिङ युनिटको गाडी मुख्य कलाकारमात्रै चढ्न पाउँथे । अध्यारोसँगै काठमाडौं चकमन्न हुन्थ्यो । दीलिप अँध्यारो छिचोल्दै हिँडेरै कीर्तिपुर पुग्थे । घर पुग्दा ११–१२ बजेको हुन्थ्यो । भोलि बिहान सबेरै सुर्योदयको सिनका लागि भन्दै घरको ढोका खोल्थे दीलिप । र, फुत्त निस्किन्थे । 

“सायद मैले जस्तो संघर्ष कुनै पनि नायकले गर्नुभएको छैन होला,” फागुन ४ गते हुने दैलेख महोत्सवका लागि मध्य वानेश्वरस्थित नृत्य निर्देशक पुनम राईको घरमा रुविना अधिकारीसँग चलचित्र ‘शत्रुगते’ को रुपै मोहनी... बोलको गीतमा रिहर्सल गरिरहेका दीलिपले भने, “कोरसमा डान्स गर्दाका मेरा ती दिन मेरो जिन्दगीकै कठोर दिनहरु हुन् ।”  

० ० ० 
चिनो, देउता, दक्षिणा, लाउरे आदि हेरेर दीलिपलाई चलचित्रमा खेल्ने रहर पलाएको थियो । “राजेश हमाल र धिरेन शाक्यको जस्तो सुगठित शरीर नभएकाले हिरो नै हुने रहर पलाएन तर नृत्य निर्देशक बन्छु भन्ने ती चलचित्र हेर्दा नै सोचिसकेको थिएँ,” उनी विगततर्फ फर्किए ।  

जो कोहीले अभिनय गरेर जीजिविषा धान्ने अवस्था थिएन । एक्टिङ सिक्ने ठाउँ थिएन । डान्सको भने कक्षा लिने ठाउँहरु खुल्न थालेका थिए । दीलिप पनि नृत्यको कक्षा लिन राजु शाहकोमा जान थालेका थिए ।   

तत्कालीन शाही नेपाल वायुसेना निगमले वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । दीलिपले त्यसमा टप्पा गीतमा नृत्य गरेका थिए । उनको नृत्य हरिवंश आचार्यले पनि हेरेका रहेछन्, मन परेछ । २०५३ सालमा गाईजात्रामा हरिवंशले दीलिपलाई पनि खेलाए । 

यादव खरेलले चलचित्र ‘आदिकवी भानुभक्त’ बनाउने भए । खरेलले आदिकवीको भूमिकामा हरिवंशलाई अफर गरे । १८ देखि ५३ वर्षको उमेरमा अभिनय गर्नुपर्ने थियो । हरिवंशलाई आदिकवीमा बुढोको रोल त गर्न सुहाउने तर १८ वर्षको युवामा भने अलि नसुहाउने भएपछि खरेललाई दीलिपलाई लिन सुझाए । हरिवंश आफंैले दीलिपलाई फोन गरेर आग्रह गरे । 

चलचित्रमा हिरो त हुने भए । तर संस्कृतका लामा लामा श्लोक बोल्न सजिलो थिएन । बोर्डिङ स्कुल पढेर जिव्रो अंग्रेजीमा बानी परेको । सेटमा माधव घिमिरेदेखि व्याकरणका हस्तीहरु बसेर शब्द उच्चारण गर्दा पनि ह्रस्व र दीर्घ भन्दै कमेन्ट गर्थे । जमाना डिजिटल होइन, रिलको थियो । डबल टेक गर्दा प्रोडुसरको हजारभन्दा माथि खर्च बढ्थ्यो ।

पहिलो निर्देशक यादव खरेल, रिफर गर्ने हरिवंश आचार्य, चलचित्रको कथा भानुभक्तको जीवनी, नाच्नमा पोख्त पहिलो चलचित्र रिलिज नहुँदै उनको हाइपले आकाश छोइसकेको थियो । भानुभक्त एक वर्षमा रिलिज हुँदा उनले दर्पण छायाँ, लक्ष्मण रेखा, दोमन, आफ्नो मान्छे, जिन्दगानीलगायत ९ वटा चलचित्रमा अभिनय गरिसकेका थिए ।

“मेरो जिन्दगीमा हरिवंश दाइ भगवान बनेर आउनु भयो । उहाँले मलाई धेरै निर्देशकलाई यो भाइ राम्रो छ भन्दिनुहुन्थ्यो,” दीलिपले हरिवंश आचार्यले लगाएको गुन सुम्झिए, “सकेसम्म कतै न कतै घुसाउन खोज्नु हुन्थ्यो ।” 

समयले दीलिपलाई चिनायो । फ्यान फलोअर्स बढे । त्, ‘म कति लोकप्रिय छु’ भन्ने पनि त्यो बेला मापन गर्ने साधन अहिलेको जस्तो सहज थिएन । फेसबुक, ट्विटर थिएनन् । हलमा दर्शकको उपस्थितिलाई हेरेर कलाकारको लोकप्रिता तौलिइन्थ्यो ।

चिठ्ठीपत्र दर्शकको माया–ममता नाप्ने विश्वासिलो आधार थियो । नेपाल टेलिभिजनले ठेगाना दियो । पहिलो हप्ता १२–१५ वटा चिठ्ठी आए । दीलिपले केहीको रिप्लाइ पनि गरे । तर अवस्था त्यही रहेन । बोराका बोरा चिठ्ठी आउन थाले । अभिनयको तारिफ गरेका पत्र आउँथे । प्रेम पत्र आउँथे । भेट्छु र भेटौं भन्ने आग्रहका चिठ्ठी आउँथे । रगतले लेखिएका चिठ्ठी पनि भेटिए । रिप्लाइ त के, दीलिप सबै पत्र खोलेर हेर्न पनि भ्याउँदैन थिए । 

० ० ० 
चलचित्रको संख्या दिन दुईगुणा रात चौगुणाका दरले बढ्न थाले । डेढ दशकमा संख्या २ सय पुग्यो । यसो फर्किएर हेर्दा सबै चलचित्र एकै खालका । आफैंलाई आफ्ना चलचित्र हेर्दा मोनोटोनस लाग्न थाल्यो । रिफ्रेसमेन्ट पनि खोज्न थाले । 

कलाकारहरु विदेश पलायन भैरहेका थिए । कोही केही वर्षमा फर्र्किंदै थिए । कोही जाँदै थिए । दीलिप पनि उतैतिर लागे । अहिले दीलिपको परिवार अमेरिकामै  छ । उनी भने अमेरिका–नेपाल गरिहन्छन् । 

फ्यान फलोइङ थियो । बाटोमा निस्किँदा इज्जत थियो । धेरथोर कमाइ थियो । त्यो भन्दा पनि ठूलो त दर्शकको माया थियो ।
तर पनि किन विदेशिनु पर्यो ?

दीलिपको चम्किलो अनुहार प्रश्नसँगै मलिन भयो । “कुनै पनि नेपाली रहरले विदेश जाँदैन । यहाँ भ्रष्टाचार छ । जनता ठगिइरहेका छन् । विधिको शासन छैन । सुशासन छैन । फ्रिमा शिक्षा र स्वास्थ्य छैन । जनताले तिरेको कर कहाँ गयो ? जवाफदेही कोही छैन,” दीलिप परदेशिनुको लामो कारण पेश गर्छन्, “मलाई लाग्दैन एउटा नेपाली पनि रहरले विदेश गएको छैन । घरघरमा नेता छन् । टोलटोलमा मन्त्रालय र मन्त्री छन् । विकास छैन । अनि गरिब नेपाली विदेश नगएर के गर्छ । यो बाध्यता हो ।”

देशको अवस्था जस्तो होस्, दीलिप भने नेपाली चलचित्र उद्योगमै आाफ्नो जिन्दगी समर्पित गर्ने योजना सुनाउँछन् । केही चलचित्रमा अभिनय गरिरहेका उनी आफंै चलचित्र निर्माण गर्ने तयारीमा छन् । नयाँ धार कि पुरानो धार भनेर निर्माता–निर्देशक तथा दर्शक विभाजित भइरहेका बेला दीलिप दुवै धारलाई मिलाएर बिल्कुल नयाँ चलचित्र बनाउने नयाँ फेहरिस्त सुनाउँछन् । 

चलचित्र भनेको अलिकति रोमान्स अलिकति दुःख, थोरै काल्पनिक थोरै यथार्थको संगम भएको भन्दै दीलिप त्यस्तै चलचित्र बनाउने टुंगोमा पुगेको र कथा खोजिरहेको बताउँछन् ।

तपाईंको मत