site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लेन्सबाट जसले देश देख्यो
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


विसं. २०४३ सालको कुनै एकदिन । चन्द्रशेखर कार्कीले क्यामेराको रिल किने । दातृ निकाय जीटीजेडको एउटा परियोजनामा जागिर सुरु गरेपछि पहिलो ‘असाइन्मेन्ट’ थियो । ‘फोटो कस्तो खिचें हुँला ?’ मनमा उत्सुकता थियो । न्युरोड पुगेर हिक्कोला कलर ल्याबमा फोटो धुलाए ।

फोटो कुरेर बसिरहेका चन्द्रशेखरलाई ल्याबका कर्मचारीले भने, “सर मल्टिरोल परेछ । प्रत्येक फोटोमा दुइटा सिन क्याप्चर छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

रिसले आँखा देखेनन् । पृथ्वी फनन घुम्यो । टाउकोमा घन बज्रिएजस्तो भयो ।

घर गए । खाना खान मन लागेन । निद्रा लागेन । छट्पटीमै २ बज्यो । बिहान ९ नबज्दै उनी भक्तपुर पुगे । रिल किनेको पसल खोलेकै थिएन । एक घण्टा कुरेपछि पसले आयो । पसलेलाई देख्नबित्तिकै रिसले कन्चट फुट्लाजस्तो भयो ।

Global Ime bank

चन्द्रशेखरले उसको कठालो समातेर भने, “तैले मलाई खिचिसकेको रिल दिने ? तँलाई बाँकी राख्दिनँ ।”

नेवार बस्ती थियो । एकैछिनमा ‘के भयो ? के भयो ?’ भन्दै झुरुप्प मान्छे भेला भए । नेवारी भाषामै
कल्याङकुलुङ  गरे । उनैलाई पो कुटूँलाझैं गनै थाल्यो भीडले ।

युवा जोश थियो । भर्खर पाएको जागिरसँग जोडिएर आएको तातो रिसले आगो भएका चन्द्रशेखरले भने, “मलाई कसैले छोएर मात्र हेर त, म कसैलाई बाँकी राख्दिनँ । पहिला हात हाल्ने त झन् बच्दैन मेरो हातबाट । पहिला मेरो कुरा सुन । यसले मलाई पुरानो रिल दियो । भर्खर पाएको मेरो जागिर यसका कारण जाने भयो । ऊ.. त्यो... हो मेरो अफिस ।”

भीड चुप लाग्यो । पसलेले माफी माग्यो । दुइटा अरु रिल पनि दियो । “मेरो जागिर गयो भने म तँलाई कहाँ त्यसै छाड्छु र,” चन्द्रशेखर औंला ठड्याउँदै कार्यालयतिर लागे ।

पहिलो व्यावसायिक फोटोग्राफीको तीतो अनुभव सुनाउँदा चन्द्रशेखरको अनुहार भने उज्यालो थियो ।

“आफैंप्रति त्यति धेरै विश्वास पनि थिएन । कस्तो फोटो आउँछ भनेर उत्सुकतापूर्वक कुरिरहेको युवकलाई जागिरै धरापमा पारेपछि त्यसरी जाइलाग्नु शायद स्वाभाविक पनि थियो होला,” सुरुआती फोटोग्राफीको अनुभव सुनाइरहँदा उनी आफ्नै कार्यकक्षमा थिए । अनामनगरस्थित ‘सदृश्यडटकम’को कार्यालयमा ।

एप्पल ब्रान्डको लोभलाग्दो डेक्सटप (आईम्याक)मा केही टाइप गर्दै थिए ।

हामी पुगेपछि सोधे, “चिया कि कफी ?”

हामीले कफीमा जोड दियौं । एकछिन हराएर उनी हातमा दुई कप कफी बोकेर देखिए ।

“म त आफैं पो बनाउँछु,” हाँस्दै भने, “जो पहिला आयो, उसैले अफिस खोल्छ । जो पछाडि हुन्छ, उसैले बन्द गर्छ । चिया, कफी पनि आफैं बनाउँछौं आफ्ना लागि ।”

 

पहिलो जागिर

बीकम दोस्रो वर्ष पढ्दा बुवाको देहावशान भयो । त्यसपछि उनले आफ्ना लागि आफैं आर्थिक जोहो गर्नुपर्ने थियो । बुवा त्यतिबेलाका सिनेम्याटोग्राफर थिए । त्यो पनि कहलिएको नाम– चक्रबहादुर कार्की । रुसमा सिनेम्याटोग्राफी पढेर आएका । शाही नेपाल चलचित्र संस्थानमा काम गर्थे ।

तत्कालीन राजा वीरेन्द्रका ९९ प्रतिशत भ्रमणमा उनै हुन्थे क्यामरा बोक्ने ।

चन्द्रशेखरले बुवाका साथी विष्णुराज कार्कीलाई भने । उनी जीटीजेडको परियोजना ‘स्मारक संरक्षण कार्यालय भक्तपुर’मा काम गर्थे । उनको कार्यालयमा फोटोग्राफर पद खाली रहेछ । चन्द्रशेखरको फोटोग्राफी गर्न जान्दिनँ भने ।

विष्णुले भने, “चक्रबहादुरको छोरोले फोटोग्राफी गर्न जान्दैन भन्ने हुन्छ ? फर्म भर ।”

उनीसँगै अरु पाँच–सात जनाले फर्म भरे । अन्तर्वार्ता दिन गए । अन्तर्वार्ता लिन बसेको मान्छे फोटोग्राफीसम्बन्धी ज्ञान नभएको परेछ । खास केही सोधेन । विष्णुले झ्यालतिर देखाउँदै भने, “ऊ त्यो शालिकको फोटो खिच त ।”

५५ झ्याले दरबारअगाडि रहेको रणजित मल्लको शालिकको फोटो उनले झ्यालबाटै तानेर खिचे । “मैले पहिलोपल्ट खिचेको तस्बिर त्यही हो,” चन्द्रशेखरले भने, “झ्यालबाटै जुम गरेर खिचेको, त्यो पनि अन्तर्वार्ता दिँदादिँदै ।”

वि.सं. २०४३ सालमा उनले जागिर सुरु गरे, फोटो खिच्ने । धारा, पाटीपौवा, मन्दिरको तस्बिर सुरुमा कस्ता छन्, बनाउँदै गर्दा र बनाइसकेपछिको तस्बिर खिच्नुपथ्र्यो । ९९५ रुपैयाँ मासिक तलब थियो ।

“अढाई वर्ष काम गर्दा मैले जम्मा त्यहाँ १० रोल जति फोटो खिचें होला,” उनी ०४३ सालमा निकोन ५–०–१ मा टोकिना लेन्सबाट फोटो खिचेको प्रसंग सुनाउँछन्, “कामै नभएपछि छट्पटीमात्रै हुन्थ्यो । के गरौं के गरौं हुन्थ्यो ।

 

नेपाल टेलिभिजन

त्यतिबेला नीर शाहसँग राम्रै चिनजान थियो । एकदिन पार्टीमा भेट भयो । नीरले सोधे, “के गर्दैछौं ?”

चन्द्रशेखरले भने, “जागिर छ तर काम छैन ।”

“भोलि बिहान १० बजे टेलिभिजनको अफिस आउनू ।” 

चन्द्रशेखर बिहान १० नबज्दै नेपाल टेलिभिजनको कार्यालय पुगे । गेटमै भेट भयो । भित्र लगेर नीरले भने, “भोलिबाट ८ बजेको करेन्ट अफेयर्समा काम गर्नू ।”

“मलाई त भिडियो क्यामेरा चलाउन आउँदैन,” चन्द्रशेखरले भने ।

“ट्रेनिङ दिउँला नि ! किन चिन्ता लिएको ?” नीरले भने ।

शुक्रबारको दिन थियो । आइतबार अफिस गएर बुधबारबाट लागू हुने गरी राजीनामा लेखेर टेलिभिजनमा काम गर्न थाले । त्यहाँ क्यासेट किन्ने, स्टुडियोमा काम गर्ने काम हुन्थ्यो ।

०४६ सालको जनआन्दोलन सुरु भयो । जताततै नारा जुलुस, बन्द र हड्ताल । आगजनी र तोडफोड । फोटो पत्रकारका लागि ती दृश्य ऐतिहासिक थिए ।

चैत २४ गते पाटनबाट निस्किएको जुलुस निकै ठूलो थियो । त्यति ठूलो जुलुस चन्द्रशेखरले कहिल्यै पनि देखेका थिएनन् । साथीसँगै थिए उनी पनि । पुतलीसडक हुँदै बागबजार पुगेपछि प्रहरीले गोली चलायो । बल्लबल्ल बचेर उनीहरू मैतीदेवी हुँदै चाबहिल पुगेपछि फेरि गोली चल्यो । प्रहरीले अश्रुग्यासका सेल छोड्यो । चन्द्रशेखर स्थानीयको गेटमाथि चढेर भित्र पसे । पानी मागेर अनुहारमा छ्यापे । बल्ल सास फेर्न सजिलो भयो । बाँचिएला जस्तो लाग्यो ।

तर, बाहिर भने प्रहरीको उपस्थिति उस्तै थियो । प्रहरी प्रत्येकको हात हेथ्र्यो । हातमा मैलो वा धूलो लागेको छ भने आन्दोलनकारी भन्दै कुट्थ्यो । “धन्न त्यो बेला लुक्न घरभित्र पसेर पानीले मुख धुँदा हात पखालिएकाले कुटाइ खानु परेन । नत्र बेतको लठ्ठीले करङ भाँच्थ्यो प्रहरीले,” उनले सम्झिए ।

सँगै हिँडेको साथीले फोटो खिच्थे, आफूसँग भने क्यामेरा छैन । उनी चाबहिलबाट निस्किएपछि आफ्नै क्यामेराबाट भए पनि फोटो खिच्छु भन्दै कुदेर लैनचौरस्थित कोठामा पुगे । जहाँ गाह्रो, त्यहाँ साह्रो । रिल सकिएको रहेछ । रित्तो हात आन्दोलनमा फर्किए ।

२६ गते टेलिभिजनमा उनले भने, “क्यामेरा नपाए जागिर खान्नँ ।” व्यवस्थापनले सुनेन । आईडी त्यहीँ छोडेर चन्द्रशेखरले राजीनामा दिए र हिँडे ।

चौधरी ग्रुप कि ‘जनमञ्च’ ?

भविष्य नसोची वर्तमानमा रमाउने आलोकाँचो उमेर थियो । कपाल कालै थियो । निर्णय पनि काँचै । तर, पेट त पाल्नै प¥यो । साथीहरूसँग मिलेर उनले फेब्रिगेसनको काम शुरु गरे– गार्मेन्टको सामान प्याक गर्ने र विदेश पठाउने ।

पैसा राम्रै कमाइ हुन्थ्यो तर क्यामेराको ‘भ्युफाइन्डर’मा बसिरहने आँखा मोटामोटा कार्टुनमा अडिएका थिए । कामको प्रकृति फरक थियो । उनलाई चित्त बुझिरहेको थिएन ।

‘गोरखापत्र’मा एउटा विज्ञापन देखे । फोटोग्राफर मागिएको थियो । फर्म भरे ।

चन्द्रशेखरकी सानीमासँग नीर शाहको भेट भएको रहेछ । भनेछन्, “तातो रिसमा काम छोडेर हिँडेछ, के गर्दैछ ? मलाई भेट्न पठाइदिनू ।”

चन्द्रशेखर भेट्न गए ।

“तातो रिस गरेर हुन्छ ?” नीरले सम्झाए ।

“चौधरी ग्रुपमा विनोद चौधरीलाई चिठी लेखिदिन्छु, गएर भेट्नू ।”

दशैं आउनै लागेको थियो । चौधरी ग्रुपले दशैंपछिबाट काम सुरु गर्न भन्यो । दशैंमा चन्द्रशेखर घर गए, दोलखा । सबैले तिहारसम्म उतै बस्न आग्रह गरे । उनलाई पनि ठीकै नै लाग्यो ।

एकदिन ‘कामका लागि फोन आइरहेको’ भन्दै साथीले गाडीबाट चिठी पठाए । चन्द्रशेखर हानिएर काठमाडौं आए । साथीले दुइटा नम्बर टिपेर राखेका रहेछन् । उनी चौधरी ग्रुप पुगे । शुक्रबारको दिन थियो । 

रिसेप्सनमा बस्ने युवतीले भनिन्, “सरले आइतबारबाट काम सुरु गर्न भन्नुभएको छ ।”

“कतिजति होला तलब ?” चन्द्रशेखरले तिनै युवतीलाई सोधे ।

उनले नियुक्तिपत्र नहेरी भनिन्, “कम्तीमा ५ हजार होला ।”

आइतबारबाट काम हुने भएपछि उनी फर्किए । कुलेश्वरमा साथीको कोठा थियो, त्यहीँ छिरे । खाजा खाए । साथीले टिपेर दिएको फोन थियो ।

त्यो नम्बर चन्द्रशेखरलाई अझै पनि कण्ठस्थ छ– ४११०२९ । उनले साथीकै घरबाट फोन लगाए । मारवाडी महिला पो बोल्छिन् । नम्बर कसरी गलत पर्‍यो ? उनलाई लाग्यो– पक्कै साथीले नै गलत टिप्यो । ४ को ठाउँमा २ हानेर बाँकी उही नम्बरमा डायल गरे । फोन ‘जनमञ्च’को अफिसमा पुग्यो । तत्काल आउन भने । उनी पनि कुलेश्वरबाट सिधै त्यतै गए । मुकुन्द पराजुली सम्पादक रहेछन् ।

सोधे, “कति तलबको अपेक्षा गर्नुभएको छ ?”

“कति भन्नु ! अफिसको रुल होला नि,” चन्द्रशेखरले भने ।

“म १५ सय खान्छु,” मुकुन्दले भने, “मिलाएर गरौंला, आइतबारबाट आउनू ।”

‘हुन्छ’ भन्दै चन्द्रशेखर फर्किए ।

“त्यस्तो राम्रो अफिस मैले त्योभन्दा पहिला कहिल्यै देखेको थिइनँ,” चन्द्रशेखर भन्छन्, “जनमञ्चको अफिस छिरेपछि हो मैले अफिस यस्तो पनि हुँदोरहेछ भनेर देखेको ।”

एकैदिन दुइटा जागिर । एउटा चौधरी गु्रपमा, अर्को ‘जनमञ्च’मा । कहाँ गर्ने ? अन्योल भयो । घर र साथीहरूलाई सोध्यो, ‘कहाँको चौधरी ग्रुप, कहाँको पत्रिका !’ भन्छन् । कहाँको ५ हजार, कहाँको १५ सय ! सबैले चौधरी ग्रुप नै जान सुझाए । 

चन्द्रशेखरलाई दुई दिनसम्म छटपटी भयो ।

“कहाँ जान्छस् ?” हिँड्ने बेलामा आफन्त र साथीभाइले सोधे ।

“जहाँ राम्रो छ, त्यहीँ काम गर्छु,” भन्दै चन्द्रशेखर आइतबार घरबाट बाहिर निस्किए ।

बाटोमा हिँड्दा उनले सोचे, “कहाँको फोटोग्राफी, कहाँको फ्याक्ट्रीको काम ! पैसा त फेब्रिगेसनमा पनि राम्रै थियो नि । मनले खाएको काम पो काम, बाँकी त पीडा हो ।”

उनी सरासर ‘जनमञ्च’को कार्यालय पुगे । काम सुरु गरे ।


बेलुका सबैले सोधे, “कहाँ गइस् ?”

“पत्रिकामा गएँ,” उनले यतिमात्रै भनेका के थिए, सबैले ‘बुद्धि बिगारिस’ भन्दै कुटूँलाझैं गरे ।

महिना बितेपछि १५ सय तलब आयो । उनले ‘कम्तीमा २ हजार त दिनुपर्छ’ भने । सम्पादकले ‘अर्को महिनाबाट बढाउँला’ भने । अर्को महिना पनि बित्यो तर तबल १५ सय नै आयो । चन्द्रशेखरले राजीनामा दिए । एक महिनापछि प्रकाशक किशोर सिलवाल आफैंले फोन गरेर बोलाए । तलब २२ सय भयो ।

त्यहाँ हुँदा उनी कलर तस्बिर पनि खिच्थे । पहिलो पृष्ठमै ठूलो फोटो छापिन्थ्यो । “अफसेट प्रेसमा छापिने हुँदा राम्रो क्वालिटी हुन्थ्यो । धेरैले फोटो रुचाएका थिए,” उनले भने ।

‘जनमञ्च’मै काम गर्दा उनलाई टेलिभिजनले पनि बोलायो । साँझ उनी टेलिभिजनमा काम गर्न थाले ।

 

‘कान्तिपुर’ प्रवेश

योगश उपाध्यायसँग चिनजान थियो । एकदिन न्युरोड पिपलबोटमा भेट भयो । योगेशले भने, “भोलि थापाथलीमा भेटौं न ।”

उनी भोलिपल्ट थापाथली पुगे । योगेशले भने, “ठूलो निजी लगानीमा पत्रिका खुल्दैछ । यो पत्रिकाले पनि हाइप लिन सकेन भने नेपाली पत्रकारिताले बलियो खुट्टो टेक्न अझै समय लाग्छ । त्यसैले काम गरौं ।”

चन्द्रशेखर राजी भए । “त्यहाँ डे वनबाट ‘कान्तिपुर’मा काम सुरु भयो,” ठट्यौली गर्दै भन्छन्, “म थापाथली पुगेर योगेश दाइसँग कुरा गर्दागर्दै तपाईंका (बाह्रखरीडटकम) सम्पादक प्रतीक प्रधान आइपुग्नुभयो । हामी सुरुदेखिका स्टाफ हौं । त्यो समय कसैसँग कुरा गर्नुपर्‍यो भने योगेश दाइ, प्रतीक प्रधान, नारायण वाग्ले र मबाहेक शायदै अरु हुन्थे ।”

‘कान्तिपुर’मा १७ वर्ष काम गरे चन्द्रशेखरले । ‘कान्तिपुर’बाट छुट्टिएर गएको समूहले ‘नागरिक’ निकाल्यो । उनले त्यहाँ पनि ‘डे वन’बाटै काम गरे ।

‘जनमञ्च’, ‘कान्तिपुर’ र ‘नागरिक’को फोटो विभागको नेतृत्व सधैं चन्द्रशेखरले गरे । फोटो खिचेरै उनले तीन दशक गुजारे । 

 

दरबारका तस्बिर

०५० सालमा पहिलोपटक दरबारले उनलाई फोटो खिच्न बोलायो । दौरासुरुवाल लगाएर उनी राजा वीरेन्द्र र उनको परिवारको फोटो खिच्न दरबार पुगे । ठाउँ अलि सानो थियो । क्यामेराले क्याप्चर गर्छ कि गर्दैन, डराउँदै–डराउँदै खिचे ।

तर, धुलाउँदा फोटो भनेजस्तै आएछ । राजाले फोटो मन पराए । “त्यही फोटोदेखि हो मलाई राजा वीरेन्द्रले यो राम्रो फोटोग्राफर रहेछ भनेर नोटिस गरेको,” चन्द्रशेखरले दरबार प्रवेशको अनुभव सुनाए ।

सधैं सोचेजस्तो हुँदैन । देखिएका कति कुराहरू कहिलेकाहीँ भ्रम भइदिन्छन् । यो अनुभव पनि छ चन्द्रशेखरसँग ।

चिनियाँहरू वीरेन्द्रसँग भेट्दै थिए । मन्त्री र राजदूतहरू भेटपछि फोटो खिचाइरहेका थिए । चन्द्रशेखरले पनि फोटो खिचे । समाचारमा फोटो छापियो तर उल्टो । वीरन्द्रसँग चिनियाँ उपप्रधानमन्त्री भनेर हालेको फोटो राजदूतको परेछ । त्यसपछि ६ महिना दरबारले उनलाई फोटो खिच्नै बोलाएन । 

० ० ०

संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान् नेपाल आएका थिए । उनलाई राजा वीरेन्द्रले दिएको दर्शन भेटको फोटो पनि चन्द्रशेखरको क्यामेराले कैद गरेको छ, जुन फोटो पछि सूचना विभागको क्यालेन्डरमा पनि छापियो ।

\"\"

राजा वीरेन्द्रको ५० औं जन्मोत्सवका अवसरमा रंगशालामा कार्यक्रम थियो । उनले त्यहाँ रंगीन र श्यामश्वेत दुवै तस्बिर खिचे । कति तस्बिर आफैंलाई घत परे । १०–१२ कपी रंगीन तस्बिर धुलाए । अफिसमा कसैले कुरा लगाइदिएछ– चन्द्रशेखरले अनावश्यक रंगीन, त्यो पनि धेरै फोटो धुलाएर अफिसको खर्च बढाइरहेको छ ।

सम्पादकले ‘आवश्यक फोटो मात्रै खिच’ भने । उनी चुप लागे । ‘कान्तिपुर’मा फोटो छापियो । दरबारमा त्यही फोटो रुचाइयो ।

“सूचना विभागले त्यही फोटो क्यालेन्डरमा छाप्ने भएछ । तर, म त्यो बेला बाहिर गएको थिएँ,” उनी भन्छन्, “म फर्किएर फोटो दिन ढिलो भएकाले एक महिनापछि त्यो वर्षको क्यालेन्डर छापियो ।” पछि उनले सम्पादकसामु मुख फोरे, “त्यो बेला मलाई अनावश्यक फोटो खिचेको भनेर गाली गर्नुभयो । खिचिराखे त काम लाग्ने रहेछ नि !”

० ० ० 

एकदिन चन्द्रशेखर छोरालाई विद्यालय पुर्‍याउन गएका थिए । श्रीमतीले उनलाई तारन्तार फोन गरिन् । 

“किन ?”

“रुखमा ठूलो चराले सानो चरालाई चारो खुवाइरहेको छ । फोटो खिच्न आऊ ।”

हाफपाइन्टमै रहेका चन्द्रशेखर आउँदा चरा थिएन । घरपछाडि रुख र झाडी भएकाले उनी खोज्दै गए । चरा भेटे तर चारो खुवाइरहेको थिएन । अढाई घण्टा कुरेपछि उनकी श्रीमतीले भनेजस्तै धोबी चराले बचेरालाई चारो खुवाउन थाल्यो । ढुकेर बसेका चन्द्रशेखरले क्यामेरा क्लिब गरिहाले ।

\"\" “फोटो त गज्जब ! आयो तर घुँडाबाट तल मच्छडले नटोकेको कुनै ठाउँ थिएन । मेरा दुइटै खुट्टा त रातो भएर डाबरै डाबरले भरियो,” फोटो पर्खिंदाको पीडा साटे उनले ।

० ० ०

मन्त्रिपरिषद्को अध्यक्षमा राष्ट्रपति रामवरण यादवले खिलराज रेग्मीलाई शपथ खुवाउने दिन थियो । राष्ट्रपति भवन शीतल निवासमा पत्रकारहरूको उपस्थिति बाक्लो थियो । फोटोका लागि पत्रकारका क्यामेरा तम्तयार थिए । चन्द्रशेखर भने काठको पुरानो कुर्सीमा मस्तसँग बसिरहेका थिए । राष्ट्रपतिले शपथ खुवाउन थाले । समारोहमा आएका सबै पाहुना पत्रकारहरूका अगाडि उभिएर छेकिदिए । पत्रकारहरू हेरेको हेर्‍यै भए । उनीहरूका महँगा लेन्स बेकाम भए ।

चन्द्रशेखरले अगाडि नै यो अवस्थाको पूर्वानुमान लगाइसकेका थिए । त्यही भएर उनी काठको कुर्सी ओगटेर बसेका थिए । त्यही कुर्सीमा चढे । तर शपथको तस्बिर राम्रो देखिएन । कुर्सीको हात राख्ने ठाउँमा टेकेर उनले शपथको दृश्य कैद गरे । खिलराज रेग्मीले सपथ लिएको तस्बिर त्यस दिन चन्द्रशेखरको क्यामेराले मात्रै स्पष्ट कैद गर्‍यो । त्यो वर्षको सरकारी क्यालेन्डरमा पनि उनकै फोटो काम लाग्यो ।

 

मदन भण्डारीको टोपी नलगाएको फोटो

‘जनमञ्च’मा जागिर हुँदा सुरुआती वर्ष तस्बिर खिच्ने शोख आलै थियो । नयाँ तस्बिर कसको, कसरी खिच्ने होला भन्ने मनमा खेलिरहन्थ्यो ।

राजेश मिश्र, अनुप थपलियालगायतका साथीहरूसँग पुतलीसडकमा बाक्लै गफिन्थे चन्द्रशेखर । कहिले ड्रिंक्ससँग त कहिले तातो चियासँग । तर, कुरा भने कामकै हुन्थे ।

कुरैकुरामा चन्द्रशेखरले भने, “मलाई मदन भण्डारीको टोपी नलगाएको फोटो खिच्ने मन छ ।”

साथीहरूको सर्कलमा त्यो कुरा हल्ला भयो । पत्रकार गोपाल गुरागाईंको सम्बन्ध मदन भण्डारीसँग राम्रो रहेछ । ‘एकदिन लिएर आउँदा हुन्छ’ भनेछन् गुरागाईंलाई ।

उनी गोपाल गुरागाईंको पछि लागेर मदन भण्डारीको घर पुगे । ट्र्याक र स्यान्डोमा मात्रै बसिरहेका मदन भण्डारीले कुरा सुरु गरे, “मलाई चन्द्रशेखर तपाईं नै हो जस्तो त लागेको थियो ।”

‘स्यान्डोमा मात्रै त अति हुन्छ’ भन्दै मदनले ट्रयाक लगाए । मदनको टोपी नलगाएको तस्बिर खिचे चन्द्रशेखरले पहिलोपटक ।

\"\"“जहाँ पनि टोपी लगाएर जाने भएकाले टोपी लगाएका तस्बिर मात्रै थियो उहाँको,” चन्द्रशेखरले सम्झिए, “मैले धेरैलाई देखाएँ तर अधिकांशले चिनेनन् उहाँको तस्बिर । पछि त्यही फोटो मैले  ‘जनमञ्च’मा छापेँ ।”

टोपी नलगाएको तस्बिर खिच्ने रहरले चन्द्रशेखरलाई मदनसँग नजिक बनायो । कतै भेट हुँदा मदन भन्थे, “के छ हो चन्द्रशेखर जी ? आउनुस् गफ गरौं ।”

“मैले के सहयोग गर्नुपर्‍यो भनेर सोध्नु हुन्थ्यो । म केही छैन भन्थें । के छ त शोख भनेर सोध्दा मैले फोटो खिच्ने शोख छ भन्थें,” मदनसँगका संवाद सम्झिँदै चन्द्रशेखर भन्छन्, “तपाईंले फोटो खिच्ने र मेरो राजनीति गर्ने शोख भएन भने देश कसरी चल्छ त हौ भन्दै हाँस्नुहुन्थ्यो ।”

एक्कासि जीवन आश्रितसँगै मदन त्रिशूलीमा खसेर बेपत्ता भएको खबर आयो । तस्बिर र समाचारका लागि जानुपर्छ भनेर ‘कान्तिपुर’ले चन्द्रशेखर, रवि अधिकारी र रमेश केसीलाई पठायो । “त्योबेलाका प्रकाशक श्याम गोयन्काले ५ सय रुपैयाँ दिएर पठाएको मलाई आज पनि याद छ,” चन्द्रशेखर दासढुंगा घटनालाई सम्झन्छन्, “घटना दुःखद भए पनि त्यो खबरको कभरेजले ‘कान्तिपुर’लाई स्थापित गर्न निकै ठूलो भूमिका खेल्यो ।”

उनी थप्छन्, “म मदन भण्डारीको राजनीतिक सिद्धान्तबाट होइन, उनको व्यक्तित्वबाट निकै प्रभावित थिएँ । शायद उहाँ बाँचिरहेको भए म एमाले पार्टीमा त होइन, तर कतै न कतै उहाँसँगै हुन्थें होला जस्तो लाग्छ,” आदरमिश्रित भावमा उनले मदनसँगको आत्मीयता सुनाए ।

 

अहिलेको फोटो पत्रकारिता

कमर्सका विद्यार्थी थिए, फोटोको ज्ञान थिएन । बुवा सिनेम्याटोग्राफर भएकाले चन्द्रशेखरलाई पनि ‘यसले फोटोग्राफी जान्दछ’ भन्थे । नैतिक दबाबजस्तै थियो ।

उनी ब्रिटिस काउन्सिल पुगेर फोटोग्राफीसम्बन्धी पत्रपत्रिकामा जे–जे आउँथ्यो, सबै पढ्थे । फोटोकपी गर्न न्युरोड जान्थे । दुईपटक त आँखा छलेर पत्रिकाको पाना च्याती खल्तीमा हालेको चन्द्रशेखर हाँस्दै सुनाउँछन् ।

अहिले भने फोटोग्राफी कलेजमै पढ्न पाइन्छ । सिक्नलाई निजी संस्था छन् । व्यवहारिक ज्ञानका लागि प्रशस्त सञ्चारमाध्याम छन् ।

तर, सञ्चारमाध्यमले अझै पनि फोटो पत्रकारितालाई सम्पादकीयभन्दा बाहिरको विषयका रूपमा लिने गरेको उनको अनुभव छ ।

फोटो पत्रकारका लागि आएको कोटामा अरु पत्रकार नै गएको उनी आफैंले देखे/भोगेका छन् ।

उनलाई सधैं बिझाइरहने अर्को विषय रहेछ । सुनाए, “फोटो पत्रकारले ४ लाखको क्यामेरा आफैं लिएर जागिर खान जानुपर्छ । अनि मात्रै पाइन्छ जागिर । फोटोग्राफीमा राम्रो ज्ञान र सीप भएको व्यक्तिले पनि आफ्नो क्यामेरा छैन भने काम पाउँदैन । मै हुँ भन्ने मिडिया हाउसहरूमा पनि यही समस्या छ । ४ लाखको क्यामेरा बोकेर १० हजारको जागिर खान जानुपर्छ । दुई वर्षमा अर्को नयाँ क्यामेरा आउँछ । नयाँ अपडेटेड क्यामेरा बोकेर आउने अर्को व्यक्ति प्राथमिकतामा पर्छ ।”

सञ्चारमा करोडौं लगानी गर्नेले दुई–चार वटा क्यामेरा किन्न लोभ गर्न नहुने उनको सुझाव छ । “आफू फोटोका लागि क्यामेरामा लगानी नगर्ने अनि आफ्नो ४ लाखको क्यामेराले खिचेर कसैलाई फोटो दियो भने औंला उठाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,” उनी भन्छन्, “आफू शून्य लगानी गर्ने तर अरुबाट शतप्रतिशत खोज्नु गलत हो ।”

\"\"उनले निकोनका एफएम–२, ५–०–१, डी–१–एच, डी–३–५, डी–८–१० र डी–२–१०० बाट तस्बिर खिचे । यी क्यामेराबाट खिचेका तस्बिर ‘न्युजविक’, ‘टाइम्स म्यागेजिन’, ‘टाइम्स अफ इन्डिया’, ‘इन्डियन एक्सप्रेस’, ‘एसिया एज’, ‘फ्रन्टलाइन’, ‘आउटलुक’, ‘हिन्दू’ लगायत थुप्रै अन्तर्राष्ट्रिय पत्रपत्रिकामा छापिए ।

० ० ०

सदृश्यको कार्यालयमा उनीमात्रै छैनन् । उनका बुवा चक्रबहादुर कार्कीका केही सम्झना पनि छन् । राजा वीरेन्द्रका पालामा (पञ्चायतकालमा) बनाएका केही डकुमेन्ट्रीका रिल छन् । ‘बाँच र बाँच्न देऊ’ भन्ने डकुमेन्ट्री छ । यसलाई नयाँ प्रविधिमा सार्न मन छ रे उनलाई ! बुवाले चलाएका पुराना क्यामेरा र प्रोजेक्टर शोकेसमा छन् ।

सँगै उनको कुर्सीमा थियो– ‘नागरिक’ दैनिकको म्यागेजिन ‘परिवार’ । त्यसमा कभर स्टोरी थियो–  एउटा तस्बिरले बदलिएको जीवन । त्यो म्यागेजिनले तस्बिरप्रतिको चन्द्रशेखरको मोहमात्रै झल्काइरहेको थिएन, तस्बिरसँग जोडिएका सामग्रीप्रतिको रुचि पनि प्रतिविम्बित गराइरहेको थियो ।

त्यसैले त उनी तस्बिरसँगको लामो यात्राबाट पनि थाकेका छैनन् । सदृश्यडटकममा तस्बिरसँगै खेलिरहेका छन् । अर्थ बोकेका आकर्षक तस्बिर अहिले उनी आफ्नै अनलाइन सदृश्यडटकममा छिनछिनमा अपलोड गरिरहन्छन् ।

“३० औं वर्षदेखि आज पनि तस्बिरकै लागि संघर्ष गरिरहेको छु । एउटा राम्रो तस्बिर पैसा कमाउनका लागि पर्याप्त हुन सक्छ विदेशमा तर नेपालमा छैन,” उनी भन्दै थिए, “सहिदुल भन्ने एउटा बंगाली फोटोग्राफर भन्थ्यो– राम्रो कविता लेख्ने कविलाई साला कसैले सोध्दैन– कुन पेनले कविता लेखिस् भनेर । तर, हामीले राम्रो फोटो खिच्यौं भने सबैले सोध्छन्– कुन क्यामेराले फोटो खिचेको ?”

यसको निहित अर्थ थियो– क्यामेरा, लोकेसन र इभेन्ट राम्रो हुँदैमा तस्बिर राम्रो आउँदैन । यसका लागि त कला चाहिन्छ ।

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC