साहित्य र कला

अमेरिका मलाई फापेन, अब जान्नँ

अमेरिका मलाई फापेन, अब जान्नँ

हास्य कलाकार राजाराम पौडेल अहिले चलचित्रको अभिनयमा व्यस्त छन् । वि.सं. २०३९ सालदेखि कला क्षेत्रको यात्रा सुरु गरेका उनको पहिलो चलचित्र ‘वासुदेव’ हो । त्यसयता सयौं चलचित्र तथा नाटक तथा प्रहशनमा अभिनय गरेका उनी अहिलेका व्यस्त कलाकारमध्येका एक हुन् । छोटो रोलदेखि लिड रोलसम्म उनले अभिनय गरेका छन् । अमेरिकाबाट फर्किएपछि उनी चलचित्रमा आफू झन धेरै व्यस्त भएको बताउँछन् । पौडेलसँग नेपाली चलचित्रसँग सम्बन्धित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः  

निकै व्यस्त हुनुहुन्छ, कसरी समय मिलाइरहनु भएको छ ?
व्यस्तमात्रै होइन, म अहिले चेपुवामा परेको छु । चलचित्र ‘हुर्रे’ को प्रोमोसनमा पनि हिँड्नुपर्ने उता अशोक शर्माको चलचित्र ‘जय भोले’ को सुटिङमा पनि जानु पर्नेछ । त्यस अगाडि सुदर्शन थापाको चलचित्रमा पोखरामा हुनेछु । कसरी समय मिलाउने तनावमा छु ।  

अरु तपाईंको उमेरमा फुर्सदिला हुन्छन्, तपाईंलाई भने भ्याईनभ्याई छ, हैन ? 
त्यसैले त हो नि समय व्यजस्थापन गर्न गाह्रो भैरहेको । सकुन्जेल त गर्नैपर्यो नि । 

धेरै चलचित्रमा काम गरे पनि सिन र समयका हिसाबले छोटो रोल हुन्छ, निर्माता निर्देशकले न्याय गरिरहेका छन् जस्तो लाग्छ कि प्रयोग गरेजस्तो लाग्छ ? 
मलाई त छोटो मिठो रोल नै रमाइलो लाग्छ । एउटै अनुहार कति हेरिरहनु वाक्क लाग्ने गरी । हेर्नेलाई पनि वाक्क लाग्छ जस्तो लाग्छ । लामोभन्दा छोटो रोल नै राम्रो । छायांकन पनि धेरै गर्नु नपर्ने, डबिङ अरुको सकिँदा आफ्नो नसकिने त्यसैले पनि मलाई छोटो रोल नै गज्जब लाग्छ । 

छोटो रोलमा पारिश्रकिमको हिसावले सन्तुष्ट हुन सकिन्छ ?
पारिश्रमिकको हिसाबले त झण्डै उस्तै हो । महिना दिनभन्दा लामो छ भने अलि बढी नै लिइन्छ, हैन भने लामो भएपनि छोटो भए पनि उस्तैउस्तै हुन्छ पारिश्रमिक । 

पछिल्लो समय मुख्य भूमिकामा हास्य कलाकारहरु पनि धेरै आउन थाले । तपाईंको पालो कहिले आउने हो ? 
रहर नहुँदा नहुँदै पनि म अहिले लिड रोलमा छु । ‘हुर्रे’ मा पनि लिड रोलमै छु । अशोक शर्माको ‘जय भोले’ मा पनि एउटा गीत र २०–२२ सिन छ । ‘बाँध माया’ मा पनि अभिनय गरेको छु । त्यसमा हिरो हिरोइनको भन्दा मेरो रोल धेरै छ । मै हिरो छु रोलका हिसावले । मुख्य भूमिकामा पनि काम गरिरहेको छु ।

अहिले हास्य कलाकार चलचित्रमा छाइरहेका छन्, अरु कलाकार अभिनयमा पोख्त नभएर हो ? 
समयको परिवर्तन हो । कहिले लभ स्टोरी कहिले एक्सनको टेस्ट दर्शकले खोज्छन् । कमेडी मात्रै भयो भने पनि यसको माग पनि कम हुन्छ । त्यसैले यो पनि ठिक्क बन्नुपर्छ । एकताका काठमाडौं र चितवनमा जग्गाको भाउ बिहान एउटा, दिउँसो अर्कै, बेलुका अर्को र बिहान उठ्दा फेरि बढिसकेको हुन्थ्यो । नेपाली चलचित्रमा कमेडी अहिले त्यस्तै भैरहेको छ । यस्तै हो भने यो एकदिन यसको माग सल्याकसुलुक्क घट्छ । ढिलो गरौं तर राम्रो गरौं, स्टोरीमा ध्यान दिनुपर्छ भन्छु म । 

भनेपछि कथा भन्दा पनि बजारमुखी हुँदै गएको हो नेपाली चलचित्र उद्योग ? 
हो । अहिलेको सिनारियोले त्यही देखायो । बजार हेर्दा दर्शक चलचित्रबाट ज्ञानगुनका कुराभन्दा पनि मनोरञ्जन नै चाहन्छन् र त्यसतर्फ नै निर्माता निर्देशक पनि हिँडेका छन् । 

चलचित्र भनेको मनोरञ्जन मात्रै हो कि केही ज्ञानगुन दिने माध्यम पनि हो ?
ज्ञानगुनका कुरा लिने भए त पुराण, सप्ताहमा गए भैगयो नि । बिहान देखि बेलुकासम्म ज्ञानगुनकै कुरा हुन्छ । चलचित्रको पहिलो प्राथमिकता मनोरञ्जन नै हो । तर ज्ञानगुनका कुरासँगै मनोरञ्जन भयो भने राम्रो हुन्छ । 

नेपाली चलचित्रको गुणस्तर हेर्दा के लाग्छ, राम्रो चलचित्र बन्न थाले ? 
संख्या बेपत्तासँग बढेको छ । म अहिलेजस्तो कहिले पनि व्यस्त भएको थिइन । हिरो भन्दा व्यस्त छु भन्दा पनि हुन्छ । । यसको कारण चलचित्र निर्माणको संख्या बढेर नै हो । 
अर्को कुरा दर्शकको टेस्ट पनि परिवर्तन भयो । दीपकराज गिरीले ‘छक्का पञ्जा’ बनाएपछि चल्यो । त्यसयता चल्ने रहेछ भनेर जसले पनि चलचित्र बनाउन थाले । पैसा हुनेले पनि बनाउन थाले, नहुनेले पनि बनाउन थाले । कतिपय त ‘दाइ पहिलोपटक बनाउन लागेको सहयोग गनुपर्यो’ भन्छन् ।

पैसा छैन भने किन बनाउनुपर्यो ? एउटाले हात्ती चढ्यो भन्दैमा अर्कोले धुरी चढ्नु हुँदैन । के सहयोग गर्नु मैले । पार्टी, धर्मशाला बनाउन लागेको हो र मैले सहयोग गर्नलाई ? मेरो अनुहार देखाएर तपाईंले ब्यापार गर्ने हो । अनि मलाई नै पैसा नदिएर व्यापार गर्ने भनेर फर्काइदिएको छु कतिलाई । बजेट भएर पनि र नभए पनि बनाउनेहरु छन् ।
३० को दशकको अन्तिमदेखि अभिनय गर्दै आउनु भएको छ ।

आफैं चलचित्र निर्माण तथा निर्देशन गर्ने सोच आएन ?
कहिले पनि आएन । निर्देशन र अभिनय फरक विधा हुन् । राम्रो चलचित्र बनाउँछु भनेर लाग्ने हो भने कम्तिमा निर्देशकले एक वर्ष समय दिनुपर्छ । मलाई अभिनय गरेर नै फुर्सद छैन भने किन एउटा चलचित्रका लागि एक वर्ष समय दिन्छु ? गर्न चाहेँ भने सक्छु निर्देशन गर्न तर कहिले पनि रहर पलाएन । 

तपाईं त हास्य कलाकार तर सबै खालका चलचित्रमा अभिनय गर्दै आउनु भएको छ, कस्तो खालको चलचित्र मन पर्छ ?
हास्य कलाकार भएपनि केही न केही सन्देश दिनुपर्छ । विग्रिँदै गएको कुरालाई सच्याउनु पर्छ । तर चलचित्रमा सधै यस्तै हुन्छ भन्ने पनि हुँदैन । कथा अनुसारको चलचित्र हुन्छ । 

कस्तो खालको चलचित्र बन्यो भने दर्शकले मन पराउँछन् ? 
दिनदिनै दर्शकको रुची परिवर्तन भैरहन्छ । कहिले लडाइँ झगडा, कहिले, ऐतिहासिक विषय, कहिले लभ स्टोरी, कहिले कमेडी चलचित्र चलिरहेका हुन्छन् । त्यसैले यस्तै चलचित्र दर्शकले मन पराउँछन् भनेर म भन्नै सक्तिन । दर्शकले कस्तो चलचित्र रुचाउँछ भनेर बजार बुझेर चलचित्र बनाउनुपर्छ भन्छु । 

रिसर्च नगरी चलचित्र बनाउँदा नेपाली चलिचत्र घाटामा गैरहेका छन् भन्न खोज्नु भएको हो ?
हो । विषय र बजार दुबैको रिसर्च गरेर चलचित्र बनाउनुपर्छ । जुन हाम्रोमा सुरु नै भएको छैन । निर्माताको आमाबाउ र श्रीमतीलाई मनपर्ने चलचित्र बनाएर चल्दैन । दर्शकले मन पराउने चलचित्र बनाउनुपर्छ । 

अमेरिका फेरि फर्किनुहुन्छ कि हैन ?
फर्किन्न । सुरुमा पनि अमेरिका बस्ने रहर थिएन । वकिलको सानो गल्तिका कारण २ वर्षमा फर्किनुपर्नेमा ७ वर्ष बस्नुपर्यो । अमेरिका मेरा लागि केही गर्दा पनि नफाप्ने देश हो त्यस्तो देश अब मलाई जानु छैन । 

तपाईंको मत