घटना क्रम

उत्तर कोरिया भ्रमण गर्न दक्षिण कोरियाका राष्ट्रपति मुनलाई निम्ता

सोल, दक्षिण कोरिया (रासस/एएफ्पी) । उत्तर कोरियाली नेता किम जोङ अनले शनिबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन निम्ता दिएको सोलस्थित राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।
दक्षिण कोरियाको भ्रमणमा रहेकी नेता किम यो जोङले उत्तर कोरियाली सर्वोच्च नेता किमले राष्ट्रपति मुनलाई ‘सकेसम्म छिटो’ प्योङयाङमा जान निम्ता लिएर आएको जनाएको ब्लु हाउसका प्रवक्ताले बताए ।  
किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक तथा सर्वोच्च नेता किमकी बहिनी हुन् ।
प्योङयाङमा छिट्टै हुन लागेको अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो । यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनलाई प्योङयाङमा नै भेटेका थिए ।

निम्तालाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन् । उत्तरको निम्तालाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्नेस्थिति नै छैन ।

गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए ।

शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ । 

उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसदका प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपति समेत मानिनुहुने किम योङ नाम तथा नेता किम जोङ अनकी बहिनी किम यो जोङ रहेकी छन् ।
यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।
उनीहरु दुई जना सहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेका थिए ।
भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२००९ पछि उत्तर कोरियाको तर्फबाट यो स्तरका प्रतिनिधि दक्षिण कोरिया पुगेका पहिलो भएको समाचारमा जनाइएको छ । 

तपाईंको मत