site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घट्टको सङ्गीत
Ghorahi CementGhorahi Cement

–अक्षर काका


“होस्टे....! हैँसे...!”

“उचाल भाइ हो......! बल गर भाइ हो.....”

Agni Group

तीन घडी रात बाँकी छँदै गाउँपाखामा सुनिने ग्राम्य लवज थियो, कुनैबेला यो । 

चार गाउँ उल्टिएर नोलको सहायताले घट्टको डुँड बोक्दा, खोला किनारका घट्टका भालेपोथी उचाल्दा बोलिने समवेत भाका हो यो । तर, यो लोककथाजस्तो भइसक्यो ।

Global Ime bank

यायावरीका लागि देशदेशावर जाने क्रमसँगै गाउँका खोलामा न कुलाको छङछङ..संगीत सुन्न पाइन्छ, न कतै घट्टको नाद नै गुञ्जन्छ । न पुल्ठो, च्वाँके बालेर रातविरात घट्ट जाने छन्, न त घट्टमै रोदी बस्ने र ठाडो भाका गाउनेहरू भेटिन्छन् ।

गाउँपाखाहरू रित्तो र शून्य भित्तो बन्दै जाँदा घट्टमा पिँधेको मौलिक स्वादहरू क्रमशः लोप हुँदैछन् । जीवन र संस्कृति बनेको घट्ट भग्न र अवशेषमा रूपान्तरण हुँदैछ । आधुनिकताले आदिम सामाजिक–सांस्कृतिक मूल्यलाई कसरी पाखा लगाउँछ भन्ने उदाहरणसमेत हो घट्ट ।  ‘कुन घरले कस्तो खान्छ, घटेरोलाई थाहा हुन्छ’ ग्राम्य–आहान थियो कुनै बेला । तर, ढिकी, ओखल, जाँतोसँगै लोप हुने पछिल्लो कोटीमा परेको छ घट्ट ।

गाउँले लय र जिउँदो संस्कृतिको पर्याय बनेको घट्टलाई नाटकका माध्यमबाट भए पनि जोगाउन लागि परेका छन्, पुरू लम्साल ।

घट्ट घुमाएर जीवन चलाएका दीन–हीन घटेरा, घट्वारेहरूको जिजीविषा, जिगीषा । धुस्रफुस्रे हुँदै घट्टमा पीठो पिँधेर पेटमा तातो लगाइरहेका सवाल्टर्न, किनाराकृतहरूलाई रङ्गमञ्चमा सादृष्य उतार्दैछन् ।

‘नेपालमा नाटकै लेख्ने छैनन् । नेपालमा मञ्चनीय कथा, कहानी छैन’ भनेर आफ्ना मझेरीका कथा छाडेर विदेशका आँगन, रछ्यान चहार्नेहरूको भीडमा भेटिँदैनन् उनी । कुना–कन्दरामा विलुप्त अवस्थामा रहेका सुक्ष्मातिसुक्ष्म विषयलाई टपक्क टिपेर घट्टझैँ कुँद्ने र बान्किलो तुल्याउने विशिष्ट छवी छ उनमा । र, दशकदेखि रङ्गसाधनामा एकचित्त छन् ।

घट्टका सुस्केरा 

गाउँमा जन्मिए पुरू । भीरपाखाको सुसेली । खहरे खोल्सा । रातभरि सुसाउने नदी उनका जीवनका धुन र लय बने ।

नुवाकोट, हल्दे कालिका, बेलडाँडा हो उनको थातथलो । विषमताको पर्याय । घरबाट स्कुल आउनै डेढ घन्टा पैदल हिँड्नुपर्थ्यो । बीचमा खारे खोला थियो । त्यहाँ अनगिन्ती घट्टहरू थिए । निःसहाय, निमुखाहरूको रोजीरोटीको माध्यम थियो त्यो । ज्यालाको पीठो खाएर जीवन उकास्थे, त्यहाँ घट्वारेहरू ।

घट्वारेहरूको जीवनशैली अनौठो थियो । भोकै–अनिदै, रातदिनै घट्टमा बस्थे । पीठो पिन्थे । हप्ता–दश दिनमा पीठाको धोक्रो बाँधेर घर फर्कन्थे । त्यही देखेर हुर्किए पुरू ।

कयौँ रात उनले पनि घट्टमै व्यतीत गरेका छन् । स्कुल जाँदाआउँदा त्यही घट्वारेले ढुंगामा सेकाएको रोटी खाएर उनले भोक रित्याएका छन् । भनौँ न, घट्ट नै उनको जीवन भोगाइको अपूर्व पाठशाला हो ।

बडहरे भन्ने ठाउँमा जोरघट्ट (एउटै कुलाबाट चल्ने दुईवटा घट्ट) थियो । त्यहाँका घटेरा निकै प्रिय थिए । बाटामा कोही केटाकेटी देखे भने पनि तिनले मकै र गहुँको पीठो मिसाएर पकाएको रोटी खान दिन्थेँ ।

“म त त्यही मुट्के रोटी पो खाएर हुर्किएको हुँ त ?,” बाल्य–सम्झनाको दहमा डुबुल्की मार्छन् उनी । अनुहारमा अतीतद्योतक भाव छाउँछ ।

‘यही घट्टमा बस्न पाए, घट्वारेले पकाएको रोटी खान पाए. अहा..’ मुड्के रोटीले कयौँपटक उनको जीवनलाई आस्वादित तुल्याएको छ र बाल्यकालको टिठलाग्दो कहर बिर्साइदिएको छ । “घट्टमा बस्नु अनौठो रहर थियो, तिनताका,” केटौले उमेरको कुइनेटामा पुगे उनी । ओठमा अतृप्त आभा छायो ।

घट्टको लय

घर नजिकै चोकते खोला थियो । चोकते जीवनको निर्मिमेष सुसाइ थियो । सिँचाइमात्र होइन, त्यही खोलाको पानीबाट चल्ने घट्टको पीठो खाएर दश गाउँले जीवन निर्वाह गर्थ्यो।

दिनभरि घरको काम गर्‍यो, रात ढल्किएपछि भारी बोकेर खोला झर्थे पुरूहरू । राति पालो पनि पाइने, घट्ट जाने बहानामा घरको काममा बाधा पनि नपर्ने । त्यही भएर उनीहरू रातको समयमा घट्ट–पीठो गर्थे उनीहरू, सायद ।

राति घट्ट त गयो तर समय कसरी बिताउने ? सुत्यो भने घट्टको ओइरो सकिएर घोटिएला भन्ने भय । खेतमा पानी लगाउने मौसममा त कुलो भाँचेर घट्टै नघुम्ने बनाइदिन्थे । र त, आगो बालेर भररात जाग्राम बस्थे उनीहरू । “आगो बालेर बस्नू, मध्य रातमा त खोलामा भूत, प्रेत, पिचास आउँछ,” बाबुआमाले यसो भनेको सुन्दा मुटु भयले कुँजो बन्थ्यो ।

त्यसो त उनको पुर्खा पनि ‘घट्वारे’ हो । उनका हजुरबाले कुनै बेला घट्ट अधियाँमा कमाउन दिएका थिए । ‘दोभाने खेत’ छेउमा थापिएको घट्टको ज्यालामा आएको पीठो खाएर हुर्किएका हुन् पिता–पूर्खा भन्दा हुन्छ ।

पछि उनका हजुरबाले डिजेलबाट चल्ने टुकटुके मिल भित्र्याए । अहिले पनि उनका काकाको विद्युतबाट चल्ने चामल कुटानीपिसानी छ ।

ती मिलले विगतको ‘घटेरो’को पृष्ठभूमिलाई धूमिल बनाइदियो ।

घट्टको दृष्याङ्कन

गत वर्ष मञ्जरी नाट्य समूहको आमन्त्रणमा उनी लमजुङ पुगेका थिए । मञ्जरी नाट्य समूहले सञ्चालन गरेको तीनदिने नाट्य कार्यशालाका लागि निम्त्याइएका थिए उनी ।

कार्यशालामा फरकफरक पृष्ठभूमिका मानिसहरू आएका थिए । कार्यशाला सकिएपछि उनीहरूले पुरूलाई बेँसीसहरबाट २२ किलोमिटरमाथि दोर्दी खोला लगे । पछिल्लो समय दोर्दीमा थुप्रै जलविद्युत् परियोजना बन्दैछन् ।

एकजना वयोवृद्धले सुनाए, “कुनै समय दोर्दीमा फट्के नहुँदा धेरैले ज्यान गुमाए । कति अंगभंग भए । अहिले खोलैभरि विजुली बाल्ने कम्पनी खुले ।”

उनको मनमा कूतुहलता सघन भयो । उनले बूढाको माध्यमबाट विस्मृतिको गर्तमा पुगिसकेको दोर्दीका कथा उधिने ।

कुरा खोस्रँदै जाँदा ती वयोवृद्ध कुनै समयका घटेरो रहेछन् । दोर्दीको घट्टले उनको गृहस्थी धानेको रहेछ । दोर्दीका घट्टमा तिनताक ठाडो भाका गाइन्थ्यो र पीठो पिन्न आउनेहरू नाचगान गरेरै रात बिताउँथे । पश्चिममा त घट्ट गायन–संस्कृतिको अद्वितीय केन्द्र पो रहेछ ।

यीनै कुरा मथिङ्गलमा घट्टको मदानीसरह घुम्न थालेपछि ‘पानीघट्ट’ पूर्णाङ्की नाटकले जन्म लिएको हो । र, तिनै वृद्धले दोर्दीको फड्केको किस्सा सुनाएपछि पुरूले ‘पानीघट्ट’सँगै ‘फड्के’ पूर्णाङ्की शृङ्खला तयार पारेका हुन् । खोला तर्ने फड्केसेमत नभएर धेरैको जीवनको भागदौड टुंगिएको दोर्दी वियोगको प्रतीकसमेत रहेछ ! वृद्धको मुखबाट विदारक कहानी सुनेपछि ‘फड्के’ पूर्णाङ्की तयार नपारुञ्जेल निद्रा नै परेन उनलाई ।

“स्कुल पढ्दा कहिलेकाहीँ तादीमा फड्के हाल्न जान्थ्यौैँ, त्यसैले पनि फड्केलाई नाटकीय रूपान्तरण गर्न कठिन भएन,” उनले रचना–भ्रूणका केही आयाम पस्किए ।

घट्ट मञ्चन

मञ्जरी नाट्य समूहकै तत्वावधानमा गत वर्ष नै उनले ‘फड्के’ मञ्चन गरेका थिए । ‘फड्के’ मञ्चनकै क्रममा उनलाई खट्कियो– “‘पानीघट्ट’लाई कसरी बिट मार्ने ?”

यसवर्ष पनि मञ्जरीले भन्यो, “पुरूजी यस वर्ष पनि नाटक मञ्चन गरौँ । तर कथाचाहिँ पोहोर तपाईंले सुनाउनुभएको ‘पानीघट्ट उपयुक्त हुन्छ ।”

उनले त्यसअघि नै ‘पानीघट्ट’सँग जोडिएका सम्भावित कथाक्रमहरू खोजेका थिए । त्यहीबीचमा ठाडो भाका–पुरुष स्व. भेडीखर्के साइँला, दीर्घराज अधिकारीसँग पनि दुई पटक भेट गरेर ठाडो भाकाको सांस्कृतिक आयाम बुझेका थिए ।

‘पानीघट्ट’लाई मियो बनाउने र समाजका अन्य संगती, विसंगतीलाई पनि सहायक कथा बनाउन निधो गरे ।

“हरेक घरका मानिस वैदेशिक रोजगारीमा छन् । परिवारले बजारबाट महिनैपिच्छे चामल किनेर लैजान्छ । तर, घरसँगै जोडिएको बारी बाँझै छ । घट्ट विस्थापित हुने सहायक कारण यो पनि हो,” नाटकमा उनले यही कुरा देखाउन खोजेका छन् ।

वैदेशिक रोजगारीले गाउँ पुरूषविहीन बनाएको छ । हुर्किएका पुरुषले धमाधम गाउँ छाड्न थालेपछि महिलाहरू शव बोकेर दाहसंस्कार गर्न जान अभिशप्त छन् । ढुंगा कुँद्ने, डुँड बनाउने, कुलो फर्काएर घट्ट थाप्ने मानिस नै कहाँ पाइन्छन् र ? यसले पनि ‘पानीघट्टको’ नाटकीय खण्ड पूरा गर्न सघायो उनलाई ।

देश जसरी विप्रेषण उन्मुख बन्दैछ, समाज त्यसैगरी विकृति उन्मुख बन्दैछ भन्ने तथ्य नाटकमार्फत पटाक्षेप भएको छ भन्छन् उनी ।

नाटकसँग वरणी

नाटकसँग उनको उठबस बालापनदेखि नै भयो । गाउँका पानासोनिकको लाइसेन्सवाला रेडियो थियो । पञ्चायतकालमा सरकारसँग अनुमति लिएर मात्रै रेडियो बजाउन पाइन्थ्यो । त्यही रेडियोमा बज्ने बाल कार्यक्रम र रेडियो नाटक सुनेर हुर्किएका हुन् पुरू ।

त्यसका अतिरिक्त घरमा श्रीमद्भागवत, दुर्गा सप्तशती, रामायण, कृष्णचरित्र आदि पुस्तकका ठेलीहरू पनि थिए । हजुरबुबा, बुबा, काका श्लोकादि ग्रन्थहरू सस्वर वाचन गर्थे ।

एउटा किस्सा सुनाए उनले । तिनताका ठूलो बुबा नन्दराम लम्साल नेपालगञ्ज बस्थे र उनी गद्यमा चिठी लेखेर पठाउँथे । हजुरबुबाले पनि छन्दमै जवाफ फर्काउँथे ।

वयोवृद्ध । लेख्नसमेत खासै नजान्ने हुनाले हजुरबुबाको जवाफ उनै पुरू लेखिदिन्थे  “पत्तै नपाई लयमा कविता लेख्न पो अभ्यस्त भएँछु,” हाँस्न थाले उनी ।

रेडियोमा वाचन हुने समाचारको नक्कल गर्थे । “प्रवीण गिरीको समाचार त दिनहुँ नक्कल गरेर सुनाउँथे । बासुदेव मुनाल पनि उत्तिकै मन पर्नुहुन्थ्यो,” पुलकित हुँदै सुनाउँछन् उनी ।

बाल्यकालमै गाउँका केही अग्रज–अनुज मिलेर ‘जालीको जाल सोझाको काल’ मञ्चन गरे । यसैगरी रङ्गमञ्चको यात्रा आरम्भ भयो उनको ।

०५५–०५६ सालमा काठमाडौँ आएपछि उनले केही रेडियो नाटक गरे, जीतेन्द्रमहत अभिलाषीसँग मिलेर । “तिम्रो सबैकुरा राम्रो छ । अभिनय सिकेर आफूलाई तिखार,” अभिनयमा पारङ्गत हुन अभिलाषीले नै प्रेरणा दिएका हुन् उनलाई ।

त्यसपछि उनी वीरेन्द्र हमालको सङ्गतमा पुगे र नाटक सिके । सांस्कृतिक संस्थानले गरेका थुप्रै नाटकमा उनले अभिनय कला पस्किए ।

नाटक सिक्दै गएपछि उनलाई खट्किन थाल्यो– हामीले गरेका नाटकहरूमा हामी आफैँको जीवन, संस्कृति आएको छ कि छैन । नुवाकोटको विषमता छिचोलेको पुरू लम्सालले आफ्ना कथा मञ्चमा प्रस्तुत गर्न सक्छ कि सक्दैन ? यायावरीका लागि खोलामा घट्ट थाप्ने र रूखोपीठो खाएर जीविका चलाउने घट्वारेहरूको सिमान्त कथा नाटकमा आएकी आएनन् होला ? 

“यिनै प्रश्नले एकपछि अर्को गरी पिरोल्न थालेपछि जन्मिएको हो– ‘पानीघट्ट’,” यति भनेर कुराकानी टुंग्याए उनले ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०७४  १२:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC