विशेष

टेलिकमद्वारा ५५ रुपैयाँ प्रतिसेयर लाभांश पारित

टेलिकमद्वारा ५५ रुपैयाँ प्रतिसेयर लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७३–०७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रतिशेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने र कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

शेयरधनीहरुलाई  लाभांश रकम माघ २ गतेदेखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकममध्ये सवैभन्दा बढी हो ।
साधारणसभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको टेलिकमले जनाएको छ । साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३–०७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ । 

यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४–०७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोध कुमार कर्ण र अच्युतराज जोशीलाई  लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत पारित गरेको छ । साधारणसभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मितिदेखि तीन वटा साधारणसभा बस्ने मितिमध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ । 

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले साधारणसभामा उपस्थित शेयर धनीहरुलाई स्वागत गर्दै कम्पनीको दशौं वार्षिक प्रतिवेदन पेश गरेका थिए । टेलिकमले आर्थिक वर्ष २०७३–७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड कायम राख्न कम्पनी सफल भएको छ । त्यस्तै १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहक पुगेका छन् ।   

तपाईंको मत