काठमाडौं । खुकुरी च्यालेन्जर्स टि–ट्वान्टी क्रिकेट बुधबारबाट सुरु हुने भएको छ । आयोजक खुकुरी इएनटीले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
माथिल्लो मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा २० टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको खुकुरीका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । समूह चरणमा सबै टोलीले एक अर्कासँग खेल खेल्नेछन् ।
कुल ४० लिग खेल हुने प्रतियोगिताको शिर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । सेमिफाइनल र फाइनल खेल टियू क्रिकेट मैदानमा हुनेछ । अन्य लिग खेल मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको हरेक टोलीमा सन् २०१५ देखि राष्ट्रिय टोलीमा रहेका ४ खेलाडी राख्न पाउने छन् । मैदानमा भने तीन खेलाडी मात्र खेलाउनु पर्नेछ ।
प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले एक लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले समान १०–१० हजार पाउनेछन् ।