site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरियाको भिषा त्यागेर जमराको जुस बेच्दै युवती
Sarbottam CementSarbottam Cement

–अक्षर काका


जोरपाटी, काठमाडौँ पूर्वोत्तर सभ्यताको चिनारी हो । 

समथर फाँट । आसपास चित्ताकर्षक, मनोहर डाँडा । माथितिर गोकर्ण, देशेगाउँ । परतिर मूलपानी, बोडे, मनहरा । सन्निकट नागवेली वाग्मती । संस्कृतिको अद्वितीय चिनारी कत्तिकत्ति ।

Prabhu Bank
Agni Group
NIC Asia

धेरै साल बितेको छैन, जोरपाटीको पीपल–चौतारी आश्रययुक्त छहारी थियो । किनमेल गर्न नेपाल खाल्डो (उनताका काठमाडौँलाई काँठक्षेत्रका मानिसहरू नेपाल खाल्डो भनी बुझ्दथे) आएकाहरू त्यही पाटीमा आफ्ना कुम्ला बिसाउँथे । सातुसामल खान्थे र त्यहीँ रात व्यतीत गर्थे । दुईवटा त्यस्ता पाटी रहेकाले पनि ठावैँको नाम जोरपाटी रहन गएको हो भन्ने किम्वदन्ती छ, अद्यापि ।

तर, समयक्रमसँगै जोरपाटीको पाटी भग्न भयो । पछिल्लो समय पाटी पेटीमा रूपान्तरित भएको छ । यायावरीका लागि सहर पसेकाहरूको जिजीविषा जगाइदिएको छ । र, यही पेटी कतिपयको भाग्यसमेत बदल्ने औजार बनेको छ भनौँ । 

Global Ime bank

जडिबुटी खाएरै असाध्यै रोग निको बनाउने काँठक्षेत्रको आदिम सांस्कृतिक लय पछ्याउँदैछिन्, २६ वर्षीषा युवती कमला मल्ल ।

शनिबार बढी नै व्यस्त थियो, जोरपाटीचोकको सतल । समीपमा रहेको पीपलको रूखलाई दाहिने पारेर तीन फन्का लगाएपछि सुरु हुन्छ कतिपयको मुहूर्त । त्यसो त ब्रह्ममुहूर्त, पहिलो प्रहरमै प्रातःभ्रमणमा निस्किएकाहरू पसिना ओभाउन त्यहीँ आइपुग्छन् । र, तिनैलाई जमरा, घ्यूकुमारीको जुस बेच्छिन् कमला, विगत चार महिनादेखि ।

सामाजिक मूल्यमान्यताको विम्ब र संस्कृतिको चिनारी हो जमरा । कान, कपालमा सिउरिएपछि पीत–जमराले शीरको शोभामात्रै दिँदैन, दसैँको सामाजिक–सांस्कृतिक महत्त्व उजागरसमेत गर्छ ।

तर, पछिल्लो समय जमरा दसैँको ‘फूल–पाती’ मात्रै भएको छैन, असाध्य रोगहरूको अचुक औषधि पनि भएको छ ।  असोज शुक्ल पक्ष, प्रतिपदा तिथिका दिन छरिने जमराको बीज हिजोआज दिनहुँ अङ्कुरण हुन्छ र लहलहाएपछि जुस बनाएर सेवन गरिन्छ । 

जोरपाटी चोकमा बिहानबिहान यसैको व्यापार गर्छिन् कमला ।

० ० ०

“दिदी एक गिलास जमराको जुस दिनुहोस् न ।”

कुराकानी गर्दैगर्दा कमलाका तीन जना ग्राहक आए । शनिबारको दिन भए पनि कलेज पोशाकमै थिए ती ।

“जमराको जुस खाँदा मर्न त मरिँदैन होला नि,” तीमध्ये अनुजको अनुहारको संशयसहितको ठूलो प्रश्नवाचक चिह्न खडा भयो ।

“व्यापार थालेको झन्डै दुई वर्ष भयो, आजसम्म कोही तलमाथि परेको छैन,” कमलाले अनुहार अगाडि झरेको कपाल मिलाइन् र भाँडोले नापेर ३० एमएल जुस ती युवकको हातमा थमाइन् ।

“मीठो त हुँदो रहेनछ नि दिदी, कसरी खाँदा हुन् मानिसहरूले यस्तो कलबिख !,” मुख बिगार्र्दै युवकले यसो भनेपछि कमलाले थपिन्, “औषधि पनि मीठोमीठो खोजेर हुँदो हो कहीँ !”

अहिले पनि एकाध मानिसहरू जमराको जुस सेवन गर्न डराउँछन् । घिन मान्छन् । भीड लागेको देखेर पेटीमा त उक्लन्छन् तर जुस सेवन गर्न थालेपछि तिनका खुट्टा लगलगी काम्छ । दुईचारपल्ट पिएपछि भने ती नियमित ग्राहक बन्छन् ।

सुरूआती दिनमा त झनै अप्ठ्यारो थियो । कानमा सिउरने जमराको पनि कहीँ जुस हुन्छ ? खिस्याउनेहरू पनि थिए । तर, घडीको सुइ घुमेजसरी समय बदलिँदै गयो । दुर्गा भगवतीको प्रसाद मानिने जमरामा औषधीय गुण हुने रहस्योद्घाटन भएपछि यसको नियमित सेवनकर्ता ह्वात्तै बढेका छन् ।

नियमित जमराको जुस सेवन गर्नेमा उमेर ढल्किएको, रोगी, प्रौढमात्रै छैनन्, यौवनवयका तन्नेरीहरू पनि छन् । बिहान चियाको सट्टा जमराको रस सेवन गर्ने नियमित ग्राहकसमेत थपिँदैछन् ।

“क्लब, जीम गएर आउनेहरू पनि जमराको जुस पिएर शरीरमा स्फूर्ति बढाउँछन्,” जमराझैँ झरिली देखिइन् उनी ।

युद्धको बाछिटा

सिन्धुपाल्चोक, कुन्चोक हो उनको पुख्र्यौली थातथलो । युद्धकाल (०५२–६२)मा आगाको भुंग्रोजस्तै थियो, रापिलो । बाबु र जेठो दाजु सेनामा भएकाले तत्कालीन विद्रोहीको निशानामा थिए उनीहरू । डढेलोझैँ फिँजिएको युद्धको लप्काले कहिले निल्ने हो यकिन थिएन । ज्यामिरेका शिक्षक ज्ञानेन्द्र खड्का विद्रोही पक्षबाट रेटिएपछि चार गाउँ त्राहीत्राही भयो । कयौँ स्कुलमा ताला लागे । शिक्षकहरूले सदरमुकाममा डेरा मुकाम सारे । त्यसैले किशोरावस्थाको पूर्वाद्र्धमै जन्मेहुर्केको ठाउँ छाडेर सहर पस्नुपर्‍यो । काठमाडौँ, गोठाटारस्थित तेज विनायक माविबाट प्रवेशिका उत्तीर्ण गरेकी हुन् उनले, विक्रम सम्वत् २०६५ मा ।

प्रवेशिकाको तगारो पन्छिएपछि उनले कलेज पढाइसँगै आफ्नै बुतामा उभिने यत्न थालिन् । परिवारमा नपुग्दो केही थिएन । पिता–दाजुको कमाईले गृहस्थी चलेकै थियो भनौँ । तर, उनलाई आफैँ केही गर्नुपर्छ भन्ने हुटहुटीले पिरोल्न थाल्यो र पढाइसँगै काम पनि समानान्तर गतिमा अघि बढाइन् । केही समय उनले अस्पतालमा काम गरिन् । तर, दीर्घकालसम्म होइन ।

“अचानक मृगौलामा समस्या देखियो  । किड्नीमा स्वेलिङ छ, पाइप राख्नुपर्छ,” चिकित्सकले यसो भनेपछि परिवार अताल्लियो । अस्पतालको अस्थायी सेवामा पूर्णविराम लाग्यो ।

कोरियाको चक्कर

प्रवीणता प्रमाणपत्र तहको पढाइ पूरा भएपछि उनको मस्तिष्कमा कोरिया जाने भूत सवार भयो । तिनताका कोरिया जाने लहरै चलेको थियो । चोकैपिच्छे खुलेका कोरियन भाषा प्रशिषण केन्द्रले सपनामा बर्तन थप्न थाल्यो र छटपटि पैदा गरिदियो ।

“छरछिमेकको विलासी जीवनशैली । घर, परिवार, नरनाता, इष्टमित्र सब बिर्सिएर पैसाकै पछि लागेको देख्दा लाग्थ्यो, पैसा सबथोक हो । त्यसैले पनि मनभित्र कोरिया जाने सपनाको महल खडा भएको थियो,” उनी सम्झिन्छन् अहिले ।

किशोर, केटौले उमेर सपनाको उडान भर्ने उमेर पनि हो । ६ महिना धाएर कोरियन भाषा सिकिन् । आवेदन दिइन् । पहिलो प्रयासमै सफलता हात लाग्यो । नाम निस्कियो । रकम खासै नलाग्ने । भिषा हात परेपछि भने उनको सोचाइ बदलियो ।  

“यही उमेरमै पैसा किन कमाउनु पर्‍यो । कोरियामा चाहिँ पैसा टिप्ने बोट छ र ? राम्रो पढे त अवसर यहीँ पनि पाइन्छ नि,” उनको चाहनामा परिवारले पनि चिसो पानी खन्यायो ।
यौवनवय । एकातिर दश जोड दुई मात्र पढेको, अर्कातिर भर्खर तङ्ग्रिँदै गरेको शरीर । कोरिया पुग्दैमा जीवनकै गन्तव्य नटेकिने विचार मनमा हुल बाँधेर आएपछि विदेश जाने सपनासँग सम्बन्धविच्छेद भयो । र, उनले स्नातक तहसम्मको पढाइ पूरा गरिन् ।

यो २०६८ सालको कुरा हो ।

जमरासँगको उठबस

नयाँनयाँ विषय र कामको खोजी, उनका विशेषता हुन् । पत्रपत्रिकामा पनि आँखा गइरहने । त्यहाँ उनले जमराको जादुयी फाइदा पढ्न पाइन् । जमरामा औषधीय गुण हुन्छ र यो मानवीय स्वाथ्यका लागि ‘सञ्जिवनी’ सरह हो भन्ने कुरा उनले आमाको मुखबाट सुनेकी थिइन् ।

निमोनिया हुँदा, खोकी लाग्दा, ज्वरो आउँदा आमाले कहिलेकाहीँ सुकेका जमरासमेत पानीमा भिजाएर खुवाएको उनलाई अनुभव छ । पत्रपत्रिकामा जमरा सेवनको फाइदा उल्लेख गरिएका सामग्री पढेपछि भने उनमा जमराकै व्यावसायिक व्यापार सुरू गर्ने रहर पैदा भएको हो । त्यसमा त्राण भर्‍यो, नवजीवन योग, ध्यान केन्द्रले । सुरूमा नवजीवनमा बहिनी पठाइन् । पछि बहिनीमार्फत आफैँले जमराको जुस बेच्ने काइदा सिकिन् । अहिले उनीहरूले गोठाटारस्थित घरमै गहुँ, जौ अङ्कुरण गराउँछन् । र, सात दिनदेखिमाथिको जमराको जुस बनाएर व्यापार गर्छन् ।

यसरी जमरा उमारेर जुस बेच्न थालेको दुई वर्ष भयो उनले । सुरूआती वर्ष उनले ठमेल छेऊमा व्यापार गरिन् भने अर्को वर्ष पेप्सीकोलामा शाखा विस्तार गरिन् । अहिले ठमेलमा बेच्न छाडेकी छन् भने पेप्सीकोलामा बहिनी रमिला मल्लले व्यापार गर्छिन् ।

जमराको जुससँग घ्यूकुमारीको रस पनि बेच्छन् उनीहरू । जमरा घरमै राख्छन् भने घ्यूकुमारीचाहिँ गोरखाबाट खरिद गरेर ल्याउँछन् । भिटामिन, मिनरल, एन्टिअक्सिडेन्टको राम्रो स्रोत मानिएको घ्यूकुमारीबाट अनेक रोगका औषधि बनाइन्छ । 

घ्यूकुमारीको नियमित सेवन गर्नाले दिसा कमलो हुन्छ । त्यसका अतिरिक्त मधुमेय, रक्तचाप नियन्त्रण र पाचन प्रणाली व्यवस्थित गर्न यसले मद्दत पुर्‍याउँछ । तथापि चिकित्सकको राय लिएर सेवन गर्नु उत्तम हुने उनको सुझाव छ । मात्रा बढी भयो भने घ्यूकुमारीको जुसले उल्टै मृगौलामा हानी पुर्‍याउनेतर्फ उनी सचेत गराउँछिन् ।

उनीकहाँ दैनिक सत्तरी जना ग्राहक जुस सेवन गर्न आउँछन् । पन्ध्रजना जति त नियमित ग्राहक छन् ।

“पहिलो दिन त २८० को व्यापार गरेको थिएँ, यो ठाउँमा अहिले बिस्तारै ग्राहक बढ्न थालेका छन्,” जमराझैँ पुलकित देखिइन् उनी ।

तीव्र सहरीकरण, अव्यवस्थित खानपान, जीवनशैली र रोगको कारखाना बनेको काठमाडौँमा जमरा र घ्यूकुमारीको व्यापार अपारै हुने उनको निष्कर्ष छ ।

क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका जीवशास्त्रीले जमरामा ‘पिफोर डी वान’ भन्ने तत्व हुने पत्ता लगाएपछि विश्वमै यसको प्रयोगकर्ता झाँगिएका छन् । ‘पिफोर डी वान’ले शरीरलाई फुल्न र संकीर्ण हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र छिटो बूढोपना देखिँदैन । जमराको जुसका अतिरिक्त अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिने चिकित्सा विज्ञानले अनुसन्धानमार्फत पत्ता लगाएको छ ।

जमरा सेवनका फाइदैफाइदा
आयुर्वेदले भन्छ– जमरा राम्रो आहार हो । गहुँको जमराको जुस नियमित सेवन गर्नाले खासगरी मुख तथा दाँतसम्बन्धी समस्या घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचनयन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न हितवद्र्धक छ । गहुँको तुलनामा जौको जमरा अझै लाभकर हुने उनी बताउँछिन् । तीसदेखि पचास एमएल जुस स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रकाश नछिर्ने कोठमा, गमलामा राखिएको, अङ्कुराएको सातदेखि एक्काइस दिनसम्मको जमरा सेवनयोग्य हुने आयुर्वेद चिकित्साले बताउँछ । तर, कलिलै जमरा सेवन गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त हुने कमला बताउँछिन् । “पछिल्लो समय यस क्षेत्रमा समेत अस्वस्थ प्रतिस्पर्धा बढेको छ । घर बाहिर, प्रकाश छिर्ने ठाउँमा राखेका जमरासमेत उपयोग गर्न थालिएको छ, यो स्वास्थ्यका दृष्टिले त्यति उपयुक्त हुँदैन,” आफ्नो अनुभव सुनाइन् उनले ।

प्रकाश नछिरेका जमरामा विशेषतः क्लोरोफिल कम हुन्छ । त्यसका अतिरिक्त प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो जमरा । जमरा–रसको नियमित सेवनले क्यान्सरका रोगीलाई समेत फाइदा पुर्‍याएको छ । पहिलो चरणको क्यान्सर त निर्मुल नै हुने आयुर्वेद चिकित्सले ठोकुवा गर्छन् तर यसको वैज्ञानिक पुष्टि भइसकेको छैन । तर, घ्यूकुमारीले नयाँ कोशिकाहरू (सेल्स) बनाउने भएकाले क्यान्सरका रोगीहरूले भने सेवन गर्नुहुँदैन ।

आम्दानीको भरपर्दो बाटो
पछिल्लो समय जमरा, घ्यूकुमारीको जुस व्यापारबाट मनग्य आम्दानी गर्न सकिन्छ । थोरै लगानीमै व्यापार व्यवसाय गर्न सकिने हुनाले आकर्षण बढेको छ । लर्को लागेर विदेश जाने र विदेशबाहेक सफलता अङ्कुरण नहुने ठान्नेहरूका लागि प्रेरणा हुन् कमला । “बिहान २–४ घन्टा काम गर्ने हो भने दैनिक दुई हजार पच्चिस सयको व्यापार गर्न सकिन्छ,” उनी ठोकुवा गर्छिन् ।

जमरा–जुसको व्यापारका अतिरिक्त उनी फेसन डिजाइनरसमेत हुन् । “फेसन डिजाइनले नै खान–लगाउन पुग्छ । जमरा–व्यापार अतिरिक्त आम्दानीको स्रोत बनेको छ,” जाँदाजाँदै मुसुक्क हाँसिन् उनी ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC