साहित्य र कला

शोकबाट शक्ति

शोकबाट शक्ति

– अक्षर काका


घुन्सा– चिहानको पर्याय लाग्छ । सम्झिँदा पनि मन कहालिएर आउँछ । सम्झनाको कुइनेटोमा मन बजारिन्छ । र, पत्तै नपाई आँखाका छेउकुना रसाइदिन्छन् । बलेनीसरह भेल बगिदिन्छन् ।

घुन्सा– एक अनिष्टको पर्याय ।

त्यहीँ हो उनको मातृत्व नामेट भएको । र त, अहिले पनि लाग्छ– दशकौँअघि निमिट्यान्न भएको आमाको प्रश्रव–चित्कार घुन्सावरिपरि घुमिरहेको छ । र, मुत्युको कोलाज बनिरहेको छ ।

दशकौँअघिको कहालीलाग्दो त्यो क्षण उनले विस्मृतिको गर्तमा फालिदिइसकिन् । र पनि बेलाबखत ऐँठन भइरहन्छ र घुन्साको कहालीलाग्दो चित्रणले मन भरिदिन्छ र तरल भएर आँखाबाट झरिदिन्छ ।

घुन्सा मृत्युको गुञ्जन हो । विकटताको प्रतिविम्ब हो । दूरताको मानक हो । सौन्दर्यछटा कञ्चनजङ्घाको पुछार भए पनि घुन्सा केवल मृत्युको पुकार, जीवनको निथार बनिरहेको छ, आजपर्यन्त ।

घुन्सा आजभन्दा दशकअघि २०६३ साल असोज ७ गते तत्कालीन वन तथा भू–संरक्षणमन्त्री गोपाल राईसहित २४ जना निल्ने उच्चाटिलो पहाड हो ।

मन्त्री राईका अतिरिक्त उनकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल, विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजयकुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मीलगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको जीवनलीला सकिएको हो, त्यसबखत ।

त्योभन्दा ठीक एक दशकअघि त्यही घुन्साको विकटताले याङ्जोम शेर्पाको मातृत्व निमेषभरमै खरानी बनाइदियो । अत्यधिक रक्तश्रावका कारण उनकी आमाले सदाका लागि आँखा चिम्लिइन् । यौवनवयकै उनकी आमाले प्रश्रव पीडा छिचोल्न नसकेरै भौतिक चोला बिसाउनुपर्‍यो ।

४५ घरधुरी रहेको गाउँमा ममता गुमाउने याङ्जोम एक्ली होइनन् । उनले थाहा पाउँदासम्म १६ जना आमाले त्यसैगरी ज्यान गुमाए । कैयौँ बालबच्चा जन्मजात टुहुरा भए । कति आमासँगै परमधाम गए । र त, उनलाई घुन्सा मृत्युको टीठलाग्दो विम्ब लाग्छ ।

पछिल्लो समय उनी घुन्साको परिचय फेर्न उद्यत छिन् । सुत्केरी हुँदा २ सय रुपैयाँको औषधिमूलो र ज्वरो आउँदा सिटामोलसमेत नपाएर मृत्युवरण गर्नुपर्ने कारुणिक अवस्थाको अन्त्यका लागि २९ वर्षे याङ्जोम दिनरात नभनी लागेकी छन् ।

वियोगको सिलसिला

८ वर्षकी थिइन् याङ्जोम । बजार देख्न दुई दिनको पैदल छिचोल्नुपर्ने, चौँरी हेर्दै बित्यो बालापन । त्यसदिन पनि उनी चौँरी गोठालो नै गएकी थिइन् । दिदी पनि साथै थिइन् ।

गाइँगुइँ चल्यो– दुई जिउकी आमाले बच्चा जन्माउनेवाला थिइन् । मनमनै पुकारिन्, “भाइ जन्मिदिए हुन्थ्यो !”

बालचेत दूर नभएको मस्तिष्क । भाइ जन्मिए के हुन्छ, उनलाई के थाहा ? 

“काखमा लिएर खेलाउँथें, दिदीभाइ सँगै चौँरी हेर्न पाइन्छ,” मस्तिष्कपटलमा मूर्तअमूर्त विम्ब कुँदिइरह्यो । आस्वादित भइरहिन् उनी ।

“च्याहाँ....!” आमाको आर्तनाद पन्छाएर एउटा कोमल चित्कार गुञ्जियो । मनोकांक्षा पूरा भयो उनको । भाइ जन्मियो ।

गाउँभरिका मानिस भेला भए । धर्तीमा भर्खरै पाइला टेक्दै गरेको नवोदित शिशुले उमंगको आँधीबेहरी ल्यायो । घरपरिवामा खुसीको क्यानभासमा इन्द्रधनुष पोतियो ।

तर, त्यो खुसी क्षणभङ्गुर बन्यो । आमाको रक्तश्राव रोकिएन । करिब तीन दिनको प्रश्रव बेदना छिचोलेर सन्तान त पैदा भयो । अन्तिममा त्यही मृत्युको कारक बन्यो । अतिशय वेदनामा छट्पटिँदा छट्पटिँदै आमा भाइ पैदा भएको पाँच मिनेटपछि नै निचेष्ट भइन् ।

गाउँभरिका मानिस भेला भए । सबैका आँखामा सानोतिनो खोल्सो उर्लिएको थियो । तर, दिदीबहिनीलाई घरसामुन्ने तेस्र्याइएको तगारो काटेर आउन दिइएन । दिदी त जसोतसो उम्किइन्, उनीचाहिँ थुनिइन् । आमाको अन्तिम चीत्कारको साक्षीसमेत बन्न पाइनन् उनी ।

आमासँग भाइ साट्नुपर्ने अभिशप्त नियति उनको पोल्टामा पर्‍यो ।

बोल्दै जाँदा विगतले गाँज्यो उनलाई । विस्मृतिको कुनाकन्दारामा पुगेर आमाको अनुहार सम्झने प्रयत्न गरिन् । कोषकोष, तन्तुतन्तु चिहाएर सम्झनाका पत्र उधिन्दा पनि उनले आमाको अनुहार ठम्याउन सकिनन् । सक्दै सकिनन् ।

“नागरिकतामा टाँसिएको एउटा धूमिल फोटो छ, आदिम संग्रहालयको भित्तामा झुन्ड्याएको सुन्दर सहरको कुरूप चित्रजस्तो ! सम्झनाका लागि त्यही बोकेर हिँड्ने गरेकी छु,” आँखाका चेपबाट खसूँलाझैँ भएको आँसु आँखामै दबाउँदै यत्ति भन्न सकिन् उनले ।

मृत्युको शोकले परिवारको लय बिथोलियो । तितरवितर भए उनीहरू । नवजात शिशु हजुरआमाले स्याहारिन् । ३ कक्षामा पढ्दै गरेकी पढाइमा अब्बल दिदी स्कुल जान नपाउने भइन् । किताब च्याप्ने उमेरमा नवजात शिशुको रेखदेख पो गर्नुपर्ने भयो ।

दाजु फुपूदिदीको सान्निध्यमा भारत पुगे । भाइ सिक्किमको रावङ्गला भन्ने ठाउँ पुर्‍याइए । उनी भने अर्की फुपूसँग साथ लागेर तेह्रथुमको आठराईको संक्रान्ति बजार आइन् । भनौँ न, जिन्दगीले घुम्ती बेहोर्‍यो ।

बाँकी बाल्यकाल र किशोर आठराईमै बित्यो, प्रवेशिका परीक्षा त्यहीँबाट पूरा गरिन् उनले ।

प्रवेशिकाको तगारो पन्छाएपछि उनको जीवनमा एउटी पात्र प्रवेश गरिन् । आमा बालखैमा गुमाएकी थिइन् । हल्यान्डकी किस केरखोपले मातृत्वको छहारी दिइन् ।

“अहिले पनि सम्झना छ, काठमाडौँ आएपछि पहिलोपटक उहाँले नै असन बजार पुर्‍याउनुभयो, नयाँ लुगा किनेर लगाउनसमेत सिकाइदिनुभयो,” नोस्टाल्जिक भइन् उनी र अनुहारमा क्रमशः सिन्दूरे आभा छायो ।

केरखोपले भनिन्, “पढाइ र स्वास्थ्य दुवैप्रति संवेदनशील छ्यौ, स्वास्थ्यसम्बन्धी कुनै विषय पढ, बरु आवश्यक सहयोग म गरूँला ।”

ठूलै आडभरोसा मिल्यो उनलाई । काठमाडौंको ओम हेल्थ क्याम्पसमा एएनएममा भर्ना भइन् । ०५९ मा काठमाडौँ खाल्डो पसेकी हुन् उनी । काठमाडौँ रहरले आएकी होइनन्, तेह्रथुमको थातथलो छोडेर फुपूको परिवार काठमाडौँ बसाइँ सरेपछि उनको पाइला पनि यतै मोडियो ।

एएनएमको १८ महिने कोर्स पूरा गरेपश्चात् व्यावसायिक सीप विकास तथा तालिम केन्द्रले केयर गिभरसम्बन्धी प्रशिक्षकको आवेदन माग्यो । उनले दरखास्त हालिन् । पढाइमा विलक्षण याङ्जोमले नाम ननिकाल्ने कुरै भएन । छनोट भइन् । र, केयर गिभरकी प्रशिक्षिकाको अनुभव सँगालिन् ।

वैदेशिक रोजगारीको सिलसिलामा क्यानडा, इजरायल जाने महिलाहरूका अतिरिक्त मातृ शिशु कार्यकर्ता र ग्रामीण स्वास्थ्य कार्यकर्तालाई समेत पढाउँथिन् उनले । झन्डै दुई वर्ष त्यही कर्मममा बित्यो ।

जादुयी स्वर

०५८ सालको जनगणना हुँदा आफ्नो गाउँमबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने एक्ली महिला थिइन् उनी । सुदूरपूर्वको अन्तिम गाउँमात्रै होइन, शिक्षा र स्वास्थ्यको किनारको ठाउँ पनि थियो त्यो । किताबसँग होइन, चौँरीसँग परिचय पाउँछन् त्यहाँका स्कुले किशोरी र जीवनभर भेडीखर्कको गोठालो अभिशप्त हुन्छन् । दुःख, पीडा, रोग, भोक र शोक नै उनीहरूका दौँतरी हुन् । चौतारीको वरपीपलको छहारीझैँ जीवनभर त्यसैको ओत लाग्छन् ।

केयर गिभरको तालिमपश्चात् सिकाइको दायरा फराकिलो भयो । विभिन्न कार्यक्रममा भाग लिने, भेला, बैठक, सभा सम्मेलनमा सरिक हुने उनको चर्या बन्यो ।

वाकपटुता, चातुर्यता र बान्कीपूर्ण भाषण कौशलको चर्चा हुन थालिसकेको थियो । तिनताका ताप्लेजुङ सरोकार केन्द्रका अग्रज–अनुज भन्थे, “यति राम्रो कमान्डिङ भएको मानिसले अब उद्घोषणतिर लागे भयो नि !”

उत्प्रेरणाका अस्त्र बने ती । र, क्रमशः कार्यक्रम सञ्चालनतिर उद्वेलित भइन् ।

“आठराईतिर बस्दा त्यस्तो साङ्गीतिक माहोल थिएन । पहिलोपटक रमा सिंहले श्यामश्वेत टिभीमा समाचार वाचन गरेको देख्दा, अहो केटीले पनि टीभीमा बोल्दा रहेछन् जस्तो लाग्थ्यो,” किशोर वयमा फर्किइन् उनी । ओठको हाँसो उछिट्टिएर मूल सडकमा बजारियो ।

उद्घोषणमा अगाडि बढाउन मुख्य भूमिकाचाहिँ पिताजीकै छ रे ! “सधैँ कार्यक्रममा गइरहन्थेँ । बुबा भन्नुहुन्थ्यो– के कार्यक्रममा धाइरहेको ? पैसा आउँछ ? यसो मञ्चमा उभिएर बोले पो छोरीले गरी भन्नु !– बाबुको यही वाणी ब्रह्मास्त्र सावित भयो र पत्तै नपाई उद्घोषणतिर लहसिएँ,” मच्चिएरै हाँसिन् उनी ।

चार वर्षदेखि व्यावसायिक उद्घोषिण र कार्यक्रम सञ्चालक भएर उनी थुप्रै देश गइसकेकी छन् । कुशल वाककला, मधुमिश्रित वाणीका कारण उनी सबैको रोजाइमा परेकी छन् । देशका अधिकांश भागका साना–ठूला सबैजसो कार्यक्रम सञ्चालनको अनुभव बटुलेकी याङ्जोमले सिंगापुर, हङकङलगायत देश पुगेर आफ्नो वाक् चमत्कार प्रस्तुत गरिसकेकी छन् ।

स्वास्थ्य केन्द्र निर्माणको हुटहुटी

उनी सहर पसेपछि पनि घुन्साबाट मृत्युको डरमर्दो तुँवालो हटेन । नियतिले उनको मावली खलकै निखा¥यो । प्रश्रव पीडामै ज्यान गुमाएकी माइजूको सन्तान उनैले हुर्काउँदै छिन् ।

२१ औँ शताब्दीमासमेत सुत्केर हुन नसकेर मृत्युवरण गर्न बाध्य भएकाको साक्षी बस्दाबस्दा उनको मथिङ्गगल खज्मजिन थाल्यो । एक–दुईपटक त उनले हेलिकप्टर चार्टर गरेर सुत्केरी नबचाएकी पनि होइनन् । एकजना सुत्केरी काठमाडौँ ल्याएको झन्डै ३ लाख हेलिकोप्टर भाडा । सुत्केरी स्याहार्दाको बेग्लै खर्च । जहान सुत्केरी गराउँदा कतिको त घरखेत जाने । जीवनभर गरिबीसँग प्रेम गर्नुभन्दा घरमै प्रसूति गराएर नाफाकी श्रीमती स्याहार्नु उत्तम । हैरान भएपछि गाउँमै स्वास्थ्य केन्द्र बनाउने अभियानमा जुटिन् ।

त्यसो त उनले सुरूआतमा गाउँमा जनचेतना अभिवृद्धि गर्न, महिला स्वास्थ्यका बारेमा जनचेतना जगाउन र परिवार नियोजनका अस्थायी साधनबारे सूचना दिन अनेक यत्न पनि गरिन् । फ्रेन्ड्स अफ् शान्त भवनको सहकार्यमा परिवार नियोजनका दीर्घकालीन र अल्पकालीनसँगै क्षणिक साधनहरूको बारेमा पनि सुसूचित गर्न खोजिन् तर गाउँका मानिस ‘कन्सस’ भएनन् । परिणाम शून्य पो भयो ।

घुन्साभन्दा तल फलेमा चाहिँ केही प्रभाव देखियो । फलेमा रहेको तिब्बतीयन क्याम्पवरपरका महिला कसैको महिनावारी गडबडी, कसैको लगातार रक्तश्राव भइरहेको, कोही पाठेघरको मुखमा संक्रमणले पीडित, कसैमा क्यान्सरसमेतका लक्षण देखिएका । असुरक्षित तवरले परिवार नियोजनका साधन पाठेघरमा राख्दा त्यसले उल्टै घाउ बनाएका । पाठेघर खसेका । महिलाहरू नारकीय जीवन व्यतीत गर्न विवश थिए । समस्याले कहालिइन् । केहीलाई उनले काठमाडौँ ल्याएर उपचारसमेत गरिन् । त्यसरी मात्रै पनि समस्या पार लाग्दैनथ्यो ।

त्यसैले बर्थिङ सेन्टरसहितको स्वास्थ्य केन्द्रकै स्थापना गरेर त्यहाँको स्वास्थ्य समस्यालाई किनारा लगाउने अभियानमा जुटिन् उनी ।

सुरूमा स्वास्थ्य चौकी खोल्ने लक्ष्य लिएकी थिइन् तर बाधक भइदियो नेपाल सरकारको नियम । सरकारी नियमानुसार गाविसमा स्वास्थ्यचौकी पहिल्यै गइसकेको छ, अर्को स्थापना गर्न मिल्दैन ।

गाविसबाट उनको गाउँ पुग्न पूरा दुई दिन लाग्थ्यो । गाविसको स्वास्थ्य चौकीले लाभ नदिएकैले अर्को स्वास्थ्य केन्द्र खोल्नुपरेको थियो । हात बाँधियो उनको ।

तर, हिम्मत हारिनन्, विकल्प पहिल्याउन थालिन् । पत्ता लाग्यो– स्वास्थ्य चौकी पुगेका तर स्वास्थ्य सेवा नपुगेका ठाउँमा अस्थायी सामुदायिक स्वास्थ्य सेवा केन्द्र खोल्न पाइन्छ ।

सेवाप्रदायक संस्था स्थापना गर्ने उपाय पत्ता लगाएपछि उनी विभिन्न निकायमा गइन् । हारगुहार गरिन् । सांसदका टेबलदेखि मन्त्रालयका सचिवको दराजसम्ममा पुगेर फाइल थन्किए । झन्डै सात वर्ष लाग्यो सपनाको भ्रूण बच्चाको रूपमा पैदा हुन ।

“ताप्लेजुङका तत्कालीन जनस्वास्थ्य प्रमुख डिल्ली पौडेल सरुवा भएर टेकु ट्रपिकलमा आएपछि उहाँले नै अस्थायी सामुदायिक स्वास्थ्य सेवा केन्द्र लैजान सहयोग गर्नुभयो । धेरै पहिले उहाँले घुन्सामा क्याम्प लैजानुभएको रहेछ । तर, गाउँलेले उपचार नै गर्न दिएनछन् । भनेछन्– आज जाँच गर्नुहुन्छ, दाँत चलाउनुहुन्छ । भोलि दाँत दुख्यो भने के गर्ने ? कहाँ जाने ? हामी दिँदैनौँ जाँच्न । साँच्चै समस्या देखेर उहाँ अस्थायी सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न राजी हुनुभएको हो,” पुलकित देखिइन् उनी ।

सुरूमा त्यो स्वास्थ्य एकाइ अर्कै जिल्लामा पारिएको थियो । “घुन्सामा त्यत्रा मानिस मरिसके । अति दुर्गम ठाउँ हो त्यो,” उनले लडाइँ नै गर्नुपर्‍यो ।

पछिल्लो समय उनले अस्थायी सामुदायिक स्वास्थ्य सेवाको संरचना तयार पारेकी छन् । सरकारले दुई जना कर्मचारी त दियो तर राज्यले उपलब्ध गराएको १३ हजार ५ सय रुपैयाँको वेतनमा को बस्न मान्नू ? गाउँमा एक पाथी चामलकै ८५० पर्छ ।  त्यसैले हिमालय डिभलपमेन्ट फाउन्डेसन अस्ट्रेलियासँग ५ हजार प्रतिमहिना सहयोग मागेर जनही १८ हजार पाँच सय पु¥याइन्, बडा दुःखले ।

अहिले उनी करिब ४० लाख लागतमा प्रसूति कक्षसहितको पाँच कोठे पक्की भवन बनाउने अभियानमा जुटेकी छन् । घुन्सा फाउन्डेसनको नामबाट ६ महिनाको अवधिमा उनले २२ लाख रुपैयाँ संकलन गरिसकेकी छन् । देश–विदेशका सहृदयीसँग सहयोगको याचना गरिरहेकी छन् ।

“पवित्र उद्देश्य लिएर घुन्साका आमा र त्यहाँका नागरिकहरूको जीवन जोगाउन लागेकी छु, सहयोग गर्ने हातहरू थपिएलान् नि,” कुराकानीको अन्तिममा सुदूर क्षितिजतिर आँखा पुर्‍याउँदै लामो निःस्वास लिइन् उनले ।

तपाईंको मत