site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जिज्ञानको जापान अनुभव
Sarbottam CementSarbottam Cement

काठमाडौं । जागिर खाएर किनेको मोटरसाइकल थियो । करिब २० वर्षअघि किनेको मोटरसाइकल गाउँका लागि नै नयाँ थियो । जिज्ञानले आफैंले जागिर खाएर जोडेका थिए । उनको भनाइ पत्याउने हो भने बाइकमा हालेको पेट्रोलको गन्धलाई बाइकको गन्ध भन्थे धापाखेलबासी । “मह सञ्चारको ‘१५ गते’ त्यहीताका बनाएको सिरियल हो,” जिज्ञान थापा भन्छन्, “चक्रपथमा कति पातलो गाडी चल्थे, त्यही हेरेर पनि अनुमान लगाउन सकिन्छ ।”

नेपाल–जापान मैत्री सम्बन्धको एक सय वर्ष पुगेको अवसरमा अनुवादकको रुपमा सन् १९९९ मा जापान पुगेका थिए उनी । शिक्षा मन्त्रालयले उनलाई जापानिज भाषा जानेकाले अनुवादकका रुपमा जापान लगेको थियो । जापानमा पनि सबैले ‘तिम्रो जापानिज भाषा राम्रो छ’ भन्थे । तर उनलाई भने अझै सिक्न धेरै छ भन्ने लाग्यो र थप पढ्न जापान जान मन लाग्यो । 

विकल्प थिएन, उनले दुःखले आर्जेको बाइक बेचेर तत्कालीन शाही नेपाल वायुसेवा निगमको टिकट किने जापान जान । २० वर्ष अगाडिको बाइकमा उनको मन अहिले पनि उसैगरी अल्झिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जिज्ञान ६ वर्षका थिए । उनको घरमा एक जना विदेशी आएर बसे । इसिचुका ती विदेशी नागरिकको नाम थियो । घर जापान हो भन्थे । जाइकामा काम गर्थे । युवा थिए, २३ वर्षमा मात्रै । उनले जापानिज भाषा बोलेको सुनेर उनलाई अनौठो लाग्थ्यो । 

“मैले पहिलो पटक नोटिस गरेको विदेशको नाम नै जापान हो । सायद इसिचुका मेरो घरमा नआएको भए म अहिले जापानमा हुँदिन थिएँ होला,” उनी भन्छन्, “इसिचुकाले गर्दा किन किन मलाई जापान प्रिय लाग्न थालेको थियो ।” त्यसैले उनले एसएलसी सकिनेबित्तिकै जापानिज भाषा सिक्न थालेका थिए । 

Global Ime bank

० ० ०
इसिचुकासँगको चिनजानले उनलाई जापान पुर्यायो । छोटो जिन्दगीको लामो कथा छ उनीसँग । कूटनीतिज्ञ बन्ने सपना थियो उनीसँग । जापान जाँदा लगेजमा उनले ‘कूटनीतिक दर्पण’ सुटुक्क हालेका थिए । त्यसमा उनको रहर बसेको थियो । 

सुमेई युनिभर्सिटीमा चार वर्षे ब्याचलरको इन्टरनेशनल कोअपरेशन पढ्दा उनले कूटनीतिक दर्पण पनि पढे । तर साँचेका सबै रहर पूरा हुँदैनन् । देखेका सबै सपना साकार हुँदैनन् । भेटिएका सबै आफ्ना हुँदैनन् । लोकसेवा दिएर नेपाल जापान कूटनीतिज्ञ भएर उनलाई जापान जाने रहर थियो । लोकसेवा दिन वर्षमा तीन पटक नेपाल आउनु पथ्र्यो, सम्भव थिएन । उनले बाँकी पढाइलाई नै निरन्तरता दिए । 

