site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अझै एकवर्ष आउँदैन मेलम्चीको पानी, यसकारण भयो विलम्ब
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्चीको खानेपानीका लागि काठमाडौं उपत्यकाबासीले अझै केही समय कुर्नुपर्ने भएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रसम्म २७.५ किलोमिटर खन्नुपर्नेमा अझै ३३० मिटर बाँकी रहेकाले उपभोक्ताको धारामा पानी आउन समय लाग्ने देखिएको हो ।

एक दिनमा ३ देखि ७ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको मेलम्ची आयोजनाले बताएको छ । यो हिसाबले ३३० मिटर सुरुङ खन्न करिब ३ महिना लाग्ने देखिन्छ । सुरुङ बनिसकेपछि पनि ‘फिनिसिङ’को काम सक्न थप ६ महिना लाग्ने आयोजनाका अधिकारी बताउँछन् । सुन्दरीजल प्रशोधन केन्द्रमा आइसकेपछि पनि प्रशोधन गरी पाइपमा पानी पठाउन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । 

आयोजनाका लागि ७० किमि पहुँच मार्ग निर्माण, कार्यालय स्थापना, आर्थिक व्यवस्थापन र अन्य पूर्वतयारीका लागिमात्रै ८ वर्ष समय लागेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी भयो विलम्ब
सन् २००१ बाट काम सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले सन् २०१६ को अन्त्यमा उपत्यकामा पानी आउने बताउँदै आएको थियो । सन् २००९ को फेबु्रअरीमा एक चिनियाँ कम्पनीले पहिलो पटक आयोजना निर्माणको ठेक्का लिएको थियो । २०१० अप्रिलबाट सुरुङ खन्ने काम सुरु गरेको सो निर्माण कम्पनीले सन्तोजनक काम गर्न नसकेपछि २०१२ सेप्टेम्बरमै ठेक्का रोक्का गरिएको थियो । त्यसपछि सेप्टेम्बर २०१६ मा सक्ने गरी अक्टोबर २०१३ बाट डीईसीसी नामक कम्पनीले काम सुरु गरेको थियो ।

“भूकम्पले कार्यस्थलमा पुर्याएको क्षति र लगत्तैको भारतीय नाकाबन्दीका कारण मिति लम्बिएको हो,” मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर लिडर तथा परामर्शदाता शिव शर्माले बाह्रखरीसँग भने, “यही मार्च २६ मा सुरुङको सम्पूर्ण काम र फिनिसिङ गरीसक्ने हाम्रो लक्ष्य छ ।” भूकम्पका कारण आयोजनासम्म पुग्ने सडक भत्किएको र खुकुलो बनाएको पहाडमा वर्खाको पानीका कारण निरन्तर पहिरो गएको, सिमेन्ट, छडलगायत निर्माण व्यवसायीहरुको बारम्बारको हड्ताल आदिका कारण सम्पन्न मिति लम्बिँदै आएको आयोजनाको भनाइ छ ।

Global Ime bank

भूमिगत तहमा रहेको चट्टानको कडापनमा  आइरहने फेरबदलले यन्त्र उपकरणको पूर्वतयारीमा समस्या भएकाले सुरुङ खन्न चुनौती रहेको सुरुङमा कार्यरत इन्जिनियरहरु बताउँछन् । अहिले काम भइरहेको कल्लेरी गाउँ क्षेत्रमा खुकुलो चट्टान रहेकाले बम ब्लास्ट गरी सुरुङ खन्न प्राविधिक कठिनाइ रहेको त्यहाँ कार्यरत इन्जिनियरले बताएका छन् । 

\"\"

प्रशोधन केन्द्र तयार
मेलम्ची खोलाबाट सुरुङमा ल्याइएको पानी शुद्धिकरणका लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भएको छ । जाईकाको ८५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५ प्रतिशत लगानीमा ८.५ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण भएको हो ।

मेलम्चीको १७ करोड लिटर पानी सुन्दरीजल आउने मितिसम्ममा अर्को प्रशोधन केन्द्र पनि बनिसक्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । “सुरुङको फिनिसिङ भइसक्दा ८.५ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसक्ने लक्ष्य छ,” देवकोटाले बताए ।

सुन्दरीजलमा रहेको यस प्रशोधन केन्द्रले सुरुङबाट आएको धमिलो पानीलाई सङ्लो बनाउने, धातु र रसायनयुक्त हानिकारक पदार्थलाई छान्ने, पानीमा मिसिएको बालुवा र माटोलाई हटाई पानीलाई पिउन योग्य बनाउने काम गर्छ । प्रशोधन केन्द्रले विश्व स्वास्थ्य संगठनले शुद्ध खानेपानीमा जारी गरेको निर्देशिका र नेपाल सरकारले तोकेको गुणस्तरको खानेपानी उपत्यकाका उपभोक्ताका धारामा पठाउने आयोजनाले जानकारी दिएको छ । 

धारा जडान ५० प्रतिशतमात्रै
उपत्यकाका ३ वटै जिल्लामा जडान गरिने ८५ हजारमध्ये हालसम्म ५० प्रतिशत धारा जडान भइसकेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालका आयोजना निर्देशक तिरेसप्रसाद खत्रीले बताए । पुरानो बानेश्वर, सोह्रखुट्टे, जमल, त्रिपुरेश्वरलगायत स्थनमा खानेपानीको पाइप पुर्ने र धारा जडान गर्ने काम भइरहेको उनले जनाए । धारामा पानी आएको केही हप्तापछि पाइप क्लियर हुने र त्यसपछि मात्र धारामा मिटर जडान गरिने उनले बताए । 

“पाइप पुरिसकेका स्थानमा दिउँसो ट्राफिक जामको समस्या र राति चिसोका कारण सडक कालोपत्रे गर्न समस्या छ,” खत्रीले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आउँदासम्म पाइप पुर्ने, सडक कालोपत्रे गर्ने र धारा जडानको काम सम्पन्न गरिसक्छौं ।” 

याङ्ग्री र लार्केको डीपीआर बन्दै
१७ करोड लिटरका दरले सिन्धुपाल्चोकका याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने योजनाको पनि डीपीआर तयार भइरहेको छ ।

आगामी वर्षभित्रमा याङ्ग्री र लार्के खोलाको डीपीआर तयार हुने आयोजनाले बताएको छ । लार्के र मेलम्ची खोलाबीचको ११ किमीमा सुरुङ निर्माण गरी ती दुवै खोलाको पानी अहिले निर्माण भएको मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकामा ल्याउने योजना छ । 

अहिले बन्दै गरेको सुरुङको क्षमता दैनिक ५१ करोड लिटर हो । 

सन् २०२४ सम्ममा काठमाडौं उपत्यकाको खानेपानीको समस्या हल गर्ने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको छ ।

काठमाडौं उपत्यकामा अहिले दैनिक ४० करोड लिटर खानेपानीको माग छ । यसमध्ये दैनिक १२ करोड लिटर केयुकेएलले वितरण गर्दै आएको छ । बाँकी माग भने इनार, ढुङ्गेधारा, पोखरी र पम्पलगायत भूमिगत स्रोतबाट पूर्ति हुँदै आएको छ ।

 

\"\" 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC