ad

विशेष

रअको जागिरको लोभमा ठगिए दुई सय नेपाली

रअको जागिरको लोभमा ठगिए दुई सय नेपाली

काठमाडौं । भारतीय गुप्तचर संस्था (रअ) मा जागिर लगाईदिने भन्दै २ सयभन्दा बढी नेपालीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले गिरोहका नाईके सप्तरीका रमाकान्त नौनीयासहित ६ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दोलखाका सन्तोष कार्की, विनोद कार्की, काभ्रेका पदम श्रेष्ठ, रामेछापका चित्रबहादुर श्रेष्ठ र काठमाडौं मण्डीखाटरकी गिता महर्जन छन् । “पक्राउ परेको गिरोहले लामो समयदेखि विभिन्न व्यक्तिलाई रअमा जासुसीको काम लगाईदिने भन्दै मानिस हेरी रकम उठाएको देखियो,” महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, “२ सयभन्दा बढीलाई ठगी गरेको खुल्यो, अझै धेरैलाई ठगेका हुनसक्छन्, हामी अनुसन्धान गर्दैछौैं ।” 

प्रहरीका अनुसार पक्राउ परेको गिरोहले आश्वस्त पार्नका लागि भारतीय जासुसी सस्था रअको नक्कली नियुक्तिपत्र समेत बनाएर देखाउने गरेको थियो । स्थायी जागिर हो, कसैलाई नभन्नू भन्दै आश्वस्तसमेत पार्ने गरेका थिए । उक्त गिरोहले केही स्थानीय पत्रकार तथा स्थानीय नेताहरुलाई समेत ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ । नेपालमै बस्ने हो, राम्रो तलब हुन्छ, आफूले सकेको काम गर्ने हो । रअका मुख्य व्यक्तिसँग मिलेर काम गर्ने हो भन्दै उनीहरुले ठगी गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेको गिरोहबाट नक्कली लेटरप्याड तथा छापसमेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको महाशाखाले जनाएको छ । 

तपाईंको मत