site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
त्यो क्रान्तिको प्रतीक
Sarbottam CementSarbottam Cement

– गोविन्दबहादुर मल्ल ‘गोठाले’

धेरै दिनअघिको कुरा, जुन बखत म स्कुलमा पढ्ने एउटा केटोमात्र थिएँ । त्यसबेलादेखि मेरो मनमा अस्पष्ट रूपमा लागेको थियो– केही जरुर हुनेछ, हाम्रो वर्ग अथवा परिवारको पहाडजस्तो शक्ति एक न एक दिन चुरचुर हुनेछ र हाम्रो चहकमहकमा प्रेत नाच्नेछ ।

त्यसबखतको मेरो अनुभूति मेरै आफ्नै निम्ति पनि भाषा बन्न पाएको थिएन । आज सोच्दैछु– बाल्यावस्थाको त्यो अनुभूति कति साँचो थियो । यो पनि सोच्दैछु कि त्यो फोहोरी कुरूप निम्न श्रेणीको केटो, जो मेरो क्लासको थियो, त्यसले कसरी सारा नेपाली जनताको घृणा साथै सहृदयताको प्रतीक भएर क्रान्ति गर्ने संवेदनालाई सँगालिरहेको थियो । पछि ठूलो भएपछि म्याट्रिकको क्लासमा नपुग्दै सोह्र वर्ष पुगेकोले म कर्नेल बनाइएँ । राणा परिवारको रोबरवाफको प्रतीक मिलिटरी ब्याज भएको टोपी लाएर जब म आफैं मुस्कुराउँथे, त्यस बखत पनि त्यो घीनलाग्दो कुरूप केटोको अनुहार मेरो आँखाको अघिल्तिर नाचेजस्तो लाग्थ्यो र म सिरिंग भएर खुम्चिन्थें ।

Prabhu Bank
Agni Group
NIC Asia

श्री ५ त्रिभुवनको समर्थन गर्दै प्रजातन्त्रको निमित्त जब नेपाली कांग्रेसले सशस्त्र हमला गरेको थियो, त्यसबखत म निद्रामा नै अचानक झस्कन्थें । लाग्थ्यो– त्यो घीनलाग्दो केटोले मेरो गर्धन थिचिरहेछ । क्रान्ति हुनेछ ! यो मलाई पहिलेदेखि नै थाहा थियो । हाम्रो राणा परिवार तहसनहस हुनेछ ! यो पनि मलाई थाहा भएर के हुन्छ ? हुने कुरालाई कसले छेक्न सक्छ ?

अब मलाई भन्न केको लाज ? देशमा क्रान्ति भइसकेको छ । वास्तविक कुरालाई भन्न केको हिच्किचाहट ? प्रजातान्त्रिक वातावरण, आफ्नो मनमा अटेसमटेस भएर आएको कुरा स्पष्ट खोल्ने म आफ्नो सहृदयतालाई किन छोडूँ ? त्यो घीनलाग्दो लडका, जसलाई म दुईखुट्टे मानिसमात्र सम्झन्थें, यदि त्यो आज भेट भयो भने म त्यसको अघिल्तिर हात जोडेर गिड्गिडाउने थिएँ । तर त्यो कहीँ भेटिँदैन । मेरो आँखा त्यसलाई खोजिरहन्छन् । जुलुस निस्क्यो भने, कहीँ ज्यामी काम गरिरहेको छ भने, त्यसै कहीँ हुल छ भने मेरो मनै चञ्चल हुन्छ, मुटु ढुकढुक गर्न थाल्छ– त्यो भेट हुन्छ कि ! त्यो भेट भए कस्तो हुन्थ्यो ! म त्यसको अघिल्तिर कपाल कन्याउँथें र त्यसले मलाई गाला चड्काओस् अथवा मीठो बचन बोलेर मलाई न्यारान्यारा गरोस् । मेरो राणा परिवारको निमित्त यो कस्तो मज्जाको व्यंग्य हुनेछ ।

Global Ime bank

शायद त्यो लड्का धनी भइरहेको होला, शायद त्यसको मानसिक स्तर बढिरहेको होला, उमंगको पखेटा हालेर उडिरहेको होला । शायद त्यो मन्त्री बन्ला, प्रधानमन्त्री बन्ला र हामीमाथि त्यही व्यक्तिले शासन गर्ला । यस व्यंग्यलाई मैले मात्र सम्झेको छु किनकि म दिनपरदिन बर्बाद हुँदैछु ।

बुवा स्वर्गे भइसकेपछि मलाई थाहा भयो कि हामीमाथि ऋणको बोझ पो परेको रहेछ । जिजुबुवा महाराज भइबक्सँदा कमाएको धन अंशबण्डा भएपछि घट्यो । घट्दाघट्दा र बुवाले अन्धाधुन्दा खर्च गर्दा त केही पनि बचेन । उल्टो हामीलाई ऋण पो लाग्न गयो । 

बुवाका धेरै भित्रिनी थिए । त्यसमाथि विलास हाम्रो परिवारको शानशौकत हुँदै हो, जुन कायम राख्न बुवाले आँखा चिम्लेर खर्च गर्नै पर्‍यो । अब हामीसित सालिन्दा पाँच हजार आम्दानीको बिर्ता बचेको छ । घरबाहेक अरु जति अचल सम्पत्ति छ, सबै बन्धक परेको छ । हाम्रो जमानामा साहू ऋणको रुपियाँ माग्न पनि डराउँथे, अब मुद्दा चलाउने धम्की दिन्छन् । क्रान्तिपछि अनफिट भएकाले मेरो कर्नेली पनि खोसियो ।

यता म बर्बादीतिर गुट्किँदै छु, उता त्यो घीनलाग्दो लड्का हौसलाको उडान उडिरहेको होला ।

साहूहरूलाई मैले गहनासहना बन्धक राखेर मुख थुनें, जुन गहना अब कहिले फर्कंदैन । बेच्न मलाई डर लाग्छ, किनकि यसमा इज्जत जाने डरको साथै फर्केर आउने सुखद सपना पनि छ । अस्ति मैले घरको कुना–कुना चहारें त देख्छु कि मूल्यवान फर्निचर सब गायब थिए । ग्रामोफोन रेडियो मैले सय रुपियाँमा बेचेको रहेछु, जुन कुरा किन्दा दुई हजार परेको थियो । कहिलेकाहीँ त्यसै गजब मानेर बसिरहन्छु कि यति चाँडो कसरी मैले त्यतिका मालमत्ता बेचिदिएछु, किन बेचेछु र बेचेर केमा खर्च गरेछु ।

जुन ठाउँमा मालमत्ता थियो, त्यो ठाउँ अब ड्वाङ–ड्वाङती खाली छ । सोच्छु कि यदि त्यो लड्का मरेको भए त्यसको प्रेतात्मा स्तब्धसित बसेर त्यो खाली ठाउँमा विचारिरहेको होला । मेरी मुमा बूढी भइबक्सियो । तैपनि उहाँलाई मासु नभई भुजा रुच्तैन । अहँ, सम्झन सकिबक्सन्न प्रजातन्त्र के हो । घरका केटीहरू पेटभरि भात नपाउँदा र नयाँ लुगा नपाउँदा मुख लागेर छाडेर गए । बूढी मुमा काँपेको आवाजमा चिच्याइबक्सियो, “यिनीहरू मलाई के सम्झन्छन् ? यिनीहरूलाई म झ्यालखाना पठाउन सक्दिन र ?”

मुमाको सुसार गर्ने अब हेलिना मात्रै छ, जो दाइजोजस्तै मुमासित यस घरमा आएकी थिई । कमाराकमारी अमलेख भएको धेरै वर्ष भयो । तर, हेलिनाको दुनियाँमा कोही छैन, कतै शरण छैन, ऊ कहीँ पनि जान सक्तिन । उसले भनी, “रानीसाहेब ! म कता जाऊँ ? बाँचे पनि प्रभुकै पाउमा, मरे पनि प्रभुकै पाउमा ।”

मुमा दंग भइबक्सियो, हेलिनालाई पुरानै बानीअनुसार चट्ट कन्तुरबाट झिकेको पाँच रुपियाँ बकस बक्स्यो ।

मेरी स्त्री मैयासाहेबको रहनसहनको स्तरमा केही फरक आएको छैन । ऊ अघिअघि झैं सिंगारपटार गरेर बस्छे । राम्राराम्रा साडी र लुगा लगाउनुुको साथै जिउको गोरो भाग पनि देखाउँछे । हाम्रो घरको अहिलेको स्थिति उसको आवश्यकताको पूर्ति गर्न सक्तैन । तैपनि उसको आवश्यकता कसरी पूर्ति हुन्छ, त्यो मलाई थाहा छ । लुकाउन कोसिस पनि गर्दिन । क्रान्तिअघि पनि उसको प्रेमको भोक मबाट तृप्त हुँदैनथ्यो । भोक तृप्त गर्न ऊ के–के गर्दछे, त्यो रहस्यमय छ । त्यो रहस्यको भेदन गर्ने कोसिस म गर्दिनँ पनि । म स्वास्नीको सौन्दर्यको पर्दाभित्र सुतेको आत्मालाई माया गर्छु ।

मनोहरा जेल, जहाँ राजकुलका स्वास्नीमानिसहरू थुनिन्छन्, त्यस ठाउँले मेरो मनमा वीभत्स हाहाकार पैदा गर्दथ्यो, इन्द्रिय चाहे जे गरोस्, सुतेको आत्मा पवित्र हुन्छ । मेरो यो दर्शन धार्मिक किताब पढेर प्राप्त भएको हो या सम्भोगक्रियासम्बन्धी बेकानुनी किताब, फिल्म इत्यादि हेरेर भएको हो, त्यो मलाई त्यत्तिको वास्ता छैन । अब क्रान्ति भैसकेको छ, मनोहरा जेल उजाड भैसकेको छ । तड्पीतड्पी जति बूढी भैसकेका छन्, ती सब बाहिर निस्किसकेका छन् ।

क्रान्तिअघि मेरी मैसाब प्रेमको भोक सकेसम्म प्रकट नगर्न कोसिस गर्दथी । प्रजातन्त्र भएकोले र मनोहरा जेल पनि नरहन गएकोले गुप्त नामको कुरा नै रहन गएन । रक्सी खाने र बालडान्स गर्ने होटेल खुलिसकेको छ । यो पनि नभएको भए हामी ठूलाहरूलाई कहाँ शरण रहन्छ ! यस्तो बालडान्स गर्ने क्लब र रक्सी खाने होटेल नै त्यो ठाउँ हो, जसले हाम्रो शरण लिन्छ र प्रजातन्त्र भएर पनि हामीलाई शरण दिन्छ । नत्र भए कहिले नै प्रतिक्रान्ति गर्ने कोसिसमा हामी मरिसकेका हौंला । बालडान्स खाली अर्धचेतन मानसिकताको असन्तुष्टि र शरीरको स्पर्श आदानप्रदान । अंग्रेजहरू नृत्य गर्दा संगीत र नृत्यको सन्तुलन क्रियामा मस्त हुन्छन् कि त्यो मलाई थाहा छैन । मेरी स्वास्नीलाई पनि बालडान्समा खास रुचि छ । ऊ भर्खरभर्खरको सिकारुमात्र हो । तैपनि यसो हार्दा मानौं उसको जिन्दगानीको निमित्त खाली यही एक कला जीवित छ, ऊ यसै एक कलाको निमित्तमात्रै जीवित छे ।

मेरो पनि आफ्नो एक कला छ, एउटा आफ्नै किसिमको छ, जुन कुरामा हस्तक्षेप गर्ने मेरी स्वास्नीको कुनै अधिकार छैन । यसै भोकलाई पूरा गर्न र यसै कलालाई सम्पूर्ण गर्नलाई त मैले मालमत्ता त्यतिका बेचिदिएँ, गहनाहरू बन्धकमा राखें । स्वास्नीमान्छेहरूको कमलो शरीरमा एक गजबको आकर्षण छ । कहिलेकाहीँ त म्वाइँ खाँदाखाँदै किचिक्क पारेर मार्ने जोश उठ्छ । रक्सी खाँदाखाँदै रक्सीको बोतलले आफ्नै खप्पर फोडूँजस्तो लाग्छ । तर, भोकको ज्वाला मेटिँदैन, झन्–झन् चम्कन्छ । कला मानौं अपूर्ण हुनलाई नै कला हो । म बर्बादीतिर गुट्किँदै छु । यो चेतना पनि कति मजाको छ, जस्तो कि दौडिरहेको आफू चढेको मोटर दुर्घटना परेको चेतना होस् ।

हामी यहाँसम्म छोटा भयौं । मैले स्वास्नीको केही साडी र गहना एउटी अर्कै स्वास्नीमानिसलाई दिएँ । यति सानो चित्त देखाएर स्वास्नी यस्तरी रिसाई कि मेरो मुखभरि फोहर गालीको वर्षा गर्न लागी । म जिल्ल परेर उसको मुख हेरिरहें । उसको अनुहारको भंगीमा कुनै तल्लो जातको ज्वाला ज्यामी गरेर खानेको जस्तो लाग्यो अथवा त्यस्तै गुप्ती पेशा गरेर खानेको जस्तो लाग्यो । पहिले–पहिले भए ऊ यति सानो कुरालाई सोच्ने कुरा मान्दिन होली । सोच्दासोच्दै मलाई मरीमरी हाँस्न मन लाग्यो ।

मेरो एउटा छोरो थियो, एउटै मात्र । एक्लो छोरो पनि मर्छ, गजबको विधिको विधान छ । मजस्तो मानिसलाई पनि चोट पर्छ, मजस्तोलाई पनि संसार असार लाग्छ र विरह–व्यथामा चुर्लुम्म डुबेर बस्न मन लाग्छ । यो पनि गजबको कुरा हो । मेरो बुवा परलोक हुँदा पनि म त्यत्तिको शोकले विह्वल भएको थिइनँ, जतिका कि एक अकिञ्चन सानो छोरो मरेर । बुवा शायद मेरो हृदयको नाताभन्दा टाढा होइबक्सिन्थ्यो । त्यसो त मुमालाई पनि म मासुको एउटा मैलोथैलो पोको सम्झन्छु । तैपनि एक रहस्यमय पोकोजस्तो लाग्छ । किनकिन जतिको म उनलाई सम्मान गर्छु, त्यत्तिकै घृणा पनि । बुवा जब परलोक भैबक्स्यो, मेरो व्यक्तित्वलाई कुण्ठित गर्ने एक भयावह कुरा लुप्त भएजस्तो मलाई लाग्यो । हामीहरूको बीचमा एउटा अनुल्लंघनीय पर्खाल छ । शायद यही त्यो सामन्तवादी अनुशासन हो र ठूलाबडाको सोमत हो । जवानीलाई सुरक्षित राख्न मुमाले मलाई आफ्नो दूध चुसाइबक्सेन । मलाई बुबूले आफ्नो दूध चुसाएर हुर्काएकी हो । त्यस्तै अर्कै एक स्वास्नीमानिस, जसलाई म आमा भनेर बोलाउँथे, उसले स्याहार गरेर हुर्काएकी हो । मलाई दूध चुसाएर हुर्काउने बुबूलाई सम्झिरहन्छु, जसले कसरी आफ्नो पेटको बच्चालाई पोइको काखमा फालेर मलाई पोसेकी थिई । त्यो बच्चा बुबू हामीकहाँ आएको केही महिनापछि नै म¥यो । अहिले त्यो बुबू कहाँ छे ? धेरै पहिले हामीलाई छोडेर गैसकेकी छ । एक साधारण भोकको कारण आफ्नो बच्चा पोइको काखमा मर्नलाई छोडेर पराईको बच्चालाई जियाउने त्यो धाईले कसरी मेरो हृदयलाई स्पर्श गर्छे, आश्चर्यको कुरा छ । त्यो धाईलाई सम्झेर मलाई थाहा छैन, किन ममा एक असाधारण कुरा हुन्छ । म चुप लागेर बसिरहन्छु ।

मेरो त्यो एक्लो छोरो मर्‍यो । अर्को दिन मैले मनमनै तर्क–वितर्क गरें– त्यो बच्चा बाँचेको भए पनि के हुन्थ्यो र ! एउटा साधारण सिपाही बन्थ्यो, जुवाडे अथवा भँडुवा बन्थ्यो । अथवा तातो रगत भए डाँका बन्थ्यो । यस्तै केही बन्थ्यो, किनकि ऊ मेरो घरमा पालिन्थ्यो, जहाँ म छु, मेरी मैसाब हुनुहुन्छ, मेरी मुमा होइबक्सन्छ । तर्क धेरै बेरसम्म मेरो भावुकतासित सामञ्जस्य हुन सकेको थिएन । तेस्रो दिन मेरो आँसु सुक्यो । फेरि अर्को दिन म हाँस्न पनि लागें । जुठो सिद्धिन नपाउँदै मैले रक्सी खाएँ । त्यसपछि मैले आफ्नो छोरा बिर्सें, सम्झनामा अब पीडाले सुस्केरा हाल्दैन ।

मेरी मैयाँसाहेब दिनभरि नै रोइरही । उसको सँुकसँुकी र छोराप्रति त्यस्तो ममता देखेर मलाई आश्चर्य लागिरहेको थियो । भोलिपल्ट ऊ सामसुम भई, मानौं ऊ ऐहिकलोक देखेर विरक्त भएकी छ र आध्यात्मिक गहिराइमा पुग्दछे । म जब उसको नजिक पुग्दथें, ऊ घृणाले मेरो मुख हेर्दथी । अर्को भोलिपल्ट ऊ यताउति गरेको र केही मुस्कुराएको देखियो । र जुठो सिद्धिनासाथ सिनेमा हेरेर फर्केपछि केही डराउँदै केही सम्हालिँदै मलाई भनी, “अहँ हलमा त कपाल फुट्लाजस्तो भयो । केही पनि रमाइलो लागेन, मनमा सुख भए पो ।” फेरि त्यसैदिन छोरा बिर्सन र मन बहलाउन बालडान्स गर्ने क्लबमा गई ।

मुमा पनि रोइबक्सेको थियो । उहाँको रुवाइ पनि विरलै ढंगको थियो । उहाँ रुँदै होइबिक्सन्थ्यो र हेलिना बराबर आफ्नो आँखाको आँशु पुछ्दै उहाँको पाउ दाबिरहेकी थिई । केहीबेर रोएपछि मुमा सुकुला भैबक्स्यो मस्त निद्रामा । भोलिपल्ट विगत वैभवलाई सम्झेर धेरैबेर रोइबक्स्यो । तेस्रो दिन हेलिनासित निकटी कुरामा रिसानी भैबक्स्यो र दिनभरि बघिनीजस्तो गुराइबक्स्यो ।

यस्तो छ । मलाई कहिलेकाहीँ लाग्छ कि म मर्न लागिरहेछु । सुत्न भनेर जब म बिछ्यौनामा लेट्छु, म स्तब्ध हुन्छु– कहीँ सुतेको बखतमा निद्रामा नै मरें भने, भोलिको बिहान पनि हेर्न पाइनँ भने । मलाई थाहा छ कि रक्सीले मेरो शरीर छियाछिया गर्दैछ । रक्सीको सुरमा कहिलेकाहीँ यो विक्षिप्त कल्पना सत्यजस्तो पनि लाग्छ– त्यो घीनलाग्दो लड्को मेरो रगतको अणुअणुमा उफ्रँदै नाँच्दै भनिरहेछ, “तँ मर्छस् ।” र, म त्यस व्यंग्यको जवाफमा अझ बढ्ता रक्सी ओडेल्न सुरु गर्छु ।

मेरो स्थिति यस्तो भैसकेको छ । सबैले महसुस गरिसकेका छन् कि व्यक्तिगत तवरबाट पनि म मान्छे रहन गएको छैन । राणा शाहीको जमानामा राणा शाहीको इज्जत बचाउन कोही गरिब–सरिब भएमा भत्ता दिइन्थ्यो र त्यो नभएमा महाराजबाट आफ्नै पकेटबाट मद्दत गरिबक्सिन्थ्यो । त्यस्तै दुनियाँदारले हाम्रा बेइज्जत गर्न खोजेमा त्यस्ताहरूलाई अड्डामा सोझाइदिन्थे । अब यो सब कहिलेको कुरा भैसक्यो । मलाई बाटोमा मान्छे यसो भन्न पनि कोही हच्किँदैन । कोही नमस्तेसम्म पनि गर्दैन, सलाम–दर्शन त टाढाको कुरा भैसक्यो । मलाई हेर्दै व्यंग्यपूर्वक मुस्कुराउँछन् । म कसैसित बोल्दिनँ । हाँसी–हाँसीकन कुरा गरे तापनि म केही नबोली आफूलाई सम्हाल्छु । मलाई डर लाग्छ, कसैले मलाई ठोकेर सरासर हिँड्यो भनें ?

क्रान्ति भयो, यसरी भयो । मानिस भन्छन्– फेरि क्रान्ति हुनेछ । किनकि गरिबी बाँकी छ, शोषित यथास्थान मौजुद छन् । कतै क्रान्ति भयो भने ? म सिरिंग हुन्छु । किनकि मैले प्रतिक्रियावादीहरूकै साथ दिनेछु र यसरी साथ दिएर मारिनेछु ।

मलाई पहिले–पहिलेदेखि नै थाहा थियो कि क्रान्ति हुन्छ, नभै छाड्दैन । त्यो घीनलाग्दो केटोले मेरो छातीमा यस्तो छाप छोडेर गएको छ कि त्यो मेटिँदैन । त्यो छापको सत्यता विगत क्रान्तिले देखायो । म त्यसबखत फिफ्थ क्लासमा पढ्थें । घरमा धेरै मास्टर पढाउन आए तापनि मलाई स्कुल जान कर लाग्यो । बुबाको उदारवादिताले मलाई स्कुल जान कर लाग्यो । मुमा मानिबक्सँदैनथ्यो । उहाँ भनिबक्सन्थ्यो, “यतिका मास्टरहरू घरमा आएर पढाउँदापढाउँदै पनि के खाँचो परेको छ र स्कुल जानुपर्ने ? हामी दुनियाँ त हैनौ छोरालाई स्कुल पठाउन । त्यसमा पनि कस्ता–कस्ता साना जातका दुनियाँका केटाकेटीसित बसेर राजाले पढ्नुपर्ने होला । मास्टरले पनि अदबसदब नराखीकन राजालाई पढाउने होला । विचरा, कलिलो छ, पिट्ने होला ।” बुवा मानिबक्सेन, मुसुक्क हाँसिबक्स्यो र मायालु स्वरमा भनिबक्स्यो, “तँ बुझ्दिनस् ।”

मुमा अझै राजी भैबक्सेन र जिद्दी गरिरहिबक्स्यो । अनि बुवा रिसानी भएर बोलिबक्स्यो, “सानो राजालाई एक, दुई, तीन स्कुल पठाउँछु । ममात्रै घाँस खाने पशु हुँ र बढेर कुरा गर्छेस् ?”

म त्यहाँबाट बिस्तारै धस्कें । बुवा र मुमाको आपसको भनाभन र झगडा लुकेर सुन्न मज्जा हुन्छ । म त्यस्तै गरिरहेको थिएँ । मलाई थाहा थियो– मुमाले जिद्दी कसिबक्स्यो भने बुवाको पनि केही लाग्दैन । श्री ३ बडामहारानी मुमाको फुपू पर्छ । मुमा चाकरीमा सवारी हुँदा बडामहारानी उहाँसित एकान्तमा कुरा गरिबक्सन्छ । यसकारण बुवा पनि मुमासित भित्रभित्रै डराइबक्सन्छ, धेरै भित्रिनी भएकोले पनि मुमाको अदब राख्न र अटूट प्रेमको भावना दर्शाउन बुवाले मुमाको कुरालाई नाइँ गरिबक्सन्न । म लुकिकन झगडाको सिलसिला कति पर पुग्छ, सुनिरहेको थिएँ । जित आखिरमा मुमाकै हुन्छ । यसकारण स्कुल जानुपर्छ भन्ने चिन्ता थिएन । निस्फिक्री थिएँ । त्यसैबखत मेरो खेल्ने साथी बैठकेको छोराले आएर भन्यो, “मेरिना भ¥याङबाट खसेर छुट्टी, कत्रो घाउ भएको ।” कोही भर्‍याङबाट त्यसै खस्छ भने मज्जाको कुरा भयो । म उफ्रिँदै हेर्न पुगें । साँच्चिकै मेरिना ‘ऐया! ऐया !!’ गर्दै कराइरहेकी थिई । उसको भित्री सुरुवाल रक्ताम्य भएको थियो । त्यति ठूलो मान्छे रोएको देखेर मलाई हाँसो उठिरहेको थियो । अब स्कुल जाने कुरा मैले भुसुक्क बिर्सें ।

साँझमा मुमालाई ढोग्न भनेर जान्छु त मुमा रिसानी भएको अनुहार लाएर राज भएको थियो । मैले गएर ढोगें । मुमाले मेरो टाउकोमा म्वाइँ खाएर मेरो च्यूँडो समात्दै मर्जी भयो, “म तँलाई कसरी स्कुल पठाऊँ ?”

फेरि हेलिनातिर फर्केर भनिबक्स्यो, “लोग्ने मान्छेको छोराछोरीमाथि माया हुँदो रहेनछ । यो पढ्दापढ्दै मर्छ । कति भनें, मानिबक्सेको होइन ।”

मैले मुमालाई जिल्ल परेर हेरिरहें । आश्चर्यको कुरा– आज मुमाको कुरा भएन । साथै म सिरिंग भएँ, मलाई स्कुल जानु छ, दिनभरि पढ्नु छ ।

मुमा अचानक चिच्याइबक्स्यो, “हेलिना ! हेर, यो सबै रोजलिंगको जाल हो । मलाई थाहा छैन र ! आफू भोटेनी भएर पुगेन र मेरो राजालाई भोटे बनाउन खोज्दिरहिछ, भोटेजस्तै स्कुल जाओस् भनेर । त्यसलाई ननिकालिकन छाड्दिनँ ।”

मलाई तैपनि सान्त्वना भएन । रोजलिंग बुवाको सबैभन्दा मनपरेकी भित्रिनी थिई । थाहा छैन, ऊ मलाई किन खुब माया गर्दथी । शायद बुवालाई देखाउन होला । तैपनि मुमाको कुरा मलाई पत्यार लागेन, सबै रोजलिंगकै जाल भनेर । राति मलाई धेरै बेरसम्म निद्रा परेन । ओछ्यानमा ओल्टेकोल्टे फेरिरहें । मास्टरहरू कस्ता डरलाग्दा होलान्, पाठ आएन भने कुट्ने होलान् । घरमा पढाउन आउने मास्टरहरू मलाई कुट्न हच्कन्थे, माया गरेर पढाउँथे, पाठ आएन भने बुवालाई बिन्ती चढाउँछु भनेर तर्साउँथे । तर, बुवालाई कहिले पनि उजुरी गर्दैनथे । उल्टो मुमालाई मेरो तारिफको पुल बाँध्थे । मुमा बुवाको अघिल्तिर मेरो तारिफ गरिबक्सन्थ्यो । र, बुवा मास्टरदेखि खुशी होइबक्सिन्थ्यो ।

निद्रा आएको थिएन । बेचैन ओछ्यानमा ओल्टेकोल्टे फेरिरहेको थिएँ । त्यसै बखत बुबूले झर्केर भनी, “यस्तो के भएको छ र मेरो राजालाई स्कुल पठाउनु ? दुनियाँका छाउरा भए पो कमाउनुपर्छ ।”

मलाई भित्रभित्रै उकुसमुकुस भएको थियो । भोलिपल्ट स्कुलमा भर्ती हुन जानु पर्‍यो । मुमा खोपीबाट बाहिर निस्किबक्सेन । बुबू र आमाले मिलेर मलाई शृंगारपटार गरिदिए । कपाल कोरिदिए, स्नो पाउडर लगाइदिए र हल्का लाली पनि पोतिदिए । मैले टोल्हाएर आफूलाई सुम्पेको थिएँ । आमाले कोटहरूको ताँतीबाट एउटा कोट झिकेर लगाइदिई । म राम्रो/नराम्रो छुट्याउन सक्तिनँ । मैले जवाफमा खाली टाउको हल्लाइदिएँ । पछि बुबू र आमाले मलाई म्वाइँ खाए ।

म बुबासँग पछिल्तिरको सिटमा बसेको थिएँ र हाम्रो मोटर स्कुलको गेटभित्र घुम्यो । मोटर सनसनाएर भित्र घुस्नासाथ त्यहाँको वातावरण स्तब्ध भयो । चौरमा, भर्‍याङमा र माथि बरन्डामा लड्काहरू मलाई तारिफ गर्ने आँखाले हेरिरहेका थिए । ती आँखामा एक तमासको आतंक पनि समाएको थियो । बुवाको ब्याजदार सिरपोश देखेर मास्टरहरू सबै सहमे । अघिल्तिर आएर दर्शन गरेर हात जोड्न लागे ।

हामीहरू हेडमास्टरको अफिसमा पुग्यौं । हेडमास्टर हड्बडाएर उठे र झुकेर दर्शन गरेपछि मेच उठाएर केही घस्काए, जसमा बुवा राज भैबक्स्यो । हेडमास्टर खडै रहे र हात जोडेर कुरा गर्दै मलाई प्रशंसापूर्ण नेत्रले बीचबीचमा हेर्न लागे । मलाई एक किसिमको हलुंगो भयो, स्कुल आखिर त्यस्तो ठाउँ होइन रहेछ । म बिनासित्ति त्यसै तर्सिरहेको रहेछु । स्कुल पनि हाम्रो घरजस्तै त रहेछ, जहाँ सुसारे, केटी, बैठके, नोकरचाकर छन् । म हल्कापन महसुस गर्दै थिएँ र झ्यालतल लड्काहरू दौडिरहेको रमाएर हेरिरहेको थिएँ ।

मैले सुनें, बुवा भनिरहिबक्सेको थियो, “यो साह्रै बदमास छ । खुब कुटेर तालिम गर्नोस्, हच्कनुपर्दैन ।”

मैले हेडमास्टरको अनुहार निर्भीक भएर हेरें । हेडमास्टर मलाई मुस्कुराएर हेरिरहेका थिए । पछि मेरो गालामा हल्का चपट दिएर भने, “पढेन भने त खुब कुट्छु नि ।”

मैले फेरि झ्यालतल ग्राउन्डमा हेरें । अहिले लड्काहरू मलाई ताकिरहेका थिए, मानौं मेरो राम्रो लुगा र राम्रो अनुहार देखेर जिल्ल थिए ।

बुवा सवारी भैबक्स्यो । मलाई जाँच दिने रीत पुर्‍याउनु थियो । एउटा पालेले मलाई बस्न भनेर नजिकै मेच सर्काइदियो । म बसिनँ र झ्यालैमा उभिरहें । अब मलाई डर थिएन, म स्कुलको वातावरणमा अविभूत भैरहेको थिएँ । 

हेडमास्टर कराए, “ठाउँ कहाँ छ र ?”

म फनक्क हेडमास्टरलाई आश्चर्यचकित भएर हेर्न लागें । उनी घिनाएको मुख लाएर एकातिर हेरिरहेका थिए । मैले उनको आँखाको अनुशरण गरें । त्यसपछि मेरो आँखा एउटा आकृतिमा गएर टक्क रोकियो र धेरैबेरसम्म रोकिरह्यो । यो त्यही घीनलाग्दो केटो थियो । जो दुनियाँभरले गरेको घृणा, अवहेलना र पक्षपातित्वलाई आफूभित्र समेटिरहेको थियो र क्रान्ति गर्ने प्रेरणालाई सहेजिरहेको थियो । कालो अनुहार, मुखभरि छ्याकटे । किलाले पारेझैं साना–साना दुई आँखा । आँखासित एकदम नमिल्दो मोटो नाक, पुड्के फुलेको पेट, छाती सानो । सबै मिलाएर त्यो केटो कुरूप पोकोझैं देखिन्थ्यो । म त्यस केटाप्रति आकर्षित पनि भएको थिएँ, त्यस्तै विकर्षित भएर मुख फर्काइरहेको थिएँ । तर, जति विकर्षित भएको थिएँ, त्यतिकै मात्रामा आकर्षित पनि भएको थिएँ । उसले च्यातिएको मैलो र ह्वार्लाङ–ह्वार्लाङ कोट लाएको थियो, जुन जडाउरी हो भन्ने राम्ररी थाहा हुन्छ । उसको सुरुवाल पनि घुँडामा टालिएको थियो । ऊ गरिबभन्दा पनि बढ्ता कुरूप थियो ।

त्यस केटोलाई ल्याउने मान्छे दुब्लो पातलो थियो र उसले हेडमास्टरलाई बिन्ती गरेर भन्यो, “मास्टरसाहेब ! यसलाई पढेको कुरा चाँडो आउँछ । हतपती बिर्संदैन । दिनभरि पढिरहन्छ । यो मेरो भाञ्जा हो, यसको बुवाले यसलाई ज्यामी काम गर्न जा भन्छन् । यसले लुकी–लुकी पढ्छ, मैले ल्याएँ ।”

हेडमास्टरले झर्केर भने, “आज होइन, भोलि ल्याउनू । होइन, होइन आजै गर्नुपर्छ । एकछिन बाहिर बस, पास भयो भने... ।”

हेडमास्टरले फेरि घिनाएको अनुहार लगाएर केटोलाई हेरे । केटोको निस्तेज आँखा, भावशून्य अनुहार गर्धनमा थपक्क अडेको थियो । 

“अँ एकछिन बाहिर बस,” त्यो केटो आफ्नो मामासित बाहिर निस्क्यिो । हेडमास्टरले लामो सास खिचे, मानौं उनी दुर्गन्धदेखि मुक्त भए । फेरि अर्को मास्टरतिर हेरेर हाँस्तै भने, “स्कुल भने यति सानो छ, मानिस भने यस्तरी भर्ना हुन आउँछन् । हाम्रो पालामा त भत्ता दिई–दिई पढाउनुपथ्र्यो, स्कुल आएन भने पाले घरघरमा समात्न जान्थे । एकदिन म छाना–छाना भागेको थिएँ ।”

घर पुगेर पनि त्यो कुरूप अनुहार मेरो आँखामा टाँसिएको थियो, जस्तो कि नाकमा कुनै चिजले दुर्गन्धित अनुहारलाई देखेजस्तो लाग्यो र म झस्केर उठें । एकछिनपछि सिलिङमा झुन्डिएर बलिरहेको बिजुलीको चिमलाई हेरेर म केही मुस्कुराएँ ।

भोलिपल्ट मोटरमै स्कुल पुगें । केही हिच्किचाएर, केही खुम्चिएर आफ्नो क्लासभित्र घुस्छु त देख्छु कि त्यही घीनलाग्दो कुरूप केटो लास्ट बेन्चको छेउमा बसेको छ, एउटा स्तब्ध मूर्तिझैं । म ढोकानिरकै फ्रन्ट बेन्चमा गएर बसें । त्यही बेन्चमा बसेको अलि सुकिलो लुगा लाएकोे मध्यम श्रेणीको लड्को म बस्नासाथ बिस्तारै सरेर पुछारमा पुग्यो । दश बजेको थिएन र क्लास शुरु हुन केही बेर बाँकी नै थियो । म चुपचाप बसेको थिएँ र सम्मुखको ब्ल्याकबोर्डमा दृष्टि गडाइरहेको थिएँ । मलाई लागिरह्यो कि पिठ्यूँमा पनि आँखा छ र त्यो कुरूप केटोलाई हेरिरहेछ । यो गजबको आकस्मिकता हो, जुन दिन म भर्ती हुन गएँ, कुरूप केटो पनि भर्ती हुन आयो र त्यही क्लासमा, जुन क्लासमा म । यो सब किन ? अझ पनि म आफैं सोधिरहन्छु, यस्तो किसिमको आकस्मिकता किन र केलाई ?

क्लासमा केटाहरू घुस्थे । एकछिन जिल्ल परेर मलाई हेर्थे र अर्कै बेन्चमा गएर बस्थे । मसित कोही बस्न आएन ।  म बसेको बेन्चमा बस्ने त्यो लड्को बिस्तारै उठेर अर्को बेन्चमा घच्चमघच्चा गरेर बस्न गयो । म बेन्चमा एक्लै थिएँँ ।

क्लासमा जोशको तुफान आइरहेको थियो । बेन्चमा लड्काहरू आपसमा ठेलमठेल घच्चमघच्चा गरिरहेका थिए । यी सब मध्यम श्रेणीका लड्काहरू मलाई हेरी–हेरी मुस्कुराइरहेका थिए र आपसमा खासखुस गरिरहेका थिए । कोही कराउन लागे र मेरो ध्यान आकर्षित गर्न लागे । कोही कसैलाई मुक्का देखाइरहेका थिए, मानौं आफ्नो बहादुरी मलाई देखाउन कोसिस गरिरहेको हो । कोही कसैमाथि कागजको गुच्चा हिर्काइरहेका थिए । मलाई उकुसमुकुस भैरहेको थियो, म पनि केही गरूँ । तर, मैले कसैलाई चिनेको थिइनँ । मैले बिस्तारै पछिल्तिर फर्केर हेरें । त्यो कुरूप केटोको अनुहारमा कुनै परिवर्तन छैन । त्यो भावनाशून्य अनुहार नचलीकन टोल्हाइरहेको थियो । मेरो दृष्टिको अनुशरण गर्दै सबै लड्काहरू पनि त्यो केटोलाई हेर्न लागे र सबै खित्का छोडेर हाँस्न लागे । त्यो केटो पनि एक्लै बेन्चमा थियो, त्यसको साथमा पनि कोही थिएन । त्यस्तै म पनि एक्लै थिएँ, मानौं हामी दुईमा विरोधी सामाञ्जस्य छ । घण्टी बज्यो, मास्टरसाहेब घुसे । मलाई देखेर एकछिन टक्क रोकिए । त्यसपछि मेचमा गएर बसे । एकछिनपछि मायालु स्वरमा उनले मलाई सोधे, “तिम्रो नाम के ?” मैले नसमाईकन भनें, “अणु शमशेर ।”

सब लड्का हाँस्न लागे । म जिल्ल परिरहें । मास्टरसाहेबले भने, “मास्टरसित बोल्दा उभिनुपर्छ । यो स्कुलको डिसिप्लिन हो ।”

यो मेरो लागि नयाँ कुरा थियो । घरमा पनि त म मास्टरसित पढ्छु । त्यहाँ बोल्दा खडा हुनु पर्दैन । म गर्वले तन्केर बसिरहें । मास्टरसाहेब ट्रान्सलेसनको रूप सिकाउन लागे र बीच–बीचमा मलाई हेर्थे, मानौं सोध्न चाहन्थे, “बुझ्यौ ?”

मैले केही पनि बुझेको थिइनँ । मेरो ध्यान झ्यालबाहिर घण्टाघरको सियोमा अड्किरहेको थियो । पढाउँदा–पढाउँदै मास्टर रोकिए, “त्यहाँ को नि त्यो ?”

त्यही केटा, जसमाथि मास्टरसाहेबको आँखा भर्खर पर्‍यो । मास्टरसाहेबले फेरि सोधे, “ए तिम्रो नाम के हो ?”

केटो उठ्यो र भक्भकाएर चुप भयो । मास्टरसाहेबले साह्रो स्वरसित कराए, “नाम के हो भनेको ?”

केटोले बल्ल भन्यो, “कृष्णमान ।”

“के रे ?”

त्यसबखत कृष्णमानको अघिल्तिर बसेको एउटा लड्को उठ्यो र करायो, “कृष्णमान रे ।”

मास्टरसाहेब केही मुस्कुराए, मानौं उनी कृष्ण भगवान र यस कृष्णमानलाई दाँज्न चाहन्थे ।

केहीदिनपछि नै म आफ्नो क्लासको मात्रै हैन कि सारा स्कुलको हिरो बन्न लागें । म बाबुसाहेब थिएँ र सबै मलाई बाबुसाहेब भनेर बोलाउँथे र मसित अदब राखेर कुरा गर्थे । मलाई ‘हजुर’ भन्थे । शासक परिवारलाई मानेर कुरा गर्ने भाषा अर्कै छ, जुन भाषा मसित बोल्दा व्यवहार गर्नु दुनियाँदारका लड्काहरूको राजनीतिक कर्तव्य थियो, अनुशासनको पाठ थियो । कोही मेरो मर्जीलाई इन्कार गर्न सक्तैनथ्यो । क्लास मेरो भनाइमा नाच्थ्यो, कुद्थ्यो । म जे गर्थें, प्रशंसनीय हुन्थ्यो । कहिले त्यस्तै नराम्रो काम भयो भने मास्टर मलाई चकचके भन्थे र माया गरेर कान निमोठ्थे ।

स्कुलमा सबैभन्दा पहिले मेरो रामप्रसाद उपाध्यायसित चिनापर्ची भयो । ऊ हाम्रो दाजुभाइ कसैकहाँको घरकाजमा काम गर्नेको छोरा थियो । ऊ मेरो मनपरेको साथी भयो, जो मेरा कुरा दिलोज्यानले मान्थ्यो । स्कुल गएको तेस्रो दिन पनि म एक्लै थिएँ । त्यो रामप्रसाद यस्तरी मतिर खिचियो कि ऊ मसँग बस्न आइपुग्यो । मेरो किताब उसले उठाएर डेस्कमा राखिदियो । उसलाई दरबारी भाषा राम्ररी आउँथ्यो । र, त्यस कुरालाई लिएर ऊ अरु साथीहरूको अघिल्तिर नाक फुलाउँथ्यो । ऊ मेरो साथी बन्यो । मसँग हरेक कुरामा ऊ सरिक हुन्थ्यो । एक बजेको टिफिन आवरमा ऊ मेरो घरबाट ल्याएको खानेकुरामा पनि सरिक हुन्थ्यो ।

सब लड्कालाई मैले प्रभावित गरेको थिएँ, सबै मेरो भनाइमा उफ्रन्थे । तर त्यो कृष्णमानको अनुहार जस्ताको तस्तै भावनाशून्य, मानौं त्यसमा कुनै कुराको पनि असर छैन, मानौं ऊ पत्थरको जस्तो टुल्ल आँखाले दुनियाँको हरेक चराचर वस्तुलाई हेर्छ । शायद ऊ हामीलाई यन्त्रझैं चलेको, हल्लेको सम्झँदो हो । नत्र यस्तो किसिमको भावशून्यता किन ? यस्तो किसिमको प्रभावित नहुने लचकहीनता किन ? उसकोे कोही पनि साथी थिएन, क्लासका मध्यम श्रेणीका लड्काहरू पनि ऊसित पर–पर हुन्थे । क्लासमा जसरी ऊ अकेला छ र त्यस्तै उसको मन पनि अकेला होला ।

ऊ दिनदिनै ठीक दश बजे स्कुल पुग्छ । एक बजे मध्यान्तरमा पनि बाहिर निस्किँदैन, क्लासमै बसिरहन्छ, जबकि सारा लड्का खेल्न अथवा किनेर खान बाहिर निस्किन्छन् । चार बजे ऊ एक्लै खाली खुट्टा बाटोमा हिँडिरहेको देखिन्छ ।

देख्तथें– दिनपरदिन उसको लुगाफाटो झन् मैलेर च्यातिँदै गइरहेको थियो । साथै उसको कुरूपता पनि बढ्दै गैरहेको थियो । त्यस मान्छेलाई पढ्न कसरी सुहाउँछ, मलाई ताजूब लाग्दथ्यो । त्यस्तै म जिल्ल पर्थें– उसलाई पढ्न त्यत्तिकै आउँछ, जत्तिको कि मलाई आउँदैन ।

मास्टरहरू पनि एक अजीब जातका हुन्छन् । मास्टरहरू समग्रताको दृष्टिले हेर्‍यो भने एकै प्रकारका हुन्छन् । तर, हरेकलाई छुट्टाछुट्टै राखेर हेर्‍यो भने विभिन्न प्रकारका । एउटा संस्कृत पढाउने पण्डितबाजे थिए, जो मलाई कहिल्यै पनि पाठ सोध्दैनथे । कृष्णमानलाई धेरैजसो पाठ सोध्दथे । एक ग्रामर पढाउने मास्टर थिए, जो जहिले पनि मलाई पाठ सोध्दथे र त्यस्तै कृष्णमानलाई कहिल्यै पनि सोध्दैनथे । पाठ सोधे पनि नसोधे पनि ऊप्रति मास्टरहरूको त्यस्तै घृणाको दृष्टि थियो, जत्तिको कि मप्रति सम्मानको । पाठ सुनाउँदा कृष्णमानले अलिकति मात्रै बिरायो भने संस्कृतका पण्डितबाजे आगो हुन्थे र कृष्णमानलाई अनेक किसिमको शासन दिन्थें ।

कृष्णमान धेरै बेरसम्म सुँक्कसुँक्क गरिरहन्थ्यो र मलाई एक तमासको कुतकुती लाग्दथ्यो । गरिब र कुरूप अनुहारमा झरेको आँसु देखेर हाँसो उठ्दथ्यो । अंग्रेजी पढाउने मास्टर मेरो स्वास्नीमान्छेको जस्तो राम्रो गाला पड्काउन उत्तेजित हुन्थे क्यारे । त्यसकारण मलाई अक्सर पाठ सोध्दथे तर मलाई थाहा छ त्यही मास्टर कसरी कृष्णमानसित अवहेलनाको दृष्टि फ्याँक्तथे ।

जब–जब कृष्णमानको आँखासित मेरो आँखा जुध्दथ्यो, उसको आँखामा भएको रहे–सहेको सरसत्ता पनि गायब हुन्थ्यो, निश्चल पत्थरझैं बन्थ्यो, मानौं मप्रति उसको घृणा ठोस छ । मलाई एक किसिमको उन्मादझैं चढ्थ्यो, उसको आँखा फोडिदिऊँ र कुरूपतालाई चिथोरूँ, ऊ केही त गरोस्, हाँसोस्, बोलोस्, झगडा भए पनि गरोस् ।

केही त जरुर गर्नुपर्छ । अनि हामी आठ–दशजना लड्काहरू मिलेर उसलाई घेर्‍यौं । ऊ डराएर कालोनीलो भयो । फेरि पूर्ववत् निश्चल भएर आफैंभित्र समेटियो, मानौं हामी उहाँ थिँदै थिएनौं । हामीले उसलाई अनेक तरहको भन्यौं, गाली गर्‍यौं, गिज्यायौं । तर, ऊ चुप थियो, एकदम चुप । कहिलेकाहीँ घृणाले दृष्टि फेथ्र्यो । अनि मैले मास्टरसाहेब बनेर उसको कान निमोठ्न सुरु गरें । कान समातेर तान्नासाथ उसले मेरो मुखमा चकित भएर हेर्‍यो । उसको दृष्टिमा कुनै अनुनय थिएन, कुनै विनय थिएन । ममा एक अजीब किसिमको उन्माद चढ्न थाल्यो । ठीक त्यस्तै, जस्तो कि मैले घीनलाग्दो घस्रिरहेको चिप्लेकीरालाई चक्कुले छियाछिया पारेको थिएँ । कृष्णमानको शरीरबाट पीडाको सुस्त आवाज निस्कियो । म झन् बल गरेर कान तानिरहेको थिएँ । सबै लड्का वाल्ल परेर हेरिरहेका थिए । अकस्मात रामप्रसादले मेरो कुहिनामा धक्का दियो र मेरो हात कानबाट फुस्कियो । त्यसैबखत ग्रामर पढाउने मास्टर कलासभित्र घुसे । उनले हाम्रो जमघट देखेर टाढैबाट कराए, “त्यहाँ के भैरहेछ ?”

रामप्रसादले हतपत जवाफ दियो, “त्यसै हामी कुरा गरिरहेको ।”

मास्टरसाहेब फेरि कराए, “आफ्नो ठाउँमा गएर बस ।”

म पनि आफ्नो ठाउँमा आएर बसें । म अझै पनि जोशले उकुसमुकुस भैरहेको थिएँ । कृष्णमानको कान अझै पनि मेरो हातमा कुच्रेको जस्तो लागिरहेको थियो र मैले मुठ्ठी कसें, मानौं त्यो कानलाई म धूलो गरिरहेछु ।

कृष्णमान तैपनि चुप थियो । ऊ रोएन । उजुर गर्न पनि उठेन । खाली एकदम लाल कान लिएर जिल्ल परेको अनुहार परबाट देखिन्थ्यो । उसले मास्टरसाहेबलाई उजुरमात्र गरेको भए पनि, मास्टरले मलाई कुटेको मात्र भए पनि मेरो त्यो निस्सासिने किसिमको उन्माद हट्ने थियो । क्लासमा त्यसबखतको वातावरण केही असाधारण थियो । मास्टरसाहेबको आँखा कृष्णमानमाथि परि नै हाल्यो । 

उनले सोधे, “कृष्णमानलाई के भयो ?”

क्लास चुप थियो । उनले फेरि सोधे, “किन बोल्दैनौ भनेको ?”

रामप्रसादले हाँस्दै जवाफ दियो, “हामीले कृष्णमानलाई कुरूप भनेर गिज्याएकोले ।”

म सास रोकेर आइपर्न लागेको कुरालाई पर्खिरहेको थिएँ । म आश्र्चयचकित भएँ, जब मास्टरसाहेबले रिसाएको बहानामा आफ्नो फुस्कन लागेको हाँसोलाई बदलेर भने, “के ? के रे ?”

एकछिनपछि उनले फेरि सोधे, “कसले भनेको ?”

मैले चट्ट उठेर भनें, “मैले र.....र.....”

मैले कान पनि समातें भन्नै लागेको थिएँ, रामप्रसाद बीचैमा करायो, “हामी सबैले ।”

मैले कुरा पूरा गर्न पाएको थिइनँ । आकस्मात् संकोच र भयले म एकदम अलमल्लिएँ । मास्टरसाहेब अर्काको मन दुखाउनु हुँदैन भनी एक लामो उपदेश दिन लागे । उपदेश क्लासमा गुञ्जिरहेको थियो । र, कृष्णमानको मुख–मुद्रामा केही चञ्चलता देखियो । केहीबेर उसको मुख नीलो भयो, फेरि पहेंलो । अनि उसको च्यूँडो डेस्कमा टाँसिएको मेरो आँखा अघिल्तिर आइरह्यो । रामप्रसाद दिनदिनै झैं घरमा खेल्न आयो र आज उसको अनुहार देखेर घृणा उठ्यो । आमाले खानेकुरा मेरो अघिल्तिर राखिदिइन् । मलाई किन–किन रिस उठ्यो र सबै हुर्‍याइदिएँ । अनि उनलाई घृणाले हेर्न लागें ।

भोलिपल्ट पनि क्लासभित्र घुस्दा हेर्छु त कृष्णमान छैन । मलाई केही हराएझैं, कुरा फुस्केझैं भैरह्यो । दश बजेको घण्टी बज्यो, मास्टरसाहेब क्लासभित्र आए । तर, कृष्णमान आएन । पिरियड एकपछि अर्को खत्तम भयो । मास्टरले ग्रामर पढाए, ट्रान्सलेसन पढाए । हिसाबको होमटाक्स नगरेकोले हप्काए, कृष्णमान आएन । म गम्भीर, बेचैन थिएँ र क्लासका सबै लड्काहरू मलाई गजब मानेर निहारिरहेका थिए ।

फेरि भोलिपल्ट आफ्नो क्लासमा पुग्दा मेरो मन ढुकढुक गर्न लाग्यो । ढोकामा पुग्नासाथ कृष्णमानलाई आफ्नो ठाउँमा बसेको देखेर मेरो मन ढुक्क भयो । कृष्णमान हारेझैं, विवश टाउको झुकाएर बसिरहेको थियो । आँखा उसको किताबको अक्षरमाथि थियो ।

स्कुलको पढाइ रफ्तारसित चलिरहेको थियो । मास्टरसाहेब कोर्स खतम गर्न हड्बडाइरहेका थिए । क्लासमा विशेष घटना केही थिएन । एउटा लड्का बराबर क्लासबाट भाग्थ्यो, भोलिपल्ट पिटाइ खान्थ्यो । त्यो प्रक्रिया जारी नै थियो । एउटा गफी लास्ट बेन्चमा बसेर गफ हाँकिरहन्थ्यो, त्यो पनि कायम नै थियो । खाली एउटा लड्काले स्कुल छोड्यो । बाँकी म थिएँ, सब थिए र कृष्णमान पनि थियो ।

एकदिनको कुरा हो । त्यही त सबैभन्दा ठूलो कुरा । त्यही कुरा त थियो, जसले यति धेरै क्रान्ति गर्‍यो । त्यही कुराले त कृष्णमानको भावनालाई सहेज्यो, क्रान्तिलाई प्रेरित गर्‍यो ।

सेकेन्ड पिरियड, मास्टर आएनन् । त्यस पिरियडभरि क्लासमा हामीहरूको राज भयो । हामी कुरा गरिरहेका थियौं र यताउति दौडिरहेका थियौं । थर्ड पिरियड मास्टर पढाउँदा–पढाउँदै जब थुक्न भनेर झ्यालमा जाँदै थिए, बाटैमा टक्क रोकिए । उनले घिनाएको अनुहार बनाए र ठूलो स्वरमा भने, “भुइँमा कसले थुकेको ?”

क्लासमा सब बोल्न नसकेर आपसमा हेराहेर गर्न लागे । झट्ट मलाई सम्झना भयो कि त्यो त मैले थुकेको थिएँ । खकार झ्यालबाट नखसेर बीचैमा भुइँमा खसेको थियो । जुत्ताले कुल्चेर पुछ्न बिर्सिहालेको । मेरो जिउभरि सरमको लहर दौड्यो । मजस्तो राम्रो मान्छे, सफासुग्घर, धेरै मोल पर्ने लुगा लाउने, ठूलो मान्छेको छोराले यसरी भुइँमा जहाँतहाँ थुक्न सुहाँउछ र ? समातिएला भनेर म एकदम डराएँ । म उठें र मास्टरको मुख नहेरिकन नै भनें, “यो कृष्णमानले थुकेको हो कि ?”

रामप्रसाद झट्पट् उठ्यो, “हो हो, यो कृष्णमानले नै थुकेको हो, मैले देखेको ।” अनि उसले मलाई हेरेर आँखा झिम्म गर्‍यो ।

मास्टरसाहेब केहीबेर विचारमग्न भए र पछि उनको पग कृष्णमानतिर लम्कियो । उनको हात कृष्णमानको कानमा पुग्यो । कृष्णमान डरले नीलो कालो भएर उठ्यो र उसको अस्पष्ट बडबडाहट बीचैमा थामियो । कान समातेर तान्दै मास्टरले उसलाई खकारको नजिक पुर्‍याए र एकपछि अर्को दुईचोटि गालामा चड्याङ–चड्याङ पड्काएर कराए, “उठा ।”

कृष्णमान झुकेन र निर्जीव मूर्तिझैं खडा रह्यो । मास्टरले दाह्रा किटेर फेरि भने, “उठा !”

कृष्णमान डरले एकदम काँप्यो । उसको शरीर झुक्यो र उसले खकारलाई कागजले पुछेर फ्याँकिदियो ।

म टाउको झुकाएर बसेको बस्यै नै भएँ । बीच–बीचमा उठेर कराउन मन लाग्दथ्यो, “मैले, मैले थुकेको ।” तर, पिरियड अर्कै मास्टरको अनि र फोर्थ पिरियड सिद्धिएर पनि फिफ्थ पिरियड सुरु भैसकेको थियो । अर्को दिन क्लासमा कृष्णमान देखिएन । अहिले म खुशी भएँ । केहीबेरपछि नै कृष्णमान क्लासबाहिर देखियो र ऊसँगै उसलाई भर्ना गर्न ल्याउने उसको मामाको अनुहार पनि देखियो । मैले हड्बडाएर आफ्नो आँखा झुकाएँ, हतपती उठाइनँ । मानौं म विरक्त छु । म कोहीसित बोलिनँ, न त हाँसे । ममा एक किसिमको शून्यता व्याप्त भयो । म मास्टरले पढाएको ध्यान दिएर सुन्न लागें । त्यस दिन घर पुगेर पनि किताब झिकेर पल्टाउन लागें । बुबू आएर कराई, “विचरा ! मेरो बाबालाई कति पढ्नुपर्छ ।” म मुस्कुराएँ, मानौं म आफूलाई दया गरिरहेछु ।

म पढ्नमा दत्तचित्त भएँ । घरका ट्युटर र क्लासका मास्टर पनि ताजुब भए । एकदिन मैले आफ्नोे मास्टरको ड्राइभरको मुखबाट सुनें कि बुवाले हेडमास्टरको तलब बढाउन भनसुन गर्छु भन्ने मर्जी भएको छ । मुमालाई चिन्ता लाग्यो मैले यसरी पढें भने म बिरामी हुन्छु । म पढ्नमा ध्यानमग्न भएँ । कृष्णमान दिनदिनैझैं स्कुल आउँछ । त्यस्तै गरी बस्छ । क्लास अब ऊप्रति निर्दयी देखिएन । तर, कृष्णमानसित जब मेरो आँखा जुध्यो, मलाई लागिरहन्थ्यो कि त्यो आँखाले मलाई सरापिरहेछ । 

कुरा यहीँ आएर थामिएको भए, कृष्णमानको कुरूप अनुहारमा नै घटनापूर्ण भएको भए कति बेस हुन्थ्यो । नत्र मलाई यो दिन देख्नुपर्ने थिएन । घटना गुट्किँदै, लड्दै, पड्दै, बढ्दै जान्छ । घटना आगोको लप्का लिएर उड्दै पनि जान्छ । मैले ठट्टैठट्टामा ब्लाकबोर्डमा लेखें, "boys are monkeys teachers are fool." 

त्यसबखत त्यस लाइनलाई पुछेर बाहिर बाटोको झगडा हेर्न गएको भए घटना यति पर हुत्तिँदैनथ्यो । फर्केर हेर्दछु त हिसाब पढाउने मास्टरसाहेब गम्भीर मुद्रा बनाएर क्लासमा बसेका छन् । हामी आठ–दश लड्काहरू आगमनको प्रतीक्षा गरिरहेछन् । म अली खुम्चिँदै आफ्नो सिटमा गएर बसें । अघिल्तिर हेर्नासाथ मेरो मुटु ढुक्क भयो । ब्ल्याकबोर्डमा मेरो अक्षर प्रष्ट थियो, "boys are monkeys teachers are fool."

मास्टरसाहेब मुस्कुराए । त्यस्तै किसिमबाट मुस्कुराए, जस्तो पिट्नुअघि मुस्कुराउँछन् । उनले सोधे, “ब्ल्याकबोर्डमा यो कसले लेखेको ?”

क्लास चुप थियो । मास्टरले टेबुलबाट बेत झिक्दै भने, “भन्ने भए भन, मलाई थाहा भैहाल्दछ ।”

म ‘मैले’ भन्नै लागेको थिएँ, कृष्णमानको आवाज सुनियो । ऊ कराएर भनिरहेको थियो, “मैले ।” कृष्णमानको आवाज सुनियो । ऊ कराएर भनिरहेको थियो, “मैले ।”

म अवाक् भएर कृष्णमानलाई हेरेको हे¥यै भएँ । त्यस्तै तरहबाट सारा क्लास अवाक् थियो । मास्टरसाहेब पनि चकित भए । केहीबेरपछि उनी त्यस्तै किसिमबाट मुस्कुराएका थिए । मैले बोल्न पनि पाएको थिइनँ । मास्टरसाहेब झम्टेर कृष्णमानतिर पुगे । एकै पलकमा क्लासभरि बेत हानेको सुनियो । साथै मास्टरसाहेबले स्याँस्याँ र फूँफूँ गर्दै कराएको अवाज फैलियो, “झूट बोल्छ । झूट !”

केही बेरपछि कृष्णमान बेन्चमा शिथिल भएर लुड्कियो । मस्टरसाहेबले मलाई पनि पिटेर उनको पिरियडभरि नीलडाउन गराए । एक बैरागीले गरेको साधनाझैं म नीलडाउन भैरहें, हृदयमा एक अजीवको व्यथा लिएर ।

अर्को पिरियडमा कृष्णमान क्लासबाट बाहिर निस्कियो । अनि फेरि कहिल्यै स्कुल आएन, कहिल्यै आएन । त्यसबेलादेखि नै मैले मैले उसलाई देखेको छैन कतै पनि, मानिसको जमघटमा पनि । कति जाती हुन्थ्यो यदि त्यसबेला मलाई थाहा भएको भए ऊ स्कुल आएन भने म यस्तरी बर्बाद हुन्छु । त्यसो भएको भए म के गर्थें ? म एउटा ठिटै त थिएँ, म विवश छु ।

कृष्णमान फेरि स्कुल आएन । केही महिना उसलाई पर्खिरहेझैं म स्कुल जाँदै रहें र पछि स्कुल छोडिदिएँ । बुवासँग डराएर मैले मुमाको शरण लिएँ । अन्त्यमा बुवाले मुमाको अघिल्तिर हार खानु पर्‍यो । घरमा मास्टरसित मन नलाई नलाई पढ्थें । त्यसैले म्याट्रिक पनि पास भइनँ र कर्नेल भएपछि पढ्न चटक्क छोडिदिएँ ।

कृष्णमान स्कुलमा भर्ती भएकै दिनमा म पनि भर्ती भएको थिएँ । उसले स्कुल छोडिदियो, मैले पनि छोडिदिएँ । यसमा कुन किसिमको सामञ्जस्यता छ, म सोच्तै रहन्छु । यो अन्धविश्वास होइन, जस्तो कि कृष्णमानलाई क्रान्तिको प्रेरक भन्न अन्धविश्वास छैन ।

उसमा र ममा विरोधी सामञ्जस्यता छ । शायद यसबाट आगो बल्छ ।

क्रान्ति भयो, अब राणाशाही छैन । राणाशाहीको केही अवशेष बाँकी छ । त्यो पनि हामी गरिब भएपछि मिट्छ । तर, कृष्णमान कतै पनि देखिएन । कहीँ भेटिए कति हाइसन्चो हुन्थ्यो । म उसको अघिल्तिर ‘इँइँ मिमि’ गरूँ, उसले मलाई लत्याओस्, उसको खुट्टामा म्वाइँ खाऊँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC