site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी जन्मियो ‘भस्मे’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
हेलो, भस्मे दाइ हो ?
हो । (अलि अनकनाएको स्वरले भन्यो)
नमस्ते ! म बाह्रखरीबाट नरेश बोल्दैछु । तपाईंसँग छोटो अन्तर्वार्ता गरौं कि भनेको, मिल्छ ?
मिल्छ, किन नमिल्नु ।
दाइ कहाँ ? पशुपतिमै त हुनुहुन्छ होला ?
शायद उनलाई जिस्काइरहे जस्तो भान भयो क्यारे, हाँसौं कि नहाँसौं गर्दै मन्द हाँसोको स्वर सुनियो ।
अवस्थालाई सहज बनाउँदै भनें, “एनीवे, कहाँ बस्नुहुन्छ ?”
कलंकी ।
आज दिउँसो भेट्न सकिएला ?
उनी अफिसको लोकेसन र समयबारे फिक्स हुन चाहे ।
बिहानको यो संवादपछि ‘पशुपतिप्रसाद’का पात्र ‘भस्मे’ उर्फ विपीन कार्कीसँग दिउँसो २ बजे भेट्ने तय भयो ।
समयका पक्का नै रहेछन् । २ बजे नै थापाथलीस्थित बाह्रखरीको कार्यालयमा हाजिर भए । र, सुरु भयो ‘भस्मे’को कथा खोतल्ने क्रम ।
 
चिल्लो अनुहार, डेडलक कपाल, शरीरअनुसारको कपडा, टाउकोमा बाँधेको रुमाल । निकै स्टाइलिस लागे उनी । स्पष्ट र मोटो स्वर भएका विपीन कहीँ कतै पनि ‘पशुपतिप्रसाद’को ‘भस्मे’जस्तो लाग्दैनन् ।
‘छड्के’ खेलिसकेपछि विपीनसामु थुप्रै स्क्रिप्ट आइपुगे । त्यसअघि नेपाली रजतपटमा खासै ‘नोटिस’ नभएका उनलाई ‘छड्के’पछि भने दर्शकले आफूलाई चिनेको जस्तो लाग्थ्यो । त्यसैलै उनी जे आउँछ, त्यसमा खेलिहाल्न हतारिँदैनथे ।
“म स्क्रिप्ट पढ्थें । स्क्रिप्ट बलियो लाग्यो भने ओके गर्थें । लागेन भने रिजेक्ट गर्थें,” उनले भने ।
उनलाई ‘छड्के’ र ‘पशुपतिप्रसाद’को बीचमा आएका अधिकांश स्क्रिप्ट चित्त बुझेनन् ।
‘छड्के’बाट दर्शकसामु आफूलाई चिनाउन उनले निकै पापड बेल्नुपर्‍यो । नेपाली रंगमञ्चमा एकछत्र राज गरेर दशकौंसम्म सेतो पर्दालाई पेवा बनाएका मूलधारका हस्तीहरूलाई चलचित्रमा प्रवेश गर्नेबित्तिकै धूलो चटाउने दयाहाङ राई, सौगात मल्ल, फाट्टफुट्ट भए पनि देखिने सुनील पोखरेल, रवीन तामाङ, अर्पण थापा, नम्रता श्रेष्ठजस्ता पात्रहरूसँगै आफूलाई झन्डै–झन्डै समानान्तर रूपमा उतारेका विपीनलाई कम्तीमा पनि आफूलाई न्याय गर्ने कथा चाहिएको थियो । त्यसैले उनले दुई–चार पैसाको माया मोरेरै धेरैलाई ‘हुन्न’ भने । 
‘छड्के’सँगै विपीनसँग केही सम्झना गाँसिएर आए, जुन आज पनि उनी भुल्न सक्दैनन् । पहिलो, जसलाई उनले रंगमञ्चको दुनियाँमा आफ्नो आइडल माने, सौगात मल्ल, उनैसँग यो चलचित्रमा काम गरे । कमलमणि नेपालको संगतले थिएटरमा छिरेका विपीन सौगातसँग प्रभावित भए र रत्तिए । उनलाई सौगात मल्लको अभिनय कला बडो अजिबको लाग्थ्यो । उनलाई पनि सौगातसरह अभिनय गर्न सक्न पाए हुन्थ्यो जस्तो रहर लाग्थ्यो । तर, सक्दिनँ जस्तो पनि लाग्थ्यो । उनै सौगातले विपीनलाई रंगमञ्चको कला सिकाए । बिग्रिँदा ‘त्यसो होइन विपीन, यसरी गर्नुपर्छ’ भने । चिप्लिएर लड्दा हात समाइदिए । उठ्न खोज्दा कैयौंपटक हात दिए । तिनै सौगातसँग ‘छड्के’मा खेल्न पाउनु विपीनका लागि ठूलो उपलब्धि थियो ।
उपलब्धिसँगै अगाडि ठडिएको थियो– अजंगको पहाड, जुन छिचोल्नु फलामको चिउरा चपाउनुसरह थियो । तर, पनि त्यो पहाड चढ्नु नै थियो । 
विपनमा एउटा कमजोरी छ रे ! उनी आफैं भन्छन्, “म जस्तोसुकै कमजोर स्क्रिप्ट र कमजोर अथवा सजिलो चरित्र नै किन नहोस्, त्यसलाई गर्न सक्छु जस्तो कहिल्यै लागेन । र, अहिले पनि लाग्दैन ।”
निधारका पसिना हातले सिनित्त पार्दै उनले थपे, “छड्केमा पनि त्यस्तै भएको थियो । स्क्रिप्ट हेर्छु, राम्रो लाग्छ । अग्रज हस्ती कलाकारहरूसँग खेल्ने अवसर छ । जिम्मेवारी हेर्छु, सक्छु र ? जस्तो लाग्छ । तर, पनि यो अवसर गुमाउनु हुँदैन भन्ने लाग्यो र हुन्छ भनें । अनि खेलें ‘छड्के’ । राम्रै पनि भयो ।”
‘छड्के’ले उनलाई नाम दियो । उनको कला पहिचान गराइदियो । विपीनको अनुहार दर्शकको मस्तिष्कमा घुसाइदियो । उनी दर्शक र नेपाली सिने नगरीमा ‘नोटिस’ भए ।
‘छड्के’मा उनी चितवनको स्थानीय पात्र भएर खेलेका थिए । उनी त्यो सुटिङको समय त्यहाँ त्यसैगरी हिँड्थे रे, जस्तो ‘छड्के’मा देखिन्छन् । आफूलाई चितवनको लोकल देखाउन उनी भित्रैदेखि प्रयास गर्थे । चितवनमा छायांकन हेर्न आउनेहरू पनि उनलाई स्थानीय कलाकार नै भन्ठान्थे रे !
अझै पनि उनलाई धेरैले चितवनको भन्छन् ।
“फेसबुकमा अधिकांशले मलाई घर चितवन हैन ? भनेर सोध्नुहुन्छ । आज बिहानमात्रै पनि मलाई तीन–चार जनाले फेसबुकमा यही प्रश्न गर्दै हुनुहुन्थ्यो,” उनले भने । 
 
० ० ० 
चितवनबाट काठमाडौंको पशुपतिनाथतर्फ आऊँ– जहाँ जन्मिएको थियो एउटा अजिबको पात्र ‘भस्मे’ । न अनुहार छ, न रूप, बेढंगको बोली, त्यसमा पनि भास्सिएको स्वर । असहजमात्रै होइन, साँच्चै अजिब पात्र । आर्यघाटमा ‘टिला’ र मान्छे पोलेका ‘सेकेन्डह्यान्ड’ मूढा बटुलेर जिन्दगी घिसारिरहेको भस्मे आफूलाई पशुपति क्षेत्रको स्वघोषित ‘डन’ भन्छ र आफूजस्तै दुई–चार जनालाई पछि लगाएर हिँड्छ ।
मरेका मान्छेका औँठी ब्रह्मनालमा अन्तिम संस्कार गर्दा मृतकका आफन्तले बागमतीमा कहिले फाल्छन् र त्यसलाई हात पारेर महँगोमा बेचूँला भन्दै बसेको पशुपतिप्रसादलाई एक आँखाले पनि देखिनसहने भस्मे कसरी जन्मियो ?
विपीनले सुनाए, “एकदिन मसामु ‘पशुपतिप्रसाद’को स्क्रिप्ट आइपुग्यो । ‘छड्के’पछि धेरै स्क्रिप्ट आइपुगे पनि मलाई उत्तिसारो चित्त बुझ्ने भने कमैमात्र थिए । यो भने मलाई चित्त बुझ्यो र ‘डन’ गरें ।” 
‘पशुपतिप्रसाद’को स्क्रिप्ट उनीसामु आइपुग्दा अहिलेको जस्तो ‘भस्मे’को रूप त्यहाँ थिएन । चलचित्र निर्माणका लागि छलफल गर्ने भन्दै निर्माण युनिट क्लोज क्याम्पमा बस्ने भयो । त्यसमा विपीन पनि थिए । क्लोज क्याम्प बस्नुअघि उनले आफ्नो चरित्र पटक–पटक पढेका थिए । केही न केही नयाँ गर्नुपर्छ भन्ने थियो । होइन भने ‘पशुपतिप्रसाद’भित्रै हराइन्छ भन्ने उनलाई लाग्यो । ‘छड्के’मा देखाएको कला पनि ‘पशुपतिप्रसाद’ले पशुपतिमै सेलाइदिन्छ भन्ने ठाने ।
र, सुरु भयो भस्मेका लागि विपीनको नाटक ‘क्लोज क्याम्प’मा । ‘पशुपतिप्रसाद’का नायक तथा लेखक खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाललगायत सबै कलाकार थिए । चलचित्र कसरी राम्रो बनाउने भनेर छलफल सुरु भयो । सबैले आफूलाई ‘थिंक ट्यांक’कै रूपमा प्रस्तुत गरिरहेका थिए । बोल्ने पालो आयो विपीनको । बोल्न खोज्छन्, स्वर पटक्कै आउँदैन । रेडियो नेपालका समाचारवाचक हरिशरण लामिछानेको झैं गहकिलो स्वर भएका विपीन भित्रभित्रै सासले मात्रै बोल्छन् ।
“मेरो स्वर भासियो । यस्तै आउँछ दुई–चार दिनदेखि,” उनले भने ।
त्यस्तै स्वरमा उनले आफ्नो विचार राखे । ‘भस्मे’ क्यारेक्टरलाई यसरी निभाउँछु, यसो गरे राम्रो होला भनेर मनमा लागेको कुरा भने । निर्देशक खनाल र लेखक लामिछानेले ‘माइन्ड मेकअप’ गर्न भने । उनले पनि ‘हस’ भने । दुवैले उनलाई छायांकन गर्ने बेलासम्म स्वर ठीक हुन्छ भनेर हौसला दिए ।
यथार्थमा विपीनको स्वर भास्सिएको थिएन । हरिशरण लामिछानेकै जस्तो थियो, मोटो । तर, उनलाई केही नयाँ र फरक नगरे कसैले पनि ‘नोटिस’ गर्दैन भन्ने लागेको थियो । त्यसैले उनले भास्सिएको स्वर निकालेर बोल्ने निर्णय गरेर वनावटी स्वर निकालेर ‘क्लोज क्याम्प’मा बोलेका थिए । घरिघरि उनी बोल्दा बिर्सिन्थे । आफ्नो सक्कली आवाजमा बोल्थे ।
चलचित्र सुटिङ हुनुभन्दा चार÷पाँच दिनअगाडि भने विपीनले खगेन्द्र लामिछानेसँग सुटुक्क भने, “मैलै भास्सिएको स्वरमा भस्मेको क्यारेक्टर गर्न नक्कली स्वर निकालिरहेको हुँ ।”
खगेन्द्रले पनि त्यसको केही दिनपछि निर्देशक खनाललाई विपीनको कुरा सुनाए । दीपेन्द्रले ‘राम्रो गर्न सक्छौ भने गर’ भने ।
विपीनले भने, “यसरी ‘पशुपतिप्रसाद’मा मैले मेरो स्वर भासिएको निकालेको हुँ । शायद मैले सामान्य तरिकामै भस्मेको क्यारेक्टर गरेको भए कसैले पनि ‘नोटिस’ गर्दैनथ्यो । म ‘पशुपतिप्रसाद’भित्रै कतै हराउँथें । शायद खोज्दा मैलेमात्रै देख्थें होला ‘भस्मे’ ।” 
उनी सुटिङकै क्रममा ‘पशुपतिप्रसाद’मा आफ्नो चरित्र हिट हुने बताउँथे । सुटिङ स्पटमा साथीहरूसँग सेयर गरेको कुरा सम्झँदै उनले भने, “पशुपतिप्रसाद हिट भयो भने मेरो क्यारेक्टरलाई सबैले नोटिस गर्छन् । पशुपतिप्रसादलाई जस्तै दर्शकले सम्झनेछन् ।”
भयो पनि त्यस्तै ।
 
० ० ० 
०४० सालमा विराटनगरमा जन्मिएका विपीन ०५६ सालमा काठमाडौं छिरेका हुन् । यहीँको आरआर क्याम्पसमा पढेका उनले कहिल्यै पनि थिएटर आर्टिस्ट र सेतो पर्दाको ‘डन’ हुने सपना देखेनन् । उनलाई जिन्दगीले मात्रै डोर्‍याएको हो रंगमञ्च र सिनेमाको पर्दामा उत्रिन ।
०६३ सालमा विपीन पहिलोपटक थिएटर छिरे र हेरे, ‘ताराबाजी लै लै’ । यो नाटक हेरिसक्दा पनि उनलाई अभिनयको भूत सवार भएन । साथीभाइका लागिमात्रै उनी बेलाबेलामा रंगमञ्च छिर्थे । आफ्नै जिल्लाका कमलमणि नेपालसँग भेट भएपछि उनीसँगको उठबसले भने विपीनलाई रंगमञ्चको स्वाद चखायो । उनी बिस्तारै नाटक सिक्न थाले । विश्वमै नाटकका राम्रा प्रशिक्षक मानिने मोटन क्रोगबाट उनले रंगमञ्चमा अभिनयकला सिके । विभिन्न समयमा विभिन्न देशबाट आउने प्रशिक्षकले दिने र नेपालकै अग्रजले गराउने वर्कसपमा बस्न थाले ।
‘कुमारी’ बाट रंगमञ्चमा डेब्यु गरेका उनको यो कथा पनि बेग्लै छ । ‘कुमारी’ मा उनी पहिलो रोजाइका कलाकार थिएनन् । विपीन ‘कुमारी’ का रि–कास्ट गरिएका पात्र हुन् ।
“कुमारीमा एकपटक देखाएर एक महिनापछि फेरि मञ्चन गर्नुपर्ने भयो । त्यसका लागि पुराना पात्रहरु नभएपछि मोटन क्रोगले मलाई ‘रि–कास्ट’ गराउनुभएको हो,” विपीन सम्झन्छन्, “त्यसपछि मैले मेजर रोलहरु पाउन थालें । गुरुकुलमा मात्रै २० वटाभन्दा धेरै नाटक गरें ।”
सुरुवातका वर्षमा उनको परिवारले रंगमञ्चमा लागेको निको मानेको थिएन । परिवारबाटै धेरैपटक उनलाई रंगमञ्चबाट छुटाउने प्रत्यक्ष/परोक्ष प्रयास भयो । विपीन भन्छन्, “कुन परिवारलाई आफ्नो सन्तान कलाकारितामा लागोस् भन्ने हुन्छ र ? मेरो पनि त्यही हो । तर, मेरो ढिटका अगाडि उहाँहरुको केही लागेन । त्यसैले पछि भन्नै छाड्नुभयो ।”
अहिले पनि उनको परिवारले उनलाई केही भन्दैन । “सिनेमामा देख्न थालेपछि शायद राम्रै हुँदोरहेछ भन्ने लाग्यो होला, केही भन्नुहुन्न,” लामो सास फेर्दै विपीनले भने । 
कुनै समय थिएटरमा ‘रि–कास्ट’ गरिएका विपीन अहिले ‘लुट–२’को सुटिङमा व्यस्त छन् । विपीनको लिड रोल रहेको ‘जात्रा’ कात्तिक १९ मा प्रदर्शन हुँदैछ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १८, २०७३  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC