Skip Advt.
ad

बाह्रखरी समीक्षा

प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा 

प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा 

नेपालको प्रधान न्यायाधीश पदमा आसीन व्यक्ति बारम्बार विवादमा पर्दा नेपालको न्याय प्रशासनको साख गिराएको छ । प्रधान न्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लिएको प्रतिलिपि नागरिकता पनि फेरी विवादमा परेको छ ।

शनिवारको कान्तिपुरले पराजुलीको जन्म मितिबारेमा चारवटा फरक फरक तथ्यांक पत्ता लगाएको थियो । पहिलो जन्म मिति २००९ साल साउन २१ गते रहेको न्यायपरिषद्को बुलेटिनमा प्रकाशित भएको थियो । यो बुलेटिनको जन्ममितिलाई उनले जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएको मितिले पनि प्रमाणित गर्छ । तर, २०५८ सालमा प्रकाशित न्यायपरिषद्को बुुलेटिनमा भने उनको उमेर २०१० साल बैशाख १३ गते उल्लेख गरिएको छ । प्रधान न्यायाधीश गोपाल पराजुलीले २०६७ कार्तिक २५ गते पेस गरेको निवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि नागरिकता लिए जसमा उनको जन्म मिति २०१० साल बैशाख १६ गते उल्लेख छ । नेपाल राष्ट्रिय विद्यापीठबाट जारी चारित्रिक प्रमाणपत्रमा उनको जन्म मिति २०११ साल बैशाख १६ गते उल्लेख छ । 

यही सन्दर्भमा आजको कान्तिपुरमा कृष्ण ज्ञवाली लेख्छन्, प्रधानन्यायाधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लिएको प्रतिलिपि नागरिता पनि विवादित भएको छ । नागरिक अभियन्ता डा. गोविन्द केसीले शनिबार पत्रकार सम्मेलन गरी पराजुलीले प्रतिलिपि नागरिकता लिने क्रममा प्रक्रिया र पद्धति मिचिएको भन्दै त्यसबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 

डा. केसी विपक्षी रहेको ‘अदालत अवहेलना’ मुद्दा सनुवाइका क्रममा सर्वोच्च अदालतले प्रधान न्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरू झिकाएको थियो । यी कागजका आधारमा पराजुलीले नागरिकताको प्रतिलिपि निवेदन दिँदासमेत आफ्नो पुरानो नागरिकताको जन्म मिति फरक पारेको देखिन्छ । 

यो समाचारलाई हिमालय टाइम्सले पनि प्रथम पृष्ठमा प्रकाशित गर्दै प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै डा. गोविन्द केसीले आयोजना गरेको पत्रकार सम्मेलनको विषयमा समाचार लेखेको छ । पराजुलीको राजीनामा नआए आफू फेरि सत्याग्रहसहितको सशक्त आन्दोलनमा जानुपर्ने चेतावनी पनि डा. केसीले दिएका छन् । 

सचिव यादव आफैँले चलाएका जिप दूर्घटनामा

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मोटर दुर्घटनामा परेर मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउने क्रममा धादिङको सलाङघाट भन्ने स्थानमा यादव आफैँले चलाएको सरकारी जिप बाटोबाट खोलामा खसेर दुर्घटना भएको थियो । आफ्नी छोरी डा. रञ्जनाको बिहेको कुरा छिनेर काठमाडौं फर्कदैं गरेका यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष यादव पनि थिए तर उनी फेला परेका छैनन् । यादवका साथमा कुनै पत्रिकाले उनकी भान्जी लेखेको र कसैले साथीको छोरी लेखेको १५ वर्षीया उन्नति गुप्ताको शव पनि फेला परेको छ । सो घटनामा पछाडि सिटमा बसेका गाडी चालक निरन्जन यादव भने बाँचेका छन् । निरन्जन यादवको हकमा कुनै पत्रिकाले गाडी खसेपछि हाम फालेर बाँचेका भनेर लेखेका छन् भने कसैले पानीमा गाडी खसेपछि पौडेर बाहिर निस्केका हुन् भनेर लेखेका छन् । 

आफैँले चलाएको मोटर पानीमा खस्दा पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरे र उनका भाइ प्रकाश घिमिरे मोटरसहित त्रिशुलीमा बेपत्ता भएका थिए । विसं २०७३ साल असोज ९ गते भएको उक्त दुर्घटनामा घिमिरेकी माता तथा एक अन्य नातेदारको मृत्यु भएको थियो भने चालक गाडी त्रिशुलीमा खस्नु अघि नै बाहिर फ्याकिएर बाँच्न सफल भएका थिए । 

यादवको समाचारलाई गोखापत्रले प्रथम पृष्ठमा ठूलो स्थान दिएको छ भने नागरिक, राजधानी तथा हिमालय टाइम्सले पनि ठूलै स्थान दिएका छन् । नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले प्रथम पृष्ठमा प्वाइन्टर समाचार राखेर बाँकी पृष्ठ २ मा प्रकाशित गरेका छन् । 

६ वटा प्रदेशका मुख्यमन्त्री निश्चित

सातवटा प्रदेशमा सरकार बन्ने चटारो चलिरहेको बेलामा गोरखापत्रले ६ वटा प्रदेशमा मुख्यमन्त्री निश्चित भएको समाचार प्रकाशित गरेको छ । प्रदेश १ बाट शेरधन राई, प्रदेश २ बाट मो. लालबाबु राउत, प्रदेश ३ बाट डोरमणि पौडेल, प्रदेश ५ बाट शंकर पोखरेल, प्रदेश ६ बाट महेन्द्रबहादुर शाही तथा प्रदेश ७ बाट त्रिलोचन भट्ट मुख्यमन्त्री हुने निश्चित भएको छ । प्रदेश ४ मा नेकपा (एमाले)को संसदीय दलको नेता चुन्न अझै बाँकी रहेकाले को मुख्यमन्त्री हुन्छन् भन्ने निश्चित भएको छैन । हिमालय टाइम्सले प्रदेश ३ र प्रदेश ७ मा सभामुख निश्चित भएको समाचारलाई मुख्य बनाएको छ । प्रदेश ३ मा एमालेका सानुकुमार श्रेष्ठलाई निर्विरोध सभामुख चुनिएको छ भने प्रदेश ७ मा पनि एमालेका अर्जुन थापाको मात्र उमेदवारी परेकाले उनको चयन पक्का भएको छ । गोरखापत्रले पनि यो समाचारलाई एन्कर बनाएको छ । 

राजधानीले प्रदेश २ मा सरकार भागबन्डा मिलेको कुरालाई मुख्य समाचार बनाएको छ । राजधानीका अनुसार फोरमको मुख्यमन्त्री र उपसभामुख रहनेछन् भने मन्त्रालयमा फोरमले आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी पाउने निश्चित भएको छ । त्यस्तै राजपाले सभामुख सहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । यो समाचारलाई नयाँ पत्रिकाले पनि प्रकाशित गरेको छ । कान्तिपुरले ‘नयाँ सरकार कहिले बन्ला ?’ भन्ने मुख्य समाचारको बक्समा प्रदेश २ को मुख्यमन्त्री तथा प्रदेश ३ र ७ को सभामुखको समाचार प्रकाशित गरेको छ । 

सम्पादकीय

नेपालको चिकित्सा शिक्षा क्षेत्रमा मौलाएको विकृति हटाई यसमा सुधार गर्नुपर्ने मागअनुरूप विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगले बुझाएको प्रतिवेदनका आधारमा कारबाही गर्नुपर्ने मागसहित नागरिकले सम्पादकीय लेखेको छ । विश्वविद्यालय, मेडिकल काउन्सिल भनेका विशुद्ध प्राज्ञिक र सम्मानित निकाय भएको भन्दै यस्ता निकायमा कार्यरतमाथि आरोप पुष्टि भइसकेको सन्दर्भमा त्रिवि पदाधिकारीसहित दोषी ठहर भएका व्यक्तिले सरकारी निर्णय कुर्नुभन्दा पहिलै पद त्याग गर्नु उचित हुने पनि नागरिकको सल्लाह रहेको छ । 

कान्तिपुरले संक्रमणकालीन न्यायप्रति बेवास्ता भएको विचार प्रस्तुत गरेको छ । 
गोरखापत्रले पुनः निर्माणमा तीव्र गति ल्याउनुपर्ने सल्लाह दिएको छ । त्यस्तै हिमालय टाइम्सले महिला प्रतिनिधित्वका लागि समानुपातिकमा भर परेको अहिलेको अवस्था जोखिमपूर्ण भएको र यसलाई प्रवृत्तिको रूपमा लिन हुँदैन भनेर जोड दिएको छ । अन्नपूर्ण पोस्टले आयोजनामा हुने ढिलाइले राष्ट्रको निर्माणमा पु¥याउने नकारात्मक असरका बारेमा सम्पादकीय लेखेको छ ।  

लोकतन्त्रमा सरकार र राजनीतिक दलले जस्तो व्यवहार गर्छन् उस्तैगरी लोकतन्त्रको रंग पनि परिवर्तन हुने तर्क राख्दै नयाँ पत्रिका भन्छ्, मुख्यमन्त्रीहरूको अनुहारले राजनीतिमा गुट बढ्यो र खैरो रंगबाट सप्तरंगी लोकतन्त्र बनाउने सपनाको हत्या भएको छ । राजधानी दैनिकले सशस्त्र प्रहरीबलमा सांगठनिक संरचना हेरफेरका लागि ल्याइएको प्रतिवेदनले सो बलको संगठन कमजोर हुने तर्क गरेको छ । 
 

तपाईंको मत