विचार

मानवतावाद र जयपृथ्वी 

धनराज जोशी

मानवतावाद र जयपृथ्वी 

“ मेरो जात मानव हो, मेरो धर्म मानवतावाद हो, मेरो सिद्धान्त मानवतावाद हो ।मेरो न कुनै अन्य जात छ न कुनै धर्म छ ।तपाईँहरू पनि मानवतावादी आन्दोलनमा आउनुहोस् र आफ्नो चिन्तनशक्तिको सदुपयोग गर्नुहोस् |” यो सन्देश लिएर विश्व भ्रमण गर्ने एसियाकै पहिला व्यक्ति हुन् मानवतावादी राजा जयपृथ्वी बहादुर सिंह |
मानिसले मानिसलाई राम्रो व्यवहार गर्ने, मानवीय व्यवहार गर्ने तथा मानिसको आदर्श, प्रतिष्ठा र प्रकृतिमा विश्वास गर्ने दर्शनलाई मानवतावादी दर्शन भनिन्छ ।मानव जीवनमा आघात पुर्‍याउनु , असुविधा पुर्‍याउनु वा जीवनलाई दु:खमय बनाइदिनु नै मानवकष्ट हो ।मानवतावाद भनेको यी सबै कष्टको निराकरण गरी सुखसुविधा साथ जीवन संरक्षण गर्ने उपाय हो ।आफ्नो धर्म, राष्ट्र, सिद्धान्त, जातभन्दा माथि रहेर गर्ने व्यवहार नै मानवतावाद हो ।शान्ति, एकता र सहयोगात्मक भावना मानवतावादी दर्शनका मूल मन्त्र हुन् ।

मानवतावादी दर्शन सफल पार्न पूरा गर्नुपर्ने सर्तहरु :-

१. क. धर्मसम्बन्धी झैझगडाको अन्त्य हुनुपर्छ |
   ख. विभिन्न वर्गका मानिसबीच बिरानो वा पराइपन भन्ने हराउनुपर्छ |

२. क. विरोध र ईर्ष्यालु स्वभावलाई आपसी सद्भावना र समान स्वार्थको अभिवृद्धिद्वारा समाप्त पार्नुपर्छ ।
   ख. जातभात र वर्गभेदको दृष्टिलाई सबै मानिस एक हुन् भन्ने भावनाले जित्न सक्नुपर्छ ।

३.क. मानिसले कुनै पनि नयाँ विचार र सिद्धान्तलाई र धर्मको अवहेलना नगरी मानवका निम्ति ग्रहण गर्न सक्ने परिस्थिति  निर्माण गर्नुपर्छ । 
  ख. उनीहरू सच्चा धार्मिक सिद्धान्त र धार्मिक आडम्बर छुट्याउन सक्ने स्थितिमा पुगून् |
  ग. सबै मतभेद बिर्सिन सकून् ।
  घ. कुनै पनि वर्ग, देश वा राष्ट्रले अर्काको हितविपरीत प्राप्त गरेको सफलताको क्षणिकतालाई बुझ्न र सम्झन सकून् ।

एउटा सानो बाइसे राज्य बझाङमा वि.स.१९३४ भाद्र ७ गते जन्मिएका जयपृथ्वी बहादुर सिंह मानवतावादी दर्शनका प्रणेता हुन् । उनले सन् १९२८ मा बैङ्ग्लोरमा मानवतावादी क्लब स्थापना गरेर विश्वभर नै मानवतावादी अभियान सञ्चालन गरेका थिए । जयपृथ्वीले संसारका सबै मानिस एउटै परिवारका सदस्यका रूपमा र सबै देशले सहअस्तित्वको माध्यमद्वारा विश्वब्रम्हाण्डको छहारीमुनि रहन सकेमा मात्र स्थायी विश्वशान्ति सम्भव छ भन्ने बुझाउन एवं युद्धरत मुलुकका पीडित पक्षलाई उद्धार र पीडक पक्षलाई मानवता सम्झाउन विश्वशान्ति सञ्जाल खडा गरी विश्वव्यापीरूपमा शान्ति र मानवतावादी सङ्गठन खोलेका थिए ।जयपृथ्वीले रोक्न खोजेको मुलुक मुलुकबीचको युद्ध एवं मुलुकहरूभित्रका भिडन्तमात्र नभई मानवले मानवलाई गर्ने शोषण र उत्पीडन जस्ता दुष्प्रवृत्ति पनि हुन् ।

मानवमात्रको सुख, खुसी र शान्तिका लागि यिनको रणनीतिमध्ये समुदायगत क्लब स्थापना एउटा थियो ।एकअर्का मानिसको जीवन बुझ्न आपसी छलफल चाहिन्छ ।ती क्लबहरु चाहे गाउँ वा टोल स्तरमा होउन् वा राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय स्तरका होउन्, ती क्लबमा सबै किसिमका मानिस आएर छलफल गर्ने, सद्भावना देखाउने, सहानुभूति राख्नेजस्ता कुराको अभ्यास गरेर तल्लो तहका मानिसमा रहेको हीनता हटाई आफूमा पनि चिन्तन गर्नसक्ने क्षमता रहेछ भन्ने भावना पैदा गराउने र माथिल्लो तहका मानिसको घमण्ड हटाई त्यो पनि   हामी जस्तै हो भनेर दयाको भावना जगाउने थियो ।त्यही कुरा जयपृथ्वीले विश्वभर प्रचार गरे ।जताततै क्लबहरू खोलिए ।

जंगबहादुर राणाका छोरीपट्टिका नाति र चन्द्रशमशेरका छोरीज्वाइ भएकाले  राणाहरूको जीवनशैली एवं सत्ताको लडाइँलाई पनि नजिकबाट देखेका थिए उनले । बझाङजस्तो विकट राज्यमा जन्मेकाले नागरिकको शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अवस्था पनि राम्ररी बुझेका थिए |

विस १९५५ मा जयपृथ्वीले बझाङबाट रविदासे दमाई, कल सार्की र रनि लुहारजस्ता पिछडिएका वर्गका मानिससमेतलाई काठमाडौं ल्याई सीपअनुरुपको तालिम दिलाई बझाङ पठाएका थिए ।उनीहरूका लागि बझाङमा छाला प्रशोधन उद्योग, तामा तथा ढलोट र फलाम उद्योग, नेपाली हाते कागज उद्योग, घरेलु कपडा उद्योग र सिलाइ उद्योग स्थापना गरेका थिए ।

बझाङ्गी नागरिकको हक र अधिकारका  लागि छुट्टै न्यायालय खडा गरी स्वतन्त्ररूपमा बाच्न पाउने कानुनको निर्माण गरेका थिए । नागरिकलाई आफूमाथि भएको अन्यायविरुद्ध न्यायालय जान गाउँगाउँमा ओखेड़ाहरूलाई ठूलो स्वरले कराउन लगाउनुका साथै दैलादैलामा सूचना  टाँस्न लगाएका थिए ।पठनपाठन गराउन जयपृथ्वीले ‘अक्षराङ्क शिक्षा’ नामक पाठ्यपुस्तक लेखी अध्ययन अध्यापनका निम्ति पाठशालामा नि:शुल्क वितरण गरेका थिए ।‘अक्षराङ्क शिक्षा’ नै नेपाली भाषा शिक्षाको पहिलो पाठ्यपुस्तक हो ।

उनले आफैँ प्रधानसम्पादक भई वि.स.१९५८ सालदेखि गोरखापत्रको प्रकाशन सुरु गरेका थिए ।जहानियाँ  राणा शासनमा समेत काठमाडौंको नक्सालस्थित आफ्नै घरमा सत्यवादी पाठशाला संचालन गरेका थिए ।वि.स.१९७० मा काठमाडौंको नक्सालमा स्थापना गरेको सत्यवादी पाठशालालाई उनले बझाङ सारेका थिए ।यिनले बझाङका सबै बालबालिकाले शिक्षा पाउन सकून् भनेर प्रत्येक साताको मंगलबारका दिन आठ वर्षमाथि उमेर भएका बालबालिकाका आमाबाबु बोलाई भोज खुवाउने चलन चलाएका थिए ।

आमाबाबुलाई भोज खुवाएर बालबालिकालाई पाठशाला पठाउन प्रेरित गराउनाले बझाङमा त्यस बेला शिक्षा क्षेत्रमा ठूलो क्रान्ति आएको थियो ।विस १९८५ तिर त बझाङका धेरै मानिस शिक्षित थिए ।पाठशालाभन्दा अलिपर नेपाली हाते कागज उद्योग थियो ।विद्यार्थीलाई चाहिने कागज त्यही उद्योगबाट उत्पादन गरिन्थ्यो ।

पछि उनले राजा पदवी बाबुलाई सुम्पिएर भारतको देहरादुन र नैनितालमा बसी ‘मानवतावाद’ नामक पुस्तक लेखे ।यो पुस्तक नै आधुनिक नेपालको इतिहासमा दर्शनसम्बन्धी पहिलो पुस्तक हो ।विस १९६७ मा जयपृथ्वीले बझाङमा क्रान्तिकारी भूमिसुधार व्यवस्था लागु गरी बझाङका राजारजौटाका नाममा दर्ता रहिआएका जग्गामा मोहियानी हक दिलाई सर्वसाधारण नागरिकका नाममा जग्गा दर्ता गराएका थिए ।

एउटा विकट राज्यमा जन्मेर पनि विश्वलाई मानवतावादको सन्देश दिएका मानवतावादी राजा जयपृथ्वीलाई आधुनिक नेपालले भने बिर्सदै गएको छ ।रिस, राग र वैमनस्यमा डुबेको अहिले विश्वलाई मानवतावादको खाँचो छ ।विद्यालय स्तरबाट नै  मानवतावादी शिक्षा लागु गरेर प्रत्येक विद्यार्थीलाई मानवतावाद सिकाउन जरुरी छ ।

 

तपाईंको मत