जिज्ञानले जापान जानेबित्तिकै थाई रेष्टुरेन्टमा काम गर्न थालेका थिए । काम गरेको पैसाले फि तिर्न पनि पुगनपुग हुन्थ्यो । उनलाई शिक्षक–शिक्षिकाले भने, “तिमी भाँडा माझ्ने कामलाई निरन्तरता दिइरह्यौ भने अबको १० वर्ष पनि भाँडा नै माझिरहेका हुनेछौ । त्यसैले अब यो काम छाडेर पढाइलाई मात्रै फोकस हौ ।”
सुझाव खराब थिएन । मान्दा भलाई जिज्ञानकै हुन्थ्यो तर हातमुख पनि जोर्नु थियो । तरपनि विकल्प खोज्नु थियो । उनले सिसा पुछ्ने काम सुरु गरे । दुई घण्टा सिसा पुछेको राम्रै पैसा दिन्थ्यो । 

दिमागमा गुरूले दिएको सुझाव थियो । त्यसलाई कार्यान्वयन गर्नु चुनौती थियो । उपाय के हुन्छ, खोजिरहेका थिए । स्कलरसिप भरे उनले, नभन्दै पाए । फि तिरिदिएर १ लाख ७५ हजार महिनाको दिन्थ्यो । पढाइ र कलेजको सिफारिसले स्कलरसिप पाइन्थ्यो । भाग्य र कर्म एकै ठाउँमा बसेछन् । जिज्ञानका लागि पढ्न सहज भयो । जिन्दगीको ट्रयाक नै चेन्ज गरिदियो । 

त्यो स्कलरसिप पाउने व्यक्तिले मास्टर्समा पनि पढ्छु भन्यो भने सरकारले निरन्तरता दिन्छ । त्यसै गरे जिज्ञानले । 

इन्टरनेशनल डेभलपमेन्ट पढ्न सुरु गरे । उनलाई शिक्षक शिक्षिकाले ‘जापानको डेभलपमेन्ट भन्दा पनि भारतीय मोडलको डेभलपमेन्ट नेपालकोसँग मिल्दोजुल्दो हुने हुँदा फाइदा हुन्छ त्यही पढ’ भन्थे । तर जिज्ञानले त्यो बेला ‘जापानको विकासको प्रोसेस पढ्दा फाइदा होला’ भनेका थिए । यसमै उनले मास्टर्स गरे । 

० ० ०
ढाका टोपी लगाएर हिँड्थे उनी । पैसाका लागि काम गर्नु नपर्ने भएपछि उनी फुर्सदिला थिए, हिँडिरहन्थे । मास्टर्स सुरु गरेदेखि नै सरकारी तहमा समेत उनको पहुँच पुग्न थालेको थियो । ठिक त्यही समय उनले त्यहाँको टेलिभिजनमा प्यानलिष्टका रुपमा बोल्ने अवसर पाए । टोकियो एमएक्स टिभीमा न्युज कमेन्टेटरको रुपमा हप्ताको एक पटक डेढ घण्टा बोल्नुपथ्र्यो । 

जापानलाई अरु देशले विकास तथा अर्थतन्त्रको दृष्टिले कसरी हेर्छन् भनेर विश्लेषण गर्नुपथ्र्यो । यो टेलिभिजनमा उनले १० वर्ष काम गरे । उनलाई जापानमा ‘टेलिभिजनमा आउने मान्छे’ भनेर चिन्छन् । 

तीन जना विदेशी रहने उक्त कार्यक्रममा सांसदसेत प्यानलिष्टमा बोल्थे । “हप्ताको डेढ घण्टामात्रै बोल्ने काम भए पनि पारिश्रमिकका हिसाबले ७ दिन फुल टाइम काम गरेको भन्दा धेरै हुन्थ्यो,” उनी सम्झन्छन् । 

० ० ०
१७ वर्ष भैसक्यो उनी नेपाल बसेको । त्यहाँका सरकारीदेखि गैरसरकारी उच्च अधिकारीहरुसँग राम्रो पहुँच र सम्बन्ध बनाएका उनको अनुभवले भन्छ, जापानीले नेपाल भनेर चिन्दैनन् । उनीहरुले हिमालको देश र गौतमबुद्धको देश भनेर मात्रै नेपालाई चिन्छन् । “चिसो ठाउँबाट आएका मान्छे, एभरेष्टबाट ओर्लिएर सिधै जापान आएका हुन् कि भनेर सोच्छन्,” उनी भन्छन्, “कतिले मलाई सोधेका छन्, प्लेन ल्याण्ड गर्ने समथर भू–भाग पनि छ नेपालमा ?”

० ० ०
बाबुराम भट्टराई अर्थमन्त्री हुँदा जिज्ञानलाई त्यहाँको सरकारले इन्टरप्रेटरको रुपमा बोलाएको थियो । बाबुराम भट्टराई अंग्रेजी बोल्ने भए पनि त्यहाँ अफिसियल भाषा नै प्रयोग गर्ने चलन छ । सरकारी रेकर्डमा राख्न पनि त्यहाँ आफ्नै भाषा बोलिन्छ । तर जापानमा रहेको नेपाली दूतावासमा कुनै पनि संयन्त्र नभएकाले दूतावासले पनि उनलाई बोलाउँछ र जापान सरकारले पनि उनैलाई बोलाउँछ ।

सन् २००६ मा रामचन्द्र पौडेलको नेतृत्वमा गएको नपाली टोलीदेखि उनले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न थालेका थिए । जुन आजपर्यन्त पनि जारी छ । तर, उनी भन्छन्, “आजसम्म मैले दुवैतर्फबाट एक रुपैयाँ पनि लिएको छैन । मैले यसलाई सेवाको रुपमा लिने प्रण गरेर सुरुबाटै पैसा नलिएको हुँ ।”

नेपालका हरेक कूटनीतिक भ्रमणमा उनलाई जापान सरकारले बोलाउँछ । उनका लागि सुखद् होला तर देशको इज्जतका हिसाबले उनीसँग जोडिएको केही दुःखद घटना पनि उनले साटे । 

“नेपाल सरकारका मन्त्रीहरुको जापान भ्रमणको मिति तय गर्नुभन्दा पहिला जापान सरकारले मेरो समय माग्छ । मैले उनीहरुलाई समय दिएपछि मात्रै नेपालको प्रतिनिधि मण्डलको भ्रमण जापान सरकारले तय गर्छ,” जिज्ञान भन्छन्, “केही यस्ता दुःखद घटना पनि छन्, मैले काम विशेषले समय दिन नसकेपछि जापान सरकारले नेपाली मन्त्रीहरुको भ्रमण पछि सारेको छ । सायद दूतावासमा राम्रो संयन्त्र भएको भए, यसरी व्यक्ति विशेषमा निर्भर हुनुपर्ने थिएन ।”

० ० ० 
जिज्ञान धेरै नेपाली र जापानी प्रतिनिधिमण्डलको भेटमा बसेका छन् । द्विपक्षीय मन्त्रीस्तरिय भेटमा बसेका छन् । सहाना प्रधान परराष्ट्रमन्त्री हुँदा भएको जापानी समकक्षीसँगको भेटमा पनि जापान सरकारको मध्यस्तकर्ताको रुपमा उनै थिए । 

यस्ता भेटका तीता अनुभव छन् उनीसँग । “अघिल्लो पटक भएको सम्झौताको प्रगति विवरण के भयो भनेर जापानीहरु मोटो ठेली बोकेर बस्छन् । तर, नेपालीका हातमा सानो डायरी देख्न पनि मुस्किल पर्छ । उनीहरु मोटो ठेलीको लाइनलाइन पल्टाएर यसमा के भयो र के गर्न सकिन्छ भन्ने जिज्ञासा राख्छन् । हाम्रा मन्त्रीहरु यो सम्झौता हुँदा म थिइन भन्नेसम्मको जवाफ दिन्छन् ।” 

जिज्ञान थप्छन्, “हाम्रो नेताहरुको हातमा नयाँ प्रोजेक्ट माग्ने कार्यकर्ताले थमाइदिएको फाइल हुन्छ । त्यही फाइलका बारेमा उनीहरु कुरा गर्छन् र फर्किन्छन्, जुन जापानीहरु मन पराउँदैनन् । नेपाली नेताहरु साथी बन्न चाहन्छन् जापानी नेताहरुसँग, जुन उनीहरु मन पराउँदैनन् । अफिसियल काम मात्रै रुचाउने उनीहरु ‘केका लागि जापान आउनु भयो भनेर सोध्छन् । हाम्रा नेताहरु ‘छोराको ग्राजुएशनका लागि आको’ भनेर जवाफ दिन्छन् । उनीहरु हाँस्छन् । मलाई पछि भेट हुँदा कति जापानी नेताहरुले सोधेका छन्, छोराको ग्राजुएशनका लागि आउने तपाईंको त्यो नेता मन्त्री हुनुभयो ?”

० ० ०  
जापानमा करिब ६७ हजार नेपाली छन् । तीमध्ये एक भाग विद्यार्थी छन् । बाँकी डिपेन्डेन्ट छन् । पहिले अधिकांश विद्यार्थी काम गर्ने मनासयले जान्थे । “म जाँदा वर्षमा ५–६ जनामात्रै जान्थे । उनीहरु प्रायः सबै पढ्थे तर अहिले त्यस्तो अवस्था छैन । काम गर्नका लागि नै जाने धेरै हुन्छन्,” उनी भन्छन्, “विद्यार्थी भिजामा जाने नेपाली संख्याको हिसाबले जापानमा तेस्रो स्थानमा पर्छन्, तर मास्टर्स गर्ने विद्यार्थीको संख्या हेर्दा टप टेनमा पनि नेपाल पर्दैन । यही आँकडाले पनि हाम्रो उदेश्य के रहेछ भन्ने देखाउँछ ।” 

विद्यार्थी भिजामा गएर विजनेश भिजामा परिणत गर्ने नेपाली पनि छन् । यो संख्या तीन हजारको हाराहारीमा छ । जापानमा विजनेश गर्न कम्तिमा ५० लाख रुपैयाँ चाहिने जिज्ञान बताउँछन् । 

“१० औं वर्ष होटलमै काम गर्ने नेपाली धेरै छन् र नेपालीहरुले गर्ने विजनेश पनि होटल नै हो । नेपालीलाई ठग्ने पनि नेपाली नै हुन्,” उनी भन्छन्, “अबको १० वर्षमा त्यहाँ नेपाली र जापानीबीचको खाडल झनै बढ्छ । होटलको कुकको छोरा र साउको छोरो पढ्न जाने स्कुल छुट्टै हुन्छ । त्यसले पार्ने असर कस्तो हुन्छ, त्यो नेपालीेले अहिले नै सोच्नुपर्छ ।”

० ० ०
अहिले जिज्ञान टेलिभिजनमा बोल्न छोडे । बोलेकै भरमा आउने कमाइ हैन, आफ्नै मेहनतले सम्पत्ति आर्जिरहेका छन् । 'कानागावा तामागो' नामक जापानी अन्तर्राष्ट्रिय संस्थामा काम गर्छन् । तर अन्तर्राष्ट्रिय संस्था भए पनि त्यसमा काम गर्ने उनी एकमात्रै विदेशी हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध र सञ्चारका क्षेत्रमा काम गर्ने उक्त संस्थामा काम गर्ने उनी हजारौं जापानीलाई पछि पारेर छानिएका अब्बल नेपाली हुन् । भाषामा दक्षता र विषय विज्ञता उनको छनोटको आधार थियो ।  

समाज सेवाका लागि उनले भिजन बनाएको पनि सुनाए । “आफ्नो कमाइको १० प्रतिशत समाज सेवामा खर्चिने मेरो उद्देश्य हो,” उनी भन्छन्, “मैले विवाह गर्दा श्रीमतीसँग यो  सर्त राखेर राजी भएपछि विवाह गरेको हुँ ।” समाज सेवा अन्तर्गत नै उनले अहिले ‘तामाकु प्रोजेक्ट’ चलाइरहेका छन् । हेटौंडाका दुर्गम बस्तीमा चलाइएको यो प्रोजेक्टले कुपोषणमा बच्चा नजाउन् भनेर हप्तामा दुई दिन उसिनेको अण्डा खुवाउँदै आएको छ ।  

० ० ०
कुराकानीको बिट मार्दै जिज्ञानले भने, “जापानसँग अथाह स्रोत छ । त्यसलाई राम्रोसँग प्रयोग गर्न जान्ने हो भने जापान हाम्रा लागि अझै ठूलो विकासको साझेदार बन्न सक्छ, तर त्यसका लागि हामीसँग स्पष्ट तथा दूरदर्शी खाका र इमान्दारिता हुनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC