site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकअर्काप्रति विश्वस्त छैनन् ओली–दाहाल ! कहाँ अल्झियो गाँठो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यति लामो इतिहास भएको पार्टी प्रचण्डलाई कसरी सुम्पिहाल्ने ? र प्रचण्डलाई पनि आफ्नै इतिहास नै मेटिनेगरी कसरी एकतामा जाने ? भन्ने देखिएको छ,” नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले शुक्रबार काठमाडौंमा केही पत्रकारहरुसँगको अनौपचारिक कुराकानीका क्रममा भनेका थिए ।

प्रचण्डलाई इतिहास नै मेटेर अघि बढ्दा शान्ति प्रक्रियाका बाँकी रहेका मुद्दाको सम्बोधन कसरी हुने ? आफू र माओवादीबाट आएका नेताको भविष्य संकटमा पर्ने कि नपर्ने ? लगायतका विषयमा विश्वस्त हुन नसकेको उनको भनाई थियो ।

एमालेमा पनि सिधै पार्टीको अध्यक्ष प्रचण्डलाई दिँदा पार्टी झन कमजोर हुन सक्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई त्यसो नगर्न चर्को दबाब परेको एमालेकै नेताहरु बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो दिनमा बाक्लै वार्ता भए पनि एकतामा कसरी जाने भन्नेमा अझै पनि केही अविश्वास र समस्या देखिएको दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन् ।

त्यसका लागि एकताका विभिन्न मोडालिटीमा पनि छलफल भएको नेताहरुले बताएका छन् । 

Global Ime bank

“दुई नेताबीच अविश्वास त छ नै त्यसमा यी दुवै नेतालाई एकठाउँमा आउन नदिन दुवै पार्टीका केही नेता पनि सक्रिय छन्,” पौडेलको भनाई थियो, “यो जगजाहेर कुरा हो । तर यहाँ सिद्धान्तको पनि कुरा निकालिएको छ । अहिले नेपालमा विप्लवसँग बाहेक सबै कम्युनिष्ट पार्टीबीच सिद्धान्तको विवाद जरूरी छैन । अब शब्दलाई लिएर झगडा गर्नुको औचित्य छैन ।”

पछिल्ला दुईदिनसम्म लगातार छलफलमा जुटेका ओली र दाहालले आज पार्टी एकता संयोजन समितिको बैठक समेत बोलाएका छन् ।

दुई नेताको उपस्थितिमा हुने बैठकमा एकता संयोजन समितिलाई पार्टी एकता प्रक्रियाका केही विषय टुंगो लगाउने जिम्मा दिने तयारी भएको बुझिएको छ ।
नेकपा एमालेका एक प्रभावशाली नेताले पनि पौडेलले जस्तै दुवै नेताको व्यवस्थापन र पद नै अहिलेको मुल गाँठो भएको बताउँछन् ।

एकताको हल्ला चलेको निर्वाचनअघि नै हो तर निर्वाचन सकिएको डेढ महिना बितिसक्दासमेत एकताले गति लिन नसक्नुको मुल कारण नै यही भएको उनको धारणा छ ।

यसबीचमा तीन पटक पार्टी एकता संयोजन समितिको बैठक र  आधा दर्जन पटक एमाले–माओवादी शीर्ष नेतृत्वको बैठक बसिसकेको छ । 

एमालेका ती नेता भन्छन्, “पदमै अल्झिएको हो कुरा । त्यो बाहेक अर्को कुरा नै छैन । प्रचण्डले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै दिन तयार छैनन् ओलीले पनि प्रचण्डलाई सजिलै अध्यक्ष दिन तयार देखिएका छैनन् ।”

उनले पद व्यवस्थापनमा समस्या देखिएको छर्लङ्ग भइसक्दासमेत दुनियाँसँग शीर्ष नेताले नै नक्कली कुरा गरेको भन्दै रोष प्रकट गरे ।

“दुई नेताबीच पद बाँडफाँडको विषयमा त्यसरी खुलेर पनि कुरा भएको छैन,” स्रोतको दाबी छ । 

त्यसो त चुनावलगत्तै पार्टी एकता गर्छौं भनेर जनमत लिएर आएको भए पनि दुई पार्टीले पार्टी एकतालाई गति दिन सकेका छैनन् । “दुवै पार्टीलाई स्वार्थले गाँजिरहेको छ,” ती नेताले भने, “स्वार्थ र आफ्ना मानिसको व्यवस्थापन नमिल्दासम्म पार्टी एकताले गति लिँदैन ।”

त्यसो त पछिल्लो समय विचार–सिद्धान्तलाई बेमेलको कसी बनाइए पनि सिद्धान्त के हुने भन्ने विषय प्रवेश नै नभएको एमालेकै कतिपय नेता बताउँछन् । “सबैलाई आफ्नै चिन्ता छ, आफू बनेपछि सिद्धान्त आफैँ बन्छ भन्ने भावना देखिएको छ,” एमाले अर्का नेता बताउँछन् ।

त्यतिमात्रै नभएर माओवादी नेता पौडेलका अनुसार प्रचण्डप्रति एमालेका सबै र ओलीप्रति माओवादीका सबै नेता तथा कार्यकर्ता एउटै दृष्टिकोण राख्दैनन् । त्यसले गर्दा पनि कतिपय समस्या देखिएको छ ।

 

त्यसो भए एकता कसरी हुन्छ ?

माओवादीले दुई प्रमुख पदमध्ये एउटा ओलीले र अर्को प्रचण्डले लिने अनौपचारिक सहमति भएको बताउँछन् ।

दुईमध्ये एक रोज्न ओलीलाई यसअघि पनि आग्रह गरिएको थियो । तर प्रधानमन्त्री पनि र पार्टी अध्यक्ष पनि प्रचण्डलाई सहजै दिन इन्कार गरिएपछि विभिन्न विकल्पमा छलफल भएको छ ।

सकेसम्म सहमतिअनुसार नै अघि बढ्दा सहज हुने माओवादी धारणा छ ।

त्यो भएन भने राजपा मोडलमा जाने । अध्यक्ष मण्डल बनाउने, एमालेका माधव कुमार नेपाल, झलनाथ खनाल पनि राख्ने, माओवादीबाट पनि नारायणकाजी श्रेष्ठ, लगायतका सम्भावना भएका नेतालाई अध्यक्ष मण्डलमा राखेर जाने भन्ने विषयमा छलफल भएको छ ।

अर्को विकल्प साढे २ वर्ष एउटा अध्यक्ष, अर्को प्रधानमन्त्री, त्यसपछि पनि त्यस्तै गरी अर्कोलाई हस्तान्तरण गर्ने ।

त्यसबाहेक प्रचण्डलाई एमालेका सबै नेताले अध्यक्ष मान्न तयार नहुने हो भने ओलीलाई सर्वोच्च नेता मानेर प्रचण्डलाई कार्यवाहक अध्यक्ष बनाउने । नभए दुवै नेतालाई सह–अध्यक्ष बनाउने । काम र अधिकारका बारेमा बाँडफाँड गर्ने भन्ने विषयमा कुराकानी भएको नेताहरुले जानकारी दिएका छन् ।

 

दोस्रो तहका नेता बाधक !

स्रोतका अनुसार दुवै पार्टीका दोस्रो तहमा रहेका नेताको व्यवस्थापन सुनिश्चित हुनुपर्ने धारणा अध्यक्षहरुसामु राखेका छन् ।

एमालेमा ओलीबाहेक नेता नेपाल, खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरुको व्यवस्थापन कसरी गर्ने र माओवादीमा पनि नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन लगायतका नेताहरुको व्यवस्थापन चुनौती बनेको छ ।

“त्यतिमात्रै नभएर चुनावका बेला पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन पनि अर्को चुनौतीको विषय त देखिएको छ तर दुई नेताहरुबीचमा कुरा मिल्नासाथ सबै विषय एकसाथ हल हुन्छन्,” पौडेलले भने ।

तस्बिर, रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  १२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC