site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जोहोरबारु एक्सप्रेस–३
Sarbottam CementSarbottam Cement

– सुरञ्जन घिमिरे 


“मलेसियामा चुरोट पनि के साह्रो महँगो ?” कोठा आउन सिँढी उक्लिँदै गर्दा हामीमध्ये कोही विरक्तियो, “एक प्याकेटलाई दुई रिङ्गिट पचास सेन्ट, नेपालमा त सत्तरीमै एक प्याकेट सूर्य आउँछ ।”

सिँढीको एक कुनामा लामो धोती बेरेर एक व्यक्ति गफ गर्दै हजमसँग कपाल कटाइरहेको थियो । बाहिर पानी परिरहेकाले ऊ केही ठूलो आवाजमा बोलिरहेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उसले बोलेका ‘बोन्दु’, ‘भाइ’, ‘बिबी’ शब्दले ऊ बंगाली हो भन्ने छनक दिइरहेको बुझेपछि हामीमध्ये कसैले सोध्यो, “मेरा भी बाल काट्ना हे बोन्दु, कित्ना लागेगा ?”

कसिएर बोलिरहेको उसले आफ्नो संवादमा अर्धविराम लगाउँदै उत्तर दियो, “पाँच रिङ्गिट लागेगा बोन्दु ।” 

Global Ime bank

माथ्लो तला पुगेपछि कसैले जिज्ञासा पोख्यो, “बाल काला कर्नाको कित्ना लागेगा बन्दु ?” बाहिर पानी परिरहेको र हाम्रै हल्लाले त्यो प्रश्न ‘बन्दु’ले सुनेन । हामी बन्धु भन्छौं, उनीहरू बोन्दु भन्छन् ।

हाम्रो भीड सिँढी उक्लिरह्यो ।

“मलेसियामा हजामले चाहिँ राम्रो पैसा कमाउँदा रछन्, आफू पनि कपाल काट्ने काम थाल्नु पर्लाजस्तो छ,” अर्को कोही बोल्यो, “दिनमा दशैजना आए भने पनि पचास रिङ्गिट भयो, महिनामा पन्ध्र सय !”

चौरबाट सँगै सिँढी उक्लिएका साथीहरू छाँटिँदै, छाँटिँदै गए । कोठा आइपुग्दा हामी चार जना मात्र भयौं ।

कोठको एक कुनामा धारो थियो । सँगै देखिन्थे पुराना कराही र केही भाँडाकुँडा । भाँडाकुँडा देखेपछि कोठामै केही पकाएर खाने कुरा भयो । तर, यसका लागि ग्यास सिलिन्डर थिएन ।

र, एयरपोर्टमा मुस्ताफाले दिएको सय रिङ्गिटमध्ये हिजो राति खाना, रिचार्ज र बिहानको खर्चमै सकिएकाले सिलिन्डर किन्ने पैसा पनि हामीसँग थिएन ।

एक–अर्कालाई हेर्दै, आलटाल गर्दै बस्नुको विकल्प हामीसँग भएन । 

“पासपोर्टको फोटोकपी र जमान बसिदिने पुरानो एकजना मान्छे भए तामिलको दोकानमा खाता खोल्दिन्छ रेन्त,” कसैले अव्यक्त ज्ञान दर्सायो ।

“कसले खोल्देला त हामीलाई खाता ?” धेरैका मनमा यही द्विविधा पैदा भयो । 

“लु जाऊँ न तल, कोही दाइहरू भेटिएलान् कि !”

दर्किरहेको मुसलधारे पानी केहीबेरमा रोकियो । हामी चारैजना तामिलको दोकानमा खाता खोली ग्यास सिलिन्डर, दालचामल र अन्य खानेकुरा ल्याउन तल ओर्लियौं । 

सिमेन्ट लगाइएको होस्टेलको ग्राउन्डलाई भर्खरै रोकिएको मुसलधारे पानीले चिल्लो र चम्किलो बनाएको थियो । ग्राउन्डमा बास्केटबलको कोर्ट रहेछ । सबैजना ड्युटी गएकाले ग्राउन्डमा मान्छेको बाक्लो चहलपहल थिएन ।

हामी खाता खोल्ने कसैको प्रतीक्षा गर्दै ग्राउन्डकै एक कुनामा बस्यौं । आकाशमा बादलका सफा र कञ्चन ढिक्का देखिन्थे ।

“बादल पनि कस्तो बगेको है सललल,” कसैको मलिन स्वर सुनियो, “यदि यो बादल पहाडहरूमा नठोक्की हिँड्यो भने कति दिनमा नेपाल पुग्ला ?”

पराई भूमि पुगेका अधिकांश नेपालीहरूको शील, स्वभाव, अड्कल र आँकलन फरक–फरक रहे पनि त्यहाँका हरेक कुरालाई नेपालका चिजबिज र हावापानीसँग तुलना गर्ने प्रवृत्ति लगभग सबैमा समान पाइन्थ्यो ।

“यी होस्टेलजत्रा घर नेपालमा कहिले बन्ने होलान् है ?” अर्काको गुनासो सुनियो, “नेपालमा सबै कुरा ठीक, नेताहरू खत्तम । नेताहरू राम्रा भएका भए नेपाल आज सिंगापुर भइसक्थ्यो ।” 

यत्तिकैमा हामीलाई कसैले सोध्यो, “हिजो राति आउने भाइहरू नै हो ?” 

आकाश र होस्टेलका भित्तातिर हेरिरहेका हाम्रा आँखा त्यस व्यक्तितर्फ सोझिए ।

“हो दाइ,” दबेको आवाजमा हामी सबैले लगभग एउटै स्वरमा भन्यौं ।

मोटो जिउ, गोरो वर्ण र कपाल केही घुङ्ग्रिएको त्यस व्यक्तिले दायाँ हातमा एलए चुरोट च्याँपेको थियो भने बायाँ हातमा रेडबुलको क्यान थियो ।

“मेरो नाम टंक,” ओठबाट चुरोटको पातलो धूँवा बाहिर निकाल्दै उसले भन्यो, “टंक क्षेत्री । हिजोआज मेरो नाइट ड्युटी छ, त्यसैले तिमेरूसँग ठ्याक्कै भेट भो ।”

टंक धाराप्रवाह रूपमा बोलिरह्यो । बिहानदेखि केही नखाएका हामी उसले बोलेका धेरै कुरा सुन्न र बुझ्न सकिरहेका थिएनौं ।

“दाइ, खाता खोल्न एकजना पुरानो मान्छे चाहिने रहेछ, हाम्रो एउटा खाता खोल्दिनू न ।”

हाम्रो आग्रहपछि उसले चुरोट भुइँमा फाल्यो र लात्ताले कुल्चिँदै सोध्यो, “पासपोर्टको फोटोकपी छ ?”

‘छ’ सङ्केतमा हामीले मुन्टो हल्लायौं ।

ऊ सीधै तामिलको दोकानतिर गएर मलायु भाषामा केही कुरा ग¥यो । हाम्रो नाम, होस्टेलको ब्लक नम्बर सबै सोधेपछि केहीबेरमा त्यस पसलेले हामी चारै जनालाई एउटा खातामा हस्ताक्षर गरायो ।

“के–के चाहिन्छ, लैजाओ,” तामिलले भन्यो, “महिना सक्किनेबित्तिकै पैसा तिरिहाल ।”

सँगै उभिएको अर्को पसलेबाट ‘आन्नाडे’, ‘पान्नाडे’, ‘नेपाली आन्नाडे’जस्ता केही तामिल शब्द सुनिए । हामीले अनुमान लगायौं– शायद उनीहरू नेपाली इमान्दार हुन्छन्, पैसा नतिरी भाग्दैनन् भनेका होलान् । हामी दङ्ग पर्दै चाहिने सामान छान्न थाल्यौं ।

“सागसब्जी उताभन्दा महँगो छ, मासुमा अलिक जोड गर...,” यीलगायत दैनिकीका अनेक कुराहरु टंक दाइले केहीबेरमै सिकाए, सम्झाए ।

कसैले चामलको बोरा काँधमा हाल्यौं । कसैले मासुका पोलिथिन र नुन, भुटुनका पोका बोक्यौं । दुईजनाले बल गरेर ग्यास सिलिन्डर झुन्ड्यायौं र कोठातिर उक्लियौं ।

“घरमा आमाले भात पस्केर दिँदा यस्तो भयो, यस्तो भएन भन्न कति सजिलो हुन्थ्यो,” कोही अलिक बाठो पल्टियो, “अहिले आफैंले जुटाउनु पर्दा कस्तो हुँदो रछ, थाहा पायौ नि तिमेर्ले ?”

चुल्हो, राइसकुकर, चामल, मासु, नुन, भुटुन सबैको जोहो भइसकेकाले सबैका मनमा अनौठो किसिमको ऊर्जा पैदा भयो । झोक्राएका र नियास्रा देखिएका सबैका अनुहारमा अनायसै खुसी र शरीरमा फुर्ती देखियो ।

नयाँ परिवेश, नौला र फरक भाषा बोल्ने मान्छे बस्ने मलेसियाको जोहोरबारु ग्यालेङ्पतामा दोस्रो रात बिताउने सुरसार चल्यो । कोठामा बलेको ट्युबलाइटको प्रकाश मधुरोसँग होस्टेलका झ्यालहरुबाट बाहिर पोखिन थाल्यो ।

चिटिक्क कपाल कोरी, जुत्ताको लेस कसिलो गरी बाँधेर होस्टेलका अरु ब्लकहरूबाट नाइट ड्युटी भएकाहरू कम्पनीतर्फ बढ्न थाले ।

अत्तरको हरर बासना र सफा लुगा लगाएर नाइट ड्युटीका लागि कम्पनी जाँदै गरेका र डे ड्युटी सिध्याएर होस्टेल फर्किरहेकाहरूको बाक्लो लस्कर झ्यालबाट देख्यौं ।

“भोलिदेखि त हामी पनि आनन्दसँग ड्युटी गइन्छ,” सबैमा आनन्दको लय सुसायो, “अब एकछिनमा त ब्याचकार्ड पनि आइपुग्छ, टक्क लगाउने हो ।”

कोठामा खाना पाक्यो । धारामै आएको चिसो पानीलाई फ्रिजमा हालियो । उमालेर मात्र होइन, फ्रिजमा हाली चिस्याउँदा पनि पानीका सम्भावित किटाणु नाश हुन्छन् भन्ने हामी कसैको प्रारम्भिक ठम्याइ थियो । हामीले खाना खानै लागेका बेला विजय शर्मा कोठामा आइपुगे ।

“ल लेऊ तिमेर्को ब्याचकार्ड,” विजयले सम्झाए, “यो नलगाई कम्पनीमा छिर्न पाइँदैन नि, सबैले बोकेर जाने । कुरा बुझेको ?”

यत्ति भन्दै उनी रफ्तारसँग माथिल्लो तला उक्लिए । खाना खानै लागेका हामीले ब्याचकार्डमा आफ्ना मुहार हे¥यौं । अलिअलि निराशजस्तो, अलिअलि आत्तिएजस्तो, कता के नमिलेजस्तो, हाँस्न बिर्सिएजस्तो । ओहो ! फोटामा कस्ता–कस्ता देखिएछौं हामी ।

“ब्याचकार्ड आइसकेपछि बल्ल हामी फ्ल्याक्स्ट्रोनिक्सका अपरेटर भयौं,” सबैको हर्षित आवाज सुनियो, “भनेपछि कम्पनी सही नै परेछ । अब महिना मरेपछि चट्ट सेलरी आउँछ, टक्क घर पठाइन्छ ।”

भोलिबाट कम्पनी जाने पक्का भए पनि सबैका मनमा नेपाल र विशेष आफ्नो घरपरिवारको नियास्रो सल्बलाइरहेको थियो ।

(क्रमशः)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC