आज हामी २१औं शताब्दीको शिशुकाल तथा विज्ञानको युगमा अनेकौ भौतिक सुख, सुविधाको आनन्द लिइरहेका छौं तर जुन आन्तरिक सुखहरूको अन्तरआत्मा अनुभव गर्न चाहन्छ त्यसलाई भने प्राप्त गर्न सक्षम हुन सकेको छैन । आज मानव जीवनमा व्यक्तिगत खुसी, आनन्द, उमंग, सफलता एवं व्यवसायिक उन्नति आदिसँग सम्वन्धित धेरै कम अवसर बाँकी छ । साथै सर्वजानिक, सामाजिक वा संगठित रूपमा खुशीको अदान–प्रदान, स्नेह, सद्भावलाई सुदृढ गरेर अलौकिक आनन्दबाट अनुभूतहुने अवसर त नगण्य हुँदै गइरहेका छन् ।
यसै कारणले मानव एकांकी परिवार, व्यवसायिक दायरा भित्र खुम्चिएर तनाव, चिन्ता तथा नकारात्मक विचारहरूसँग संघर्ष गर्दै जीवनको बोझबाट लादिएको यात्रा तय गर्न बाध्य छन् । उत्सव वास्तवमा मानवको जीवनमा एउटा नयाँ स्फूर्ति, जिज्ञासा ताजापन, उमंग, उत्साह तथा अतीन्द्रीय सुखका छिट्टाहरू छर्नका लागिआरम्भ भएका थिए । त्यति वेला मानवमा श्रद्धा, प्रेम, सद्भावना पनि थियो । अब बिस्तारैबिस्तारै श्रद्धा र प्रेम समाप्त भएर परम्परामात्रै बाँकी छ । अब तिनको लोकप्रियता, मौलिकता, चासो तथा उमंगउत्साह प्रायः समाप्त हुँदै गइरहेको छ । यसको मूल कारण हो ती उत्सवहरूको वास्तविक आध्यात्मिक रहस्य र प्राप्तिको बारे अनभिज्ञ हुनु । शिवरात्रिको महान् पर्वसँग पनि यस्तै भएको छ ।
पहाडको उच्च चुचुरादेखि लिएर सागरसम्म कुनै पनि यस्तो ठाउँ छैन जहाँ परमात्माशिवको प्रतिमा वा मूर्तिको स्थापना नगरिएको होस् । कुनै यस्तो धर्म ग्रन्थ छैन जसमा परमात्माशिवको महिमा उल्लेख नगरिएको होस् । तर, परमात्माशिवको सही परिचय, अवतरणको बेला तथा उहाँको कर्तव्यको बारेमा मानिस अनभिज्ञ नै छ । परमात्माशिव को हुनुहुन्छ, कहिले र कसरी प्रकट हुनुहुन्छ, के गर्नु हुन्छ भन्ने जानेपछि सबै मानिसहरू परमात्मा शिवमा आफ्नो सबैैकुरा समर्पण नगरी रहन सक्तैनन् ।
यस शिवरात्रि पर्वबाट पूरै विश्वलाई एकताको सूत्रमा आबद्ध गर्न सकिन्छ । शिवरात्रि संसारमा चारैतिर अज्ञान अन्धकार व्याप्तरहेको, भाइभाइ एकअर्काका रगतका प्यासा भएका, स्त्रीहरूको लाज सुरक्षित नभएको अवस्थाको सम्झना हो । त्यस बखतमा मानवता तडपिरहेको थियो । कतैतिरै सुरक्षा थिएन । त्यस समयमा नै ब्रह्मालोकबाट एक ज्योतिको अवतरण भएको थियो र त्यसको प्रकाशले सम्पूर्ण जगत झलमल्ल भएको थियो । त्यस ज्योतिको नाम नै परमात्मा शिव हो । शिवको अर्थ नै हो कल्याणकारी । मानिसको नाम शरीरमाथि आधारित हुनाको कारण विनाशी हुन्छ ।
शरीर परिवर्तनसँगै नाम पनि परिवर्तन हुन्छ तर परमात्मा अशरीरी हुनुहुन्छ र जन्म मरणको चक्रमा आउनुहुन्न । त्यसैले उहाँको मूर्तिलाई ज्योतिर्लिंग मठ भन्ने गरिन्छ । नेपालको प्रशिद्ध पशुपतिनाथको मन्दिर पनि परमात्मा शिवको मुख्य मठ मानिन्छ ।
पूर्वीय इतिहास, धार्मिक ग्रन्थ तथा सारा नेपाल र भारतमा धेरै ठाउँमा शिवको मूर्तिहरू पाइन्छ । नेपालमा पशुपतिनाथ, भारतमा अमरनाथ, केदारनाथ, विश्वनाथ, संगमेश्वर, भीमामेश्वर, सोमनाथ, रामेश्वर आदिशिवकै प्रतिमाका मन्दिर हुन् । यस प्रकारले ठाउँठाउँमा शिवको मान्यताको रूप ज्योतिविन्दुको नै स्मरण गराउँछ । यी मन्दिरहरूले मानवहरूका बीच भावनात्मक एकता ल्याउँछन् र यो संसार शिव परमात्माको नै सुन्दर रचना हो भन्ने चेतना जागृत गराउँछन् । हिन्दु धर्मका मानिसहरूमात्रले हैन परमात्माशिवलाई अन्य धर्ममा विश्वास राख्नेहरूले पनि निकै श्रद्धाले मान्छन् । उदाहरणको लागि रोममा इसाई धर्ममा क्याथोलिकहरू गोल आकार भएको ढुंगालाई अहिले पनि पूजा गर्छन् । अरबमा मक्काको तीर्थ स्थलमा मुस्लिम यात्री पनि यस्तै प्रकारको ढुंगा जसलाई संग–ए–असवद वा मक्केश्वरलाई चुम्बन गर्छन् ।
जापानमा बसोवास गर्ने बुद्ध धर्मका अनुयायीहरू जव साधना गर्न बस्छन अगाडि शिवलिंगजस्तै तीन फीट उचाइको ढुंगा बनाएर त्यसमा ध्यान लगाउने गर्छन् । यसका अतिरिक्त मिश्रमा ओसीरिस, वेवोलानमा सिअन नामबाट शिवको पूजा हुने गर्दछ । त्यैसगरी सिरिया, युनान, स्पेन, जर्मनी, अमेरिका, मेक्सिको, सुमात्रा एवं जावा द्विप आदि विभिन्न स्थान र देशहरूमा पनि शिवको स्मारक पाइन्छ । यतिमात्रै नभएर स्कटल्यान्डको प्रसिद्ध नगर ग्लासगो, तुर्की स्थान, ताशकंद, वेस्टर्इंडीज, ग्याना, लंका, स्यामा, मौरिसस आदि ठाउँमा पनि शिवलिंगको पूजा हुन्छ । त्यसै गरी सिख धर्मपिता गुरुनानक देवले उहाँलाई एकाेंकार नामले पुकार्नु भएको छ । यसबाट स्पष्ट हुन्छ परमपिता शिव परमात्मा कुनै एक धर्म विशेषको मात्रै पूजनीय नभएर विश्वभरका सबै मानव आत्माका परम पूज्यपिता हुनुहुन्छ ।
परमात्मा शिव अजन्मा, अभोक्ता र ब्रह्मालोक निवासी हुनुहुन्छ । त्यसैले उहाँ मानव वा अन्य प्राणी जस्तै जन्म लिनु हुन्न जसबाट कर्मको बन्धनमा परियोस् । बरू धर्मग्लानिको समयमा, सबै मानव आत्माहरू पाँच विकारहरूको वंशका कारण दुःखी, अशान्त, पतीत तथा भ्रष्टचारी बन्न पुग्छन्, तिनीहरूलाई पुनः पवित्र बनाउन यस साकार सृष्टिमा एक साधारण बृद्ध शरीरमा प्रवेश अथवा अवतरित हुनुहुन्छ जसलाई नै उहाँको दिव्य अलौकिक जन्म भनिन्छ । परमात्मा शिवको यही दिव्य अवतरणको दिव्य स्मृतिलाई नै शिवरात्रि अथव शिवजयन्ती पर्वको रूपमा मनाउने गरिन्छ । त्यो १० — १२ घन्टाको रात्रीमात्र होइन बरु अज्ञानता, पापाचार र अनेक प्रकारका खराबीको प्रतीक हो ।
शिवरात्रि फाल्गुण महिनाको सूचकहो र चोधौँ रात घोर अन्धकारको निसानी हो । शिवरात्रिको दिन भक्तहरू शिवलिंगमा धतुरो, बेल, बेलपत्र आदि चढाउँछन् तथा रात्रि जागरण तथा ब्रत राख्छन् । धतुरो विकार, वैर, घृणाको, बेलपत्र गलत आचरण वा व्यवसनको प्रतीक हुन् । जसलाई नै वास्तवमा शिव परमात्मामा चढाउनुपर्छ । साथै आत्माको ज्योति जगाउने जागरण तथा पवित्र रहने व्रत लिनु पर्छ । शिवरात्रि सबै धर्मको महान्पर्व हो तथा शिवमन्दिर सबै धर्मका पिता परमात्माको तीर्थस्थल हो । शिव स्मृति नै वास्तवमा सुमंत्र अथवा तारक मंत्रहो जसबाट नै प्राप्ति र सिद्धि उपलब्ध गर्न सकिन्छ ।
आज पुनः त्यही बेला र दसा छ, त्यही रात्री छ जहाँ मानव समाज पतनको चरम सीमामा पुगेको थियो । अहिले कलियुगको अन्त्य र सत्ययुुगको आरम्भको संगमयुगमा स्वयम्भू परमात्मा शिव मनुष्य आत्माहरूका निभेको आत्माको ज्योति जगाउन प्रजापिता व्रह्माको मानवीय कायामा अवतरित भइसक्नु भएको छ । साथै ईश्वरीय ज्ञान र राजयोगको शिक्षा दिएर बिकार र खराबीहरूबाट मुक्त गरी दैवी राज्यको स्थापना गरिरहनु भएको छ । यसैले प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा सम्पूर्ण विश्वका १४० राष्ट्रमा आफ्ना नौ हजारभन्दा बढी सेवा केन्द्रहरूद्वारा महाशिवरात्रि पर्वलाई निक्कै धुमधामसँग विविध कार्यक्रम गरी मनाउँदै छ । त्यसैले सबैलाई ईश्वरीय जन्मसिद्ध अधिकार प्राप्त गर्न हार्दिक आमन्त्रण छ ।
हामी सबै परमपिता परमात्माको यस दिव्य जन्मका अवसरमा विकारहरू कुुलत र दुव्र्यसनहरू तथा आपसी मतभेदलाई त्याग गरी विश्वशान्ति, सद्भाव, नैतिक र आध्यामिक मूल्यबाट चरित्रको उत्थान गर्ने प्रतिज्ञाको रूपमा मनाऔं जसबाट मानवता सुख, शान्ति, सम्पन्न बन्न सकोस् । सबैमा ८२ औं महाशिवरात्रि पर्वको मंगलमय शुभकामना तथा बधाई !